YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 11:28-44

यूहन्‍ना 11:28-44 सरल नेपाली

यति भनेर मार्था गइन् र मरियमलाई सुटुक्‍क बोलाएर भनिन्, “गुरुज्‍यू आइपुग्‍नुभयो र तिमीलाई बोलाउँदै हुनुहुन्‍छ।” यो कुरा सुन्‍नेबित्तिकै मरियम उहाँलाई भेट्‍न उठेर गइहालिन्। त्‍यति बेलासम्‍म येशू गाउँमा आइपुग्‍नुभएको थिएन। उहाँ मार्थाले भेटेको ठाउँमा नै हुनुहुन्‍थ्‍यो। भाइ मरेको शोकमा सान्‍त्‍वना दिन आएका मानिसहरूले मरियमलाई हतारिएर गएकी देखे। भाइको चिहानमा रुन गएकी हुन् कि भन्‍ने सम्‍झेर तिनीहरू उनको पछि-पछि लागे। येशू भएको ठाउँमा पुग्‍दाखेरि मरियमले उहाँको पाउमा परेर भनिन्, “प्रभु, तपाईं यहाँ हुनुहुँदो त मेरो भाइ मर्ने थिएन।” मरियम रोइरहेकी थिइन् र तिनीसँग आएका मानिसहरू पनि रोइरहेका थिए। यो देखेर येशू हृदयदेखि नै दु:खी हुनुभयो र सोध्‍नुभयो, “तिमीहरूले लाजरसलाई कुन चिहानमा राख्‍यौ?” तिनीहरूले भने, “प्रभु, आएर हेर्नुहोस्।” त्‍यति बेला येशू पनि रुनुभयो। यो देखेर भेला भएका मानिसहरूले एक-अर्कासँग भने, “हेर, उहाँले लाजरसलाई कति धेरै माया गर्नुहुन्‍थ्‍यो!” तर कसै-कसैले भने, “के अन्‍धालाई आँखा देख्‍ने बनाउने यिनै होइनन् र? के यिनले लाजरसलाई मर्नदेखि बचाउन सक्‍दैनथे र?” येशू फेरि हृदयदेखि नै दु:खी हुनुभयो र चिहानतिर जानुभयो। त्‍यो एउटा गुफा थियो र त्‍यसको मुख ठूलो ढुङ्गाले ढाकिएको थियो। “येशूले भन्‍नुभयो, त्‍यस ढुङ्गालाई हटाइदेओ।” लाजरसकी दिदी मार्थाले भनिन्, “प्रभु, उसलाई चिहानमा राखेको त आज चार दिन भयो, यति बेलासम्‍म त गनाइसक्‍यो होला।” येशूले तिनलाई भन्‍नुभयो, “विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महान् शक्ति देख्‍नेछ्यौ भनेर मैले भनेको होइनँ र?” तिनीहरूले चिहानको मुखबाट ढुङ्गा हटाए अनि येशूले स्‍वर्गतिर हेरेर भन्‍नुभयो, “धन्‍यवाद छ पिता, तपाईंले मेरो बिन्‍ती सुन्‍नुभयो। तपाईंले मेरो कुरा सधैँ सुन्‍नुहुन्‍छ, त्‍यो मलाई थाहा छ। तपाईंले मलाई संसारमा पठाउनुभएको हो भन्‍ने कुरा यहाँ भएका मानिसहरूले विश्‍वास गरून् भनेर म तपाईंलाई यो बिन्‍ती चढाउँदै छु।” यति भनिसकेपछि येशूले ठूलो सोरमा बोलाउनुभयो, “हे लाजरस, बाहिर आऊ।” तब मरेको लाजरस उठेर बाहिर आए। उनी टाउकोदेखि खुट्टासम्‍मै कात्रोले बेरिएका थिए। येशूले मानिसहरूलाई भन्‍नुभयो, “कात्रो फुकाएर उनलाई जान देओ।”

यूहन्‍ना 11 पढ्नुहोस्