यर्मिया 17:19-27
यर्मिया 17:19-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मलाई यसो भन्नुभयो: “यहूदाका राजाहरू भित्र-बाहिर जाने मेरो प्रजाको मूल ढोका र यरूशलेमका अरू सबै मूल ढोकाहरूमा गएर उभी। तिनीहरूलाई यसो भन्, “यी मूल ढोकाहरूबाट भित्र पस्ने हे यहूदाका राजा र यहूदाका सबै मानिस हो, र यरूशलेममा बस्ने हरेक हो, परमप्रभुको वचन सुन। परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूको शबाथ-दिनमा कुनै भारी नबोक्न, अथवा यरूशलेमका मूल ढोकाहरूबाट त्यो भित्र नल्याउनलाई होशियार होओ। शबाथमा तिमीहरूका घरबाट भारी बोकेर बाहिर नलैजाओ, अथवा त्यो दिन कुनै किसिमको काम नगर, तर मैले तिमीहरूका पिता-पुर्खाहरूलाई आज्ञा दिएअनुसार शबाथ-दिनलाई पवित्र राख। तापनि तिनीहरूले सुनेनन् अथवा ध्यानै दिएनन्। तिनीहरू अटेरी भए र सुन्न चाहेनन्, अथवा अनुशासनमा बसेनन्। परमप्रभु भन्नुहुन्छ, तर यदि तिमीहरूले मेरो कुरा सुन्यौ र शबाथमा सहरका मूल ढोकाहरूबाट कुनै पनि भारी भित्र ल्याएनौ र शबाथ पवित्र मानेर कुनै पनि काम गरेनौ भने, दाऊदको सिंहासनमा विराजमान हुने राजाहरू, आफ्ना अधिकारीहरूसित यस सहरका मूल ढोकाहरूबाट रथ र घोड़ाहरूमा सवार भएर पस्नेछन्— तिनीहरू, यहूदाका मानिसहरू र यरूशलेममा बस्नेहरू आउनेछन्, र यस सहरमा सदासर्वदा मानिसहरू बसोबास गर्नेछन्। यहूदाका नगरहरूबाट र यरूशलेमका चारैतिरका गाउँहरूबाट, बेन्यामीनको इलाकाबाट, तराईबाट, पहाड़ी देशबाट र नेगेवबाट होमबलि, बलिदानहरू, अन्नबलि र धूप र धन्यवादका बलिहरू लिएर मानिसहरू परमप्रभुको भवनमा आउनेछन्। तर शबाथ पवित्र राख्नलाई र शबाथ-दिनमा भारी बोकेर यरूशलेमका मूल ढोकाहरूबाट भित्र पस्न छोड्नलाई मेरो कुरा मानेनौ भनेदेखि त म यरूशलेमका मूल ढोकाहरूमा ननिभ्ने आगो लगाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू स्वाहा पार्नेछ’।”
यर्मिया 17:19-27 पवित्र बाइबल (NERV)
परमप्रभुले यी कुराहरू मलाई भन्नुभयो “यर्मिया, प्रवेशद्वारमा जाऊ जहाँबाट यहूदाका राजाहरू भित्र जान्छन् अनि बाहिर आउँछन् त्यहाँ खडा़ भई बस्। त्यसपछि यरूशलेमको अन्य प्रवेश द्वारहरूमा जाऊ।” मानिसहरूलाई यी वचनहरू भन, “परमप्रभुका वचनहरूमा कान थाप। हे यहूदाका राजा अनि यहूदाका मानिसहरू, अनि यरूशलेमका बासिन्दाहरू। प्रत्येक मानिस जो यो फाटकबाट पस्छन् मेरो कुरा सुन। परमप्रभुले यी कुराहरू भन्नुहुन्छ ‘तिमीहरूका जीवनका निम्ति विश्राम दिनमा कुनै भारी नबोक। यरूशलेमको प्रवेशद्वार भएर विश्राम दिनमा भारी नल्याऊ। विश्राम दिन आफ्ना घरबाट कुनै भारी ननिकाल। त्यसदिन कुनै काम नगर। तिमीहरूले त्यो दिन पवित्र राख्नेछौ जस्तो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई आदेश दिएको थिएँ। तर तिम्रा पिता-पुर्खाहरूले आज्ञा पालन गरेनन्। तिनीहरूले ममा कुनै ध्यान दिएनन्। तिम्रा पिता-पुर्खाहरू अत्यन्त हठी थिए। कुनै संशोधन तिनीहरू सुन्दैनथे अथवा ग्रहण गर्दैनथे।’” परमप्रभु भन्नुहुन्छ, “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेर विश्रामको दिन शहरका मूल-द्वारहरूबाट कुनै भारी भित्र ल्याएनौ र विश्राम दिनलाई पवित्र मानी कुनै पनि काम गरेनौ भने। “‘यदि तिमीले मेरो आदेश पालन गर्यौ भने, तब राजाहरू अनि राजकुमारहरू जो दाऊदका सिंहासनमा बस्छन् यरूशलेमको प्रवेशद्वारबाट आउँनेछन्। ती राजाहरू रथहरू र घोडाहरूमाथि चढेर आउँनेछन्। यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूका नायकहरू ती राजाहरूसित आउँनेछन्। सदा-सर्वदा यरूशलेमले यस प्रवेशद्वारमा मानिसहरूलाई स्वागत गर्नेछन्। यहूदाका शहरहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। यरूशलेम वरिपरिका स-साना गाऊँहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। मानिसहरू बिन्यामीन परिवारहरूको जमीनबाट राफेलको पहाडीदेशबाट अनि नेगेबबाट आउनेछन्। ती मानिसहरूले होमबलि, मेलबलि, अन्नबलि, धूप र धन्यवादको बलिहरू परमप्रभुको मन्दिरमा ल्याउनेछन्। “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेनौ भने; यदि तिमीहरूले विश्रामको दिनमा यरूशलेमभित्र भारीहरू ल्यायौ भने, तिमीहरूले यस दिनलाई पवित्र दिन मानेका हुँदैनौ। यसकारण म आगो सल्काउनु शुरू गर्नेछु जुन निभाउन सकिन्दैन। त्यो आगो यरूशलेमको प्रवेशद्वारहरू देखि शुरू हुनेछ, अनि यरूशलेमको राजमहलहरू जलाउनेछ।’”
यर्मिया 17:19-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, तँ गएर यहूदाका राजाहरू भित्र र बाहिर गर्ने जनसाधारणका मूल-ढोका भनिने ठाउँमा मेरो समाचार सुना। त्यसपछि यरूशलेमका अरू सबै मूल-ढोकाहरूमा जा। यहूदाका राजा, सबै प्रजा र यरूशलेमका सबै बासिन्दाहरू र ती मूल-ढोकाहरूबाट पस्ने मानिसहरूलाई मेरो कुरा सुन्नू भन्। तिनीहरूलाई भन् कि उनीहरूलाई आफ्नो ज्यानको माया छ भने विश्रामको दिनमा कुनै भारी बोक्नुहुँदैन र यरूशलेमका ती मूल-ढोकाहरूबाट कुनै बोझ बोकेर भित्र लैजानुहुँदैन। विश्रामका दिनमा आफ्ना घरबाट केही थोक बोकेर बाहिर निकाल्नुहुँदैन। तिनीहरूले विश्रामको दिनमा केही काम गर्नुहुँदैन तर मैले तिनीहरूका पुर्खालाई आज्ञा दिएअनुसार त्यस दिनलाई पवित्र दिन मान्नुपर्छ। तिनीहरूका पुर्खाले मेरा कुरा सुनेनन् र मेरा कुरामा ध्यान दिएनन् तर त्यसका सट्टामा तिनीहरू हठी भए। तिनीहरूले मेरा आज्ञा पालन गरेनन् र शिक्षा ग्रहण गरेनन्। “यी मानिसहरूलाई भन् कि तिनीहरूले मेरा सबै आज्ञाहरू पालन गर्नुपर्छ। विश्राम दिनमा तिनीहरूले कुनै भारी यस सहरका मूल-ढोकाहरूबाट बोकेर भित्र लैजानुहुँदैन। त्यस दिनलाई पवित्र दिन मान्नुपर्छ र त्यस दिन केही काम गर्नुहुँदैन। तब दाऊद राजाका सिंहासनमा राज्य गर्ने तिनीहरूका राजाहरू र राजकुमारहरू यरूशलेमका मूल-ढोकाहरूबाट प्रवेश गर्नेछन्। तब तिनीहरू यहूदा र यरूशलेमका प्रजासाथ रथ र घोडाहरूमा सवार हुनेछन् र यरूशलेम सधैँ मानिसहरूले भरिभराउ हुनेछ। यहूदाका सहरहरूबाट, यरूशलेमका छेउ-छेउका गाउँहरूबाट मानिसहरू आउनेछन्। तिनीहरू बेन्यामीनका इलाकाबाट, बेसीहरूबाट अनि पहाडहरू र दक्षिणी यहूदाबाट आउनेछन्। तिनीहरूले मेरो मन्दिरमा होमबलि र अरू बलिदानहरू, अन्नबलि र धूप अनि धन्यवादका बलिहरू ल्याउनेछन्। तिनीहरूले मेरा आज्ञापालन गर्नुपर्छ र विश्रामका दिनलाई पवित्र दिन मान्नुपर्छ। त्यस दिन तिनीहरूले कुनै बोझ बोकेर यरूशलेमका मूल-ढोकाहरूबाट भित्र र बाहिर गर्नुहुँदैन। यदि तिनीहरूले त्यसो गरे भने म यरूशलेमका मूल-ढोकाहरूमा आगो लगाइदिनेछु। यरूशलेमका राजमहलहरू आगोले भस्म हुनेछन् र आगो कसैले निभाउन सक्नेछैन।”