मत्ती 21:33-41
मत्ती 21:33-41 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“अर्को दृष्टान्त सुन। कोही एक जना गृहस्थी थिए, जसले एउटा दाखबारी लगाए, र त्यसको वरिपरि बार लगाएर त्यहाँ दाख पेल्ने एउटा कोल राखे, र एउटा मचान बनाए। तब मोहीहरूलाई त्यसको ठेक्का दिई उनी परदेश लागे। जब फलको समय नजिक आयो, उनले मोहीहरूकहाँ फलको आफ्नो हिस्सा माग्न नोकरहरू पठाए। “तर मोहीहरूले उनका नोकरहरूलाई समाती एउटालाई पिटे, अर्कालाई मारे, र अर्कालाई ढुङ्गाले हाने। फेरि उनले अघिको भन्दा बढ़ी नोकरहरू पठाए, र तिनीहरूले यिनीहरूसँग पनि त्यस्तै व्यवहार गरे। ‘मेरो छोरालाई त तिनीहरूले आदर गर्लान्’ भन्ने सोचेर, अन्त्यमा उनले आफ्नो छोरालाई तिनीहरूकहाँ पठाए। “तर मोहीहरूले छोरालाई देखेर आपसमा भने, ‘यो त उत्तराधिकारी हो। आओ, त्यसलाई मारौं, र त्यसको उत्तराधिकार हात पारौं।’ तब तिनीहरूले तिनलाई समातेर दाखबारी बाहिर लगे र तिनलाई मारे। “यसकारण जब दाखबारीका मालिक आउँछन्, तब उनले ती मोहीहरूलाई के गर्लान्?” तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्टहरूलाई सर्वनाश गर्नेछन्, र दाखबारी अरू मोहीहरूलाई ठेक्कामा दिनेछन्, जसले उनलाई फलको हिस्सा समयमा बुझाउनेछन्।”
मत्ती 21:33-41 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“अर्को दृष्टान्त सुन: एक जना जमिनका मालिक थिए, जसले एउटा दाखबारी लगाए, र त्यसको चारैतिर पर्खाल बनाएर दाख पेल्ने एउटा कोल खने; र एउटा मचान बनाए। तब तिनले त्यो दाखबारी केही मोहीहरूलाई ठेक्कामा दिए, र आफू यात्रामा गए। जब कटनीको समय आयो, तब तिनले फल जम्मा गर्न भनी आफ्ना सेवकहरूलाई ती मोहीहरूकहाँ पठाए। “तर ती मोहीहरूले सेवकहरूलाई पक्रे: अनि एउटालाई पिटे, अर्कोलाई मारे र तेस्रोलाई ढुङ्गाले हाने। मालिकले फेरि अरू सेवकहरूलाई तिनीहरूकहाँ पहिलेभन्दा बढी संख्यामा पठाए, तब ती मोहीहरूले तिनीहरूसित पनि त्यस्तै व्यवहार गरे। अन्त्यमा तिनले आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, र तिनले सोचे, ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्लान्।’ “तर ती मोहीहरूले जब छोरालाई आउँदैगरेको देखे, तब तिनीहरूले आपसमा भने, ‘यो त उत्तराधिकारी हो; आओ, यसलाई मारौँ र उसको उत्तराधिकार हात पारौँ।’ यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे। “यसकारण जब दाखबारीका मालिक आउँछन्, तब तिनले ती मोहीहरूलाई के गर्लान्?” तिनीहरूले जवाफ दिए, “तिनले ती दुष्टहरूलाई दुर्दशापूर्वक अन्त्य गरिदिनेछन्, र त्यो दाखबारी अरू मोहीहरूलाई दिनेछन्, जसले कटनीको समयमा तिनको भागको उब्जनी तिनलाई दिनेछन्।”
मत्ती 21:33-41 पवित्र बाइबल (NERV)
“यो उखान सुन कुनै मानिसको जमीन थियो। उसले त्यो जमीनमा दाख लगायो। उसले दाखको जमीनको वरिपरि पर्खाल निर्माण गर्यो। अनि त्यसभित्र दाख पेल्ने कोलखनेको थियो। फेरि त्यो मानिसले एउटा मचान बनाचो। उसले आफ्नो खेत कोही किसानहरूलाई जिम्मा दिएर ऊ यात्रामा गयो। केही समय पछि, फसल उठाउने समय भयो। अनि त्यस मानिसले आफ्नो हिस्सा ल्याउन पठायो। “तर किसानहरूले ती नोकरहरूलाई समाते अनि एकजनालाई पिटे, अर्कोलाई मारिदिए अनि अर्कोलाई ढुङ्गाले हिर्काएर मारिदिए। फेरि त्यो खेत-मालिकले किसानहरूकहाँ अरू नोकरहरूलाई पठायो। उसले पाहिलेभन्दा धेरै नोकरहरू पठाएको थियो। तर किसानहरूले तिनीहरूसँग पनि यस्तै नै व्यवहार गरे। त्यसपछि उसले आफ्नै छोरालाई किसानहरूकहाँ पठायो। उसले भन्यो, ‘किसानहरूले मेरो छोरालाई आदर देखाउनेछन्।’ “तर किसानहरूले आपसमा यसो भने, ‘यो ता मालिकको छोरा हो। यो खेत उसको हुनेछ। हामीले यसलाई मार्यौ भने खेत हाम्रै हुनेछ।’ अनि किसानहरूले छोरालाई समातेर, उसलाई खेत बाहिर मारेर फ्याँकिदिए। “अब त्यो खेत को मालिक आएर ती किसानलाई के गर्ला?” ती यहूदी पूजाहारीहरू र नेताहरूले भने, “उसले ती दुष्टहरूलाई अवश्य नै मार्नेछ। त्यसपछि उनले आफ्नो खेत अरू किसानहरूलाई कमाउन दिनेछन्। जसले फलको समयमा मालिकलाई उसको भाग बुझाउन ल्याउँछ उनीहरूलाई त्यो खेत कमाउन दिईनेछ।”
मत्ती 21:33-41 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले भन्नुभयो, “लौ अब तिमीहरू दृष्टान्तको रूपमा अर्को एउटा कथा सुन। एक समयमा एक जना जमिनदार थिए। उनले दाखबारी लगाए, चारैतिर बारे अनि दाख पेल्न कोल र बारी कुर्न छाप्रो बनाइदिए। उनले त्यो बारी मोहीहरूलाई जिम्मा दिएर आफूचाहिँ परदेशतिर लागे। दाखबारी थन्क्याउने बेला भएपछि उनले आफ्ना नोकरहरूलाई आफ्नो भागमा आउने दाख लिन मोहीहरूकहाँ पठाए। तर ती मोहीहरू मिलेर नोकरहरूमाथि जाइलागे, कसैलाई पिटे, कसैलाई ढुङ्गाले हाने अनि कसैलाई चाहिँ मारि नै दिए। फेरि जमिनदारले पहिलेका भन्दा धेरै नोकरहरू मोहीहरूकहाँ पठाए। तर तिनीहरूलाई पनि मोहीहरूले पहिलेकाहरूलाई जस्तै गरे। “आखिरमा जमिनदारले ‘मेरो छोरालाई त तिनीहरूले पक्कै नै आदर गर्नेछन्’ भन्ने ठानेर आफ्नै छोरालाई नै मोहीहरूकहाँ पठाए। तर ती मोहीहरूले छोरोचाहिँ लाई देख्नासाथ मतो गरेर भने, ‘लौ, त्यो त जमिनदारकै छोरो हो। आओ, हामी त्यसलाई मारौं र त्यसको सम्पत्ति आफ्नो पारौं।’ यसो भनेर तिनीहरूले उसलाई पक्रेर बारीबाट घोक्र्याउँदै बाहिर लगी मारे। “लौ भन, अब बारीका मालिकले आएर ती दुष्ट मोहीहरूलाई के गर्लान् त?” येशूले सोध्नुभयो। तिनीहरूले जवाफ दिए, “तिनी आफैं आएर ती दुष्ट मोहीहरूलाई मार्नेछन् अनि आफूले पाउनुपर्ने भाग ठीकसँग दिने मोहीहरूलाई त्यो बारी कमाउन दिनेछन्।”