अय्यूब 8:1-20
अय्यूब 8:1-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब बिल्दद शुहीले यसो भन्न सुरु गरे: तपाईंले कहिलेसम्म यस्तो कुरा गरिरहनुहुन्छ? तपाईंका वचनहरू गर्जने हावा मात्र हुन्। के परमेश्वरले न्यायलाई भ्रष्ट पार्नुहुन्छ? के सर्वशक्तिमान्ले इन्साफलाई भ्रष्ट गर्नुहुन्छ? जब तपाईंका छोराछोरीले उहाँको विरुद्धमा पाप गरे, उहाँले तिनीहरूलाई तिनीहरूकै पापका शिकार बनाउनुभयो। अब यदि तपाईंले परमेश्वरलाई यत्नपूर्वक खोज्नुभयो भने, र सर्वशक्तिमान्को निगाहको निम्ति बिन्ती गर्नुभयो भने, यदि तपाईं निर्दोष र सोझो हुनुहुन्छ भने, निश्चय नै तपाईंको पक्षमा उहाँ उठ्नुहुनेछ, र उहाँले तपाईंको घर पुनर्निर्माण गरिदिनुहुनेछ। तपाईंको सुरुको अवस्थाहरू निम्न देखिनेछन्, त्यसरी तपाईंको अन्त अति महान् हुनेछ। “अघिका पुस्तालाई सोध्नुहोस्, अनि तिनीहरूका पुर्खाहरूका अनुभवलाई विचार गर्नुहोस्। किनभने हामी त हिजो मात्र जन्मेका हौं, अनि हामी केही पनि जान्दैनौं। र पृथ्वीमा हाम्रो दिन त छायाजस्तो मात्र छ। के ती तपाईंलाई सिकाउँदैनन्, र तिनले तपाईंलाई भन्दैनन्? र तिनका हृदयका ज्ञानको कुरा पोखाउँदैनन्? के सिमसार नभएको ठाउँमा काँस-नर्कट अल्गा हुन्छन्? के निगालाहरू पानीविना लहलह बढ्न सक्छन्? तिनीहरू बढ्दै गरेको अवस्थामा र काट्न तयार नभएकै समयमा घाँसभन्दा चाँड़ै नै ओइलाइहाल्छन्। परमेश्वरलाई बिर्सनेको दशा पनि त्यस्तै हुन्छ, ईश्वरहीन मानिसहरूको आशा यसरी नष्ट हुन्छ। त्यसको भरोसा पातलो धागोजस्तै हुन्छ, त्यसको आशाको जग माकुरोको जालजस्तै हुन्छ। त्यो आफ्नो जालमा अड़ेस लाग्छ, तर त्यसले उसलाई थाम्न सक्दैन। उसले त्यसलाई अँठ्याएर समाते तापनि त्यो स्थिर रहँदैन। घाम पाएर पानीले रसिलो भई बढ़ेको बिरुवाजस्तो त्यो हुन्छ, र त्यसका पालुवाहरू बारीमा झाँगिएर जान्छन्, त्यसका जराले ढुङ्गाका थुप्रोलाई बेहर्छ र ढुङ्गाका बीचमा स्थान खोज्छ। तर जब कसैले त्यसलाई त्यसको ठाउँबाट जरैसमेत उखेल्छ, र त्यस ठाउँले त्यसलाई इन्कार गरेर यसो भन्छ, ‘मैले तँलाई कहिल्यै चिनेको थिइनँ।’ त्यसरी नै त्यसको जीवन ओइलाएर जान्छ, र अरू बोटहरू जमिनबाट उम्रेर निस्कन्छन्। “यो निश्चय जान्नुहोस्, निर्दोष मानिसलाई परमेश्वर इन्कार गर्नुहुन्न, न त उहाँले दुष्ट काम गर्नेहरूको हातलाई बलियो पार्नुहुन्छ।
अय्यूब 8:1-20 पवित्र बाइबल (NERV)
तब शुहाबाट आएका बिल्ददले उत्तर दिए: “कहिलेसम्म तिमी त्यसरी भनी रहने छौ? तिम्रा वचनहरू तीव्र हावाको प्रहार जस्तो छ। परमेश्वर सदा निष्पक्ष हुनुहुन्छ। सर्वशक्तिमान परमेश्वरले ती कुराहरू कहिल्यै बद्लनु हुन्न जुन ठीक छन्। यदि तिम्रा छोरा-छोरीहरूले परमेश्वरको विरूद्ध पाप गरेका छन् भने तब उहाँले तिनीहरूलाई दण्ड दिनु हुने छ। तर अब अय्यूब, परमेश्वर पट्टिहेर, अनि सर्वशक्तिमानप्रति प्रार्थना गर। यदि तिमी निर्दोष अनि ईमान्दार छौ भने उहाँले तिमीलाई मद्दत गर्नचाँडै आउनु हुनेछ। उहाँले तिम्रा घर पुनःर्निर्माण गरिदिनुहुनेछ। तब तिमीसँग पहिले जति थियो त्यो भन्दा अझ ज्यादा हुनेछ। “बूढा-प्रधानहरूलाई सोधखोज गर, तिनीहरूका पिता-पुर्खाहरूले के सिके। हामी हिजै मात्र जन्मे जस्तो प्रतीत हुँदछ, त्यो पक्का बुझ्नका लागि हामी अझ कलिलै छौं। यस पृथ्वीमा हाम्रा आयु छायाँ जस्तै छोटो छन्। हुनसक्छ बूढा-प्रधानहरूले तिमीलाई पढाउन सक्छन्। हुनसक्छ उनीहरूले जे सिकेका छन् त्यही शिक्षा दिनसक्छन्।” “बिल्ददले भन्यो, ‘के सिमसार अग्लो सुक्खा ठाउँमा उम्रिन सक्छ? के निगालाहरू पानीबिना उम्रन सक्छ?’ अँहँ! यदि पानी सुकाइयो भने, तब तिनीहरू पनि अरू उद्भिद्हरू भन्दा चाँडो ओइलाउने छैन। मानिसहरू ज-जसले परमेश्वरलाई भुल्छन, तिनीहरू मसिना र सुख्खा निगालाहरू जस्तो हुनेछन्। जुन मानिसले परमेश्वरलाई भुल्छ उसले आफ्नो सम्पूर्ण आशा हराउनेछ। त्यो मानिसको अडेस लाग्ने ठाउँसम्म हुँदैन। उसको सुरक्षाको घर माकुराको जालो जस्तो हुन्छ। यदि त्यो मानिस माकुराको जालोमा अडेस लाग्यो भने त्यो जालो फाट्छ। माकुराको जालमा झुण्डिन्छ तर त्यसले उसलाई थाम्न सक्तैन। त्यो मानिस एक उद्भिद् जस्तो छ जसमा प्रशस्त पानी र घामको किरण छ त्यसको हाँगाहरू सबै बगैंचा भरि फैलिएको छ। त्ययसले आफ्नो जराहरू वरिपरि ढुङ्गाहरूको थुप्रोले लपेट्छ। ढुङ्गामा बढ्नका निम्ति ठाउँहरू खोजिरहन्छ। तर यदि उद्भिदलाई त्यसको ठाउँ सार्यो भने त्यो मर्नेछ, र त्यो उद्भिद् त्यहाँ एक समयमा थियो भन्ने कसैलाई थाहा पनि हुँदैन। तर उद्भिद् खुशी थियो अनि यसको ठाउँमा अर्को उम्रिनेछ। परमेश्वरले निर्दोष मानिसहरूलाई त्याग्नु हुन्न। उहाँले दुष्ट मानिसहरूलाई मद्दत गर्नुहुन्न।
अय्यूब 8:1-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब बिल्दद शुहीले यस्तो जवाफ दिए: “कहिलेसम्म तपाईं यस्ता कुराहरू गर्नुहुन्छ? तपाईंको मुखका वचनहरू हुरीबतासजस्तै छन्। के परमेश्वरले अन्याय गर्नुहुन्छ? अथवा के सर्वशक्तिमान्ले ठिक कुरालाई बिगार्नुहुन्छ र? जब तपाईंका छोराछोरीहरूले उहाँको विरुद्धमा पाप गरे, तब उहाँले तिनीहरूलाई तिनीहरूकै पापको सजाय दिनुभयो। तर यदि तपाईंले परमेश्वरलाई इमानदारीसाथ खोज्नुभयो भने, र सर्वशक्तिमान्सँग बिन्ती गर्नुभयो भने यदि तपाईं शुद्ध र धर्मी हुनुहुन्छ भने, अहिले पनि उहाँ आफैँ तपाईंको पक्षमा जाग्नुहुनेछ, र उहाँले तपाईंलाई पुनर्समृद्धिमा निर्माण गर्नुहुनेछ। तपाईंको सुरुवात सामान्य देखिएला, तर तपाईंको भविष्य अति समृद्ध हुनेछ। “पहिलेका पुस्ताहरूलाई सोध्नुहोस्, र तिनीहरूका पितापुर्खाहरूले सिकेका कुराहरूमा विचार गर्नुहोस्, किनकि हामी त हिजो मात्र जन्मेका हौ, र हामी केही जान्दैनौँ; अनि पृथ्वीमा हाम्रा दिनहरू छायाजस्ता छन्। के तिनीहरूले तपाईंलाई सिकाउँदैनन्, र के तपाईंलाई बताउँदैनन् र? के तिनीहरूले आफ्ना समझशक्तिका कुराहरू निकाल्दैनन् र? के सिमसार नभएको ठाउँमा काँस लहलहाउँछ र? के निगालाहरू पानीविना सप्रन्छन् र? तिनीहरू बढ्दै जान्छन्, र नकाटीकनै ती अरू घाँसभन्दा छिटो ओइलाएर जान्छन्। परमेश्वरलाई बिर्सनेहरूको अवस्था पनि त्यस्तै हुन्छ; र यसरी नै ईश्वरहीन मानिसहरूको आशा नष्ट हुन्छ। तिनीहरूले भरोसा राखेको कुरा कमजोर हुन्छ; तिनीहरूले भर परेको कुरा माकुराको जालजस्तो हुन्छ। तिनीहरू जालमा आड लिन खोज्छन्, तर त्यो टिक्दैन; तिनीहरू त्यसलाई समात्छन्, तर त्यसले थाम्दैन। तिनीहरू घामपानी पाएको बिरुवाजस्तै हुन्छन्, जसका टुसाहरू बगैँचाभरि फैलिएका हुन्छन्; त्यसले आफ्ना जराहरूलाई ढुङ्गाको थुप्रोभित्र बटार्छ, र ढुङ्गाहरूका बीचमा ठाउँ खोज्छ। तर जब त्यो त्यसको ठाउँबाट उखेलिन्छ, तब त्यस ठाउँले त्यसलाई त्यागेर भन्छ, ‘मैले तँलाई कहिल्यै देखिनँ।’ निश्चय नै त्यसको जीवन यसरी नै अन्त्य हुन्छ, र त्यस माटोबाट अरू बोटबिरुवाहरू उम्रन्छन्। “निश्चय नै परमेश्वरले निर्दोष मानिसलाई त्याग्नुहुन्न अथवा दुष्ट काम गर्नेहरूका हातलाई बलियो पार्नुहुन्न।
अय्यूब 8:1-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
के तपाईंले आफ्नो आँधीजस्तो भाषण सिध्याउनुभयो? परमेश्वरले कहिल्यै निसाफ उल्टा-पुल्टा गर्नुहुन्न। जे उचित छ, त्यो गर्न उहाँ कहिल्यै चुक्नुहुन्न। तपाईंका छोरा-छोरीहरूले परमेश्वरको विरुद्धमा पाप गरेकै हुनुपर्छ, यसकारण उहाँले तिनीहरूलाई उचित दण्ड दिनुभएको हो। तर अब तपाईं फर्केर सर्वशक्तिमान् परमेश्वरकहाँ उजुर चढाउनुहोस्। यदि तपाईं इमानदार र निर्दोष हुनुहुन्छ भने परमेश्वर उठ्नुहुनेछ र तपाईंलाई मद्दत गर्नुहुनेछ र तपाईंको घर फेरि बसालिदिनुहुनेछ। परमेश्वरले तपाईंलाई जे धन-सम्पत्ति दिनुहुनेछ, त्यसको तुलनामा तपाईंले अघि गुमाएको धन केही पनि होइन। प्राचीन समयको ज्ञानको कुरालाई एक छिन हेर्नुहोस्, हाम्रा पिता-पुर्खाले जानेका सत्यमाथि विचार गर्नुहोस्। हाम्रो जीवन छोटो छ, हामी केही पनि जान्दैनौं, पृथ्वीमा हामी छायाजस्तै आउँछौं र बितिजान्छौं। तर प्राचीन कालका ज्ञानी मानिसहरूले तपाईंलाई सिकाऊन्, तिनीहरूले के भन्दै छन्, सो सुन्नुहोस्। के सिमसार नभएको ठाउँमा नर्कट उम्रन्छ र? के निगालो पानीबिना सप्रन्छ र? तिनीहरू काट्नै नहुने कलकलाउँदो हुँदा पनि पानी सुकेपछि ओइलाइहाल्नेछन्। परमेश्वरलाई नमान्ने मानिसहरू ती काँस-नर्कटजस्तै हुन्छन्। परमेश्वरलाई एक चोटि त्यागेपछि तिनीहरूको आशा पनि हराउँछ। तिनीहरू माकुराको जालजस्तो चुँडिजाने पातलो धागोमा भरोसा राख्दछन्, माकुराको जालमा अडेस लागेपछि तिनीहरू कहीँ थामिन्छन् र? त्यसको धागो समाती उभिन सक्छन् र?” दुष्ट मानिसहरू घाममा झार मौलाएझैँ देखा पर्छन्। सारा बगैँचा ढाकेर फैलिएका झारझैँ ती हुन्छन्। तिनका जराहरू ढुङ्गामा बेरिएर र चट्टानमा बलियोसित समातेर बसेका हुन्छन्। तर तिनलाई उखेल्नुहोस्, जरैदेखि उखेल्नुहोस्। त्यसपछि कसैलाई तिनीहरूको यादसम्म रहनेछैन। अँ, दुष्ट मानिसहरूको आनन्द त्यति नै हो। अरू मानिसहरूले तिनका ठाउँ ओगटिहाल्छन्। तर परमेश्वरले विश्वासयोग्य मानिसहरूलाई कहिल्यै त्याग्नुहुन्न र दुष्ट मानिसहरूलाई कहिल्यै सहायता गर्नुहुन्न।