YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 1:1-18

यूहन्‍ना 1:1-18 NCV

आदिमा वचन हुनुहुन्थ्यो र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो। अनि वचन परमेश्‍वर हुनुहुन्थ्यो। आदिमा उहाँ परमेश्‍वरसँग हुनुहुन्थ्यो। सबै कुराहरू उहाँद्वारा बनिए; बनाइएका कुराहरूमध्ये कुनै पनि उहाँविना बनिएन। उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो। ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेको छैन। परमेश्‍वरबाट पठाइएका एक जना मानिस आए। तिनको नाम यूहन्‍ना थियो। तिनीद्वारा सबै मानिसहरूले विश्‍वास गरून् भनेर तिनी त्यस ज्योतिको बारेमा साक्षी दिन भनी गवाही बनेर आएका थिए। तिनी आफैँ त्यो ज्योति थिएनन्, तर तिनी केवल त्यो ज्योतिको लागि गवाही दिन भनी पठाइए। हरेक मानिसलाई ज्योति दिनलाई, त्यो साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो। उहाँ संसारमा हुनुहुन्थ्यो। अनि संसार उहाँद्वारा नै बनिएको थियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो। तर उहाँका आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे, र उहाँको नाममाथि विश्‍वास गरे, तिनीहरू सबैलाई उहाँले परमेश्‍वरका सन्तान हुने अधिकार दिनुभयो। ती सन्तानहरू न त प्राकृतिक वंशक्रमद्वारा, न त शारीरिक इच्छाद्वारा वा कुनै मान्छेको इच्छाद्वारा, तर परमेश्‍वरबाट जन्मेका हुन्। वचन देहधारी हुनुभयो, र हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देखेका छौँ, अर्थात् पिताबाट आउनुभएको अद्वितीय पुत्रको महिमा, जो अनुग्रह र सत्यताले पूर्ण हुनुहुन्छ। यूहन्‍नाले उहाँकै विषयमा गवाही दिए। तिनी यसो भन्दै उच्‍च सोरले कराए, “उहाँ त्यही व्यक्ति हुनुहुन्छ, जसका विषयमा मैले ‘मपछि आउनुहुने मभन्दा उच्‍च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिबाटै हुनुहुन्थ्यो’ भनी भनेको थिएँ।” उहाँकै अनुग्रहको पूर्णताबाट हामीले एकपछि अर्को आशिष् पाएका छौँ। किनकि व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए। परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन; तर परमेश्‍वरको अद्वितीय पुत्रले मात्र देख्नुभएको छ, जो पिताको साथमा हुनुहुन्छ, र उहाँले नै पितालाई प्रकट गराउनुभएको छ।

यूहन्‍ना 1 पढ्नुहोस्