यूहन्ना 5:31-47
यूहन्ना 5:31-47 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यदि मैले आफ्नो विषयमा गवाही दिएँ भने मेरो गवाही सत्य हुँदैन। मेरो विषयमा गवाही दिने अर्कै हुनुहुन्छ, र म जान्दछु, कि मेरो विषयमा उहाँले जे गवाही दिनुहुन्छ, त्यो गवाही सत्य ठहर्छ। “तिमीहरूले यूहन्नाकहाँ सोध्न पठायौ, अनि उनले सत्यको गवाही दिएका छन्। मैले ग्रहण गर्ने गवाही मानिसको होइन, तर तिमीहरूको उद्धार होस् भनेर म यी कुरा भन्दछु। यूहन्ना बल्दो र चम्किलो बत्ती थिए, र तिमीहरू उनको प्रकाशमा थोरै समय आनन्द मनाउन राजी भयौ। “तर मसँग जो गवाही छ, त्यो यूहन्नाको भन्दा ठूलो छ। किनकि जुन कामहरू पूरा गर्न पिताले मलाई दिनुभएको छ, ती काम म गरिरहेको छु, अनि तिनैले मेरो विषयमा गवाही दिइरहेछन् कि पिताले मलाई पठाउनुभएको हो। मलाई पठाउनुहुने पिता आफैले मेरो विषयमा गवाही दिनुभएको छ। उहाँको सोर तिमीहरूले कहिले सुनेका छैनौ, अनि उहाँको रूप कहिले देखेका छैनौ। उहाँको वचन तिमीहरूमा रहँदैन, किनभने जसलाई उहाँले पठाउनुभयो, तिमीहरू उहाँमाथि विश्वास गर्दैनौ। तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्, तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ। “म मानिसहरूबाट महिमा ग्रहण गर्दिनँ, तर परमेश्वरको प्रेम तिमीहरूमा छैन भनी म जान्दछु। म आफ्ना पिताको नाउँमा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ। अर्को कोही आफ्नै नाउँमा आयो भने त्यसलाई ग्रहण गर्नेछौ। तिमीहरू कसरी विश्वास गर्न सक्छौ, जब कि तिमीहरू आपसमा एक-अर्काबाट सम्मान खोज्दछौ, अनि त्यो सम्मानको खोजी गर्दैनौ, जो एकमात्र परमेश्वरबाट आउँदछ? “यो नसम्झ, कि म पिताको सामु तिमीहरूलाई दोष लाउनेछु। तिमीहरूलाई दोष लाउने त मोशा छन्, जसमा तिमीहरूले आफ्ना आशा राखेका छौ। किनभने तिमीहरूले मोशालाई विश्वास गरेका भए मलाई पनि विश्वास गर्नेथियौ, किनकि उनले मेरो विषयमा लेखेका थिए। तर तिमीहरू उनले लेखेका कुराहरू विश्वास गर्दैनौ भने, मेरा वाणी कसरी विश्वास गर्छौ?”
यूहन्ना 5:31-47 नेपाली समकालीन संस्करण (NCV)
“यदि मैले आफ्नै विषयमा गवाही दिएँ भने मेरो साक्षी साँचो हुँदैन। मेरो पक्षमा गवाही दिने अर्को एकजना हुनुहुन्छ, अनि म जान्दछु, मेरो विषयमा उहाँले दिनुहुने गवाही सत्य ठहर्छ। “तिमीहरूले यूहन्नाकहाँ सोध्न पठायौ, र तिनले सत्यताको गवाही दिएका छन्। मैले मानिसको गवाही ग्रहण गर्छु भनेर ता होइन, तर तिमीहरूले उद्धार पाउन सक भनेर मैले यो कुरा भनेको हुँ। यूहन्ना बलिरहने र ज्योति दिइरहने बत्ती थिए, अनि तिमीहरू केही समय तिनको प्रकाशमा रमाउन खोज्यौ। “मसँग यूहन्नाको भन्दा ठूलो गवाही छ; किनकि पिताले मलाई पूरा गर्न भनी दिनुभएको काम, जो मैले गरिरहेको छु, त्यही कामले नै पिताले मलाई पठाउनुभएको हो भनी गवाही दिन्छन्। अनि पिता जसले मलाई पठाउनुभयो, उहाँ आफैले मेरो विषयमा साक्षी दिनुभएको छ। तिमीहरूले कहिल्यै पनि उहाँको स्वर सुनेका छैनौ, न उहाँको रूप देखेका छौ, न ता उहाँको वचन तिमीहरूमा रहन्छ; किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्वास गर्दैनौ। तिमीहरू लगनशील भई धर्मशास्त्रमा खोजी गर्दछौ; किनकि तिमीहरूले त्यसद्वारा तिमीहरूलाई अनन्त जीवन मिल्छ भनी विचार गर्दछौ। ती धर्मशास्त्रहरूले नै मेरो विषयमा गवाही दिन्छन्, तर पनि जीवन प्राप्त गर्न मकहाँ आउन तिमीहरू अस्वीकार गर्छौ। “म मानिसहरूबाट प्रशंसा ग्रहण गर्दिनँ,” तर म तिमीहरूलाई चिन्दछु। तिमीहरूको हृदयमा परमेश्वरको प्रेम छैन भनी म जान्दछु। म मेरा पिताको नाउँमा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ; तर अर्को कोही उसको आफ्नै नाउँमा आयो भने, तिमीहरूले त्यसलाई ग्रहण गर्छौ। यदि तिमीहरूले एका-अर्काबाट प्रशंसा ग्रहण गर्छौ, तर एक मात्र परमेश्वरबाट आउने प्रशंसा प्राप्त गर्न केही वास्ता नै गर्दैनौ भने तिमीहरूले कसरी विश्वास गर्न सक्छौ र? “तर तिमीहरूलाई पिताको अघि मैले दोष्याउनेछु भनी नसम्झ। तिमीहरूलाई दोष्याउने ता मोशा हुन्, जसमाथि तिमीहरूको आशा रहेको छ। यदि तिमीहरूले मोशालाई विश्वास गरेका भए, तिमीहरूले मलाई पनि विश्वास गर्नेथियौ; किनकि तिनले मेरो विषयमा लेखेका थिए। तर उनले लेखेको कुरामा विश्वास नगरेपछि मैले भनेको कुराहरू तिमीहरूले कसरी विश्वास गर्छौ र?”
यूहन्ना 5:31-47 पवित्र बाइबल (NERV)
“यदि मैले आफ्नो साक्षी आफैंले दिन्छु तब मेरो साक्षी समर्थित हुँदैन। तर त्यहाँ अन्य मानिस छ जसले मेरो विषयमा मानिसहरूलाई बताउँदछ। अनि म जान्दछु, उनले जे भन्छन् ती सबै कुराहरू सत्य हुन्। “तिमीहरूले यूहन्ना समक्ष मानिसहरू पठायौ। अनि उनले तिमीहरूलाई सत्य कुरा भने। मलाई मेरो विषयमा भन्नलाई मान्छेको आवश्यकता छैन। तर म तिमीहरूलाई ती कुराहरू भन्नेछु ताकि तिमीहरू बाँच्न सक्छौ। यूहन्ना एक बत्ती थियो जुन बलेको थियो र प्रकाश दियो। अनि अल्प समयको लागि मात्र पनि त्यो ज्योति पाँउदा तिमीहरू आनन्दित भयौ। “तर मसँग मेरै विषयमा जुन साक्षी छ त्यो यूहन्नाको भन्दा महान छ। जुन कामहरू म गरिरहेकोछु त्यही नै मेरो साक्षी हो। पिता जसले मलाई पठाउनु भयो त्यो कामहरू शेष गर्नलाई दिनु भयो। पिता जसले मलाई पठाउनु भयो उहाँले मेरो बारेमा साक्षी पनि दिनुभयो। तर तिमीहरूले उहाँको आवाज कहिले सुनेनौ र तिमीहरूले उहाँलाई कहिले देखेनौ। पिताको वचनले पनि तिमाहरूमा काम गरिरहेको छैन। किनभने जसलाई पिताले पठाउनु भयो उहाँलाई विश्वास गर्दैनौ। तिमीहरूले धर्मशास्त्र सावधानसित अध्ययन गर किनभने तिमीहरू सोच्दछौ कि ती धर्मशास्त्रद्वारा तिमीहरूले अनन्त जीवन पाउनेछौ अनि यिनै धर्मशास्त्रले मेरो विषयमा गवाही दिन्छ। तर तिमीहरू जीवन पाउनलाई मकहाँ आउँन चाँहदैनौ। “म मानिसहरूबाट प्रशंसा चाहन्न। तर म तिमीहरूलाई जान्दछु तिमीहरूमा परमेश्वरको प्रेम छैन। म मेरो पिताबाट आएको हुँ-अनि म उहाँकै निम्ति बोल्दछु। तर तिमीहरूले मलाई ग्रहण गर्दैनौ। तर यदि कुनै मानिस आँउछ अनि आफ्नै विषयमा बोल्छ भने, उसलाई तिमीहरू ग्रहण गर्नेछौ। तिमीहरू एकाअर्कामा प्रशंसा गरेको रूचाउँछौ। तर तिमीहरूले त्यो प्रशंसाको खोजी गर्दैनौ जो एक परमेश्वरबाट मात्र आँउछ। तब तिमी कसरी विश्वास गर्न सक्छौ? नसम्झ कि म पिता समक्ष तिमीहरूको विरोधदमा भन्नेछु। मोशा ती मानिस हुन् जसले तिमीहरू विरूध्य बोल्छन्। अनि उनै एक हुन जसमाथि तिमीहरूले बचाऊको आशा गर्यौ। यदि तिमीहरूले साँच्ची नै मोशालाई विश्वास गरेको भए, तिमीहरूले मलाई पनि विश्वास गर्ने थियौ? किनभने मोशाले मेरो विषयमा लेख्नु भएकोछ। तर तिमीहरूले मोशाले के लेखे त्यसलाई विश्वास गर्दैनौ भने तब म जे भन्छु तिमीहरूले कसरी विश्वास गर्न सक्छौ?”
यूहन्ना 5:31-47 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“यदि मैले आफैंले मात्रै आफ्नो बारेमा साक्षी दिएँ भने मेरो कुरा साँचो ठहरिंदैन। तर मेरो बारेमा साक्षी दिनुहुनेचाहिँ परमेश्वर पिता हुनुहुन्छ र उहाँले मेरो बारेमा जे भन्नुहुन्छ, ती सबै साँचो हुन्छ भन्ने मलाई थाहा छ। “तिमीहरूले कुरा बुझ्न आफ्ना मानिसहरूलाई बप्तिस्मा दिने यूहन्नाकहाँ पठायौ अनि उनले साँचो साक्षी दिए। मेरो लागि मानिसको साक्षी हुनैपर्छ भनेर होइन, तर तिमीहरूलाई बचाउन मैले यो कुरा भनेको हुँ। यूहन्ना त बलिरहेका र चम्किरहेका बत्तीजस्ता थिए, तर तिमीहरूले एक छिन मात्रै उनको उज्यालोमा रमाउन चाह्यौ। “तर यूहन्नाले दिएको साक्षीभन्दा पनि अझै ठूलो साक्षी मेरो पक्षमा छ। मेरा पिताले मलाई गर्न लगाउनुभएका कामहरू म गर्दै छु र यी कामहरूले नै मेरो लागि साक्षी दिँदै छन् र पिताले मलाई पठाउनुभएको हो भनी देखाउँछन्। मलाई पठाउनुहुने पिता आफैंले पनि मेरो लागि साक्षी दिनुभएको छ। तर तिमीहरूले उहाँको चाहिँ सोर कहिल्यै सुनेका छैनौ, नता उहाँलाई देखेका छौ। उहाँको वचन तिमीहरूको मनमा राख्दैनौ किनभने तिमीहरू उहाँले पठाउनुभएको मानिसलाई नै विश्वास गर्दैनौ। धर्मशास्त्रमा अनन्त जीवन पाइन्छ भनी तिमीहरू त्यहाँ खोजी गर्दछौ र धर्मशास्त्रले नै मेरो बारेमा बताउँछ। तर अनन्त जीवन पाउन तिमीहरू मकहाँ आउँदैनौ। “मैले मानिसहरूले दिएको प्रशंसा खोजेको होइन। तर मैले तिमीहरूलाई चिनिसकेको छु, तिमीहरूको हृदयमा परमेश्वरको प्रेम छैन भनेर मलाई थाहा छ। म मेरा पिताको अधिकार लिएर आएको छु, तापनि तिमीहरूले मलाई ग्रहण गर्दैनौ। तर आफ्नै अधिकार लिएर आउनेहरूलाई चाहिँ तिमीहरूले ग्रहण गर्छौ। तिमीहरू एकअर्कामा प्रशंसा खोज्छौ तर एक मात्र परमेश्वरबाट मिल्ने स्याबासीको चाहिँ इच्छा राख्दैनौ भने तिमीहरूले कसरी विश्वास गर्न सक्छौ र? “म तिमीहरूलाई पिताको अगाडि दोष लगाउनेछु भन्ने नसम्झ। तिमीहरूले मोशालाई भरोसा गरेका छौ, तर उनले नै तिमीहरूलाई दोष लगाउनेछन्। तिमीहरूले साँच्चै मोशालाई विश्वास गरेका भए मलाई पनि विश्वास गर्नेथियौ किनभने उनले त मेरो बारेमा लेखेका थिए! तर तिमीहरू उनले लेखेका कुराहरू नै विश्वास गर्दैनौ भने मैले भनेका कुरामा कसरी विश्वास गर्न सकौला र?”