यूहन्ना 17:20-26
यूहन्ना 17:20-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्देशद्वारा ममाथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु, कि तिनीहरू सबै एक होऊन्। हे पिता, जसरी तपाईं ममा हुनुहुन्छ, र म तपाईंमा, त्यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्। जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन्। म तिनीहरूमा, अनि तपाईं ममा, र तिनीहरू पूर्ण रूपले एक होऊन्, र तपाईंले मलाई पठाउनुभएको हो, अनि मलाई प्रेम गर्नुभएजस्तो तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्। “पिता, म इच्छा गर्दछु, कि तपाईंले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहून्, र मेरो महिमा देखून्, जुन महिमा, संसारको सृष्टि हुन अघि देखि नै मलाई प्रेम गर्नुभएको हुनाले तपाईंले मलाई दिनुभएको थियो। “धार्मिक पिता, संसारले तपाईंलाई चिन्दैन, तर म तपाईंलाई चिन्दछु, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी यिनीहरूले जान्दछन्। मैले तपाईंको नाउँ यिनीहरूमा प्रकट गरें, अनि तपाईंको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईंले प्रेम गर्नुभयो, त्यो तिनीहरूमा रहोस्, र म तिनीहरूमा रहूँ।”
यूहन्ना 17:20-26 नेपाली समकालीन संस्करण (NCV)
“तिनीहरूका निम्ति मात्र म प्रार्थना गर्दिनँ, तर तिनीहरूका साक्षीद्वारा पछि मलाई विश्वास गर्नेहरू सबैका लागि पनि म प्रार्थना गर्दछु। हे पिता, जस्तो म तपाईंमा छु र तपाईं ममा हुनुहुन्छ, त्यसरी नै तिनीहरू पनि हामीमा एक होऊन्। तिनीहरू पनि हामीमा रहन सकून्; ताकि तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्। तिनीहरू पनि हामीजस्तै एक होऊन् भनेर तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई पनि दिएको छु: म तिनीहरूमा अनि तपाईं ममा। तपाईंले मलाई संसारमा पठाउनुभएको हो, र मलाई प्रेम गर्नुभएझैं तिनीहरूलाई पनि गर्नुहुन्छ भन्ने कुरा संसारलाई थाहा दिन तिनीहरूमा पूरा एकता आओस्। “हे पिता, म इच्छा गर्दछु जो जति तपाईंले मलाई दिनुभएको छ, तिनीहरू पनि म जहाँ छु, मसितै त्यहीं रहून् र मेरो महिमा तिनीहरूले देखून्, जुन महिमा तपाईंले संसारको सृष्टिभन्दा पहिलेदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले मलाई दिनुभयो। “हे धार्मिक पिता, संसारले तपाईंलाई नचिने तापनि म तपाईंलाई चिन्दछु; अनि तपाईंले मलाई पठाउनुभएको हो भनेर तिनीहरूले जान्दछन्। मैले तपाईंलाई तिनीहरूकहाँ प्रकट गरेको छु, अनि मलाई तपाईंले गर्नुभएको त्यो गहिरो प्रेम तिनीहरूमा पनि रहोस् र म आफू पनि तिनीहरूमा रहूँ भनेर तिनीहरूकहाँ तपाईंलाई म प्रकट गरिरहनेछु।”
यूहन्ना 17:20-26 पवित्र बाइबल (NERV)
“म ती मानिसहरूका लागि प्रार्थना गर्छु अनि म प्रत्येकको लागि प्रार्थना गरिरहेछु जसले मलाई उनीहरूको वचनको कारणले विश्वास गर्छन्। हे पिता, म प्रार्थना गर्छु कि जसले म मा विश्वास गर्छन्, तिनीहरू एक होऊन्। जसरी तपाईं ममा हुनुहुन्छु, म तपाईंमा। म प्रार्थना गर्छु ताकि तिनीहरू हामीमा एक होऊन्। संसारले यो विश्वास गर्नछ कि तपाईंले नै मलाई पठाउनु भएको हो। तपाईंले दिनु भएको महिमा मैले तिनीहरूलाई दिएकोछु। मैले त्यो महिमा दिएँ ताकि तिनीहरू एक होऊन्, जसरी तपाईं र म एक हौं। जस्तो म तिनीहरूमा अनि तपाईं ममा तिनीहरू एकरूपले एक होऊन् तव त्यसबाट संसारले जान्नेछ कि मलाई तपाईंले पठाउनु भएको हो अनि संसारले जान्ने छ तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्छ जस्तो तपाईंले मलाई प्रेम गर्नुहुन्छ। “पिता, म जहाँ हुन्छु तिनीहरू, जो तपाईंले मलाई दिनु भएकोछ, मसँग नै होऊन। म यो इच्छा गर्छु तिनीहरूले मेरो महिमा देखुन्। यो महिमा तपाईंले मलाई दिनुभएको हो किनभने संसार बनिनु भन्दा अगाडि तपाईंले मलाई प्रेम गर्नु हुन्थ्यो। हे धार्मिक पिता, संसारले तपाईलाई चिन्दैन, तर म तपाईंलाई जान्दछु। अनि यी मानिसहरूले मलाई तपाईंले पठाउनु भएको हो भनेर जान्दछन्। मैले तिनीहरूलाई तपाईं कस्तो हुनु हुन्छ देखाएँ। अनि अझ म तिनीहरूलाई तपाईं कस्तो हुनुहुन्छ देखाउनेछु। तब तिनीहरूले मैले तपाईंबाट पाए जस्तै प्रेम पाउन सक्छन्। अनि म तिनीहरूमा बाँच्नेछु।”
यूहन्ना 17:20-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“म यिनीहरूका लागि मात्र होइन, तर यिनीहरूका शिक्षाले गर्दा ममाथि विश्वास राख्नेहरूका लागि पनि प्रार्थना गर्दै छु। तिनीहरू सबै एक हुन सकून् भनेर म बिन्ती गर्दै छु। हे पिता, तपाईं ममा र म तपाईंमा भई हामी एक भएजस्तै तिनीहरू पनि हामीमा भएर एउटै हुन सकून् र तपाईंले नै मलाई पठाउनुभएको हो भनी संसारले बुझ्न सकोस्। तपाईंले मलाई जुन महिमा दिनुभएको छ, त्यही महिमा मैले अहिले तिनीहरूलाई पनि दिएको छु, जसरी तपाईं र म एक हौं, त्यसरी नै तिनीहरू पनि एक हुन सकून्। म तिनीहरूमा र तपाईं ममा हुनुहुन्छ। यही रीतिले तिनीहरू पनि पूर्णरूपमा एक हुन सकून्। यसैबाट तपाईंले नै मलाई पठाउनुभएको हो र तपाईंले मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूलाई पनि प्रेम गर्नुहुन्छ भनी संसारले जान्न सकोस्। “हे पिता, तपाईंले मलाई दिनुभएका मानिसहरू मसँग नै रहून् र तपाईंले मलाई दिनुभएको महिमा तिनीहरूले देख्न सकून्, जुन महिमा तपाईंले सृष्टि हुनुभन्दा अघिदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले दिनुभयो। “हे सत्य न्याय गर्नुहुने पिता, संसारले तपाईंलाई चिन्दैन, तर म तपाईंलाई चिन्छु र तपाईंले नै मलाई पठाउनुभएको हो भनी यिनीहरूले जान्नेछन्। तपाईंले मलाई गर्नुभएको प्रेम तिनीहरूमा पनि रहन सकोस् अनि म तिनीहरूमा रहन सकूँ भनेर तिनीहरू माझ तपाईंलाई मैले चिनाएँ र अझै पनि चिनाइरहनेछु।”