YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 5:31-47

यूहन्‍ना 5:31-47 सरल नेपाली

“यदि मैले आफैंले मात्रै आफ्‍नो बारेमा साक्षी दिएँ भने मेरो कुरा साँचो ठहरिंदैन। तर मेरो बारेमा साक्षी दिनुहुनेचाहिँ परमेश्‍वर पिता हुनुहुन्‍छ र उहाँले मेरो बारेमा जे भन्‍नुहुन्‍छ, ती सबै साँचो हुन्‍छ भन्‍ने मलाई थाहा छ। “तिमीहरूले कुरा बुझ्‍न आफ्‍ना मानिसहरूलाई बप्‍तिस्‍मा दिने यूहन्‍नाकहाँ पठायौ अनि उनले साँचो साक्षी दिए। मेरो लागि मानिसको साक्षी हुनैपर्छ भनेर होइन, तर तिमीहरूलाई बचाउन मैले यो कुरा भनेको हुँ। यूहन्‍ना त बलिरहेका र चम्‍किरहेका बत्तीजस्‍ता थिए, तर तिमीहरूले एक छिन मात्रै उनको उज्‍यालोमा रमाउन चाह्यौ। “तर यूहन्‍नाले दिएको साक्षीभन्दा पनि अझै ठूलो साक्षी मेरो पक्षमा छ। मेरा पिताले मलाई गर्न लगाउनुभएका कामहरू म गर्दै छु र यी कामहरूले नै मेरो लागि साक्षी दिँदै छन् र पिताले मलाई पठाउनुभएको हो भनी देखाउँछन्। मलाई पठाउनुहुने पिता आफैंले पनि मेरो लागि साक्षी दिनुभएको छ। तर तिमीहरूले उहाँको चाहिँ सोर कहिल्‍यै सुनेका छैनौ, नता उहाँलाई देखेका छौ। उहाँको वचन तिमीहरूको मनमा राख्‍दैनौ किनभने तिमीहरू उहाँले पठाउनुभएको मानिसलाई नै विश्‍वास गर्दैनौ। धर्मशास्‍त्रमा अनन्त जीवन पाइन्‍छ भनी तिमीहरू त्‍यहाँ खोजी गर्दछौ र धर्मशास्‍त्रले नै मेरो बारेमा बताउँछ। तर अनन्त जीवन पाउन तिमीहरू मकहाँ आउँदैनौ। “मैले मानिसहरूले दिएको प्रशंसा खोजेको होइन। तर मैले तिमीहरूलाई चिनिसकेको छु, तिमीहरूको हृदयमा परमेश्‍वरको प्रेम छैन भनेर मलाई थाहा छ। म मेरा पिताको अधिकार लिएर आएको छु, तापनि तिमीहरूले मलाई ग्रहण गर्दैनौ। तर आफ्‍नै अधिकार लिएर आउनेहरूलाई चाहिँ तिमीहरूले ग्रहण गर्छौ। तिमीहरू एकअर्कामा प्रशंसा खोज्‍छौ तर एक मात्र परमेश्‍वरबाट मिल्‍ने स्‍याबासीको चाहिँ इच्‍छा राख्‍दैनौ भने तिमीहरूले कसरी विश्‍वास गर्न सक्‍छौ र? “म तिमीहरूलाई पिताको अगाडि दोष लगाउनेछु भन्‍ने नसम्‍झ। तिमीहरूले मोशालाई भरोसा गरेका छौ, तर उनले नै तिमीहरूलाई दोष लगाउनेछन्। तिमीहरूले साँच्‍चै मोशालाई विश्‍वास गरेका भए मलाई पनि विश्‍वास गर्नेथियौ किनभने उनले त मेरो बारेमा लेखेका थिए! तर तिमीहरू उनले लेखेका कुराहरू नै विश्‍वास गर्दैनौ भने मैले भनेका कुरामा कसरी विश्‍वास गर्न सकौला र?”

यूहन्‍ना 5 पढ्नुहोस्