लूका 19:45-48
लूका 19:45-48 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो र बिक्री गर्नेहरूलाई निकाल्नुभयो, र तिनीहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।” उहाँले दिनहुँ मन्दिरमा शिक्षा दिँदैहुनुहुन्थ्यो। तर मुख्य पूजाहारीहरू, शास्त्रीहरू र जनताका प्रमुख मानिसहरूले उहाँलाई मार्न खोज्थे। तिनीहरूले उहाँलाई मार्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनकि सबै मानिसहरू उहाँका कुरामा मुग्ध थिए।
लूका 19:45-48 नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि उहाँ मन्दिरको क्षेत्रभित्र प्रवेश गर्नुभयो र त्यहाँ बिक्री गर्नेहरूलाई निकाल्न लाग्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकूहरूको एउटा ओडार’ बनाएका छौ।” त्यसपछि उहाँले दिनहुँ मन्दिरमा शिक्षा दिन थाल्नुभयो। तर मुख्य पूजाहारीहरू, व्यवस्थाका शिक्षकहरू र मानिसहरूका अगुवाहरूले उहाँलाई मार्न खोज्दैथिए। तर तिनीहरूले उहाँलाई मार्न कुनै उपाय भेट्टाउन सकेनन्; किनकि सबै मानिसहरू उहाँका वचनमा प्रभावित भएका थिए।
लूका 19:45-48 पवित्र बाइबल (NERV)
येशू मन्दिरमा जानु भयो। त्यहाँ सामान बेच्नेहरूलाई खेदनु भयो। उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ।’ तर तिमीहरूले यसलाई ‘डाँकूहरको वासस्थान’ बनाएका छौ।” येशूले मन्दिरमा दिनहुँ शिक्षा दिनुहुन्थ्यो। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र कोही मानिसहरूका प्रमुखहरू येशूलाई मार्ने दाऊ खोजिरहेका थिए। तर यस कामको लागि तिनीहरूले उपाय पाएका थिएनन् किनभने सबै मानिसहरू ध्यान पूर्वक येशूका कुराहरू सुनिरहेका थिए। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र प्रमुखहरूले येशूलाई कसरी मार्नु पर्ने हो जान्दैन थिए।
लूका 19:45-48 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि येशू मन्दिरमा जानुभयो अनि उहाँले मन्दिरमा किनबेच गर्नेहरूलाई यसो भन्दै धपाउनुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ– ‘मेरो घर प्रार्थनाको घर हुनुपर्छ।’ तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार बनायौ।” त्यसपछि येशूले दिनदिनै मन्दिरमा शिक्षा दिनुहुन्थ्यो। मुख्य पूजाहारी, धर्म-गुरु र अरू शासकहरू मिलेर उहाँलाई मार्न खोज्थे, तर तिनीहरूले मौकै पाएनन् किनभने सबै मानिसहरूले उहाँको शिक्षा सुन्न ज्यादै मन पराउँथे।