यूहन्ना 11:28-44
यूहन्ना 11:28-44 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यति भनेर तिनी गइहालिन्, र आफ्नी बहिनी मरियमलाई बोलाएर सुटुक्क भनिन्, “गुरुज्यू आइपुग्नुभयो, र तिमीलाई बोलाउँदैहुनुहुन्छ।” यो सुनेर मरियम झट्टै उठेर उहाँकहाँ गइन्। त्यस बेलासम्म येशू गाउँमा आइपुग्नुभएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन्। घरमा तिनलाई सान्त्वना दिन आएका यहूदीहरूले मरियम झट्टै उठेर बाहिर गएकी देखेर, तिनी त्यो चिहानमा रुन गएकी हुन् भन्ठानेर, तिनको पछि लागे। जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तब यसो भन्दै तिनी उहाँका पाउमा परिन्, “हे प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन।” जब येशूले तिनलाई रोइरहेकी र तिनीसँग आउने यहूदीहरू पनि रोइरहेका देख्नुभयो, तब उहाँ आत्मामा ज्यादै व्याकुल हुनुभयो अनि अति दुःखित हुनुभयो। उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” तिनीहरूले उहाँलाई भने, “प्रभु, आएर हेर्नुहोस्।” येशू रुनुभयो। यसकारण यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो।” तर कुनै-कुनैले भने, “के अन्धाका आँखा खोलिदिने यिनले यस मानिसलाई पनि मर्नदेखि बचाउन सक्नेथिएनन् र?” तब येशू फेरि ज्यादै व्याकुल भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओढ़ारमा थियो। त्यसको मुख एउटा ढुङ्गोले ढाकेको थियो। येशूले भन्नुभयो, “ढुङ्गो हटाओ।” मृत मानिसको दिदी मार्थाले उहाँलाई भनिन्, “हे प्रभु, यस बेलासम्म त त्यो गन्हाउन लागिसक्यो होला, किनकि त्यो मरेको चार दिन भइसक्यो।” येशूले तिनलाई भन्नुभयो, “के मैले तिमीलाई भनेको होइनँ, ‘तिमीले विश्वास गर्यौ भने परमेश्वरको महिमा देख्नेछौ’?” तिनीहरूले ढुङ्गो हटाए। अनि येशूले मास्तिर नजर उठाएर भन्नुभयो, “हे पिता, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि तपाईंले मेरो बिन्ती सुन्नुभयो। मलाई थाहा छ, कि तपाईंले मेरो बिन्ती सधैँ सुन्नुहुन्छ। तर यहाँ उभिएका भीड़को खातिर मैले यो भनेको हुँ, ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरून्।” अनि यो कुरा भन्नुभएपछि उहाँ उच्च सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्की आऊ।” त्यो मृत मानिस त्यसको हात-खुट्टा पट्टीले बाँधिएकै र अनुहार लुगाले बेह्रिएकैमा बाहिर निस्की आयो। येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसको बन्धन खोलिदेओ, र त्यसलाई जान देओ।”
यूहन्ना 11:28-44 पवित्र बाइबल (NERV)
मार्थाले त्यसो भनी सके पछि उनी आफ्नो बहिनीकहाँ गईन् अनि गुप्तरूपमा मार्थाले मरियमलाई भनी, “गुरुज्यू यहाँ हुनहुन्छ। उहाँले तिमीलाई सोधी रहुनभएकोछ।” जब मरियमले त्यस्तो सुनी, तिनी जुरूक्क उठिन् र येशूकहाँ गईन। येशू गाँउ भित्र आइसक्नु भएको थिएन। उहाँ अझ सम्म त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थासँग भेट भएको थियो। यहूदीहरू मरियमसँग घरमा थिए। तिनीहरूले उनलाई सान्त्वना दिइरहेका थिए। तिनीहरूले मरियमलाई छिट्टै उठेर गएको देखे। तिनीहरूले सोचे कि तिनी लाजरसको चिहानमा गएकी हुन्। तिनीहरूले सोचे कि उनी त्यहाँ रून गएकी हुन्। तिनीहरूले उनलाई पछ्याए। मरियम त्यस ठाउँमा गइन् जहाँ येशू हुनुहुथ्यो। जब उनले येशूलाई देखिन् उनले झुकेर चरणमा ढोगिन्। मरियमले भनिन्, “हे प्रभु, यदि तपाईं त्यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन।” येशूले मरियमलाई रोएकी देख्नु भयो। येशूले उनको पछि यहूदीहरू आइरहेको देख्नु भयो। तिनीहरू पनि रोई रहेका थिए। येशू एकदम उदास अनि विचलित हुनु भयो। येशूले सोध्नुभयो, “तिमीले उसलाई कहाँ राखेकाछौ।” तिनीहरूले भने, “प्रभु, आउनु होस् अनि हेर्नुहोस्।” येशू रुनुभयो। अनि यहूदीहरूले भने, “हेर! येशूले लाजरसलाई खुबै माया गर्नु हुन्थ्यो।” तर कोही यहूदीहरूले भने, “येशूले अन्धा मान्छेको आँखा निको पारिदिनु भयो। के उहाँले उसलाई बचाँउन केही गर्न सक्नु हुने थिएन उसलाई मर्नुबाट रोक्न हुने थिएन?” येशू फेरि हृदयभित्रबाट अति शोकित हुनुभयो। येशू चिहानमा जानु भयो जहाँ लाजरसलाई राखिएको थियो। चिहान ओडार जस्तो बनाइएको थियो जो ढुङ्गाले ढाकिएको थियो। येशूले भन्नुभयो, “ढुङ्गा हटाऊ।” मार्थाले भनिन्, “तर प्रभु लाजरस मरेको चार दिन भइसक्यो तपाईंलाई नराम्रो गन्ध आउनेछ।” मार्था लाजरसको बहिनी थी। तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?” तब तिनीहरूले प्रवेशद्वारको ढुङ्गा हटाई दिए। तब यशूले आफ्ना आँखा उठाउनु भयो र भन्नुभयो, “पिता, तपाईंले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु। म जान्दछु कि तपाईंले सधैँ मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भनें किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाईं पठाउनु भएको हो।” येशूले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, “लाजरस निस्क, बाहिर आऊ!” मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लुगाका टुक्राहरूले बेह्रिएका थिए। उसको अनुहार रूमालले ढाकिएको थियो। येशूले मानिसहरूलाई भन्नुभयो, “उसको लुगाहरू कात्रो खोलिदेउ र उसलाई जान देऊ।”
यूहन्ना 11:28-44 नेपाली समकालीन संस्करण (NCV)
अनि यति भनेर मार्था फर्केर गइन्, र मरियमलाई अलग्गै बोलाएर भनिन्, “गुरुज्यू आउनुभएको छ, र तिमीलाई भेट्न चाहनुहुन्छ।” यो सुनेर मरियम तुरुन्तै उठिन् र येशूकहाँ गइन्। येशू अझै पनि गाउँमा पसिसक्नुभएको थिएन। उहाँ मार्थासँग भेट भएको ठाउँमा नै हुनुहुन्थ्यो। मरियम झट्टै उठेर गएको देखेपछि तिनलाई सान्त्वना दिन आएका यहूदीहरूले तिनी लाजरसको चिहानमा रुन गएकी होलिन् भनी ठानेर तिनीहरू मरियमको पछि लागे। जब येशू हुनुभएको ठाउँमा मरियम आइपुगिन्, तब उहाँलाई देखेपछि पाउमा परेर भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए, मेरो भाइ मर्नेथिएन।” मरियम रोइरहेकी र तिनीसँगै आएका अरू यहूदीहरूलाई पनि मरियमसँग रोइरहेका देख्नुभएर येशू आत्मामा दुःखित र अति विचलित हुनुभयो। “लाजरसलाई तिमीहरूले कहाँ राखेका छौ?” उहाँले तिनीहरूलाई सोध्नुभयो। तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, आएर हेर्नुहोस्।” येशू रुनुभयो। यो देखेर यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो!” तर कतिले भने, “दृष्टिविहीनलाई दृष्टि दिने यी मानिसले लाजरसलाई मर्नबाट बचाउन सक्ने थिएनन् र?” येशू फेरि दुःखित भएर चिहानसम्म जानुभयो। यो चिहान ओडारमा थियो, अनि यसको मुखमा ठूलो ढुङ्गा राखिएको थियो। येशूले तिनीहरूलाई भन्नुभयो, “ढुङ्गो हटाइदेओ।” मर्नेकी दिदी मार्थाले भनिन्, “तर प्रभु, यस बेलासम्म लास पनि गन्हाउन थाल्यो होला; किनकि उनी त्यहाँ रहेको चार दिन भइसक्यो।” येशूले भन्नुभयो, “विश्वास गर्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछौ भनी मैले तिमीलाई भनेको थिइनँ र?” त्यसकारण तिनीहरूले ढुङ्गा एकातिर हटाइदिए। त्यसपछि येशूले स्वर्गतिर हेरेर भन्नुभयो, “पिता! मेरो विन्ती सुनिदिनुभएको लागि धन्यवाद। तपाईंले मेरो कुरा सधैं सुन्नुहुन्छ भनी मलाई थाहा थियो; तर मलाई तपाईंले नै पठाउनुभएको हो भनी यिनीहरूले विश्वास गरून् भनेर यी वरिपरि उभिरहेका मानिसहरूका कारण मैले यसो भनेको हुँ।” यो कुरा भन्नुभएपछि येशू चर्को सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्केर आऊ!” अनि मरिसकेका लाजरस हात र खुट्टा कात्रोले बेह्रिएकै र अनुहारमा लुगाले छोपिएकै अवस्थामा बाहिर निस्के। येशूले तिनीहरूलाई भन्नुभयो, “कात्रो फुकालिदेओ, र उनलाई जान देओ।”
यूहन्ना 11:28-44 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यति भनेर मार्था गइन् र मरियमलाई सुटुक्क बोलाएर भनिन्, “गुरुज्यू आइपुग्नुभयो र तिमीलाई बोलाउँदै हुनुहुन्छ।” यो कुरा सुन्नेबित्तिकै मरियम उहाँलाई भेट्न उठेर गइहालिन्। त्यति बेलासम्म येशू गाउँमा आइपुग्नुभएको थिएन। उहाँ मार्थाले भेटेको ठाउँमा नै हुनुहुन्थ्यो। भाइ मरेको शोकमा सान्त्वना दिन आएका मानिसहरूले मरियमलाई हतारिएर गएकी देखे। भाइको चिहानमा रुन गएकी हुन् कि भन्ने सम्झेर तिनीहरू उनको पछि-पछि लागे। येशू भएको ठाउँमा पुग्दाखेरि मरियमले उहाँको पाउमा परेर भनिन्, “प्रभु, तपाईं यहाँ हुनुहुँदो त मेरो भाइ मर्ने थिएन।” मरियम रोइरहेकी थिइन् र तिनीसँग आएका मानिसहरू पनि रोइरहेका थिए। यो देखेर येशू हृदयदेखि नै दु:खी हुनुभयो र सोध्नुभयो, “तिमीहरूले लाजरसलाई कुन चिहानमा राख्यौ?” तिनीहरूले भने, “प्रभु, आएर हेर्नुहोस्।” त्यति बेला येशू पनि रुनुभयो। यो देखेर भेला भएका मानिसहरूले एक-अर्कासँग भने, “हेर, उहाँले लाजरसलाई कति धेरै माया गर्नुहुन्थ्यो!” तर कसै-कसैले भने, “के अन्धालाई आँखा देख्ने बनाउने यिनै होइनन् र? के यिनले लाजरसलाई मर्नदेखि बचाउन सक्दैनथे र?” येशू फेरि हृदयदेखि नै दु:खी हुनुभयो र चिहानतिर जानुभयो। त्यो एउटा गुफा थियो र त्यसको मुख ठूलो ढुङ्गाले ढाकिएको थियो। “येशूले भन्नुभयो, त्यस ढुङ्गालाई हटाइदेओ।” लाजरसकी दिदी मार्थाले भनिन्, “प्रभु, उसलाई चिहानमा राखेको त आज चार दिन भयो, यति बेलासम्म त गनाइसक्यो होला।” येशूले तिनलाई भन्नुभयो, “विश्वास गर्यौ भने तिमीले परमेश्वरको महान् शक्ति देख्नेछ्यौ भनेर मैले भनेको होइनँ र?” तिनीहरूले चिहानको मुखबाट ढुङ्गा हटाए अनि येशूले स्वर्गतिर हेरेर भन्नुभयो, “धन्यवाद छ पिता, तपाईंले मेरो बिन्ती सुन्नुभयो। तपाईंले मेरो कुरा सधैँ सुन्नुहुन्छ, त्यो मलाई थाहा छ। तपाईंले मलाई संसारमा पठाउनुभएको हो भन्ने कुरा यहाँ भएका मानिसहरूले विश्वास गरून् भनेर म तपाईंलाई यो बिन्ती चढाउँदै छु।” यति भनिसकेपछि येशूले ठूलो सोरमा बोलाउनुभयो, “हे लाजरस, बाहिर आऊ।” तब मरेको लाजरस उठेर बाहिर आए। उनी टाउकोदेखि खुट्टासम्मै कात्रोले बेरिएका थिए। येशूले मानिसहरूलाई भन्नुभयो, “कात्रो फुकाएर उनलाई जान देओ।”