YouVersion लोगो
खोज आइकन

अय्‍यूब 22:21-30

अय्‍यूब 22:21-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“अब परमेश्‍वरका अधीनमा हुनुहोस्‌ र उहाँसित मिलाप गर्नुहोस्‌। यसरी तपाईंको सुदिन फर्केर तपाईंकहाँ आउनेछ। उहाँको मुखबाट शिक्षा लिनुहोस्, र तपाईंले आफ्‍नो हृदयमा उहाँका वचनहरू सञ्‍चय गर्नुहोस्‌। नम्रसित तपाईं सर्वशक्तिमान्‌तिर फर्केर आउनुभयो भने, तपाईंलाई पुनर्स्‍थापना गरिनेछ, तपाईंले आफ्‍नो घरबाट खराबी त्‍यागिदिनुभयो भने, तपाईंले आफ्‍ना सुनका ससाना ढिकाहरू धूलोमा मिलाउनुभयो भने, ओपीरको सुनलाई खोल्‍साको ढुङ्गासरह मान्‍नुभयो भने, सर्वशक्तिमान्‌ नै तपाईंको निम्‍ति सुन हुनुहुनेछ, र उहाँ नै तपाईंको निम्‍ति सबैभन्‍दा असल चाँदी हुनुहुनेछ। तब सर्वशक्तिमान्‌मा नै तपाईंले आनन्‍द पाउनुहुनेछ। र तपाईंले आफ्‍ना नजर परमेश्‍वरतिर उठाउनुहुनेछ। तपाईंले उहाँलाई प्रार्थना गर्नुहुनेछ, र उहाँले सुन्‍नुहुनेछ, र तपाईंले आफ्‍नो भाकल पूरा गर्नुहुनेछ। तपाईंले जे निर्णय गर्नुहुनेछ, त्‍यो पूरा हुनेछ, तपाईंको बाटोमा ज्‍योति चम्‍कनेछ। जब मानिसहरू होच्‍याइन्‍छन्‌ र तपाईंले भन्‍नुहुनेछ, ‘यिनीहरूलाई उचाल्‍नुहोस्,’ र उहाँले होच्‍याइएकालाई बचाउनुहुनेछ। उहाँले निर्दोष नभएकालाई पनि छुटाउनुहुनेछ। तपाईंको हात निर्दोष भएकोले गर्दा उहाँले उनीहरूलाई छुटकारा दिनुहुनेछ।”

शेयर गर्नुहोस्
अय्‍यूब 22 पढ्नुहोस्

अय्‍यूब 22:21-30 पवित्र बाइबल (NERV)

“अब, अय्यूब, तिमी स्वयंलाई परमेश्वर कहाँ समर्पण गर अनि उहाँसँग शान्तिले बस। त्यसो गर, अनि तिमीले धेरै असल कुराहरू पाउँनेछौ। उहाँबाट शिक्षा लेऊ। उहाँले के भन्नुहुन्छ त्यसमा ध्यान देऊ। अय्यूब, सर्वशक्तिमान परमेश्वर तर्फ फर्की आऊ, अनि तिमी पुनःर्स्थापित हुनेछौ तर अहिले तिमीले आफ्नो घरबाट दुष्ट-आत्मालाई खेदी हाल। सोंच, तिम्रो जति सुनहरूछन् तर ती धुलो हुन् अति उत्तम सुन खोलाका स-साना ढुङ्गाहरू जस्ता। अनि सर्वशक्तिमान परमेश्वरलाई तिम्रो लागि मुल्यवान र तिम्रो सुन चाँदी झैं हुन देऊ। तब सर्वशक्तिमान परमेश्वरमा तिमी आनन्दित हुन सक्छौ। तब तिमी परमेश्वरलाई माथि हेर्नैछौ। तिमीले उहाँलाई प्रार्थना गर्नेछौ अनि उहाँले तिम्रो प्रार्थना सुन्नु हुनेछ। अनि तिमीले आफ्ना वचनहरू पूर्ण गर्नेछौ। यदि तिमीले केही गर्छु भनेर निर्णय लिएका छौ भने त्यो सफलता पूर्वक हुनेछ अनि तिम्रो भविष्य निश्चय उज्जवल हुनेछ। परमेश्वरले घमण्डी मानिसहरूलाई लज्जित पार्नुहुन्छ। तर परमेश्वरले विनम्र मानिसहरूलाई सहयोग गर्नुहुन्छ। तब तिमी ती मानिसहरूलाई सहयोग गर्न सक्छौ जसले गल्ती कामहरू गर्छन्। तिमीले परमेश्वरलाई प्रार्थना गर्नेछौ अनि उहाँले ती मानिसहरूलाई क्षमा गरिदिनु हुनेछ। किनभने तिमी एकदमै पवित्र हुनेछौ।”

शेयर गर्नुहोस्
अय्‍यूब 22 पढ्नुहोस्

अय्‍यूब 22:21-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अय्‍यूब, अब परमेश्‍वरसित मिलाप गर्नुहोस्, उहाँसँग शत्रुको व्‍यवहार नगर्नुहोस्। तब उहाँले तपाईंलाई आशिष् दिनुहुनेछ। उहाँले दिनुभएको शिक्षा ग्रहण गर्नुहोस्, उहाँका वचन आफ्‍ना ह्रदयमा राख्‍नुहोस्। अँ, तपाईं परमेश्‍वरकहाँ नम्र भएर फर्कनुपर्छ। आफ्‍नो घरको सबै दुष्‍ट्याइँ छोडिदिनुपर्छ र तपाईं फेरि बनिनुहुनेछ। तपाईंको सुन फालिदिनुहोस्। आफ्‍ना निखुर सुन सुखा खोल्‍साको ढुङ्गाहरूबीच मिल्‍काइदिनुहोस्। तब सर्वशक्तिमान् परमेश्‍वर तपाईंको निम्‍ति सुन बन्‍नुहुनेछ, कञ्‍चन चाँदीको रास बन्‍नुहुनेछ। तब तपाईं सधैँ परमेश्‍वरमा भर पर्नुहुनेछ र उहाँमा नै आफ्‍नो आनन्‍दको मूल पाउनुहुनेछ। तपाईंले प्रार्थना गर्दा उहाँले सुन्‍नुहुनेछ र तपाईंले आफ्‍नो भाकल पूरा गर्नुहुनेछ। तपाईं आफूले हात हालेका काममा सफल हुनुहुनेछ र तपाईंको बाटोमा ज्‍योति चम्‍कनेछ। अहङ्कारीको घमण्‍ड परमेश्‍वरले झारिदिनुहुनेछ र नम्र मानिसहरूलाई उहाँले बचाउनुहुनेछ। तपाईं निर्दोष हुनुहुन्‍छ र ठीक कुरो गर्नुहुन्‍छ भने उहाँले तपाईंलाई बचाउनुहुनेछ।

शेयर गर्नुहोस्
अय्‍यूब 22 पढ्नुहोस्