YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 20:24-28

यूहन्‍ना 20:24-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

येशू आउनुहुँदा बाह्र जनामध्‍ये एक जना, दिदुमस भन्‍ने थोमाचाहिँ, तिनीहरूसँग थिएनन्‌। यसकारण अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देख्‍यौं।” तर तिनले उनीहरूलाई भने, “जबसम्‍म म उहाँका हातमा कीलाहरूका डोब देख्‍दिनँ, र कीलाहरूका डोबमा मेरा औँला हाल्‍दिनँ, उहाँको कोखामा मेरो हात हाल्‍दिनँ, तबसम्‍म म विश्‍वास गर्नेछैनँ।” आठ दिनपछि उहाँका चेलाहरू फेरि घरभित्रै थिए। थोमा पनि तिनीहरूसँग थिए। ढोकाहरू बन्‍द थिए, तर येशू भित्र प्रवेश गर्नुभयो, र माझमा उभिएर भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति!” तब उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रो औँला यहाँ राख, र मेरा हातहरू हेर। तिम्रो हात बढ़ाएर मेरो कोखामा हाल। शङ्का नगर, तर विश्‍वासी होऊ।” थोमाले उहाँलाई भने, “मेरा प्रभु, र मेरा परमेश्‍वर!”

शेयर गर्नुहोस्
यूहन्‍ना 20 पढ्नुहोस्

यूहन्‍ना 20:24-28 नेपाली समकालीन संस्करण (NCV)

बाह्र चेलाहरूमध्ये एकजना “दिदुमस” भन्‍ने थोमा येशू आउनुहुँदा त्यहाँ थिएनन्। “हामीले प्रभुलाई देख्यौं” भनेर अरू चेलाहरूले थोमालाई भने। तर तिनले तिनीहरूलाई यसो भने, “उहाँको हातमा काँटीहरूका चोट नदेखेसम्म, र मैले मेरा औंलाहरू त्यहाँ नहालेसम्म, अनि उहाँको कोखामा हात नराखेसम्म, म यो कुरा विश्‍वास गर्नेछैनँ।” एक हप्‍तापछि उहाँका चेलाहरू फेरि घरमा भेला हुँदा, थोमा पनि तिनीहरूसँग थिए। ढोका बन्द भए तापनि येशू तिनीहरूका बीचमा आउनुभयो, र तिनीहरूका सामु उभिएर उहाँले भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!” त्यसपछि थोमालाई उहाँले भन्‍नुभयो, “तिम्रा औंलाहरू यहाँ राख, मेरा हातहरू हेर; र तिम्रा हात मेरा कोखामा राख। अबदेखि उसो, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर।” थोमाले उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्‍वर!”

शेयर गर्नुहोस्
यूहन्‍ना 20 पढ्नुहोस्

यूहन्‍ना 20:24-28 पवित्र बाइबल (NERV)

थोमा जसलाई दिदुमस भनिन्छ, येशू चेलाहरूकहाँ आउनु हुँदा थिएनन्। बाह्रजना मध्ये थोमा एकजना थिए। अरू चेलाहरूले थोमालाई भने, “हामीले प्रभुलाई देख्यौं।” थोमाले भने, “म त्यति बेला सम्म विश्वास गर्दिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देख्दिन अनि औंला त्यो काँटीको दागहरूमा राख्दिन र उहाँको कोखामा मेरो हात राख्दिन।” एक हप्तापछि सबैजना चेलाहरू घरमा जम्मा भएका थिए। थोमा तिनीहरूसँग थिए। दैलो बन्द थियो, तर येशू आउनु भयो र तिनीहरू समक्ष उभिनु भयो। उहाँले भन्नुभयो, “शान्ति तिमीहरूमा रहोस्।” त्यसपछि येशूले थोमालाई भन्नुभयो, “आऊ तिम्रो औंला यहाँ छिराऊ। मेरा हातहरू हेर, तिम्रो हात मेरा कोखमा पसाउ। शंका गर्न छोड अनि विश्वास गर्न थाल।” थोमाले येशूलाई भने, “मेरा प्रभु र मेरा परमेश्वर!”

शेयर गर्नुहोस्
यूहन्‍ना 20 पढ्नुहोस्

यूहन्‍ना 20:24-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशू चेलाहरूका बीचमा आउनुहुँदा जुम्‍ल्याहा भनिने थोमाचाहिँ त्‍यहाँ थिएनन्। अरू चेलाहरूले उनलाई ‘हामीले प्रभुलाई देख्‍यौं’ भनेर बताए। तर थोमाले भने, “जबसम्‍म म आफैंले उहाँका हातमा काँटीको डोब देख्‍तिनँ र आफ्‍नै औँलाले त्‍यो काँटीको डोब छुँदिनँ र मेरो हातले उहाँको कोखामा छाम्‍दिनँ, तबसम्‍म म विश्‍वासै गर्दिनँ!” एक हप्‍तापछि चेलाहरू घरमा ढोका थुनेर बसिरहेका थिए। यसपल्‍टचाहिँ थोमा पनि तिनीहरूसँगै थिए। ढोका थुनिएकै बेलामा येशूले तिनीहरूको बीचमा आएर भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति होस्!” थोमालाई आफ्‍नो हात देखाएर भन्‍नुभयो, “यहाँ हेर, तिम्रो औँलाले मेरा हातमा छोऊ र मेरो कोखामा छाम! शङ्का होइन तर विश्‍वास गर।” त्यही बेला थोमाले “हे मेरा प्रभु, हे मेरा परमेश्‍वर!” भन्‍दै येशूको पाउमा परे

शेयर गर्नुहोस्
यूहन्‍ना 20 पढ्नुहोस्