यूहन्ना 7:37-43
यूहन्ना 7:37-43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब चाड़को पछिल्लो दिन, अर्थात् चाड़को प्रमुख दिनमा, उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस्। जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’।” तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए। किनकि पवित्र आत्मा अहिलेसम्म दिइएको थिएन, किनभने येशूको महिमा अझसम्म भएको थिएन। यी कुरा सुन्ने कोही-कोही मानिसले भने, “यिनी त साँच्चै अगमवक्ता रहेछन्।” अरूहरूले भने, “यिनी ख्रीष्ट हुन्।” तर कसै-कसैले भने, “के ख्रीष्ट गालीलबाट आउँछन् र? के धर्मशास्त्रले भनेको छैन, कि ख्रीष्ट दाऊदको वंशबाट र दाऊदकै गाउँ बेथलेहेमबाट आउँछन्?” यसैले मानिसहरूका बीचमा उहाँको कारण फाटो भयो।
यूहन्ना 7:37-43 नेपाली समकालीन संस्करण (NCV)
चाडको अन्तिम र प्रमुख दिनमा येशू उभिएर उच्च सोरमा भन्नुभयो, “यदि कोही तिर्खाउँछ भने, त्यो मकहाँ आओस् र पिओस्। जसले ममाथि विश्वास गर्छ, धर्मशास्त्रले भनेअनुसार तिनीहरूका अन्तस्करणबाट जिउँदो पानीका नदीहरू बगेर निस्कनेछन्।” यो कुरा उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जसलाई उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए। त्यस बेलासम्म पवित्र आत्मा दिइएको थिएन; किनकि येशू अझैसम्म महिमित हुनुभएको थिएन। उहाँका वचन सुनेर भीडमा भएका मानिसहरूमध्ये कतिले भने, “निश्चय नै यी मानिस साँच्चै अगमवक्ता हुन्।” अरूहरूले भने, “उहाँ ख्रीष्ट हुनुहुन्छ।” तर अझै अरूहरूले प्रश्न गरे, “ख्रीष्ट कसरी गालीलबाट आउन सक्छन् र? के धर्मशास्त्रमा ख्रीष्ट दाविदको वंशबाट र दाविदकै शहर बेथलेहेमबाट आउनेछन् भनी लेखिएको छैन र?” यसरी येशूका कारण मानिसहरूका बीचमा फाटो आयो।
यूहन्ना 7:37-43 पवित्र बाइबल (NERV)
पर्वको अन्तिम दिन थियो। यो एकदमै मुख्य दिन थियो। त्यसदिन येशू उभिनु भयो र ठूलो स्वरमा भन्नुभयो, “यदि कुनै मानिसहरूलाई तीर्खा लागेको छ भने मकहाँ आऊ र पिऊ। यदि कुनै मानिसले मलाई विश्वास गर्छ भने, उसको हृदयबाट जिउँदो पानी बग्नेछ। धर्मशास्त्रमा यही लेखिएकोछ।” येशूले वास्तवमा पवित्र आत्माको विषयमा बताइरहनु भएको थियो। पवित्र आत्मा मानिसहरूलाई अझ सम्म दिइएको थिएन किनभने येशू अझ सम्म मर्नु भएको थियन, अनि महिमातर्फ नै उठेको थिएन। तर पछि, ती जसले येशूमा विश्वास गर्छन् पवित्र आत्मा पाउने छन्। मानिसहरूले येशूले भन्नु भएका ती कुराहरू सुने। कोही मानिसहरूले भने, “यो मानिस साँच्ची नै अगमवक्ता हो।” अन्य मानिसहरूले भने, “उनी ख्रीष्ट हुन्।” अन्यहरूले भने, “उनी ख्रीष्ट गालीलबाट आएको होइन। धर्मशास्त्र अनुसार ख्रीष्ट दाऊदको परिवारबाट आउनेछन्। अनि अझ धर्मशास्त्रले भन्दछ कि ख्रीष्ट बेतलेहेमबाट आउनेछन्, त्यो शहर जहाँ दाऊद बस्थे।” तब येशूको विषय लिएर परस्परमा तिनीहरू सहमती भएनन्।
यूहन्ना 7:37-43 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
चाडको आखिर र सबैभन्दा मुख्य दिनमा येशूले उभिएर सबैले सुन्ने गरी भन्नुभयो, “तिमीहरूमध्ये तिर्खाउनेहरू जति छौ, मकहाँ आएर पिओ। धर्मशास्त्रले भनेजस्तै ममाथि विश्वास गर्ने मानिसको हृदयबाट जीवन दिने खोलाहरू बगिरहनेछन्।” यो कुराचाहिँ येशूले आफूमाथि विश्वास गर्ने जतिले पाउने पवित्र आत्माको बारेमा भन्दै हुनुहुन्थ्यो किनभने त्यस बेलासम्म येशू स्वर्गमा नफर्किनुभएकोले परमेश्वरले पवित्र आत्मालाई पठाउनुभएको थिएन। येशूको कुरा सुनेर भीडमा भएका धेरै मानिसहरूले भने, “यी मानिस साँच्चै आउनुपर्ने अगमवक्ता नै हुन्।” कोही-कोहीले भने, “उहाँ त मुक्ति दिनुहुने राजा ख्रीष्ट नै हुनुहुन्छ।” तर कतिले भने, “के ख्रीष्ट गालीलबाट आउनुहुन्छ र? ख्रीष्ट त राजा दाऊदका सन्तान हुनुहुनेछ र दाऊदको गाउँ बेथलेहेमबाट आउनुहुनेछ भनेर के धर्मशास्त्रमा लेखिएको छैन र?” यसरी येशूको बारेमा मानिसहरूमा फाटो आयो।