YouVersion लोगो
खोज आइकन

लूका 2:8-18

लूका 2:8-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्‍नो बगालको रखवाली गर्थे। प्रभुका एक जना स्‍वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्‍क्‍यो, अनि तिनीहरू साह्रै डराए। तब स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्‍दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्‍ति हुनेछ। आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ। तिमीहरूलाई चिन्‍हचाहिँ यो हुन्‍छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।” तब एक्‍कासि ती स्‍वर्गदूतसँग स्‍वर्गीय सेनाको एउटा दल देखा पर्‍यो। परमेश्‍वरको स्‍तुति गर्दै, तिनीहरूले भने, “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्‍वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ, तिनीहरूलाई शान्‍ति!” जब स्‍वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्‍वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, “आओ, हामी बेथलेहेमसम्‍म जाऔं, र त्‍यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं।” तिनीहरू आतुरीसँग गए, र मरियम र योसेफ दुवैलाई, र बालकलाई चाहिँ डूँड़मा सुतिरहेका भेट्टाए। जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्‍यो तिनीहरूले बताइदिए। गोठालाहरूले बताएका कुरा सुन्‍नेहरू सबै आश्‍चर्यचकित भए।

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्

लूका 2:8-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यहाँ नजिकैको चउरमा राति आफ्नो बगालको रखवाली गर्दै बस्‍ने केही गोठालाहरू थिए। त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ प्रकट भए, र प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए। तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका लागि हुनेछ। आज दावीदको सहर बेथलेहेममा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्‍ट प्रभु हुनुहुन्छ। अनि तिमीहरूका निम्ति यो एउटा चिन्ह हुनेछ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुतिरहेको भेट्टाउनेछौ।” तब एक्‍कासि ती स्वर्गदूतको साथमा स्वर्गीय सेनाको एउटा ठूलो भीड परमेश्‍वरको प्रशंसा गर्दै, यसो भन्दै देखा पर्‍यो: “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।” जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब ती गोठालाहरूले आपसमा भने, “हामी बेथलेहेममा जाऔँ, र यो भएको घटना हेरौँ, जसको विषयमा प्रभुले हामीलाई भन्‍नुभएको छ।” त्यसकारण तिनीहरू हतार-हतार गए, र मरियम, योसेफ र डुँडमा बालकलाई सुतिरहेका भेट्टाए। जब तिनीहरूले उहाँलाई देखे, तब त्यस बालकको विषयमा तिनीहरूलाई जे भनिएको थियो, त्यस बारेमा तिनीहरूले कुरा फैलाए। जति जनाले यो सुने, गोठालाहरूले तिनीहरूलाई बताएका कुरामा सबै आश्‍चर्यचकित भए।

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्

लूका 2:8-18 पवित्र बाइबल (NERV)

त्यो राती त्यस क्षेत्रमा बाहिर खेतमा केही गोठालाहरू आफ्नो भेंडा़हरू हेरचाह गरिरहेका थिए। परमप्रभुको एउटा दूत यसैबेला तिनीहरूको अघि उभिए। परमप्रभुको महिमा तिनीहरूको चारैतिर चम्किरहेको थियो। ती गोठालाहरू खुबै डराए। तर त्यो स्वर्गदूतले तिनीहरूलाई भने, “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्न लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त हर्षित तुल्याउनेछ। किनभने आज नै दाऊदको शहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। उहाँ ख्रीष्ट, प्रभु हुनुन्छ। उहाँलाई तिमीहरूले यसरी चिन्नेछौः तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डुँडमा सुतिरहेको भेट्टाउनेछौ।” त्यसपछि अचानक अनगन्ति स्वर्गिय दूतहरू पहिलो दूतसँग भेला भए। सबै दूतहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका थिए, “स्वर्गमा परमेश्वरलाई महिमा, अनि जति मानिसहरूसँग परमेश्वर खुशी हुनुहुन्छ, तिनीहरूमा शान्ति रहोस्।” ती स्वर्गदूतहरूले गोठालाहरूलाई छोडे अनि स्वर्गतिर प्रस्थान गरे। गोठालाहरूले आपसमा कुरा गरे, “अब हामी बेतलेहेम जाऊँ, अनि के भएको छ हेरौं जसको विषयमा परमप्रभु परमेश्वरले हामीलाई थाहा दिनु भएको छ।” तिनीहरू हतारहतार त्यहाँ गए अनि मरियम र यूसुफलाई भेटे अनि बालक डूँडमा सुतिरहेको थियो। गोठालाहरूले बालकलाई देखे। तब तिनीहरूले यो बालकको विषयमा स्वर्गदूतले जे भनेका थिए सुनाए। गोठालाहरूको कुरा सुनेर सबै छक्क परे।

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्

लूका 2:8-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बेथलेहेम सहरको नजिकै चउरमा गोठालाहरूले भेडा कुर्दै रात बिताइरहेका थिए। प्रभुका स्‍वर्गदूत तिनीहरूको सामुन्‍ने देखा परे र प्रभु परमेश्‍वरको उज्‍यालो तिनीहरूको चारैतिर चम्‍कियो। यो देखेर गोठालाहरू डरले थरथर काम्‍न लागे। तर स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ! किनभने म सबै मानिसहरूलाई आनन्‍द दिने सुसमाचार लिएर तिमीहरूको सामुन्‍ने आएको छु। सुन, दाऊद जन्‍मिएको सहरमा आज मुक्ति दिनुहुने राजा ख्रीष्‍ट जन्‍मिनुभएको छ। उहाँ नै प्रभु हुनुहुन्‍छ। तिमीहरूले बालकलाई थाङ्नाले बेरेर डुँडमा सुताइराखेको भेट्टाउनेछौ र यसैबाट तिमीहरूले उहाँलाई चिन्‍नेछौ।” त्‍यति नै खेर अरू धेरै स्‍वर्गदूतहरू त्‍यहाँ देखा परे अनि परमेश्‍वरको प्रशंसा गर्दै यस्‍तो गीत गाउन लागे, “सबैभन्दा माथि स्‍वर्गमा बास गर्नुहुने परमेश्‍वरको जयजयकार होस्, अनि पृथ्‍वीमा जुन मानिसहरूसँग उहाँ खुसी हुनुहुन्‍छ, तिनीहरूलाई शान्‍ति भइरहोस्।” स्‍वर्गदूतहरू स्‍वर्गतिर फर्केपछि गोठालाहरूले आपसमा भने, “लौ, प्रभु परमेश्‍वरले हामीलाई भन्‍नुभएको कुरा बेथलेहेममा हेर्न जाऔं” र तिनीहरू दगुरेर गए। त्‍यहाँ तिनीहरूले मरियम, योसेफ र डुँडमा सुताइराखेको बालकलाई देखे। गोठालाहरूले बालकको बारेमा स्‍वर्गदूतले भनेका कुरा सबैलाई सुनाइदिए। यी कुराहरू सुन्‍ने जति सबै छक्‍क परे।

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्