मत्ती 10:2-8
मत्ती 10:2-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बाह्र प्रेरितहरूका नाउँ यी हुन्, पहिलो पत्रुस भनिने सिमोन र तिनका भाइ अन्द्रियास, जब्दियाका छोरा याकूब र तिनका भाइ यूहन्ना, फिलिप र बारथोलोमाइ, थोमा र कर उठाउने मत्ती, अल्फयसका छोरा याकूब र थेदियस, सिमोन कनानी र यहूदा इस्करियोत, जसले येशूलाई पक्राइदियो। येशूले यी बाह्र चेलालाई यसो भनी आज्ञा दिएर पठाउनुभयो, “अन्यजातिहरूका माझमा नजाओ, र सामरीहरूका सहरमा नपस। तर इस्राएल जातिका हराएका भेड़ाहरूकहाँ जाओ। ‘स्वर्गको राज्य नजिकै आइपुगेको छ,’ भन्दै प्रचार गर। बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्ठ-रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।
मत्ती 10:2-8 नेपाली समकालीन संस्करण (NCV)
ती बाह्र प्रेरितहरूका नाउँ यिनै हुन्: पहिलो पत्रुस भनिने सिमोन, अनि तिनका भाइ अन्द्रियास; जब्दीका छोरा याकोब र तिनको भाइ यूहन्ना; फिलिप अनि बारथोलोमाइ; थोमा अनि कर उठाउने मत्ती; अल्फयसको छोरो याकोब अनि थेदियस; सिमोन कनानी अनि यहूदा इस्करियोत, जसले उहाँलाई धोका दियो। यी बाह्र जनालाई येशूले यस्ता अधिकार दिएर पठाउनुभयो: “गैरयहूदीहरूको बीचमा नजाओ, अनि सामरीहरूका शहरहरूमा नपस। बरु इस्राएलका हराएका भेडाहरूकहाँ जाओ। तिमीहरू गएर यो समाचार प्रचार गर: ‘स्वर्गको राज्य नजिक आएको छ।’ रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई निको बनाओ, भूत आत्माहरू धपाओ। तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ।
मत्ती 10:2-8 पवित्र बाइबल (NERV)
ती बाह्र प्रेरितहरूको नाउँ यस प्रकार छ: शिमोन (जसलाई पत्रुस पनि भनिन्छ), अनि उसको दाज्यू अन्द्रियास, जब्दीको छोरो याकूब, अनि उसको भाइ यूहन्ना, फिलिप, बारथोलोमाइ, थोमा, महसूल उठाउने मत्ती, अल्फयसको छोरो याकूब, थेदियस, शिमोन कनानी, र यहूदा इस्कारयोत (यो त्यही मानिस थियो जसले येशूलाई विश्वासघात गर्यो)। येशूले यी बाह्रजना प्रेरितहरूलाई आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई राज्यको विषयमा प्रचार गर्न भनी पठाउनुभयो। येशूले भन्नुभयो, “गैर यहूदीहरूकहाँ नजाऊ। सामरीहरूका शहरहरूमा पनि नजाऊ। बरू इस्राएली मानिसहरूकहाँ जाऊ। तिनीहरू हराएका भेंडा़हरू झैं छन्। जब तिमीहरू जान्दछौ, ‘स्वर्गको राज्य आउनै लागेका छ भनी प्रचार गर।’ रोगीहरूलाई निको पार, मरेकाहरूलाई जिवनमा ल्याऊ। कुष्ट रोगीहरूको उपचार गर। मानिसहरूबाट भूत धपाऊ। म तिमीहरूलाई सित्तैंमा यी शक्तिहरू दिन्छु। यसर्थ सित्तैंमा तिनीहरूलाई सघाऊ।
मत्ती 10:2-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यी बाह्र प्रेरितहरू यिनै हुन्– पहिलोचाहिँ पत्रुस भनिने सिमोन अनि उनका भाइ अन्द्रियास, जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्ना, फिलिप र बारथोलोमाइ, थोमा र कर उठाउने मत्ती, अल्फयसको छोरा याकूब, थेदियस र देशभक्त दलका सिमोन अनि येशूलाई पक्राइदिने यहूदा इस्करियोत। येशूले ती बाह्र जनालाई यसो भनेर पठाउनुभयो, “तिमीहरू अरू जातिका मानिसहरूकहाँ र सामरीहरूका सहरहरूमा नजाओ। तर हराएका भेडाहरूजस्ता इस्राएलीहरूकहाँ जाओ। मानिसहरूलाई ‘परमेश्वरको राज्य आइसक्न लागेको छ’ भनेर सुनाओ। बिरामीहरूलाई निको पार, मरेकालाई बिउँताओ, कुष्ठरोगीलाई शुद्ध पार र भूतहरू निकाल। तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ।