लूका 16:14-31
लूका 16:14-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धनका लोभी फरिसीहरूले यी सबै कुरा सुनेर उहाँको उपहास गरे। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसहरूका सामुन्ने आफैलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर परमेश्वरले तिमीहरूका हृदय जान्नुहुन्छ, किनकि मानिसहरूका बीचमा जे उच्च गनिएको छ, परमेश्वरको दृष्टिमा त्यो तुच्छ ठहरिन्छ। “बप्तिस्मा-दिने यूहन्नाको समयसम्म मोशाको व्यवस्था र अगमवक्ताहरू प्रचार गरिए। त्यस बेलादेखि परमेश्वरका राज्यको सुसमाचार प्रचार गरिएको छ, र सबै जना त्यस राज्यभित्र बलपूर्वक प्रवेश गर्दछन्। तर व्यवस्थाबाट एक मात्रा मेटिनभन्दा स्वर्ग र पृथ्वी टलिजान सजिलो छ। “जसले आफ्नी पत्नीलाई त्यागेर अर्कीलाई विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, र श्रीमान्बाट त्यागिएकी स्त्रीलाई विवाह गर्ने मानिसले पनि व्यभिचार गर्दछ। “एक जना धनी मानिस थियो, जो बहुमूल्य वस्त्र र मिहीन मलमल लगाएर दिनहुँ मोजमज्जामा बस्तथ्यो। उसको ढोकामा लाजरस नाउँको एक जना गरीब मानिसलाई ल्याएर राखिदिन्थे। त्यो घावैघाउले भरिएको थियो। त्यस धनी मानिसको टेबिलबाट झरेका टुक्राटाक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे। “त्यो गरीब मानिस मर्यो, र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो। नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढ़ामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो। अनि उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्, र त्यसले आफ्नो औँलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदेओस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु।’ “तर अब्राहामले भने, ‘छोरो, याद गर्, तैंले आफ्नो जीवनकालमा असल-असल कुराहरू भोग गरिस्, र त्यसै गरी लाजरसले दुःखैदुःख भोग्यो। त्यो अब यहाँ आराममा छ, र तँचाहिँ कष्टमा छस्। यी सबै कुराबाहेक यहाँबाट तँकहाँ पारि जान खोज्नेहरू जान नसकून् र त्यहाँबाट यहाँ हामीकहाँ वारि आउन पनि नसकून् भनेर हामीहरू र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो छ।’ “उसले भन्यो, ‘पिता, यसैकारण म तपाईंलाई बिन्ती गर्दछु, तपाईंले त्यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्, किनभने मेरा पाँच भाइ छन्, र त्यसले तिनीहरूलाई चेताउनी देओस्, नत्रता तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान्।’ “तर अब्राहामले भने, ‘तिनीहरूका साथमा मोशा र अगमवक्ताहरूका पुस्तक छन्। तिनीहरूले ती सुनून्।’ “तर उसले भन्यो, ‘होइन, पिता अब्राहाम, मरेकाबाट कोही एक जना तिनीहरूकहाँ गयो भनेता तिनीहरूले पश्चात्ताप गर्नेछन्।’ “उनले उसलाई भने, ‘मोशा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने, मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्नेछैनन्’।”
लूका 16:14-31 नेपाली समकालीन संस्करण (NCV)
फरिसीहरू, जसले धनको लोभ गर्थे, यी सबै कुरा सुनेर तिनीहरूले उहाँका विरुद्ध ओठ लेप्य्राउँदै थिए। उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसहरूका सामुन्ने आफैलाई धर्मी ठहराउने मानिसहरू तिमीहरू नै हौ, तर तिमीहरूका हृदय परमेश्वरले जान्नुहुन्छ। मानिसहरूका बीचमा जे उच्च ठानिएको हुन्छ, त्यो परमेश्वरको दृष्टिमा घृणित हुन्छ। “व्यवस्था र अगमवक्ताका वचन यूहन्नाको पालासम्म घोषणा गरिए। त्यस बेलादेखि परमेश्वरको राज्यको सुसमाचार घोषणा भइरहेको छ, अनि हरेक व्यक्तिले आफू त्यसभित्र पस्न जबरजस्ती गर्दैछ। तर व्यवस्थाबाट एक मात्रा पनि हट्नुभन्दा आकाश र पृथ्वी टलिजान सजिलो छ। “जसले आफ्नी पत्नीलाई विवाह-विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ, अनि त्यो मानिस जसले विवाह-विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ, उसले पनि व्यभिचार गर्छ। “येशूले भन्नुभयो, एउटा धनी मानिस थियो र ऊ बहुमूल्य बैजनी र मिहिन मलमलको लुगा लगाएर दिनहुँ सुख-विलासमा बस्दथ्यो। उसको ढोकामा लाजरस नाउँ भएको एउटा माग्ने राखिन्थ्यो, जसको शरीर घाउ नै घाउले भरिएको थियो, अनि त्यसले धनी मानिसको टेबुलबाट झरेका भोजनका टुक्रा-टाक्री खाने इच्छा गर्दथ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्दथे। “केही समयपछि त्यो माग्ने मर्यो र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा पुर्याइयो। त्यो धनी मानिस पनि मर्यो, र गाडियो। नरकमा, जहाँ ऊ कठोर यातनामा थियो। उसले त्यहाँबाट नजर उठाएर हेर्यो, र टाढामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो। तब उसले उनलाई कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्, र लाजरसलाई त्यसको औंला पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदिन यहाँ पठाइदिनुहोस्, किनकि म यस आगोमा कठोर वेदनामा छु।’ “तर अब्राहामले जवाफ दिए, ‘छोरा, याद गर! तिमीले तिम्रो जीवनकालमा असल कुराहरू प्राप्त गर्यौ, तर लाजरसले दुःख मात्र पायो; तर अहिले उसले यहाँ आराम पाउँदैछ, र तिमीचाहिँ वेदनामा तड्पिरहेका छौ। अनि यसबाहेक पनि, यहाँबाट तिमीकहाँ जान चाहनेहरू जान नसकून् र त्यहाँबाट पनि कोही पार गरेर यहाँ आउन नसकून् भनेर हामीहरूका बीचमा एउटा अति गहिरो धाँदो राखिएको छ।’ “तब उसले भन्यो, ‘त्यसो भए, हे पिता, म तपाईंलाई विन्ती गर्दछु, लाजरसलाई मेरो परिवारकहाँ पठाइदिनुहोस्, किनकि मेरा पाँच भाइहरू त्यहाँ छन्; त्यसले तिनीहरूलाई चेतावनी देओस्, जसबाट तिनीहरू पनि यो यातनाको ठाउँमा नआऊन्।’ “अब्राहामले जवाफ दिए, ‘तिनीहरूसित मोशा र अगमवक्ताका पुस्तकहरू छन्, तिनीहरूले तिनलाई सुनून्।’ “उसले भन्यो, ‘होइन, पिता अब्राहाम, तर मरेकाहरूबाट कोही एकजना तिनीहरूकहाँ गयो भने ता, तिनीहरूले पश्चात्ताप गर्नेछन्।’ “तिनले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्ताका वचन सुन्दैनन् भने मरेकाहरूबाट कोही जीवित भए तापनि तिनीहरूले विश्वास गर्नेछैनन्।’ ”
लूका 16:14-31 पवित्र बाइबल (NERV)
फरिसीहरूले यी सब सुनिरहेका थिए। फरिसीहरूले येशूको निन्दा गरे किनभने तिनीहरू सबैले धनलाई प्रेम गर्थे। येशूले ती फरिसीहरूलाई भन्नुभयो, “तिमीहरू मानिसहरूको अघि भलादमीको स्वभाव देखाउँछौ। तिमीहरू भित्र के छ परमेश्वर जान्नु हुन्छ। जुन कुरो मानिसको लागि मूल्यवान छ परमेश्वरको निम्ति त्यसको केही मूल्य छैन। “परमेश्वरले मानिसहरू मोशाको व्यस्था र अगमवक्ताहरूका ग्रन्थहरू अनुसार बाँचेको चाहनुहुन्छ। तर बप्तिस्मा दिने यूहन्ना आएपछि नै परमेश्वरको राज्यको सुसमाचार सुनाइयो। अनेकौं मानिसहरू परमेश्वरको राज्यमा पस्न पाउनलाई परिश्रम गरिरहेका छन् व्यवस्थाको सूक्ष्म अंश पनि परिवर्तन गरिनु भन्दा स्वर्ग र पृथ्वी नै अल्पिनु अझ सजिलो छ। “यदी कुनै मानसले आफ्नो पत्नीसँग छुटानाम गर्छ र अर्को स्त्रीलाई विवाह गर्छ भने, ऊ व्यभिचार पापको दोषी हुनेछ। अनि कुनै मानिसले छुटानामा भएकी स्त्रीलाई विवाह गर्छ भने त्यसलाई पनि व्यभिचार गरेकै पाप लाग्नेछ।” येशूले भन्नुभयो, “एउटा धनी मानिस थियो। उसले बहुमूल्य लुगाहरू लगाउँथ्यो। त्यहाँ लाजरस नाउँ गरेको एक गरीब मानिस बस्थ्यो त्यो त्यस धनी मानिसको घरको ढोका अघि सुती रहन्थ्यो। त्यसको शरीर घावै घावले भरिएको थियो। यदि त्यसले त्यस धनी मानिसले खाएर उब्रेको खान पाए पनि सन्तुष्ट हुन्थ्यो। कहिले काँही कुकुरहरूले त्यसको घाव चाटिरहेका हुन्थे। “केही समय पछि लाजरस मर्यो। स्वर्गदूतहरूले लाजरसलाई बोकेर अब्राहम को काखमा सुम्पिदिए। त्यो धनी मानिस पनि मर्यो अनि उसलाई गाडीयो। त्यसलाई नरकलोकमा पठाइयो अनि खुबै कष्ठमा पर्यो। त्यो धनी मानिसले टाडोबाट अब्राहामले लाजरसलाई आफ्नो काखमा लिएको देख्यो। त्यसले चिच्याएर भन्यो, ‘हे पिता अब्राहम, ममाथि दया गर्नुहोस्! लाजरसलाई मकहाँ पठाइदिनुहोस् ताकि त्यसले आफ्नो औंला पानीमा चोब्न सक्छ र मेरो जिब्रोलाई शीतल पारिदिओस्। किनभने यी ज्वालामा म कष्ट पाइरहेकोछु।’ “तर अब्राहमले भने, ‘हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ। तिमीहरू र हाम्रो बीचमा पनि एउटा ठूलो खाडल छ। यहाँबाट कोही पनि तिमीहरू भएकोमा पुग्न सक्तैन अनि त्यहाँबाट पनि कोही यता तर्न सक्तैन।’ “त्यो धनी मानिसले भन्यो, तब हे पिता अब्राहाम। लाजरसलाई पृथ्वीमा मेरो बाबुको घर पठाइदिनुहोस्। मेरा पाँचजना भाइहरू छन्। यदि लाजरसले तिनीहरूलाई चेताउनी दिए भने, तिनीहरू यो कष्टमय ठाउँमा आउने छैनन्। “तर अब्राहाले भने, ‘तिनीहरूको लागि पढ्न मोशाको व्यवस्था र अगमवक्ताहरूको ग्रन्थहरू छन्, तिनीहरूले तिनीहरूबाट नै सुनुन्।’ “तर त्यो धनी मानिसले भन्यो, ‘होइन! पिता अब्राहाम! यदि कोही मरेकाहरूबाट एक जना त्यहाँ गए, तिनीहरूले विश्वास गर्नेछन् अनि हृदय र जीवन परिवर्तन गर्नेछन्।’ “फेरि अब्राहामले भने, ‘होइन! यदि तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई सुन्दैनन् भने, तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिदैनन्।’”
लूका 16:14-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यी सबै कुराहरू सुनेर फरिसीहरूले येशूलाई ठट्टामा उडाए। किनभने तिनीहरूको लागि त पैसा नै प्यारो थियो। अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मानिसहरूको दृष्टिमा धर्मी देखिन त खोज्छौ, तर परमेश्वरले तिमीहरूको हृदय जान्नुहुन्छ। मानिसले उच्च ठानेका त्यस्ता कुराहरूलाई परमेश्वरले घिन मान्नुहुन्छ। “बप्तिस्मा दिने यूहन्नाको बेलासम्म मोशाले दिएका व्यवस्था र अगमवक्ताहरूको शिक्षा चल्दैआएको थियो। त्यस बेलादेखि यताचाहिँ परमेश्वरको राज्यको सुसमाचार सुनाइँदै छ अनि सबैले त्यसमा पस्न जोड गर्दै छन्। आकाश र पृथ्वी हराएर जान सक्छ तर परमेश्वरको व्यवस्थाको एउटै कुरा पनि खारेज हुन सक्दैन। आफ्नी पत्नीलाई त्यागेर अर्कीलाई विवाह गर्ने लोग्ने मानिसले व्यभिचार गर्छ अनि अर्काले त्यागेकीलाई विवाह गर्नेले पनि व्यभिचार गर्छ।” येशूले फेरि भन्नुभयो, “कुनै समय एक जना धनी मानिस थियो। ऊ सधैँ दामी-दामी लुगा लाउँथ्यो र ऐश-आरामको जीवन बिताउँदथ्यो। तर उसको ढोकामा भने एक जना लाजरस भन्ने जिउभरि घाउ नै घाउ भएको गरीब मानिस बस्थ्यो। धनी मानिसले खाँदा खसेका टुक्राटाक्री खान पाउँछु कि भनेर उसले हेरिरहन्थ्यो। कुकुरहरूले पनि वरिपरि आएर उसका घाउहरू चाटिदिन्थे। “एक दिन त्यो गरीब लाजरस मर्यो। स्वर्गदूतहरूले उसलाई लगेर अब्राहामको छेवैमा राखिदिए अनि त्यो धनी मानिस पनि मरेर गाडियो। नरकमा असाध्यै पीडा भोग्नुपरेकोले उसले मास्तिर हेर्यो र अब्राहामको छेवैमा लाजरसलाई देख्यो। उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्। लाजरसलाई उनको हातबाट एक थोपा पानी भए पनि मेरो मुखमा चुहाइदिनू भनेर पठाइदिनुहोस्। म यस आगोमा छटपटाइरहेको छु।’ तर अब्राहामले उसलाई भने, ‘छोरा, के तिमीलाई सम्झना छैन? जीवनमा तिमीले सबै सुखका कुरा पाएका थियौ, तर लाजरसले चाहिँ दुखै-दु:ख पाएको थियो। अहिलेचाहिँ लाजरसले यहाँ सुख र शान्ति पाएको छ र तिमीले चाहिँ त्यहाँ दु:ख पाइरहेका छौ। फेरि तिम्रो र हाम्रो बीचमा ठूलो खाडल छ। त्यसो हुँदा चाहेर पनि कोही वारिपारि आउने-जाने गर्न सक्दैन।’ त्यो धनी मानिसले भन्यो, ‘त्यसो भए हे पिता, बिन्ती छ, लाजरसलाई मेरो बुबाको घरमा पठाइदिनुहोस्। तिनले गएर मेरा पाँच जना दाजुभाइहरूलाई यहाँ भएका सबै कुरा सुनाएर चेतावनी देऊन् र तिनीहरू यस नरकमा नआऊन्।’ अब्राहामले भने, ‘उनीहरूसँग मोशा र अगमवक्ताहरूले लेखेका धर्मशास्त्र छँदैछन्, तिम्रा दाजुभाइहरूले त्यही माने त पुगिहाल्यो नि!’ धनी मानिसले भन्यो, ‘होइन पिता अब्राहाम, त्यतिले तिनीहरूलाई पुग्दैन। तर कोही मरेको मानिस फेरि जिउँदो भएर तिनीहरूकहाँ गयो भने त तिनीहरूले आ-आफ्नो पापलाई मानिलिएर छोड्नेथिए।’ तर अब्राहामले जवाफ दिएर भने, ‘मोशा र अगमवक्ताहरूको कुरा नसुन्नेले मरेकै मानिस बिउँतिएर गए पनि विश्वास गर्नेछैनन्’।”