YouVersion लोगो
खोज आइकन

यर्मिया 17:19-27

यर्मिया 17:19-27 सरल नेपाली

परमप्रभुले मलाई भन्‍नुभयो, “यर्मिया, तँ गएर यहूदाका राजाहरू भित्र र बाहिर गर्ने जनसाधारणका मूल-ढोका भनिने ठाउँमा मेरो समाचार सुना। त्‍यसपछि यरूशलेमका अरू सबै मूल-ढोकाहरूमा जा। यहूदाका राजा, सबै प्रजा र यरूशलेमका सबै बासिन्‍दाहरू र ती मूल-ढोकाहरूबाट पस्‍ने मानिसहरूलाई मेरो कुरा सुन्‍नू भन्। तिनीहरूलाई भन् कि उनीहरूलाई आफ्‍नो ज्‍यानको माया छ भने विश्रामको दिनमा कुनै भारी बोक्‍नुहुँदैन र यरूशलेमका ती मूल-ढोकाहरूबाट कुनै बोझ बोकेर भित्र लैजानुहुँदैन। विश्रामका दिनमा आफ्‍ना घरबाट केही थोक बोकेर बाहिर निकाल्‍नुहुँदैन। तिनीहरूले विश्रामको दिनमा केही काम गर्नुहुँदैन तर मैले तिनीहरूका पुर्खालाई आज्ञा दिएअनुसार त्‍यस दिनलाई पवित्र दिन मान्‍नुपर्छ। तिनीहरूका पुर्खाले मेरा कुरा सुनेनन् र मेरा कुरामा ध्‍यान दिएनन् तर त्‍यसका सट्टामा तिनीहरू हठी भए। तिनीहरूले मेरा आज्ञा पालन गरेनन् र शिक्षा ग्रहण गरेनन्। “यी मानिसहरूलाई भन् कि तिनीहरूले मेरा सबै आज्ञाहरू पालन गर्नुपर्छ। विश्राम दिनमा तिनीहरूले कुनै भारी यस सहरका मूल-ढोकाहरूबाट बोकेर भित्र लैजानुहुँदैन। त्‍यस दिनलाई पवित्र दिन मान्‍नुपर्छ र त्‍यस दिन केही काम गर्नुहुँदैन। तब दाऊद राजाका सिंहासनमा राज्‍य गर्ने तिनीहरूका राजाहरू र राजकुमारहरू यरूशलेमका मूल-ढोकाहरूबाट प्रवेश गर्नेछन्। तब तिनीहरू यहूदा र यरूशलेमका प्रजासाथ रथ र घोडाहरूमा सवार हुनेछन् र यरूशलेम सधैँ मानिसहरूले भरिभराउ हुनेछ। यहूदाका सहरहरूबाट, यरूशलेमका छेउ-छेउका गाउँहरूबाट मानिसहरू आउनेछन्। तिनीहरू बेन्‍यामीनका इलाकाबाट, बेसीहरूबाट अनि पहाडहरू र दक्षिणी यहूदाबाट आउनेछन्। तिनीहरूले मेरो मन्‍दिरमा होमबलि र अरू बलिदानहरू, अन्‍नबलि र धूप अनि धन्‍यवादका बलिहरू ल्‍याउनेछन्। तिनीहरूले मेरा आज्ञापालन गर्नुपर्छ र विश्रामका दिनलाई पवित्र दिन मान्‍नुपर्छ। त्‍यस दिन तिनीहरूले कुनै बोझ बोकेर यरूशलेमका मूल-ढोकाहरूबाट भित्र र बाहिर गर्नुहुँदैन। यदि तिनीहरूले त्‍यसो गरे भने म यरूशलेमका मूल-ढोकाहरूमा आगो लगाइदिनेछु। यरूशलेमका राजमहलहरू आगोले भस्‍म हुनेछन् र आगो कसैले निभाउन सक्‍नेछैन।”

यर्मिया 17 पढ्नुहोस्