YouVersion लोगो
खोज आइकन

लूका 16:14-31

लूका 16:14-31 NCV

फरिसीहरू, जसले धनको लोभ गर्थे, यी सबै कुरा सुनेर तिनीहरूले उहाँका विरुद्ध ओठ लेप्य्राउँदै थिए। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसहरूका सामुन्‍ने आफैलाई धर्मी ठहराउने मानिसहरू तिमीहरू नै हौ, तर तिमीहरूका हृदय परमेश्‍वरले जान्‍नुहुन्छ। मानिसहरूका बीचमा जे उच्‍च ठानिएको हुन्छ, त्यो परमेश्‍वरको दृष्‍टिमा घृणित हुन्छ। “व्यवस्था र अगमवक्‍ताका वचन यूहन्‍नाको पालासम्म घोषणा गरिए। त्यस बेलादेखि परमेश्‍वरको राज्यको सुसमाचार घोषणा भइरहेको छ, अनि हरेक व्यक्‍तिले आफू त्यसभित्र पस्‍न जबरजस्ती गर्दैछ। तर व्यवस्थाबाट एक मात्रा पनि हट्नुभन्दा आकाश र पृथ्वी टलिजान सजिलो छ। “जसले आफ्नी पत्नीलाई विवाह-विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ, अनि त्यो मानिस जसले विवाह-विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ, उसले पनि व्यभिचार गर्छ। “येशूले भन्‍नुभयो, एउटा धनी मानिस थियो र ऊ बहुमूल्य बैजनी र मिहिन मलमलको लुगा लगाएर दिनहुँ सुख-विलासमा बस्दथ्यो। उसको ढोकामा लाजरस नाउँ भएको एउटा माग्ने राखिन्थ्यो, जसको शरीर घाउ नै घाउले भरिएको थियो, अनि त्यसले धनी मानिसको टेबुलबाट झरेका भोजनका टुक्रा-टाक्री खाने इच्छा गर्दथ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्दथे। “केही समयपछि त्यो माग्ने मर्‍यो र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा पुर्‍याइयो। त्यो धनी मानिस पनि मर्‍यो, र गाडियो। नरकमा, जहाँ ऊ कठोर यातनामा थियो। उसले त्यहाँबाट नजर उठाएर हेर्‍यो, र टाढामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो। तब उसले उनलाई कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्, र लाजरसलाई त्यसको औंला पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदिन यहाँ पठाइदिनुहोस्, किनकि म यस आगोमा कठोर वेदनामा छु।’ “तर अब्राहामले जवाफ दिए, ‘छोरा, याद गर! तिमीले तिम्रो जीवनकालमा असल कुराहरू प्राप्‍त गर्‍यौ, तर लाजरसले दुःख मात्र पायो; तर अहिले उसले यहाँ आराम पाउँदैछ, र तिमीचाहिँ वेदनामा तड्पिरहेका छौ। अनि यसबाहेक पनि, यहाँबाट तिमीकहाँ जान चाहनेहरू जान नसकून् र त्यहाँबाट पनि कोही पार गरेर यहाँ आउन नसकून् भनेर हामीहरूका बीचमा एउटा अति गहिरो धाँदो राखिएको छ।’ “तब उसले भन्यो, ‘त्यसो भए, हे पिता, म तपाईंलाई विन्ती गर्दछु, लाजरसलाई मेरो परिवारकहाँ पठाइदिनुहोस्, किनकि मेरा पाँच भाइहरू त्यहाँ छन्; त्यसले तिनीहरूलाई चेतावनी देओस्, जसबाट तिनीहरू पनि यो यातनाको ठाउँमा नआऊन्।’ “अब्राहामले जवाफ दिए, ‘तिनीहरूसित मोशा र अगमवक्‍ताका पुस्तकहरू छन्, तिनीहरूले तिनलाई सुनून्।’ “उसले भन्यो, ‘होइन, पिता अब्राहाम, तर मरेकाहरूबाट कोही एकजना तिनीहरूकहाँ गयो भने ता, तिनीहरूले पश्‍चात्ताप गर्नेछन्।’ “तिनले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्‍ताका वचन सुन्दैनन् भने मरेकाहरूबाट कोही जीवित भए तापनि तिनीहरूले विश्‍वास गर्नेछैनन्।’ ”

लूका 16 पढ्नुहोस्