यूहन्ना 6:5-13
यूहन्ना 6:5-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब येशूले आफ्ना चारैतिर हेर्दा एउटा ठूलो भीड आफूकहाँ आइरहेको देखेर फिलिपलाई भन्नुभयो, “यिनीहरूलाई खुवाउनका निम्ति हामीहरूले कहाँबाट रोटी किन्ने?” उहाँले तिनको जाँच गर्नलाई यो भन्नुभएको थियो, किनभने उहाँले जे गर्न लाग्नुभएको थियो, सो उहाँलाई थाहा थियो। फिलिपले उहाँलाई जवाफ दिए, “प्रत्येकले अलि-अलि पाए तापनि दुई सय चाँदीका सिक्काको रोटीले तिनीहरूलाई पुग्नेछैन।” उहाँका चेलाहरूमध्ये एक जना, सिमोन पत्रुसका भाइ अन्द्रियासले भने, “यहाँ एक जना ठिटो छ, त्यससँग जौका पाँच रोटी र दुई माछा छन्। तर यति धेरैका निम्ति यतिले के पुग्ला र?” येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लाओ।” त्यहाँ धेरै घाँस भएको चउर थियो। तब प्राय: पाँच हजार पुरुषहरू त्यहाँ बसे। तब येशूले रोटी लिनुभयो, र परमेश्वरलाई धन्यवाद चढ़ाउनुभएपछि बस्नेहरूलाई बाँड़िदिनुभयो, र त्यसै गरी माछा पनि बाँड़िदिनुभयो। तिनीहरूले चाहेजति खाए। अनि जब तिनीहरूले भरपेट खाए, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही नष्ट नहोस्।” खानेहरूले उबारेका जौका ती पाँच रोटीका टुक्राहरू तिनीहरूले बटुले र बाह्र डाला भरे।
यूहन्ना 6:5-13 नेपाली समकालीन संस्करण (NCV)
येशूले आँखा उठाएर हेर्नुभयो र एउटा ठूलो भीड आफूतिर आउँदै गरेको देखेर उहाँले फिलिपलाई भन्नुभयो, “यी मानिसहरूले खानका निम्ति हामीले रोटी कहाँबाट किनौं?” उहाँले तिनलाई जाँच्नका लागि मात्र यो कुरा सोध्नुभएको थियो, किनकि उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो उहाँलाई थाहा थियो। फिलिपले उहाँलाई भने, “दुई सय दिनारले प्रत्येकलाई एक-एक गाँस पुग्नेजति रोटी किन्न पनि पर्याप्त हुँदैन!” उहाँका चेलाहरूमध्येका अर्का एकजना, सिमोन पत्रुसका भाइ, अन्द्रियासले भने, “यहाँ एउटा ठिटोसँग जौका पाँचओटा रोटी र दुईओटा ससाना माछा छन्, तर यति धेरैका निम्ति ती कति पो पुग्ला र?” येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लगाओ।” त्यस ठाउँमा प्रशस्त घाँसको चउर थियो र मानिसहरू त्यहीं बसे। त्यहाँ लगभग पाँच हजार पुरुषहरू थिए। त्यसपछि येशूले रोटी लिएर धन्यवाद दिनुभयो, र त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहेजति बाँडिदिनुभयो। उहाँले माछा पनि त्यसै गरी बाँडिदिनुभयो। तिनीहरू सबैले प्रशस्त खाएर अघाएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही पनि खेर नजाओस्।” तिनीहरूले त्यो बटुले, र पाँचओटा जौका रोटीबाट मानिसहरूले खाएर उबारेका टुक्राहरूले बाह्र डालाहरू भरे।
यूहन्ना 6:5-13 पवित्र बाइबल (NERV)
येशूले आफ्नो नजर उठाउनु भयो अनि धेरै मानिसहरू उहाँकहाँ आइरहेको देख्नु भयो। येशूले फिलिपलाई भन्नुभयो, “हामीले तिनीहरूलाई खुवाउनको निम्ति रोटीहरू कहाँ किन्न सक्छौं?” येशूले यो प्रश्न फिलिपलाई जाँच्नलाई सोध्नु भएको थियो। उहाँलाई थाहा भइसकेको थियो कि उहाँले के गरिरहुनु भएको छ। फिलिपले उत्तर दिए, “यदी हामी सबैले महिनाभरि काम गर्यौ भने पनि प्रत्येकलाई एक एक टुक्रा रोटी दिने पैसा पुग्ने छैन।” त्यहाँ येशूका अर्का एक जना चेला थिए। तिनी शिमोन पत्रुसका भाइ अन्द्रियास थिए। आन्द्रियासले भने, “यहाँ एक जना केटो छ। जसकोमा पाँच वटा जौको रोटी र दुइ टुक्रा साना माछा छन्। तर यो त्यति विघ्न मानिसहरूको लागि केही होइन।” येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लाऊ।” यो घाँसै-घाँस भएको ठाउँ थियो। त्यहाँ 5,000 जति मानिसहरू बसिरहेका थिए। येशूले रोटी लिनु भयो र परमेश्वरलाई यसको निम्ति धन्यवाद दिनुभयो, अनि त्यहाँ बसेका जम्मैलाई रोटी बाँड्नु भयो। माछा पनि त्यसरीनै बाँड्नु भयो। येशूले मानिसहरूलाई जति चाहान्थे त्यति नै दिनु भयो। जब तिनीहरूले खाई सके येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल। केही पनि नष्ट नपार।” तब चेलाहरूले उब्रिएको रोटीको टुक्राहरू बटुले। पाँचवटा जौको रोटीहरू मानिसहरूले खाएर उब्रेको टुक्राहरू तिनीहरूले ठूलाठूला बाह्रवटा डोकोहरू मा भरे। पाचँवटा रोटीहरू र दुइवटा माछाबाट मात्र शुरू गरेका थिए। चेलाहरूले ती उब्रेका टुक्राहरू ठूल-ठूला बाह्र डोकोहरूमा भरे।
यूहन्ना 6:5-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मानिसहरूको एउटा ठूलो भीड आफूतिर आइरहेको देखेर येशूले आफ्नो चेला फिलिपलाई सोध्नुभयो, “यी मानिसहरूलाई खुवाउन हामीले कहाँबाट रोटी किनेर ल्याउन सक्छौ?” यो कुरा येशूले फिलिपको मन जाँच्न सोध्नुभएको थियो। उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो कुरा उहाँलाई थाहा नै थियो। फिलिपले भने, “यहाँ भएका हरेक मानिसलाई अलि-अलि मात्रै रोटी दियौं भने पनि हामीलाई दुई सय चाँदीका सिक्काले पनि पुग्नेछैन।” येशूका अर्का एक जना चेला सिमोन पत्रुसका भाइ अन्द्रियासले भने, “हुन त, यहाँ एउटा केटासँग पाँच वटा जौका रोटी र दुई वटा माछा छन्, तर यति धेरै मान्छेलाई त्यतिले मात्र कहाँ पुग्थ्यो र?” येशूले चेलाहरूलाई भन्नुभयो, “मानिसहरूलाई बस्न लगाओ!” त्यहाँ ठूलो चउर थियो र मानिसहरू त्यहीँ नै बसे। त्यस भीडमा पुरुष मात्रै जम्मा पाँच हजार जति थिए। येशूले ती पाँच वटा रोटी लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो र बसेका मानिसहरूले खाऊन् भनेर चेलाहरूलाई बाँड्न लगाउनुभयो। माछालाई पनि त्यसै गरी बाँड्न लगाउनुभयो। मानिसहरूले अघाउञ्जेल खाए। तिनीहरू अघाइसकेपछि येशूले चेलाहरूलाई भन्नुभयो, “उब्रिएका टुक्राहरू बटुल, अलिकति पनि खेर नजाओस्।” खाएर उब्रिएका ती जौका पाँच रोटीका टुक्राहरू उठाउँदा बाह्र डाला भरिए।