यूहन्ना 5:1-15
यूहन्ना 5:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेममा जानुभयो। यरूशलेममा भेड़ा-ढोकाको नजिक पाँच वटा दलान भएको एउटा जल-कुण्ड छ, जसलाई हिब्रू भाषामा बेथस्दा भनिन्छ। त्यहाँ अनेक रोगीहरू, अर्थात्— अन्धा, लङ्गड़ा, पक्षाघातीहरू पस्रिरहन्थे। [तिनीहरू पानी कति बेला छचल्किन्छ भनेर पर्खिरहन्थे। किनभने परमप्रभुका एउटा दूतले बेला-बेलामा जल-कुण्डमा ओर्लेर पानी हल्लाइदिन्थे, र पानी छचल्किएपछि जो पहिला पानी भित्र पस्थ्यो, जस्तै रोगले ग्रस्त भए पनि, त्यो निको भइहाल्थ्यो।] त्यहाँ अठतीस वर्षदेखि बिरामी भएको एक जना मानिस थियो। येशूले त्यसलाई त्यहाँ पस्रिरहेको देख्नुभयो अनि लामो समयदेखि त्यो यस दशामा रहेछ भनी जानेर येशूले त्यसलाई भन्नुभयो, “के तिमी निको हुन चाहन्छौ?” रोगीले उहाँलाई भन्यो, “हजूर, जुन बेला पानी छचल्काइन्छ मलाई जलकुण्डमा हालिदिने मेरो कोही मानिस छैन, म जाँदाजाँदै मभन्दा अगाडि अर्को मान्छे पानीमा ओर्लिहाल्छ।” येशूले त्यसलाई भन्नुभयो, “खड़ा होऊ, र आफ्नो ओछ्यान उठाऊ, र हिँड़।” तुरुन्तै त्यो मानिस निको भयो, र आफ्नो ओछ्यान बोकी ऊ हिँड़िहाल्यो। त्यो दिन शबाथ-दिन थियो। यसकारण निको पारिएको त्यस मानिसलाई यहूदीहरूले भने, “यो त शबाथ-दिन हो, तिमीलाई ओछ्यान बोक्नु उचित छैन।” त्यसले तिनीहरूलाई जवाफ दियो, “जसले मलाई निको पार्नुभयो उहाँले नै भन्नुभयो, ‘आफ्नो ओछ्यान बोकेर हिँड़’।” तिनीहरूले त्यसलाई सोधे, “तिमीलाई ओछ्यान बोकेर हिँड़ भन्ने मानिस को हो?” तर निको भएको त्यस मानिसले उहाँ को हुनुहुन्थ्यो भनी चिनेको थिएन, किनभने त्यस ठाउँमा भीड भएको हुनाले येशू त्यहाँबाट गइसक्नुभएको थियो। त्यसपछि येशूले त्यसलाई मन्दिरमा भेट्टाएर भन्नुभयो, “हेर, तिमी निको भएका छौ। फेरि पाप नगर, र तिमीमाथि अझ बढ़ी खराबी आई नपरोस्।” उसलाई निको पार्ने त येशू हुनुहुँदोरहेछ भनेर त्यस मानिसले गएर यहूदीहरूलाई भनिदियो।
यूहन्ना 5:1-15 नेपाली समकालीन संस्करण (NCV)
केही समयपछि येशू यहूदीहरूको एउटा चाडको निम्ति यरूशलेम जानुभयो। यरूशलेममा भेडा ढोकाको नजिकै एउटा पोखरी छ, जसलाई आरामाईक भाषामा बेथस्दा भनिन्छ, र यो पाँचओटा दलानहरूले घेरिएको थियो। त्यहाँ दृष्टिविहीन, हिँड्न नसक्ने, पक्षघाती तथा थुप्रै रोगीहरू पस्रिरहेका हुन्थे। तिनीहरू पानी छचल्किएको पर्खिरहन्थे। किनकि बेला-बेलामा प्रभुका दूत तल ओर्लेर पानी हल्लाइदिन्थे; अनि हरेकपल्ट पानी छचल्किएपछि जो पहिला पानीभित्र पस्थ्यो, त्यो जस्तोसुकै रोग लागेको भए तापनि निको भइहाल्थ्यो। त्यहाँ एकजना मानिस थियो, जो अठतीस वर्षदेखिको पक्षघाती रोगी थियो। जब येशूले त्यसलाई त्यहाँ पस्रिएको देख्नुभयो र त्यो लामो समयदेखि त्यस अवस्थामा रहेछ भनी थाहा पाउनुभयो, तब उहाँले त्यसलाई सोध्नुभयो, “के तिमी निको हुन चाहन्छौ?” त्यस रोगीले भन्यो, “हजुर, पानी छचल्काइँदा मलाई पोखरीमा हालिदिन सहायता गर्ने कोही पनि छैन। म पस्ने कोसिस गर्दा-गर्दै अर्को मान्छे मभन्दा अगाडि पसिहाल्छ।” त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “उठ! तिम्रो ओछ्यान उठाऊ, र हिँड।” तुरुन्तै त्यो मानिस निको भयो, अनि आफ्नो ओछ्यान उठाएर हिँड्यो। यो घटना भएको दिन विश्रामदिन थियो, त्यसकारण यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “आज विश्रामदिन हो, व्यवस्थाले तिमीलाई ओछ्यान बोक्न समेत निषेध गरेको छ।” तर त्यसले जवाफ दियो, “मलाई निको पार्नुहुने व्यक्तिले नै मलाई भन्नुभयो, ‘आफ्नो ओछ्यान उठाऊ, र हिँड।’ ” तिनीहरूले त्यसलाई सोधे, “तिमीलाई यो उठाएर हिँड भन्ने त्यो मानिस को हो?” निको भएको मानिसलाई उहाँ को हुनुहुन्थ्यो भन्ने बारेमा केही थाहा थिएन; किनकि येशू त्यहाँ भएको भीडभित्र पसिसक्नुभएको थियो। त्यसपछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाएर भन्नुभयो, “हेर, तिमी निको भएका छौ। पाप गर्न छोड, नत्र तिमीमाथि अझ नराम्रो अवस्था आउनसक्छ।” त्यो मानिस गयो, र त्यसलाई निको पार्ने व्यक्ति ता येशू हुनुहुँदोरहेछ भनी यहूदी अगुवाहरूलाई भनिदियो।
यूहन्ना 5:1-15 पवित्र बाइबल (NERV)
त्यसपछि येशू यहूदीहरूको विशेष चाडको लागि यरूशलेम जानुभयो। यरूशलेमा पाँचवटा दलानहरूले घेरिएको एउटा जल-कुण्ड छ। यहूदीहरूका भाषामा यसलाई बेथस्दा भनिन्छ। यो जल-कुण्ड भेंडा़-ढोकाको नजीकमा छ। धेरै रोगी मानिसहरू त्यही जल-कुण्डको दलानमा लडिरहेका थिए। तिनीहरूमा कोही अन्धाहरू, कोही लङ्गाडाहरू अनि कोही पक्षाघात का रोगीहरू थिए। त्यहाँ अठ्तीस वर्षदेखि रोगले ग्रस्त भएको एकजना रोगी थियो। येशूले त्यस मानिसलाई त्यहाँ लडिरहेको देख्नु भयो। येशूलाई त्यो मानिस लामो समयदेखि बिमार भएको थाहा थियो। अतः येशूले त्यस मानिसलाई सोध्नु भयो, “तिमी निको हुन चाहन्छौ?” त्यस रोगीले उत्तर दियो, “महाशय, मलाई त्यो पानी चलिरहेको बेला त्यहाँ पस्न सहायता गर्ने कोही छैन्। मैले कोशिश गर्दा-गर्दै मेरो अघि जल-कुण्डमा मानिस पसि हाल्छ।” तब येशूले भन्नुभयो, “उठ! तिम्रो ओछ्यान उठाउ र हिंड” तब तुरन्तै त्यो मानिस निको भयो। त्यो मानिसले आफ्नो ओछ्यान उठायो र हिँड्न थाल्यो। त्यस्तो घट्ना भएको दिन विश्रामको दिन थियो। तब यहूदीहरूले त्यस मानिसलाई भने, “आजको दिन विश्रामको दिन हो। विश्रामको दिन यसरी ओछ्यान बोकेर जानु हाम्रो व्यवस्थाका विरुद्ध हो।” तर त्यस मानिसले भन्यो, “जुन मानिसले मलाई निको तुल्याउनु भयो, उनैले भन्नुभयो, ‘तिम्रो ओछ्यान उठाउ र हिँड।’” यहूदीहरूले सोधे, “तिमीलाई त्यसरी ओछ्यान बोकेर जाऊ भन्ने मानिस को हो?” तर त्यो मानिसले जसद्वारा आफू निको भएको थियो, उहाँ को हुनुहुन्थ्यो चिनेन। त्यस बेला त्यहाँ धेरै मानिसहरू थिए र येशू सुटुक्क गइसक्नु भएको थियो। केही समय पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्नु भयो। येशूले उनलाई भन्नु भयो, “हेर, अब तिमी ठीक भयौ। तर अब पाप नगर, तिमीमाथि अझ खराब घट्नाहरू नघटोस्।” तब त्यो मानिस यहूदीहरूकहाँ गयो र तिनीहरूलाई भनिदियो कि जसले तिनलाई निको पार्नु भयो उहाँ येशू हुनु हुँदोरहेछ।
यूहन्ना 5:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
केही दिनपछि यहूदीहरूको एउटा चाड आयो र येशू यरूशलेम जानुभयो। यरूशलेममा सहरभित्र पस्ने भेडा नाउँ गरेको ढोका छ र त्यसैको छेउमा पाँचतिर पाटी भएको पोखरी छ। यो पोखरीलाई हिब्रू भाषामा बेथेस्दा भनिन्छ। ती पाटी-पौवामा अन्धा, लङ्गडा र हात-खुट्टा नचल्ने धेरै बिरामीहरू बसिरहेका हुन्थे। [तिनीहरू कुन बेला पोखरीको पानी छचल्किन्छ भनेर पर्खिरहेका हुन्थे किनभने बेला-बेलामा प्रभुका एउटा दूत तल आएर पोखरीको पानी छचल्काइदिन्थे। पानीमा लहरी चल्नेबित्तिकै पहिले डुबुल्की मार्ने बिरामीचाहिँ जस्तोसुकै रोग लागेको भए पनि निको भइहाल्थ्यो।] अब ती पर्खिरहने बिरामीहरूमध्ये एक जना अड्तीस वर्षसम्म बिरामी भएको मानिस पनि थियो। येशूले उसलाई त्यहीँ नै लडिरहेको देख्नुभयो। ऊ धेरै वर्षदेखि बिरामी भएको थाहा पाएर येशूले उसलाई भन्नुभयो, “के तिमी निको हुन चाहन्छौ?” त्यस बिरामीले भन्यो, “हजुर, पानीमा लहरी चल्ने बेलामा मलाई पोखरीमा लगेर हालिदिने मेरो कोही मानिस छैन। म जान खोज्दाखोज्दै अर्कोले उछिनिहाल्छ।” तब येशूले भन्नुभयो, “उठ र आफ्नो ओछ्यान बोकेर हिँड।” त्यति नै खेर त्यो मानिस निको भयो र आफ्नो ओछ्यान बोकेर हिँड्यो। तर त्यो दिन पवित्र विश्रामको दिन थियो। त्यसो हुँदा यहूदी अगुवाहरूले त्यो निको भएको मानिसलाई भने, “आज पवित्र विश्रामको दिन हो, तिमीले ओछ्यान बोक्नुहुँदैन।” उसले भन्यो, “जसले मलाई निको पार्नुभयो, उहाँले नै मलाई ओछ्यान बोकेर हिँड भन्नुभएको हो।” तिनीहरूले सोधे, “तिमीलाई ओछ्यान बोकेर हिँड भन्ने मानिस को हो?” आफूलाई निको पार्ने मानिस को हुनुहुन्थ्यो, उसलाई थाहा थिएन। भीड जम्मा भएको हुनाले येशू त्यहाँबाट गइसक्नुभएको थियो। केही समयपछि येशूले उसलाई मन्दिरमा भेटेर भन्नुभयो, “हेर, अब त तिमी निको भएका छौ। फेरि पाप नगर, नत्र तिमी अझै नराम्रो दशामापर्नेछौ।” त्यसपछि त्यो मानिस यहूदी अगुवाहरूकहाँ गयो र आफूलाई निको पार्ने येशू हुनुहुँदो रहेछ भनेर सुनायो।