यूहन्ना 1:1-18
यूहन्ना 1:1-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो। त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकार त्यसमाथि विजयी भएको छैन। परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो। उनीद्वारा सबैले विश्वास गरून् भनेर त्यस ज्योतिको गवाही दिन उनी साक्षी भई आए। उनी आफै त्यो ज्योति थिएनन्, तर त्यस ज्योतिको गवाही दिन आए। हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो। उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा, र कुनै मान्छेको इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन्। अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। यूहन्नाले उहाँको विषयमा गवाही दिँदै उच्च स्वरले भने, “उहाँ त्यही व्यक्ति हुनुहुन्छ, जसको विषयमा मैले भनें, ‘मपछि आउनुहुने मभन्दा उच्च हुनुहुन्छ, किनभने उहाँ मभन्दा अघिबाटै हुनुहुन्थ्यो’।” उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं। किनभने व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्टद्वारा आए। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ।
यूहन्ना 1:1-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आदिमा वचन हुनुहुन्थ्यो र वचन परमेश्वरसँग हुनुहुन्थ्यो। अनि वचन परमेश्वर हुनुहुन्थ्यो। आदिमा उहाँ परमेश्वरसँग हुनुहुन्थ्यो। सबै कुराहरू उहाँद्वारा बनिए; बनाइएका कुराहरूमध्ये कुनै पनि उहाँविना बनिएन। उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो। ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेको छैन। परमेश्वरबाट पठाइएका एक जना मानिस आए। तिनको नाम यूहन्ना थियो। तिनीद्वारा सबै मानिसहरूले विश्वास गरून् भनेर तिनी त्यस ज्योतिको बारेमा साक्षी दिन भनी गवाही बनेर आएका थिए। तिनी आफैँ त्यो ज्योति थिएनन्, तर तिनी केवल त्यो ज्योतिको लागि गवाही दिन भनी पठाइए। हरेक मानिसलाई ज्योति दिनलाई, त्यो साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो। उहाँ संसारमा हुनुहुन्थ्यो। अनि संसार उहाँद्वारा नै बनिएको थियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो। तर उहाँका आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे, र उहाँको नाममाथि विश्वास गरे, तिनीहरू सबैलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। ती सन्तानहरू न त प्राकृतिक वंशक्रमद्वारा, न त शारीरिक इच्छाद्वारा वा कुनै मान्छेको इच्छाद्वारा, तर परमेश्वरबाट जन्मेका हुन्। वचन देहधारी हुनुभयो, र हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देखेका छौँ, अर्थात् पिताबाट आउनुभएको अद्वितीय पुत्रको महिमा, जो अनुग्रह र सत्यताले पूर्ण हुनुहुन्छ। यूहन्नाले उहाँकै विषयमा गवाही दिए। तिनी यसो भन्दै उच्च सोरले कराए, “उहाँ त्यही व्यक्ति हुनुहुन्छ, जसका विषयमा मैले ‘मपछि आउनुहुने मभन्दा उच्च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिबाटै हुनुहुन्थ्यो’ भनी भनेको थिएँ।” उहाँकै अनुग्रहको पूर्णताबाट हामीले एकपछि अर्को आशिष् पाएका छौँ। किनकि व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्टद्वारा आए। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन; तर परमेश्वरको अद्वितीय पुत्रले मात्र देख्नुभएको छ, जो पिताको साथमा हुनुहुन्छ, र उहाँले नै पितालाई प्रकट गराउनुभएको छ।
यूहन्ना 1:1-18 पवित्र बाइबल (NERV)
संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचन थियो। त्यो वचन परमेश्वरसँग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो। उहाँको वचन शुरूमा परमेश्वसँग हुनुहुन्थ्यो। र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन। उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो। त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन। परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए। यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए। यूहन्ना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए। सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ। उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन। उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्। केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो। ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बद्लामा तिनीहरू परमेश्वरबाट जन्मेका थिए। वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो। यूहन्नाले ख्रीष्टकै सम्बन्धमा मानिसहरूलाई भने, “उहाँ एकजना हुनुहन्छ जसका विषयमा म भनिरहेको थिंए, ‘जो म पछि आउनु हुन्छ, उहाँ मभन्दा महान हुनुहुन्छ। किनभने उहाँ मभन्दा पहिल्यै आउनु भएको थियो।’” हो, वचन अनुग्रह र सत्यको भण्डार हुनुहुन्छ। हामीले उहाँबाट धेरै आशिष पाएका छौं। मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो। कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ।
यूहन्ना 1:1-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सृष्टि हुनुभन्दा अघि नै वचन हुनुहुन्थ्यो। वचन परमेश्वरसँग हुनुहुन्थ्यो र वचन परमेश्वर नै हुनुहुन्थ्यो। उहाँ सृष्टि हुनुभन्दा अघि परमेश्वरसँगै हुनुहुन्थ्यो। वचनद्वारा नै परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो। सृष्टि भएका कुनै थोक पनि उहाँबिना बनिएन। उहाँमा जीवन थियो र त्यही जीवन नै मानिसहरूको उज्यालो थियो। त्यो उज्यालो अन्धकारमा चम्कन्छ। अन्धकारले कहिल्यै पनि उज्यालोलाई निभाउन सकेन। परमेश्वरले यूहन्ना नाउँ गरेका एक जना मानिसलाई पठाउनुभयो। उनी साक्षीको रूपमा आए। सबै मानिसहरूले उज्यालोलाई चिनेर विश्वास गर्न सकून् भनी परमेश्वरले उनलाई पठाइदिनुभएको थियो। यूहन्ना आफैंचाहिँ त्यो उज्यालो थिएनन्, उनी उज्यालोलाई चिनाउन आएका थिए। त्यो उज्यालोचाहिँ संसारमा आई सबै मानिसलाई प्रकाश दिने साँचो उज्यालो हुनुहुन्छ। उहाँ संसारमा हुनुहुन्थ्यो। संसार उहाँद्वारा नै बनिएको थियो तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर ती मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँमाथि विश्वास गरे, तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने हक दिनुभयो। तिनीहरूले मानिस र उसको शारीरिक इच्छा-अभिलाषाबाट जन्म पाएका होइनन्, तर परमेश्वर नै तिनीहरूका पिता हुनुहुन्छ। वचन मानिस हुनुभयो र हाम्रो बीचमा बास गर्नुभयो। उहाँ अनुग्रह र सत्यले भरिपूर्ण हुनुहुन्थ्यो। हामीले उहाँको ठूलो महिमा देख्यौं। उहाँले पाउनुभएको महिमाचाहिँ पिताको एकमात्र पुत्रलाई सुहाउने महिमा थियो। यूहन्नाले उहाँको बारेमा गवाही दिएका थिए। उनले कराएर भने, “मपछि आउनुहुने मभन्दा धेरै महान् हुनुहुन्छ किनभने उहाँ म जन्मिनुभन्दा अघि नै हुनुहुन्थ्यो। मैले भनेको यो कुरा उहाँकै बारेमा हो।” उहाँको भरिपूर्णताबाट हामी सबैले धेरैभन्दा धेरै अनुग्रह पाइरहेका छौं किनभने मोशाबाट हामीले व्यवस्था पाएका थियौं, तर येशू ख्रीष्टद्वारा हामीले परमेश्वरको अनुग्रह र सत्यता पाएका छौं। परमेश्वरलाई कसैले पनि कहिल्यै देखेको छैन। तर परमेश्वरसँग हुनुहुने एकमात्र पुत्रले उहाँलाई देखाउनुभएको छ।