YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 6:5-13

यूहन्‍ना 6:5-13 NCV

येशूले आँखा उठाएर हेर्नुभयो र एउटा ठूलो भीड आफूतिर आउँदै गरेको देखेर उहाँले फिलिपलाई भन्‍नुभयो, “यी मानिसहरूले खानका निम्ति हामीले रोटी कहाँबाट किनौं?” उहाँले तिनलाई जाँच्नका लागि मात्र यो कुरा सोध्नुभएको थियो, किनकि उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो उहाँलाई थाहा थियो। फिलिपले उहाँलाई भने, “दुई सय दिनारले प्रत्येकलाई एक-एक गाँस पुग्नेजति रोटी किन्‍न पनि पर्याप्‍त हुँदैन!” उहाँका चेलाहरूमध्येका अर्का एकजना, सिमोन पत्रुसका भाइ, अन्द्रियासले भने, “यहाँ एउटा ठिटोसँग जौका पाँचओटा रोटी र दुईओटा ससाना माछा छन्, तर यति धेरैका निम्ति ती कति पो पुग्ला र?” येशूले भन्‍नुभयो, “मानिसहरूलाई बस्‍न लगाओ।” त्यस ठाउँमा प्रशस्त घाँसको चउर थियो र मानिसहरू त्यहीं बसे। त्यहाँ लगभग पाँच हजार पुरुषहरू थिए। त्यसपछि येशूले रोटी लिएर धन्यवाद दिनुभयो, र त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहेजति बाँडिदिनुभयो। उहाँले माछा पनि त्यसै गरी बाँडिदिनुभयो। तिनीहरू सबैले प्रशस्त खाएर अघाएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही पनि खेर नजाओस्।” तिनीहरूले त्यो बटुले, र पाँचओटा जौका रोटीबाट मानिसहरूले खाएर उबारेका टुक्राहरूले बाह्र डालाहरू भरे।

यूहन्‍ना 6 पढ्नुहोस्