मत्ती 25:35-45
मत्ती 25:35-45 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ। नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’ “तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्यौं, र पिउन दियौं? कहिले हामीले तपाईंलाई परदेशी देख्यौं, र तपाईंलाई आश्रय दियौं? अथवा नाङ्गो देख्यौं र वस्त्र लगाइदियौं? र कहिले हामीले तपाईंलाई बिरामी वा झ्यालखानमा देख्यौं, र तपाईंकहाँ आयौं?’ “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’ “त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा जाओ। किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ। तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ। नाङ्गो थिएँ, र तिमीहरूले मलाई वस्त्र लगाइदिएनौ, बिरामी र झ्यालखानमा थिएँ, र तिमीहरू मलाई हेर्न आएनौ।’ “तिनीहरूले पनि यसो भनेर जवाफ दिनेछन्, ‘प्रभु, कहिले हामीहरूले तपाईंलाई भोकाएको वा तिर्खाएको देख्यौं, परदेशी वा नाङ्गो वा बिरामी देख्यौं, वा झ्यालखानमा देख्यौं, र तपाईंको सेवा गरेनौं?’ “तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबैभन्दा सानाहरूमध्ये एक जनालाई जे-जति गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ।’
मत्ती 25:35-45 नेपाली समकालीन संस्करण (NCV)
किनकि म भोकाएको थिएँ र तिमीहरूले मलाई केही खानेकुरा दियौ, म तिर्खाएको थिएँ र तिमीहरूले मलाई केही पिउने कुरा दियौ, म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र स्वागत गर्यौ, मलाई वस्त्रको खाँचो थियो र तिमीहरूले मलाई पहिर्यायौ, म बिरामी थिएँ र तिमीहरू मलाई हेर्न आयौ, म झ्यालखानामा थिएँ र तिमीहरू मलाई भेट्न आयौ।’ “तब ती धर्मीहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका देख्यौं र खुवायौं, अथवा तिर्खाएका देख्यौं र पिउन दियौं? हामीले तपाईंलाई कहिले परदेशी देख्यौं र भित्र स्वागत गर्यौं अथवा वस्त्रको अभावमा अनि पहिर्यायौं? हामीले तपाईंलाई कहिले बिरामी वा झ्यालखानामा देख्यौं अनि तपाईंलाई भेट्न गयौं?’ “राजाले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले मेरा यी मानिसहरूमध्ये सानोभन्दा सानोलाई जे गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’ “तब तिनले आफ्ना देब्रेतिरकाहरूलाई भन्नेछन्, ‘हे श्रापितहो, मबाट टाढा भएर शैतान र त्यसका दूतहरूको लागि तयार पारिएको अनन्तको आगोमा गइहाल। किनकि म भोकाएको थिएँ र तिमीहरूले मलाई केही खान दिएनौ, म तिर्खाएको थिएँ र तिमीहरूले मलाई केही पिउन दिएनौ, म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र स्वागत गरेनौ, मलाई वस्त्रको खाँचो थियो र तिमीहरूले मलाई पहिर्याएनौ, म बिरामी र झ्यालखानामा थिएँ, अनि तिमीहरूले मेरो हेरचाह गरेनौ।’ “तिनीहरूले पनि जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका अथवा तिर्खाएका, अथवा परदेशी, अथवा वस्त्रको खाँचोमा पर्नुभएको, अथवा बिरामी अथवा झ्यालखानामा देख्यौं अनि तपाईंलाई सहायता दिएनौं?’ “उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले यी सानाहरूमध्ये एउटालाई जे गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।’
मत्ती 25:35-45 पवित्र बाइबल (NERV)
यो तिमीहरूको राज्य हो, किनभने म भोकाएको बेला तिमीहरूले मलाई खाना दिएका थियौ। म तिर्खाएको बेला तिमीहरूले मलाई पानी पिउन दिएका थियौ। म एक्लै र घरबाट टाडिएको थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेका थियौ। नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई लुगाफाटा लगाउन दिएका थियौ। म रोगी थिएँ, अनि तिमीहरूले मलाई स्याहार गरेका थियौ। म कैदी थिएँ, तिमीहरूले मलाई हेर्न आएका थियौ।’ “तब धार्मिक मानिसहरूले जवाफ दिनेछन्, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले, भोकाउनु भएको देख्यौं अनि हामीले भोजन दियौं? हामीले तपाईं तिर्खाउनु भएको कहिले देख्यौं अनि हामीले पानी पिउँन दियौं? हामीले तपाईंलाई कहिले एक्लो घरदेखि टाढिएको देख्यौं र हामीले तपाईंलाई कहिले आफ्ना घरमा ल्यायौं? तपाईं कहिले नाङ्गो हुनुहुन्थ्यो र हामीले तपाईंलाई लुगाफाटा लगाउन दियौं। हामीले कहिले तपाईंलाई रोगी देख्यौं वा कैदमा देख्यौं र हामी तपाईंलाई सहयोग गर्न आयौं?’ “तब राजाले तिनीहरूलाई जवाफ दिने छन्, ‘म तिमीहरूलाई साँच्चो भन्दछु। यहाँ तिमीहरूले मेरा यी मानिसहरूका निम्ति जे जति गर्यौ, ती जतिनै नगण्य भएता पनि तिमीहरूले मेरा निम्ति गरेका हो।’ “त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अघिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सधैँ जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो। तिमीहरू गइहाल, किनभने म भोकाएको थिएँ, तिमीहरूले केही खान दिएनौ। म तिर्खाएको थिएँ, तिमीहरूले केही पिउन दिएनौ। म घरदेखि एक्लै र टाढोमा थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा बोलाएनौ। म नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई पहिरिनलाई वस्त्रहरू दिएनौ। म रोगी थिएँ, अनि कैदमा थिएँ, तिमीहरूले मेरो परवाह नै गरेनौं।’ “त्यसपछि तिनीहरूले पनि जवाफ दिए, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले भोकाएको र तिर्खाएको देख्यौं? हामीले कहिले तपाईंलाई एक्लो घरदेखि टाढो भएको देख्यौं? अनि हामीले तपाईंलाई कहिले नाङ्गो वा विरामी वा कैदमा परेको देख्यौ? अनि यी सब देखेर हामीले मद्दत गरेनौं?’ “त्यसपछि राजाले तिनीहरूलाई जवाफ दिए, ‘म तिमीहरूलाई साँच्चो भन्दछु, यी मेरा मानिसहरू निम्ति जे पनि तिमीहरूले गरेनौ, यी सबै तिमीहरूले मेरो निम्ति गरेनौ।’
मत्ती 25:35-45 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने म भोकाउँदा तिमीहरूले मलाई खुवायौ, तिर्खाउँदा पानी दियौ र म परदेशी हुँदा पनि तिम्रो घरमा मलाई स्वागत गर्यौ। म नाङ्गो हुँदा लुगा लगाइदियौ, बिरामी हुँदा हेरचाहा गर्यौ, झ्यालखानमा पर्दा मलाई भेट्न आयौ।’ “यो सुनेर परमेश्वरका आज्ञापालन गर्दैआएका मानिसहरूले उनलाई सोध्नेछन्, ‘प्रभु, हामीले तपाईंलाई कहिले भोकाएको देख्यौं र खुवायौं? कहिले तिर्खाएको देख्यौं र पानी दियौं? कहिले तपाईं परदेशी हुनुहुँदा हाम्रो घरमा तपाईंलाई स्वागत गर्यौं? कहिले तपाईंलाई नाङ्गो देख्यौं र लुगा लगाइदियौं? कहिले तपाईंलाई बिरामी देख्यौं र हेरचाहा गर्यौं? अनि कहिले झ्यालखानमा पर्नुभयो र हामी भेट्न आयौं?’ तब सिंहासनमा बस्ने राजाले जवाफ दिएर भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्छु, मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई तिमीहरूले जे गर्यौ, त्यो मलाई नै गरेका हौ।’ “त्यसपछि उनले आफ्ना देब्रे हातपट्टि भएकाहरूलाई भन्नेछन्, ‘ए परमेश्वरको सराप परेका मानिसहरू हो, यहाँबाट गइहाल! शैतान र उसका दूतहरूलाई तयार पारिराखेको कहिल्यै ननिभ्ने आगोमा जाओ! किनभने म भोकाउँदा तिमीहरूले मलाई खुवाएनौ, तिर्खाउँदा पानी दिएनौ। म परदेशी भएर आउँदा तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेनौ, नाङ्गो हुँदा लुगा लगाइदिएनौ। म बिरामी हुँदा र झ्यालखानमा पर्दा तिमीहरू मलाई भेट्न आएनौ।’ “अनि तिनीहरूले सोध्नेछन्, ‘प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको, तिर्खाउनुभएको, परदेशी हुनुभएको, नाङ्गो हुनुभएको, बिरामी हुनुभएको अनि झ्यालखानमा पर्नुभएको देखेर पनि तपाईंको वास्ता गरेनौं?’ त्यस बेला सिंहासनमा बस्ने राजाले तिनीहरूलाई भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्छु, मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई सहायता नगर्नु नै मलाई नगर्नु हो।’