YouVersion लोगो
खोज आइकन

लूका 2:8-18

लूका 2:8-18 NNRV

त्‍यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्‍नो बगालको रखवाली गर्थे। प्रभुका एक जना स्‍वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्‍क्‍यो, अनि तिनीहरू साह्रै डराए। तब स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्‍दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्‍ति हुनेछ। आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ। तिमीहरूलाई चिन्‍हचाहिँ यो हुन्‍छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।” तब एक्‍कासि ती स्‍वर्गदूतसँग स्‍वर्गीय सेनाको एउटा दल देखा पर्‍यो। परमेश्‍वरको स्‍तुति गर्दै, तिनीहरूले भने, “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्‍वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ, तिनीहरूलाई शान्‍ति!” जब स्‍वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्‍वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, “आओ, हामी बेथलेहेमसम्‍म जाऔं, र त्‍यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं।” तिनीहरू आतुरीसँग गए, र मरियम र योसेफ दुवैलाई, र बालकलाई चाहिँ डूँड़मा सुतिरहेका भेट्टाए। जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्‍यो तिनीहरूले बताइदिए। गोठालाहरूले बताएका कुरा सुन्‍नेहरू सबै आश्‍चर्यचकित भए।