लूका 19:1-44
लूका 19:1-44 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदैहुनुहुन्थ्यो। त्यहाँ जखायस नाउँ भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, अनि धनी थिए। येशू को हुनुहुँदोरहेछ भनेर तिनी हेर्न चाहन्थे, तर पुड़को भएका हुनाले भीड़ले गर्दा तिनले देख्न सकेनन्। तिनी उहाँलाई हेर्नलाई अगिअगि दौड़ेर एउटा अञ्जीरको रूखमा चढ़े। किनकि येशू त्यही बाटो भएर जान लाग्नुभएको थियो। जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले मास्तिर हेरेर तिनलाई भन्नुभयो, “ए जखायस, चाँड़ो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नुपरेको छ।” तिनी झट्टै ओर्लेर आए। अनि खुसीसाथ उहाँको सत्कार गरे। जब मानिसहरूले यो देखे, तिनीहरू सबै यसो भनेर गनगनाउन लागे, “उनी पापीको घरमा पाहुना लाग्न गए।” जखायसले खड़ा भएर प्रभुलाई भने, “प्रभु, हेर्नुहोस्, म आफ्ना सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु, र कोहीबाट अन्यायपूर्वक केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।” तब येशूले तिनलाई भन्नुभयो, “आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्। किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।” तिनीहरूले यी कुरा सुन्दैगर्दा उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्न लाग्नुभयो। उहाँ यरूशलेमको नजिकै हुनुहुन्थ्यो, अनि मानिसहरूले परमेश्वरको राज्य तुरुन्तै प्रकट हुन लागेको छ भन्ने सम्झेका थिए। उहाँले भन्नुभयो, “एक जना खानदानी मानिस एउटा राज्य प्राप्त गरी फर्किआउन भनी कुनै टाढ़ा देशमा गए। तिनले आफ्ना दश जना नोकरहरूलाई बोलाएर तिनीहरूलाई दश सुनका सिक्का दिएर भने, ‘जबसम्म म फर्किआउँदिनँ यसबाट व्यापार गर।’ “तर तिनका प्रजाहरू तिनलाई घृणा गर्थे, र तिनीहरूले तिनको पछिपछि यसो भनेर दूतहरूलाई पठाए, ‘तिनले हामीमाथि राज गरेका हामी चाहँदैनौं।’ “तब राज्य अधिकार पाई तिनी फर्केपछि आफूले पैसा दिएका नोकरहरूलाई आफूकहाँ बोलाउने हुकुम दिए, अनि व्यापारबाट तिनीहरूले कति नाफा गरे भन्ने तिनले जान्न चाहे। “तब पहिलो आएर यसो भन्यो, ‘मालिक, तपाईंको सिक्काले अझै दश सिक्का कमाएको छु।’ “तिनले त्यसलाई भने, ‘स्याबास असल नोकर, तँ अति थोरैमा विश्वासी भइस्, तैंले दश सहरहरूमाथि अधिकार पाउनेछस्।’ “दोस्रो आएर यसो भन्यो, ‘मालिक, तपाईंको सिक्काले अरू पाँच सिक्का कमाएको छु।’ “तिनले त्यसलाई भने, ‘तैंले पनि पाँच सहरमाथि अधिकार पाउनेछस्।’ “अर्को आएर यसो भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्का यहाँ छ। यो मैले रूमालमा बाँधेर राखेको थिएँ। म तपाईंसँग डराएँ, किनकि तपाईं कठोर मानिस हुनुहुन्छ। जे राख्नुभएन त्यो लिनुहुन्छ, र जे छर्नुभएन त्यसैको कटनी गर्नुहुन्छ।’ “तिनले त्यसलाई भने, ‘तेरै मुखको कुराबाट म तेरो इन्साफ गर्नेछु, ए दुष्ट नोकर! जे राखिनँ त्यो लिने, र जे छरिनँ त्यसको कटनी गर्ने म कठोर मानिस हुँ भनेर तैंले जानेकै थिइस्। तब मेरो सिक्का बैङ्कमा किन राखिनस् त? म आएर व्याजसहित त्यो पाउनेथिएँ।’ “तब नजिक उभिनेहरूलाई तिनले भने, ‘त्यसबाट त्यो सिक्का लिएर दश सिक्का हुनेलाई दिइहाल्।’ तिनीहरूले तिनलाई भने, ‘हजूर, त्यससँग त दश सिक्का छँदैछन्।’ “‘म तिमीहरूलाई भन्दछु, जससँग छ त्यसलाई अझ बढ़ी दिइनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। तर मैले तिनीहरूमाथि राज गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्याओ, र तिनीहरूलाई मेरै सामुन्ने मार’।” येशूले यी कुरा भन्नुभएपछि उहाँ यरूशलेमतर्फ बढ्नुभयो। जब उहाँ बेथफागे र बेथानियाको नजिक जैतून भनिने डाँड़ामा पुग्नुभयो, उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “सामुन्नेको गाउँमा जाओ, र भित्र पस्दापस्दै तिमीहरूले गधाको एउटा बछेड़ो बाँधेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कोही मानिस चढ़ेको छैन। त्यसलाई फुकाएर यहाँ ल्याओ। कसैले ‘किन फुकाउँछौ?’ भनेर तिमीहरूलाई सोध्यो भने, ‘प्रभुलाई यसको खाँचो छ’ भन्नू।” ती पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्तो भन्नुभएको थियो त्यस्तै भेट्टाए। तिनीहरूले बछेड़ो फुकाउन लाग्दा बछेड़ाका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरू यो बछेड़ो किन फुकाउँछौ?” तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ।” चेलाहरूले त्यसलाई येशूकहाँ ल्याए, र आफ्ना वस्त्रहरू बछेड़ोमाथि राखेर येशूलाई त्यसमाथि बसाए। उहाँ जानुहुँदा मानिसहरूले आफ्ना वस्त्रहरू बाटोमा ओछ्याए। उहाँ जैतून डाँड़ाको ओह्रालोमा आइपुग्नुहुँदा चेलाहरूको समस्त भीड, आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्ति रमाउँदै, परमेश्वरको प्रशंसा गर्दै उच्च सोरले कराउन लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्य हुन्। स्वर्गमा शान्ति र परमधाममा महिमा।” अनि भीड़का कुनै-कुनै फरिसीहरूले उहाँलाई भने, “हे गुरु, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्।” तर उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू नै कराउनेछन्।” जब येशू नजिकै आइपुग्नुभयो र सहरलाई देख्नुभयो, उहाँ त्यसको निम्ति रुनुभयो, “शान्ति कुन कुराले ल्याउँछ भनेर तैंले आज पनि जानेको भए हुनेथियो! तर अब तेरो दृष्टिबाट त्यो लुकेको छ। किनकि तँमाथि यस्ता दिन आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन्, र सबैतिरबाट तँलाई थुनिराख्नेछन्। तिनीहरूले तँलाई र तँभित्र वास गर्ने तेरा सन्तानलाई जमिनमा पछार्नेछन्, र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिनेछैन। किनकि तैंले आफूमाथि भएको परमेश्वरको कृपा-दृष्टिको समयलाई चिन्न सकिनस्।”
लूका 19:1-44 नेपाली समकालीन संस्करण (NCV)
येशू यरिहोमा प्रवेश गरी त्यहाँबाट जाँदैहुनुहुन्थ्यो। त्यहाँ जक्कै नाउँ भएका एकजना मानिस थिए। तिनी कर उठाउनेहरूका प्रमुख थिए; र धनी थिए। अनि तिनले येशू को हुनुहुँदोरहेछ भनी हेर्न चाहन्थे, तर भीडले गर्दा तिनले उहाँलाई देख्न सकेनन्; किनकि तिनी पुड्का थिए। त्यसकारण तिनी दौडेर अघि-अघि गएर उहाँलाई हेर्नका लागि एउटा अञ्जीरको रूखमा चढे; किनकि येशू त्यतैबाट आउनलाग्नुभएको थियो। जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले माथितिर हेरेर तिनलाई भन्नुभयो, “ए जक्कै, चाँडै तल आऊ। आज मलाई तिम्रो घरमा बस्नुपरेको छ।” अनि तिनी झट्टै तल ओर्लेर आए, र खुशी हुँदै उहाँलाई सत्कार गरे। तर यो देखेर सबैजनाले गनगनाउँदै भन्न लागे, “उनी ता एउटा ‘पापी’ को घरमा पाहुना बस्न गए।” तर जक्कै खडा भएर प्रभुलाई भने, “हे प्रभु, हेर्नुहोस्! म अहिले यहीं नै मेरो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु; अनि यदि मैले कसैलाई कुनै कुरामा ठगेको भए, म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।” येशूले तिनलाई भन्नुभयो, “आज यस घरमा मुक्ति आएको छ, किनकि यी मानिस पनि अब्राहामकै एक छोरा हुन्। किनकि मानिसको पुत्र हराएकाहरूलाई खोज्न र बचाउन आएका हो।” तिनीहरूले यी कुराहरू सुन्दैगर्दा उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो; किनकि उहाँ यरूशलेमको नजिकै हुनुहुन्थ्यो, र मानिसहरूले परमेश्वरको राज्य अब तुरुन्तै प्रकट हुनेछ भन्ने विचार गरेका थिए। उहाँले भन्नुभयो: “असल खानदानका एकजना मानिस राजा नियुक्त भएर फेरि फर्कि आउनको लागि एउटा टाढा मुलुकमा गए। तिनले आफ्ना दश जना सेवकहरूलाई बोलाएर तिनीहरूलाई सुनका दश सिक्का दिएर भने, ‘म फर्केर नआएसम्म यो पैसा व्यापारमा लगाओ।’ “तर उनका अधीनका प्रजाहरूले तिनलाई घृणा गर्दथे; र त्यसैले तिनका पछि-पछि तिनीहरूले यसो भन्ने दूतहरू पठाए, ‘यी मानिस हाम्रा राजा भएको हामी चाहँदैनौं।’ “तर तिनी राजा भएर घर फर्के। त्यसपछि तिनले दिएका पैसाबाट सेवकहरूले कति फाइदा गरे भनी पत्ता लगाउनका लागि तिनले आफ्ना सेवकहरूलाई आफूकहाँ बोलाए। “पहिलो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू दश सिक्का कमाएको छु।’ “अनि त्यसका मालिकले भने, ‘स्याबास, मेरो असल सेवक! तिमी सानो कुरामा पनि विश्वासयोग्य भयौ, त्यसकारण अब दश शहरहरूमाथि अधिकार गर।’ “दोस्रो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू पाँच सिक्का कमाएको छु।’ “अनि त्यसका मालिकले भने, ‘तिमीले पाँच शहरहरूमाथि अधिकार गर।’ “त्यसपछि अर्को सेवक आयो, र भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्का यहीं छ, मैले यसलाई कपडाको टालोमा बाँधेर राखेको छु। म तपाईंसँग डराएँ, किनकि तपाईं एक कठोर मानिस हुनुहुन्छ। तपाईंले त जे राख्नु नै भएको छैन, त्यो लिनुहुन्छ र जे छर्नुभएन, त्यसैको कटनी गर्नुहुन्छ।’ “त्यसका मालिकले जवाफ दिए, ‘ए दुष्ट सेवक, म तेरै मुखको वचनबाट तेरो न्याय गर्नेछु! मैले जे राखिनँ, त्यो लिने, र जे छरिनँ, त्यसैको कटनी गर्ने म एक कठोर मानिस हुँ भन्ने तँलाई थाहा थियो, होइन र? त्यसो भए मेरो सिक्का तैंले किन साहुकहाँ राखिनस् त? त्यसो गरेको भए म फर्केर आउँदा मैले त्यो ब्याजसमेत पाउने थिएँ।’ “त्यसपछि तिनले त्यहाँ नजिकै उभिनेहरूलाई भने, ‘त्यसबाट त्यो सिक्का लेओ, र जससित दश सिक्का छ त्यसलाई देओ।’ “तिनीहरूले भने, ‘मालिक, त्यससँग दश सिक्का छँदैछन् त!’ “तिनले जवाफ दिए, ‘म तिमीहरूलाई भन्दछु, जससित छ त्यसलाई अरू दिइनेछ, तर जससित छैन, त्यससित भएको पनि खोसिनेछ। तर म तिनीहरूमाथि राजा बनेको नचाहने मेरा ती शत्रुहरू, तिनीहरूलाई यहाँ ल्याओ र तिनीहरूलाई मेरै सामुन्ने मार।’ ” येशूले यी कुराहरू भनिसकेपछि उहाँ यरूशलेमतर्फ जानअघि बढ्नुभयो। जब उहाँ जैतुन डाँडा भनिने पहाडमा बेथफागे र बेथानीको नजिक आइपुग्नुभयो, तब उहाँले आफ्ना दुईजना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, “तिमीहरूका सामुन्नेको गाउँमा जाओ, र जब तिमीहरू त्यहाँ प्रवेश गर्छौ, तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ, जसमाथि अझसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ। यदि कसैले तिमीहरूलाई ‘त्यसलाई किन फुकाउँदैछौ?’ भनी सोध्यो भने, त्यसलाई ‘प्रभुलाई यो चाहिएको छ’ भन्नू।” ती अघि-अघि पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्तो भन्नुभएको थियो, त्यस्तै भेट्टाए। तिनीहरूले त्यो बछेडालाई फुकाउँदै गर्दा त्यसको मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले त्यो बछेडालाई किन फुकाउँदैछौ?” तिनीहरूले जवाफ दिए, “प्रभुलाई यो चाहिएको छ।” तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए; आफ्ना लुगाहरू त्यस गधामाथि राखे, र येशूलाई त्यसमाथि बसाले। उहाँ अघि बढ्दैगर्दा मानिसहरूले आ-आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए। उहाँ जैतुन डाँडाको ओह्रालो सुरु हुने ठाउँको नजिक आइपुग्नुहुँदा, चेलाहरूको सम्पूर्ण भीडले आफूहरूले देखेका सबै शक्तिशाली कामहरूका लागि आनन्दसाथ चर्को सोरमा परमेश्वरको प्रशंसा गर्न लागे: “प्रभुको नाउँमा जो राजा आउनुहुन्छ धन्य हुनुहुन्छ!” “स्वर्गमा शान्ति र सर्वोच्चमा महिमा।” भीडमध्येका कोही फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्!” उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने डुङ्गाहरू कराएर उठ्नेछन्।” जब येशू यरूशलेमको नजिक पुग्नुभयो, र शहरलाई देख्नुभयो, तब उहाँ त्यसको निम्ति रुनुभयो, र भन्नुभयो, “तैंले, हो तैंले नै शान्ति कुन कुराले ल्याउँछ भनी आज जानेको भए हुनेथियो, तर अब त्यो तेरो नजरबाट लुकेको छ। तँमाथि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि तेरो विरुद्धमा मोर्चा बाँध्नेछन्, घेरा हाल्नेछन् र तँलाई चारैतिरबाट थुनिराख्नेछन्। तिनीहरूले तँलाई र तेरो पर्खालभित्र भएका तेरा सन्तानहरूलाई जमिनमा पछार्नेछन्; र तिनीहरूले एउटा ढुङ्गा पनि अर्कोमाथि छोड्नेछैनन्; किनकि तैंले तँकहाँ भएको परमेश्वरको आगमनको समयलाई चिनिनस्।”
लूका 19:1-44 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू यरीहो सहर भएर जाँदै हुनुहुन्थ्यो। त्यस सहरमा जखायस नाउँ भएका धनी मानिस कर उठाउनेहरूका हाकिम थिए। उनले येशूलाई हेर्न खोज्दै थिए। तर उनी पुड्का थिए र मानिसहरूको घुइँचोले गर्दा उनले येशूलाई देख्न सकेनन्। त्यसकारण येशूलाई हेर्न उनी दगुर्दै अगाडि गएर एउटा जङ्गली नेभाराको रूखमा चढे। येशू त्यही बाटो भएर आउँदै हुनुहुन्थ्यो। त्यस ठाउँमा आइपुगेपछि येशूले मास्तिर हेरेर जखायसलाई भन्नुभयो, “ए जखायस, झट्टै तल ओर्लेर आऊ! आज म तिम्रो घरमा बास बस्नुपरेको छ।” जखायसले खुसी हुँदै तुरुन्तै ओर्लेर येशूको स्वागत गरे। यो देखेर सबै जना यसो भन्दै गनगनाउन लागे, “यी मानिस त पापीको घरमा पो बास बस्न जाँदै छन्!” तर जखायसले प्रभुको अगाडि उभिएर भने, “सुन्नुहोस् हजुर, अब म आफ्नो धन-सम्पत्तिको आधा भाग गरीबहरूलाई बाँडिदिनेछु अनि कसैलाई करकापमा पारेर केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता पनि गरिदिनेछु।” येशूले तिनलाई भन्नुभयो, “आज यस घरले उद्धार पाएको छ। जखायस पनि त अब्राहामकै सन्तान हुन्। म मानव पुत्र हराएकालाई नै खोज्न र बचाउन भनेर आएको हुँ।” येशू यरूशलेमको नजिकै आइपुग्नुभएको थियो। मानिसहरू परमेश्वरको राज्य अब चाँडै आउँछ भन्ने सम्झेर उहाँका कुरा सुनिरहेका थिए। त्यसो हुँदा उहाँले एउटा दृष्टान्त दिएर तिनीहरूलाई परमेश्वरको राज्यको बारेमा यस्तो कथा भन्नुभयो, “कुनै एक जना ठूला मानिसले निकै टाढा देशमा गएर आफ्नो देशको राजा बनेर फर्कने विचार गरे। जानुभन्दा अघि तिनले आफ्ना दश जना नोकरहरूलाई बोलाए अनि हरेकलाई एक-एक वटा असर्फी दिएर भने, ‘म फर्केर नआउञ्जेल यस असर्फीले व्यापार गरेर नाफा निकाल।’ तर आफ्नो देशका मानिसहरूले चाहिँ तिनलाई मन पराउँदैनथे। त्यसैले तिनी गएपछि उनीहरूले यसो भनेर बिन्ती पठाए, ‘यो मानिस राजा भएको हामी चाहँदैनौं।’ “तर ती मानिस राजा भएर नै फर्किए। आउनेबित्तिकै उनले नोकरहरूलाई व्यापार गरेर कति कमाए भनी सोध्न बोलाए। पहिलो नोकरले आएर भन्यो, ‘हजुर, तपाईंले दिनुभएको एउटा असर्फीले मैले दश वटा असर्फी कमाएर ल्याएको छु।’ राजाले तिनलाई भने, ‘स्याबास! तिमी असल नोकर रहेछौ! तिमी सानो कुरामा भरपर्दो भएकोले म तिमीलाई दश सहरको हाकिम बनाउनेछु।’ दोस्रो नोकरले आएर भन्यो, ‘हजुर, तपाईंले दिनुभएको एउटा असर्फीले मैले पाँच वटा कमाएर ल्याएको छु।’ राजाले त्यसलाई भने, ‘तिमी पाँच सहरको हाकिम हुनेछौ।’ अर्को नोकरले आएर भन्यो, ‘हजुर, मैले तपाईंको असर्फी रुमालमा लुकाएर राखें, यो यहीँ छ। मलाई तपाईंदेखि डर लाग्यो किनभने तपाईं कठोर मानिस हुनुहुन्छ। तपाईं त आफूले लगानी नगरेको ठाउँमा पनि नाफा खोज्नुहुन्छ र आफूले नलगाएको बाली काटेर लिनुहुन्छ।’ राजाले त्यसलाई भने, ‘ए बदमाश नोकर, तेरै मुखको बोलीले म तँलाई दोषी ठहराउँछु। म कठोर मानिस छु, आफूले लगानी नगरेको ठाउँबाट नाफा खोज्ने र आफूले नलगाएको बाली काटेर लिने भनेर तँलाई थाहै रहेछ। त्यसो भए तैँले मेरो पैसा किन ब्याजमा लगाइनस् त? ब्याजमा लगाइदिएको भए म फर्केर आउँदा केही नभए पनि ब्याजसम्म त पाउने थिएँ।’ तिनले त्यहाँ उभिनेहरूलाई भने, ‘लौ, अब त्यसबाट त्यो असर्फी खोसेर दश वटा हुनेलाई देओ।’ तिनीहरूले भने, ‘हजुर, उसको त दश वटा छँदैछ नि!’ राजाले भने, ‘म तिमीहरूलाई भन्छु, जोसँग छ, उसलाई अझै दिइन्छ। तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिन्छ। अब मलाई राजा भएको नचाहने मेरा शत्रुहरूलाई यहाँ ल्याएर मेरै सामुन्ने मार’!” यो दृष्टान्त भन्नुभएपछि येशू तिनीहरूको अघिअघि यरूशलेमको बाटो लाग्नुभयो। बेथफागे र बेथानिया गाउँ छेउको जैतुन डाँडामा आइपुग्नुहुँदा येशूले दुई चेलाहरूलाई यसो भनी पठाउनुभयो, “ऊ त्यो पल्लो गाउँमा जाओ। त्यहाँ तिमीहरूले कहिल्यै कोही पनि नचढेको गधाको एउटा बछेडा बाँधिराखेको फेला पार्नेछौ। त्यसलाई फुकाएर यहाँ ल्याओ। यदि कसैले ‘यसलाई किन फुकाएको’ भनी सोध्यो भने, ‘प्रभुलाई चाहिएको छ’ भन।” ती दुई चेला गाउँमा गए र येशूले भन्नुभएजस्तै गधाको बछेडा भेटाए। त्यसलाई फुकाउन लाग्दा त्यसका धनीहरूले सोधे, “किन फुकाएको हँ?” “प्रभुलाई यो चाहिएको छ,” तिनीहरूले जवाफ दिए। तिनीहरूले गधाको बछेडालाई लगेर त्यसको पिठ्युँमा आफ्ना खास्टो ओछ्याइदिए अनि येशू त्यसमाथि चढ्नुभयो। येशू अघि बढ्दै गर्नुहुँदा मानिसहरूले पनि आफ्ना खास्टोहरू फुकालेर बाटोमा ओछ्याइदिए। येशू यरूशलेमको नजिकै जैतुन डाँडाको ओह्रालोमा आइपुग्नुभयो। त्यस बेला येशूले गर्नुभएका शक्तिशाली कामहरू सम्झेर सबै चेलाहरूले रमाउँदै ठूलो सोरमा परमेश्वरको जयजयकार गाउन थाले– “प्रभु परमेश्वरको नाउँमा आउनुहुने महाराजा कति धन्य हुनुहुन्छ! स्वर्गमा शान्ति होस्! परमेश्वरको महिमा होस्!” मानिसको घुइँचोबाट फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई चुप गराउनुहोस्।” येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई भन्छु, यिनीहरू चुप लागे भने त ढुङ्गाहरू पो कराउनेछन्।” यरूशलेम नजिक आइपुग्नुहुँदा सहरलाई आफ्नो अगाडि देखेर येशू रुनुभयो र भन्नुभयो, “तैँले आज शान्तिको लागि के चाहिन्छ भनेर जानेको भए हुन्थ्यो। तर तैँले यो देख्नै सकिनस्! अब त यस्तो समय आउनेछ, जब तेरा शत्रुहरूले तेरो चारैतिरबाट मोर्चा बाँधी सबैतिरबाट तँलाई घेर्नेछन् र तँ अनि तेरा बालकहरूलाई नाश गर्नेछन्। तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी राख्नेछैनन् किनभने परमेश्वरले तँलाई बचाउन आएको समयलाई तैँले चिन्दै चिनिनस्।”
लूका 19:1-44 पवित्र बाइबल (NERV)
येशू यरीहो शहर भएर जाँदै हुनुहुन्थ्यो। यरीकोमा एकजना जक्कै नाउँ भएको मानिस बस्थे। तिनी महसूल उठाउने हाकीम औ धनवान मानिस थिए। तिनी येशू को हुन भनी हेर्न चाहन्थे। अरू मानिसहरू पनि त्यहाँ उहाँलाई हेर्न चाहन्थे। जक्कै एकदमै पुडको मानिस थिए अनि उनले मानिसहरूको भीडमा येशूलाई देख्न सक्ने थिएनन्। अनि येशू आउँदै गरेको ठाँउ पुग्नु तिनी अघि दौडे। तिनी नेभाराको रूखमा चढे जहाँबाट तिनले येशूलाई देख्न सक्थे। जब येशू त्यो ठाउँमा आइपुग्नु भयो उहाँले जक्कैलाई रूखमाथि देख्नु भयो। उहाँले तिनलाई भन्नुभयो, “जक्कै, झट्टै! तल ओर्लेरआऊ! आज म तिम्रो घरमा बास बस्नु पर्छ।” त्यसपछि जक्कै झट्टै तल ओर्लेर आए। तिनी आफ्नो घरमा येशूलाई स्वागत गर्न पाउँदा खुबै खुशी भए। सबै मानिसहरूले यो देखो। तिनीहरू यसो भन्दै विरोध गर्न लागे, “हेर येशू कस्ता मानिससँग बस्न जानु हुँदैंछ? जक्कै पापी हो।” जक्कैले प्रभूलाई भन्यो, “म असल काम गर्न चाहान्छु। म गरीबहरूलाई मेरो आधा सम्पति दिनेछु। अनि यदि मैले कसैलाई ठगेकोछु भने तिनीहरूलाई चार गुणा अधिक तिर्नेछु।” येशूले भन्नुभयो, “यो मानिस असल हो। निश्चय नै यी अब्राहामको परिवारको हुनुपर्छ। आज जक्कै आफ्नो पापहरूबाट मुक्त भएको छ। मानिसको पुत्र हाराएको मानिसहरूलाई खोज्नु र उद्धार गर्न आएको हो।” येशू यरूशलेम नजीकै पुग्नु भएको थियो। कोही मानिसहरूले सोचे कि परमेश्वरको राज्य झैट्टै आउँदैछ। मानिसहरूले यस्तै सोचका होलान् भनेर येशूले थाहा पाउनु भयो, अनि उहाँले तिनीहरूलाई यो कथा सुनाउनु भयोः “एकजना कुलीन मानिस आफ्ना निम्ति राजा हुनु टाडा देशमा जानलाई तयारी गर्दै थिए। तब फर्केर घर आई आफ्ना मानिसहरूमा पनि शासन गर्ने थिए। यसकारण तिनले प्रत्येकलाई एक-एक थैलो पैसा दिए। तिनले भने, ‘म फर्केर नआउन्जेल यो तिमीहरूले व्यापार गर्दै गर।’ तर राज्यमा भएका अरू मानिसहरूले उसलाई घृणा गरे। अनि तिनीहरूले एकदल आफ्ना मानिसहरूलाई यसो भन्न पठाए, ‘हामी यस मानिसलाई राजा बनाउन चाहाँदैनौ।’ “तर त्यो मानिसलाई राजा बनाइयो। जब तिनी आफ्नो देश फर्के तिनले भने, ‘ती नोकरहरूलाई बोलाऊ जससित मेरा पैसा छन्। म जान्न चाहन्छु तिनीहरूले ती पैसाबाट कतिसम्म कमाए।’ पहिलो नोकर आयो अनि भन्यो, ‘मालिक, मैले तपाईंले दिनु भएको एक थैलो पैसाले दस थैला पैसा कमाएँ।’ राजाले त्यो नोकरलाई भने, ‘अति राम्रो! तिमी असल नोकर हौ। तिमीहरू सानो कुरामा विश्वासी थियौ। यसकारण म मेरा दशवटा शहर शासन गर्न तिमीलाई नियुक्ती गर्छु।’ “दोस्रो नोकरले भने, ‘मालिक, मैले तपाईंको एक थैलो पैसाले अरू पाँच थैलो पैसा कमाएँ।’ राजाले त्यो नोकरलाई भने, ‘तिमीले पनि पाँचवटा शहरहरूमा शासन गर!’ “त्यपछि अर्को नोकर आयो। त्यसले राजलाई भन्यो, ‘मालिक! यहाँ तपाईंको पैसाको थैलो छ। मैले यसलाई लुगाले बेह्रेर लुकाईराखेको थिएँ। मलाई तपाईंदेखि अति डर थियो किनभने तपाईं अत्यन्त कठोर मानिस हुनुहुन्छ। तपाईंले आफूले नकमाएको पनि लानु हुन्छ, तपाईंले बीऊ नछरी वाली काट्नु हुन्छ।’ “त्यसपछि राजाले त्यो नोकरलाई भने, ‘तिमी खराब नोकर हौ! म तिमीलाई तिम्रै शब्दहरूबाट न्याय गर्छु। तिमीले भन्यौ म कठोर मानिस हुँ। तिमीले यसो पनि भन्यौ कि मैले जे कमाएको थिइनँ त्यो पैसा लिन्छु अनि जे रोपेको थिइनँ त्यसको फसल उठाउँछु। यदि यी सबै साँच्चो हो भने मेरो पैसालाई तिमीले बैंकमा राख्न सक्थ्यौ। अनि जब म फर्केर आँए, मेरो रुपियाँले व्याज कमाएको हुन्थ्यो।’ त्यसपछि राजाले त्यहाँ उभिरहेका मानिसहरूलाई भने, ‘रुपियाँको थैलो यसबाट लेऊ, अनि जुन नोकरकोमा दश थैली रुपियाँ छ त्यसलाई नै देऊ।’ “ती मानिसहरूले राजालाई भने, ‘तर मालिक, त्यो नोकरको त अघिबाटै दश थैलो रुपियाँ छ।’ “राजाले भने, ‘म भन्छु जसकोमा धेरै छ उसलाई धेरै नै दिइन्छ, अनि जसकोमा छैन, त्यसकोमा जो छ त्यो पनि लगिन्छ। अहिले मेरो शत्रुहरू कहाँ छन्? खोई तिनीहरू कहाँ छन जसले म राजा भएको चाहाँदैनथे? ती शत्रुहरूलाई यहाँ ल्याऊ अनि मेरो अघि तिनीहरूको हत्या गर।’” यी सबै कुराहरू जब येशूले भनिसक्नु भयो उहाँ यरूशलेमतिर जानु भयो। उहाँ जैतून नाउँ भएको पहाड नजिकको बेथानी शहरमा पुग्नु भयो। उहाँले आफ्ना दुइजना चेलाहरूलाई बोलाउनु भयो अनि तिनीहरूलाई भन्नु भयो, “यहाँ जुन गाउँ तिनीहरूको सामुन्ने छ त्यहाँ जाऊ। जब शहरमा पस्न लागेका हुन्छौ त्यहाँ एउटा गधालाई बाँधिराखेको पाउनेछौ। त्यो गधामा पहिले कोही पनि चढेको छैन। गधाको लगाम फुकाल, अनि त्यसलाई मकहाँ लिएर आऊ। कसैले गधा किन खोल्दैछौ भनी तिमीलाई सोधेभने भन, ‘यो गधा मालिकलाई चाहिएको छ।’” दुवै चेलाहरू शहरतिर लागे। तिनीहरूले गधालाई येशूले भन्नु भए झैं पाए। जब ती चेलाहरूले गधाको डोरी खोल्दैथे, गधाको मालिकहरूले चेलाहरूलाई सोधे, “किन तिमीहरू गधा खोल्दैछौ?” चेलाहरूले जवाफ दिए, “प्रभुलाई यसको अवश्यकता छ।” यसकारण तिनीहरूले त्यो गधालाई येशूकहाँ ल्याए। चेलाहरूले आफ्ना लुगाहरू गधाको पिठ्यूँमा बिछ्याए। त्यसपछि तिनीहरूले येशूलाई त्यो गधामा चढाए। येशू गधामाथि चढेर यरूशलेम तर्फ लाग्नुभयो। मानिसहरूले येशूको लागि आफ्नो लुगाहरू बाटोमा ओछ्याए। येशू यरूशलेम पुग्नै लाग्नु भएको थियो। उहाँ जैतून डाँडाको फेदीमा पुग्नु भएको थियो। चेलाहरूको सम्पूर्ण भीड नै खुशी थियो। तिनीहरू परमेश्वरलाई धन्यवाद चढाउँदै थिए। तिनीहरूले परमेश्वरको शक्तिपूर्ण कार्यहरू देखेर उहाँलाई कराई कराई धन्यवाद चढाउँदैथे। तिनीहरूले भने, “‘धन्य हुन, ती राजा जो परमप्रभुको नाउँमा आउँछन्।’ स्वर्गमा शान्ति होस् अनि परमेश्वरलाई महिमा होस्।” भीडमा उभिएर कोही फरिसीहरूले येशूलाई भने, “गुरूज्यू! यस्तो कुराहरू नभन्नु भनेर तपाईंका चेलाहरूलाई भन्नुहोस्।” तर उहाँले भन्नुयो, “म तिमीहरूलाई भन्छु, यी कुराहरू भन्नै पर्छ। यदि मेरा चेलाहरूले यी कुराहरू भनेनन् भने, यी ढुङ्गाहरू यसको लागि चिच्याउनेछन्।” येशू यरूशलेम नजिक आईपुग्नु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो। उहाँले यरूशलेमको विषयमा भन्नुभयो, “तिम्रोमा केले शान्ति ल्याउँछ? यदि तिमीले आज बुझेको भए, असल हुने थियो। तर तिमीले जान्दैनौ, किनभने यो तिम्रो आँखाबाटा ओझेल परेकोछ। एउटा समय आउँदैछ कि तिम्रो शत्रुहरूले तिम्रो वरिपरि वाधाहरू खडा गराऊने छन्। तिमीलाई तिनीहरूले वरिपरिबाट घेर्नेछन् अनि तिमी सबै तिरबाट घेरामा पर्नेछौ। तिनीहरूले तिमीलाई र तिम्रो मानिसहरूलाई ध्वंस पार्नेछन्। तिम्रो भवनहरूको एक ढुङ्गामाथिको अर्को ढुङ्गा पनि छाडिने छैन्। यो घट्ना घट्नेछ, कारण तिमी जान्दैनौ तिमीलाई बचाउन परमेश्वर कहिले आउँनु हुन्छ।”