YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 5:1-15

यूहन्‍ना 5:1-15 NCV

केही समयपछि येशू यहूदीहरूको एउटा चाडको निम्ति यरूशलेम जानुभयो। यरूशलेममा भेडा ढोकाको नजिकै एउटा पोखरी छ, जसलाई आरामाईक भाषामा बेथस्दा भनिन्छ, र यो पाँचओटा दलानहरूले घेरिएको थियो। त्यहाँ दृष्‍टिविहीन, हिँड्न नसक्ने, पक्षघाती तथा थुप्रै रोगीहरू पस्रिरहेका हुन्थे। तिनीहरू पानी छचल्किएको पर्खिरहन्थे। किनकि बेला-बेलामा प्रभुका दूत तल ओर्लेर पानी हल्‍लाइदिन्थे; अनि हरेकपल्ट पानी छचल्किएपछि जो पहिला पानीभित्र पस्थ्यो, त्यो जस्तोसुकै रोग लागेको भए तापनि निको भइहाल्थ्यो। त्यहाँ एकजना मानिस थियो, जो अठतीस वर्षदेखिको पक्षघाती रोगी थियो। जब येशूले त्यसलाई त्यहाँ पस्रिएको देख्नुभयो र त्यो लामो समयदेखि त्यस अवस्थामा रहेछ भनी थाहा पाउनुभयो, तब उहाँले त्यसलाई सोध्नुभयो, “के तिमी निको हुन चाहन्छौ?” त्यस रोगीले भन्यो, “हजुर, पानी छचल्काइँदा मलाई पोखरीमा हालिदिन सहायता गर्ने कोही पनि छैन। म पस्‍ने कोसिस गर्दा-गर्दै अर्को मान्छे मभन्दा अगाडि पसिहाल्छ।” त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “उठ! तिम्रो ओछ्यान उठाऊ, र हिँड।” तुरुन्तै त्यो मानिस निको भयो, अनि आफ्नो ओछ्यान उठाएर हिँड्यो। यो घटना भएको दिन विश्रामदिन थियो, त्यसकारण यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “आज विश्रामदिन हो, व्यवस्थाले तिमीलाई ओछ्यान बोक्न समेत निषेध गरेको छ।” तर त्यसले जवाफ दियो, “मलाई निको पार्नुहुने व्यक्‍तिले नै मलाई भन्‍नुभयो, ‘आफ्नो ओछ्यान उठाऊ, र हिँड।’ ” तिनीहरूले त्यसलाई सोधे, “तिमीलाई यो उठाएर हिँड भन्‍ने त्यो मानिस को हो?” निको भएको मानिसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍ने बारेमा केही थाहा थिएन; किनकि येशू त्यहाँ भएको भीडभित्र पसिसक्नुभएको थियो। त्यसपछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाएर भन्‍नुभयो, “हेर, तिमी निको भएका छौ। पाप गर्न छोड, नत्र तिमीमाथि अझ नराम्रो अवस्था आउनसक्छ।” त्यो मानिस गयो, र त्यसलाई निको पार्ने व्यक्‍ति ता येशू हुनुहुँदोरहेछ भनी यहूदी अगुवाहरूलाई भनिदियो।

यूहन्‍ना 5 पढ्नुहोस्