यूहन्‍ना 8:31-51

यूहन्‍ना 8:31-51 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

येशूले आफूमाथि विश्‍वास गर्ने यहूदीहरूलाई भन्‍नुभयो, “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्‍चै मेरा चेला हौ। तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ।” तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्‍तान हौं, र अहिलेसम्‍म कसैको दासत्‍वमा परेका छैनौं। ‘तिमीहरू स्‍वतन्‍त्र हुनेछौ’ भनी कसरी भन्‍छौ?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, पाप गर्ने प्रत्‍येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्‍छ। यसकारण पुत्रले तिमीहरूलाई स्‍वतन्‍त्र गरायो भने तिमीहरू निश्‍चय स्‍वतन्‍त्र हुनेछौ। म जान्‍दछु, तिमीहरू अब्राहामका सन्‍तान हौ। तर तिमीहरू मलाई मार्न खोज्‍दछौ, किनभने मेरो वचनले तिमीहरूमा स्‍थान पाउँदैन। जे-जे मैले मेरा पिताको उपस्‍थितिमा देखेको छु, त्‍यही म भन्‍दछु। तिमीहरूले पनि जे तिमीहरूका पिताबाट सुनेका छौ, त्‍यही गर्दछौ।” तिनीहरूले उहाँलाई भने, “हाम्रा पिता त अब्राहाम हुन्‌।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू अब्राहामका सन्‍तान हुँदा हौ त, अब्राहामले जे काम गरे त्‍यही गर्नेथियौ। मैले परमेश्‍वरबाट सुनेको सत्‍य तिमीहरूलाई भनेको छु, तर अहिले तिमीहरू मलाई मार्न खोज्‍दछौ। अब्राहामले यस्‍तो काम गरेनन्‌। तिमीहरूका पिताले जे गरे तिमीहरू त्‍यही काम गर्दछौ।” तिनीहरूले उहाँलाई भने, “हामी व्‍यभिचारमा जन्‍मिएका होइनौं! हाम्रा पिता एउटै हुनुहुन्‍छ, उहाँ परमेश्‍वर हुनुहुन्‍छ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वर तिमीहरूका पिता हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्नेथियौ, किनभने म परमेश्‍वरबाट निस्‍किआएँ। म आफ्‍नै इच्‍छाले आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो। मैले भनेको तिमीहरू किन बुझ्‍दैनौ? किनभने तिमीहरूले मेरो वचन सुन्‍न सक्‍दैनौ। तिमीहरू आफ्‍नो पिता दियाबलसका हौ, र तिमीहरूका पिताको इच्‍छा पूरा गर्ने तिमीहरूको सङ्कल्‍प छ। त्‍यो त सुरुदेखि नै हत्‍यारा थियो, र सत्‍यसँग त्‍यसलाई केही वास्‍ता छैन। किनभने त्‍यसमा केही सत्‍य छैन। जब त्‍यसले झूट बोल्‍दछ, त्‍यो आफ्‍नै स्‍वभावअनुसार बोल्‍दछ, किनभने त्‍यो झूटो हो र झूटको पिता हो। म सत्‍य बोल्‍दछु, तर तिमीहरू मलाई विश्‍वास गर्दैनौ। तिमीहरूमध्‍ये कसले मलाई पापको दोष लाउन सक्‍छ? यदि म सत्‍य बोल्‍दछु भने, किन तिमीहरू ममाथि विश्‍वास गर्दैनौ? जो परमेश्‍वरको हो, त्‍यसले परमेश्‍वरका वाणी सुन्‍दछ। तिमीहरू परमेश्‍वरका होइनौ, यसैकारण तिमीहरू सुन्‍दैनौ।” यहूदीहरूले उहाँलाई जवाफ दिए, “के हाम्रो यो भनाइ ठीक होइन, कि तिमी सामरी हौ र तिमीलाई भूत लागेको छ?” येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म आफ्‍ना पिताको आदर गर्दछु, र तिमीहरू मेरो अनादर गर्दछौ। तर म आफ्‍नै महिमा खोज्‍दिनँ, एक जना हुनुहुन्‍छ जसले महिमा खोज्‍नुहुन्‍छ र फैसला गर्नुहुन्‍छ। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यदि कसैले मेरो वचन पालन गर्‍यो भने त्‍यसले कहिल्‍यै मृत्‍यु देख्‍नेछैन।”

शेयर गर्नुहोस्
यूहन्‍ना 8 पढ्नुहोस्

यूहन्‍ना 8:31-51 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

येशूले उहाँमाथि विश्‍वास गरेका यहूदीहरूलाई भन्‍नुभयो, “तिमीहरू मेरा शिक्षामा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै नै मेरा चेलाहरू हौ। तब तिमीहरूले सत्यतालाई जान्‍नेछौ, र सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” तिनीहरूले उहाँलाई भने, “तर हामी त अब्राहामका सन्तान हौँ। अनि कहिल्यै कसैको दास बनेका छैनौँ। त्यसकारण हामी स्वतन्त्र तुल्याइनेछौँ भन्‍ने कुरा तपाईं कसरी भन्‍न सक्नुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, पाप गर्ने हरेक मानिस पापको दास हो। घरमा कुनै पनि दासको स्थायी स्थान हुँदैन। तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्छ। त्यसकारण पुत्रले स्वतन्त्र तुल्याए भने तिमीहरू साँच्‍चै स्वतन्त्र हुनेछौ। तिमीहरू अब्राहामका सन्तान हौ भनी म जान्दछु, तापनि तिमीहरू मलाई मार्न तयार छौ। किनकि मेरा शिक्षाको लागि तिमीहरूको हृदयमा ठाउँ छैन। मैले मेरा पिताको उपस्थितिमा जे-जे देखेँ, सो तिमीहरूलाई भन्दैछु। तर तिमीहरूचाहिँ तिमीहरूका आफ्नै पिताबाट सुनेका कुरा मात्र गर्दछौ।” तिनीहरूले जवाफ दिए, “हाम्रा पिता त अब्राहाम हुनुहुन्छ।” येशूले भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तान हुँदा हौ त, तिमीहरूले पनि अब्राहामले गरेका काम गर्नेथियौ। तर यसको सट्टामा तिमीहरूले मलाई मार्ने निश्‍चय गरेका छौ। जसले तिमीहरूलाई सत्य कुरा बताएको छ, जुन सत्यता मैले परमेश्‍वरबाट सुनेको हुँ। अब्राहामले यस्तो काम गरेनन्। तिमीहरूका आफ्ना पिताले जे काम गरे, तिमीहरूले पनि त्यही गर्दैछौ।” तिनीहरूले विरोध गर्दै भने, “हामी व्यभिचारबाट जन्मेका सन्तान होइनौँ। हाम्रा एउटै मात्र पिता हुनुहुन्छ जो स्वयम् परमेश्‍वर हुनुहुन्छ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरूका पिता परमेश्‍वर हुनुभएको भए त तिमीहरूले मलाई प्रेम गर्नेथियौ। किनकि म परमेश्‍वरबाट आएको हुँ, र अहिले यहाँ छु। म आफैँ आएको होइनँ, तर मलाई परमेश्‍वरले पठाउनुभयो। मैले भनेका कुराहरू तिमीहरू किन बुझ्दैनौ? किनकि तिमीहरूले मैले भनेका कुराहरू सुन्‍न सक्दैनौ। तिमीहरू त तिमीहरूका पिता शैतानबाटका हौ। अनि तिमीहरूले आफ्नो पिताको इच्छा मात्र पूरा गर्न चाहन्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो, र सत्यतामा रहँदैन। किनकि त्यसमा सत्य छँदैछैन। झूटो बोल्नु त्यसको स्वभाव अनुसारको बोली हो। किनकि त्यो झूट हो, र झूटको पिता हो। किनभने म साँचो कुरा भन्दछु, र पनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ! के तिमीहरूमध्ये कसैले मलाई पापको दोषी ठहराउन सक्छौ? यदि म साँचो बोल्दछु भने किन तिमीहरू ममाथि विश्‍वास गर्दैनौ? जो परमेश्‍वरबाटको हो, त्यसले परमेश्‍वरले बोल्नुभएको वचन सुन्छ। तिमीहरूले नसुन्‍नुको कारण यही हो, तिमीहरू परमेश्‍वरका होइनौ।” यहूदीहरूले येशूलाई जवाफ दिए, “तिमी एक सामरी हौ, र तिमीलाई भूत लागेको छ भनी हामीले ठिकै भनेका होइनौँ र?” येशूले भन्‍नुभयो, “मलाई कुनै भूत लागेको छैन। तर म मेरा पिताको आदर गर्दछु। अनि तिमीहरूचाहिँ मेरो अनादर गर्दछौ। म आफ्नै महिमा खोज्दिनँ। तर महिमा खोज्नेचाहिँ एक जना हुनुहुन्छ र उहाँ न्यायकर्ता हुनुहुन्छ। म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले मेरो वचन पालन गर्छ, त्यसले कहिल्यै मृत्यु देख्नेछैन।”

शेयर गर्नुहोस्
यूहन्‍ना 8 पढ्नुहोस्

यूहन्‍ना 8:31-51 पवित्र बाइबल (NERV)

तब येशूले भन्नुभयो कि यहूदीहरू जसले उहाँमाथि विश्वास गरे, “यदि तिमीहरूले लगातार मेरो शिक्षाहरू पालन गरिरह्यौ भने तिमीहरू साँच्चै मेरो चेलाहरू हौ। तब मात्र तिमीहरूले सत्य जान्नेछौ। अनि सत्यले तिमीहरूलाई मुक्ति गराउनेछ।” यहूदीहरूले जवाफ दिए, “हामी अब्राहामका सन्तान हौ। अनि हामी कहिल्यै कसैको दास भएका छैनौ। तब किन भन्छौ, ‘तिमीहरू’, स्वतन्त्र हुनेछौ?” येशूले जवाफ दिनुभयो, “म साँच्चो भन्दछु। प्रत्येक मानिस जसले लगातार पाप गर्छ ऊ पापको दास हो। पाप उसको मालिक हो। दास सदैव मालिकको परिवारसँग बस्दैन। तर छोरो सधैँ परिवारसँग बस्छ। यसर्थ जब पुत्रले तिमीहरूलाई स्वतन्त्र पार्दछ, तब तिमीहरू सत्यरूपमा स्वतन्त्र हुनेछौ। म जान्दछु तिमीहरू अब्राहामका सन्तान हौ। तर तिमीहरू मलाई मार्न चाहन्छौ। किनभने तिमीहरू मेरो वचन स्वीकार गर्न चाहँदैनौ। म भनिरहेछु कि जे पिताले मलाई देखाउनु भयो तर तिमीहरूले त्यो काम गर्दछौ जो तिम्रा पिताबाट तिमीहरूले सुन्यौ।” यहूदीहरूले भने, “हाम्रा पिता अब्राहाम हुन्।” येशूले भन्नुभयो, “यदि तिमीहरू साँच्चि नै अब्राहामका सन्तान हुँदा हौ त तिमीहरूले त्यही कुराहरू गर्ने थियौ जुन कुरो अब्राहामले गरे। म मानिस हुँ जसले परमेश्वरबाट सुनेको सत्य बताएँ। तर तिमीहरू मलाई मार्ने प्रयास गर्छौ। अब्राहमले त्यस्ता कुरा गरेनन्। तब तिमीहरूले त्यही कुराहरू गरिरहेकाछौ जो तिम्रा आफ्नै पिताले गर्छन्।” तर यहूदीहरूले भने, “हामी त्यस्ता अवैद्य बालहरू होइनौं जसले कहिल्यै पनि आफ्ना पिता को थिए जानेनौ। परमेश्वर नै हाम्रा पिता हुन्। हाम्रा अरू पिता छैनन्।” येशूले ती यहूदीहरूलाई भन्नुभयो, “यदि परमेश्वर साँच्चै तिमीहरूका पिता भएको भए तिमीहरूले मलाई प्रेम गर्ने थियौ। म परमेश्वरबाटै आएको हुँ, र म यहाँ छु। म आफ्नै अधिकारबाट आएको होइन। परमेश्वरले मलाई पठाउनु भयो। तिमीहरूले यी कुराहरू किन बुझदैनौ, जो म सिकाउँछु? किनभने तिमीहरूले मेरो शिक्षा स्वीकार गर्न सक्तैनौ। तिमीहरूका पिता शैतान हो। तिमीहरू उसका सन्तान हौ। उसले जे चाहन्छ तिमीहरू त्यही गर्दछौ। शैतान आदिकालदेखि नै हत्यारा थियो। उ सधैँ सत्यको विरुद्धमा छ अनि उभित्र सत्य छैन। जब ऊ झूटो बोल्छ तब उसले त्यो झूटो स्वभाविक रूपले बोल्छ। हो शैतान असत्यवादी अनि असत्यको पिता हो। “म साँच्चो भन्दछु। त्यसैले तिमीहरू मलाई विश्वास गर्दैनौ। म पापको दोषी छु भनेर तिमीहरूमा कसले प्रमाण दिन सक्छौ? म तिमीहरूलाई सत्य भन्दछु किन तिमीहरू मलाई विश्वास गर्दैनौ? जो परमेश्वरको हो उसले परमेश्वरले भन्नु भएका कुरा मान्दछ। तर तिमीहरू परमेश्वरले जे भन्नु हुन्छ त्यो स्वीकार्दैनौ, किनभने तिमीहरू परमेश्वरका होइनौ।” यहूदीहरूले उत्तर दिए, “हामीहरूले भन्यौ तिमी सामरी हौ। अनि भूतात्मा तिमीभित्र छ। के यस्तो भन्नु हामी सही छैनौं?” येशूले उत्तर दिनुभयो, “म भित्र भूतात्मा छैन। म आफ्ना पितालाई सम्मान गर्छु तर तिमीले मलाई सम्मान गर्दैनौ। म आफ्नै सम्मान पाउने कोशिश गरिरहेको छुँइन उहाँ एक हुनुहुन्छ जसले मेरो निम्ति सम्मान चाहनु हुन्छ। उहाँ न्यायकर्ता हुनुहुन्छ। म साँच्चो भन्छु। यदि कुनै मानिसले मेरो वचन पालन गर्छ भने, त्यो मानिस कहिल्यै मर्ने छैन।”

शेयर गर्नुहोस्
यूहन्‍ना 8 पढ्नुहोस्

यूहन्‍ना 8:31-51 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले उहाँमाथि विश्‍वास गर्ने यहूदी अगुवाहरूलाई भन्‍नुभयो, “मेरो शिक्षालाई मानिरह्यौ भने तिमीहरू साँच्‍चै मेरा चेला हौ अनि तिमीहरूले सत्‍य चिन्‍नेछौ सत्‍यले तिमीहरूलाई छुट्‍कारा दिनेछ।” उनीहरूले भने, “हामी अब्राहामका सन्‍तान हौं, हामी त कहिल्‍यै पनि कसैको कमारा भएका छैनौं। तब हामीलाई छुट्‍कारा दिनेछ भनेको अर्थचाहिँ के हो?” येशूले भन्‍नुभयो “साँच्‍चै, म तिमीहरूलाई भन्‍छु, पाप गर्नेचाहिँ पापको कमारा हो। अब कमारा त सधैँभरि घर-जहानको हुँदैन, तर घरको छोराचाहिँ सधैँभरि घर-जहानको हुन्‍छ। त्‍यसै गरी परमेश्‍वरको पुत्रले तिमीहरूलाई छुट्‍कारा दियौ भने तिमीहरूले साँच्‍चै छुट्‍कारा पाउनेछौ। तिमीहरू अब्राहामका सन्‍तान हौ भन्‍ने मलाई थाहा छ। तैपनि तिमीहरूले मैले भनेका कुराहरू सहन नसकेर मलाई मार्न खोज्‍छौ। मचाहिँ मेरो पितासँग रहँदा देखेका कुराहरूको बारेमा बोल्‍दछु अनि तिमीहरूचाहिँ तिमीहरूकै पिताबाट सुनेका कुराहरू गर्दछौ।” तिनीहरूले भने, “हाम्रा पिता त अब्राहाम नै हुन्!” येशूले भन्‍नुभयो, “साँच्‍चै अब्राहामका सन्‍तान हुँदा हौ त तिमीहरूले अब्राहामले गरेजस्‍तै काम गर्ने थियौ। तर मैले तिमीहरूलाई परमेश्‍वरबाटै सुनेका सत्‍य कुराहरू सुनाउँदा त तिमीहरू मलाई मार्न खोज्‍छौ। यस्‍तो काम त अब्राहामले गरेनन्! तिमीहरू जसका छोराहरू हौ, त्‍यस्‍तै काम गर्दै छौ।” तिनीहरूले भने, “हामीचाहिँ व्‍यभिचारबाट जन्‍मेका होइनौं। परमेश्‍वर नै हाम्रा एक मात्र पिता हुनुहुन्‍छ।” येशूले भन्‍नुभयो, “साँच्‍चै तिमीहरूका पिता परमेश्‍वर हुनुभएको भए तिमीहरूले मलाई प्रेम गर्नेथियौ किनभने म परमेश्‍वरको तर्फबाट आएको हुँ। म आफ्‍नै तर्फबाट आएको होइनँ, परमेश्‍वरले नै मलाई पठाउनुभएको हो। मैले भनेका कुराहरू तिमीहरू किन बुझ्‍दैनौ? किनभने तिमीहरूले मैले भनेको वचन सुन्‍न सक्‍दैनौ। तिमीहरू आफ्‍नै बुबा शैतानका सन्‍तान हौ र तिमीहरू आफ्‍ना पिताले भनेअनुसार गर्न तयार छौ। त्‍यो त सुरुदेखि नै ज्‍यानमारा हो, त्‍यो त सत्‍यमा कहिल्‍यै पनि टिक्‍न सक्‍दैन किनभने त्‍यसमा सत्‍य नै छैन। आफ्‍नो स्‍वभावअनुसार त्‍यसले त सधैँ झूट बोल्‍छ। त्‍यसैले त्‍यो त झूट बोल्‍नेहरूकै पिता हो। तर मैले सत्‍य कुरा बोल्‍छु। त्‍यसैले तिमीहरू मलाई विश्‍वास गर्दैनौ। तिमीहरूमध्‍ये कसले मलाई पापको दोष लगाउन सक्‍छौ? यदि मैले सत्‍य बोल्‍दा किन मलाई विश्‍वास गर्दैनौ त? परमेश्‍वरका सन्‍तानले त परमेश्‍वरकै कुरा सुन्‍छन्, तर तिमीहरूचाहिँ परमेश्‍वरका सन्‍तान नभएको हुनाले उहाँको कुरा सुन्‍दैसुन्‍दैनौ।” यहूदी अगुवाहरूले येशूलाई भने, “हामीले भनेको ठीकै हो! तँ सामरी होस् र तँलाई भूत चढेको छ।” येशूले भन्‍नुभयो, “मलाई भूत चढेको छैन। म मेरा पिताको आदर गर्छु, तर तिमीहरू भने मलाई अनादर गर्छौ। म आफैं मेरो आदर खोज्‍दिनँ, तर मेरो आदर गर्न खोज्‍ने र मलाई न्‍याय गर्ने अर्कै हुनुहुन्‍छ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मैले भनेको मान्‍नेले चाहिँ मर्नुपर्नेछैन।”

शेयर गर्नुहोस्
यूहन्‍ना 8 पढ्नुहोस्

यूहन्‍ना 8:31-51

यूहन्‍ना 8:31-51 NNRVयूहन्‍ना 8:31-51 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्