लूका 13:22-30
लूका 13:22-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब सहर-सहर र गाउँ-गाउँ भएर यात्रा गर्दै शिक्षा दिँदै उहाँ यरूशलेमतिर जानुभयो। कुनै एक जनाले उहाँलाई सोध्यो, “प्रभु, के उद्धार पाउनेहरू थोरै छन्?” तर उहाँले तिनीहरूलाई भन्नुभयो, “साँघुरो ढोकाबाट पस्ने प्रयत्न गर, किनकि, म तिमीहरूलाई भन्दछु, धेरै जना पस्न खोज्नेछन्, तर सक्नेछैनन्। घरका मालिकले उठेर ढोका बन्द गरिसकेपछि, तिमीहरू बाहिर उभेर यसो भन्दै ढोका ढकढक्याउनेछौ, ‘प्रभु, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्’, र उनले जवाफ दिएर भन्नेछन्, ‘तिमीहरू कहाँबाट आएका हौ म चिन्दिनँ।’ “तब तिमीहरू भन्न लाग्नेछौ, ‘हामीले तपाईंकै सामुन्नेमा खायौं र पियौं, अनि हाम्रा गल्लीहरूमा तपाईंले शिक्षा दिनुहुन्थ्यो।’ “उनले भन्नेछन्, ‘म तिमीहरूलाई भन्दछु, तिमीहरू कहाँबाट आएका हौ म जान्दिनँ। दुष्ट काम गर्ने हो, मबाट दूर होओ।’ “जब तिमीहरूले अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्वरको राज्यभित्र देख्नेछौ, अनि तिमीहरू आफैचाहिँ बाहिर फालिएका हुन्छौ, तब तिमीहरू विलाप गर्नेछौ र दाह्रा किट्नेछौ। मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आएर परमेश्वरका राज्यको भोजमा बस्नेछन्। हेर, पछिल्लाहरूचाहिँ पहिला हुनेछन्, र पहिलाहरूचाहिँ पछिल्ला।”
लूका 13:22-30 पवित्र बाइबल (NERV)
येशू प्रत्येक गाउँ र शहरमा शिक्षा दिंदै जानुभयो। उहाँ यरूशलेम जान यात्रा गरिरहनु भएको थियो। कसैले उहाँलाई भने, “हे प्रभु कतिजना मानिसहरूलाई मुक्ति दिनु सकिन्छ? केवल केही?” येशूले भन्नुभयो, “साँघुरो ढोकाबाट नै पस्ने धेरै कोशिस गर, किनभने यही स्वर्गको बाटो हो। धेरै मानिसहरू त्यहाँबाट पस्ने कोशिस गर्छन्, तर कोही पनि सफल हुन सक्तैन। यदि कुनै घर-मालिक आफ्नो घर ढोकामा ताला लगाउँछ भने, तिमीले बाहिर उभिएर ढोका ढक्ढकाउनु सक्छौ, हे महाशय, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। तर त्यो मानिसले भन्नेछन् म जान्दिन तिमी कहाँबाट आएका हौ?” तब तिमी भन्न शुरू गर्छौ, हामीले एकसाथ खायौं, पियौं। हाम्रो शहरका सडकहरूमा तपाइँले सिकाउनु भयो। अनि फेरि उसले भन्नेछ, म तिमीलाई चिन्दिनँ, तिमी कहाँबाट आएका हौ? मदेखि टाडा जाऊ। तिमीहरू सबैले नै भूल गर्छौ। “तिमीहरूले परमेश्वरको राज्यमा अब्राहाम, इसहाक याकूब र जम्मै अगमवक्ताहरूलाई भेट्नेछौं तर तिमीहरू बाहिर फ्याँकिनेछौ। तब तिमीहरू रूनेछौ औ दाह्रा किट्नेछौ। मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन्। परमेश्वरको राज्यमा तिनीहरू कुर्सीमा आसन लिन्छन्। अहिले जो तल्लो स्तरमा बसेका छन् परमेश्वरको राज्यमा तिनीहरूले उच्च स्थानमा बस्न पाउनेछन्। अनि जो अहिले उच्च आसनमा बसेकाछन् परमेश्वरको राज्यमा तिनीहरू तल्लो आसनमा बस्नेछन्।”
लूका 13:22-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि येशू यरूशलेमतिर जाँदै गर्नुहुँदा उहाँले सहर-सहर र गाउँ-गाउँमा शिक्षा दिँदै जानुभयो। त्यसै बेला कुनै एउटाले उहाँलाई सोध्यो, “प्रभु, के थोरै मानिसहरूले मात्र उद्धार पाउँछन् र?” तर उहाँले तिनीहरूलाई भन्नुभयो, “साँघुरो ढोकाबाट भित्र पस्ने हर प्रयास गर; किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना भित्र पस्न खोज्नेछन्, तर सक्नेछैनन्। जब घरका मालिक उठेर ढोका बन्द गर्नेछन्, तब तिमीहरू बाहिर उभिएर, ‘हजुर, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्!’ भनी बिन्ती गर्दै ढोका ढक्ढक्याउनेछौ। “तर तिनले जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा कहाँबाट आएका हौ, म चिन्दिनँ।’ “तब तिमीहरूले भन्न थाल्नेछौ, ‘हामीले त तपाईंसँगै खायौँ र पियौँ, र तपाईंले हाम्रै गल्लीहरूमा शिक्षा दिनुभयो।’ “तर तिनले यस्तो जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ। ए सबै दुष्ट काम गर्नेहरू हो, मबाट दूर होओ!’ “तब तिमीहरूले अब्राहाम, इसहाक, याकोब र सबै अगमवक्ताहरूलाई परमेश्वरको राज्यभित्र भएका, तर तिमीहरू आफैँलाई भने बाहिर फालिएका देख्नेछौ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ। मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन्, र परमेश्वरको राज्यको भोजमा बस्नेछन्। अनि हेर, पछिल्ला हुनेहरू पहिला र पहिला हुनेहरू पछिल्ला हुनेछन्।”
लूका 13:22-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू यरूशलेम जाँदाजाँदै सहर-शहर र गाउँ-गाउँमा पसेर मानिसहरूलाई शिक्षा दिनुभयो। त्यति बेला एक जना मानिसले उहाँलाई सोध्यो, “हजुर, के थोरै मानिसले मात्र मुक्ति पाउनेछन्?” येशूले जवाफ दिँदै भन्नुभयो, “साँगुरो ढोकाबाट भित्र पस्न बल गर। म तिमीहरूलाई भन्छु, धेरै जना साँगुरो ढोकाबाट भित्र पस्न खोजे तापनि पस्न सक्नेछैनन्। त्यतिखेर घरको मालिकले उठेर ढोका बन्द गर्नेछ अनि तिमीहरूले चाहिँ बाहिरबाट ढोका ढकढक्याउँदै भन्नेछौ, ‘ढोका खोलिदिनुहोस्।’ उनले भन्नेछन्, ‘तिमीहरू को हौ र कहाँबाट आएको हौ? म चिन्दिनँ!’ तिमीहरूले भन्नेछौ, ‘हामीले तपाईंसँगै बसेर खान्थ्यौं र तपाईंले हाम्रै गाउँ-घरमा शिक्षा दिनुहुन्थ्यो।’ तर उनले फेरि भन्नेछन्, ‘तिमीहरू को हौ? म चिन्दिनँ। ए दुष्ट काम गर्नेहरू हो, यहाँबाट गइहाल!’ अनि अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्वरको राज्यभित्र देख्दा र आफैंचाहिँ बाहिर फ्याँकिंदा तिमीहरूले दाह्रा किट्दै रुवाबासी गरिरहनेछौ। मानिसहरू पूर्व, पश्चिम, उत्तर, दक्षिण, चारैतिरबाट आएर परमेश्वरको राज्यमा उहाँसँग खान बस्नेछन्। तर अहिले पछि हुनेहरू पहिला हुनेछन् र अहिले पहिला हुनेहरू पछि पर्नेछन्।”