YouVersion लोगो
खोज आइकन

न्यायकर्ताहरू 6:3-16

न्यायकर्ताहरू 6:3-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब-जब इस्राएलीहरूले बीउ छर्दथे। मिद्यानीहरू तथा अमालेकीहरू र पूर्वका अरू जातिहरू आएर इस्राएलमाथि आक्रमण गर्दथे। उनीहरू देशमा छाउनी बनाएर बसे, र गाजाको छेउसम्‍मैका बालीहरूलाई नाश गरे, यहाँसम्‍म कि इस्राएलीहरूका निम्‍ति भेड़ा, गोरु, र अरू कुनै जीवित थोक पनि छोड़ेनन्‌। उनीहरू आफ्‍ना गाई-गोरुका बथान र तम्‍बूहरू लिएर सलहको हूलझैँ आए। मानिस र तिनीहरूका ऊँटहरू अनगिन्‍ती थिए। देशलाई सखाप पार्न आक्रमण गरे। यसरी नै मिद्यानीहरूले इस्राएलीहरूलाई निर्धन बनाइदिए, र सहायताको निम्‍ति तिनीहरूले परमप्रभुलाई पुकारे। मिद्यानीहरूले सताएकोले इस्राएलीहरूले परमप्रभुलाई पुकार्दा, उहाँले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाउनुभयो, जसले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वरको यो वाणी छ: मैले तिमीहरूलाई दासत्‍वको देश मिश्रबाट निकालेर ल्‍याएँ। मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूलाई सताउने सबैका हातबाट छुटाएँ। मैले उनीहरूलाई तिमीहरूका सामुन्‍नेदेखि धपाएँ, र उनीहरूका देशहरू तिमीहरूलाई दिएँ। मैले तिमीहरूलाई भनें, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू बसोबास गरिरहेको, एमोरीहरूको देशका देवताहरूको सेवा नगर’। तर तिमीहरूले मेरो कुरा सुनेनौ।” अब परमप्रभुका दूत आएर अबीएजेरी योआशको, ओप्रा भन्‍ने ठाउँको फलाँटको रूखमुनि बसे। योआशका छोरा गिदोनचाहिँ मिद्यानीहरूबाट लुकाउनलाई दाखको कोलमा गहूँ चुट्‌दैथिए। तब परमप्रभुका दूतले गिदोनकहाँ देखा परेर तिनलाई भने, “तँ वीर मानिस होस्, र परमप्रभु तँसँग हुनुहुन्‍छ।” गिदोनले तिनलाई भने, “हजूर, सुन्‍नुहोस्, परमप्रभु साँच्‍ची नै हामीसँग हुनुहुन्‍छ भनेता यी सबै किन हामीलाई भएको? उहाँका ती सबै आश्‍चर्य कामहरू के भए, जो हामीले आफ्‍ना पिता-पुर्खाहरूबाट सुनेका छौं, जसले भन्‍थे, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुभएको होइन?’ तर अब त परमप्रभुले हामीलाई त्‍याग्‍नुभएको छ, र हामीलाई मिद्यानीहरूका हातमा सुम्‍पिदिनुभएको छ।” तब तिनीतिर फर्केर परमप्रभुले भन्‍नुभयो, “जा, इस्राएललाई मिद्यानीहरूका हातदेखि छुटाउनलाई तँमा भएको बल प्रयोग गर्‌। तँलाई पठाउने म नै हुँ।” गिदोनले उत्तर दिए, “हजूर, सुन्‍नुहोस्, म कसरी इस्राएललाई बचाउन सक्‍छु? मेरो गोत्रलाई हेर्नुहोस्‌ त्‍यो त मनश्‍शेमा सबैभन्‍दा कमजोर छ, र मेरा पिताको घरानामा म सबैभन्‍दा सानो छु।” परमप्रभुले जवाफ दिनुभयो, “म तँसँग हुनेछु, र तैंले सारा मिद्यानीहरूलाई एउटै मानिसलाईझैँ मार्नेछस्‌।”

न्यायकर्ताहरू 6:3-16 पवित्र बाइबल (NERV)

तिनीहरूले त्यसो गरे किनभने पूर्वबाट मिद्यानी अनि अमालेकी मानिसहरू आएर तिनीहरूका बालीहरू सदैव नष्ट गरिदिन्थे। ती मानिसहरूले त्यो भूमिमा छाउनी थापेर बस्थे अनि इस्राएलका मानिसहरूले रोपेका बालीहरू नष्ट गरिदिन्थे। ती मानिसहरूले इस्राएलका मानिसहरूको गाजा शहर नजिकसम्मका भूमिको फसल नष्ट गरिदिए। ती मानिसहरूले इस्राएलका मानिसहरूलाई खानका निम्ति केही पनि छाडेनन्। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति कुनै भेंडा, वा गाई-बस्तु वा गधाहरू पनि छाडेनन्। मिद्यानका मानिसहरू माथि आए अनि त्यस भूमिमा छाउनी थापेर बसे। तिनीहरूले आफ्ना परिवारहरू अनि आफ्ना पशु प्राणीहरू ल्याए। तिनीहरू सलहको हुल झैं धेरै थिए। ती मानिसहरू अनि ऊँटहरू यति धेरै थिए कि तिनीहरूको गन्ती गर्न सम्भव थिएन। यी सबै मानिसहरू त्यस भूमिमा आए अनि त्यसलाई ध्वंश पारे। इस्राएलका मानिसहरू मिद्यानका मानिसहरूको कारणले अत्यन्त गरीब भए। यसर्थ इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभु समक्ष विलाप गरे। मिद्यानका मानिसहरूले ती सबै दुष्टकर्महरू गरे। यसर्थ इस्राएलका मानिसहरू सहायताका निम्ति परमप्रभुसित विलाप गर्नलागे। यसर्थ परमप्रभुले तिनीहरू कहाँ एक अगमवक्तालाई पठाउनु भयो। अगमवक्ताले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु, इस्राएलका परमेश्वरले जे भन्नुहुन्छ त्यो यो होः ‘तिमीहरू मिश्रदेशमा दास थियौ। मैले तिमीहरूलाई मुक्त गरें अनि तिमीहरूलाई त्यस भूमिबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई मिश्रदेशका शक्तिशाली मानिसहरूबाट बचाएँ। त्यसपछि कनान देशका मानिसहरूले तिमीहरूलाई घात पुर्याए। यसर्थ मैले फेरि तिमीहरूलाई बचाएँ। मैले ती मानिसहरूलाई तिनीहरूका भूमि छोडन लगाएँ। अनि तिनीहरूको भूमि तिमीहरूलाई दिएँ।’ तब मैले तिमीहरूलाई भने, ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू एमोरी मानिसहरूको भूमिमा बस्नेछौ, तिमीहरूले तिनीहरूका झूटा देवताहरू पूज्न हुँदैन थियो।’ तर तिमीहरूले मेरो कुरा पालन गरेनौ।” त्यस समयमा परमप्रभुका स्वर्गदूत गिदोन नाउँको मानिसकहाँ आए। परमप्रभुका स्वर्गदूत आए र ओप्रा नामक स्थानमा भएको फलाँटको रूखमुनि बसे। त्यो फलाँटको रूख योआश नाउँको मानिसको थियो। योआश अबीएजर परिवारका थिए। यिनी गिदोनका बुबा थिए। मिद्यानीहरूबाट लुकाउनलाई गिदोन दाखरस निकाल्ने ढिकीमा केही गहुँ कुटिरहेका थिए। परमप्रभुका स्वर्गदूत गिदोन समक्ष प्रकट भए अनि तिनलाई भने, “महान सैनिक! परमप्रभु तिम्रो साथ रहून्।” तब गिदोनले भने, “म शपथ खान्छु हजूर यदि परमप्रभु हामीसित हुनु भएको भए हामीहरूले किन यति धेरै कष्ट पाइरहेका छौं? हामीले सुनेका छौं कि उहाँले हाम्रा पिता-पुर्खाहरूका निम्ति आश्चर्य जनक कुराहरू गर्नुभयो। हाम्रा पिता-पुर्खाहरूले हामीलाई भने कि परमप्रभुले नै तिनीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो। तर परमप्रभुले हामीलाई छाड्नुभयो। परमप्रभुले हामीलाई पराजित गर्न मिद्यानी मानिसहरूलाई दिनुभयो।” परमप्रभु गिदोनतर्फ फर्किनु भयो अनि भन्नुभयो, “तेरो शक्ति प्रयोग गर्। जा मिद्यानी मानिसहरूबाट इस्राएलका मानिसहरूलाई बँचा। म तँलाई तिनीहरूलाई बचाउँन पठाइरहेछु।” तर गिदोनले उत्तर दिए र भने, “मलाई क्षमा गर्नुहोस महाशय। म कसरी इस्राएलीलाई बचाउँन सक्छु र? मनश्शेको कुल समूहमा मेरो गोत्र सबै भन्दा कमजोर छ। अनि म मेरो परिवारको सबै भन्दा कान्छो हुँ।” परमप्रभुले गिदोनलाई उत्तर दिनुभयो र भन्नुभयो, “म तँसित छु। यसर्थ तैंले मिद्यानका मानिसहरूलाई पराजित गर्न सक्नेछस्। यो यस्तो हुनेछ कि तँ एक व्यक्तिसित मात्र युद्ध गरिरहेछस्।”

न्यायकर्ताहरू 6:3-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जहिले पनि इस्राएलीहरूले अन्‍न रोपेका बेलामा अमालेकी र मरुभूमिका अरू जातिहरूसँग मिद्यानीहरू आउँथे र तिनीहरूमाथि आक्रमण गर्थे। तिनीहरू सो ठाउँमा पाल हालेर बस्‍थे र दक्षिणपट्टि गाजासम्‍म अन्‍न नाश गरिदिन्‍थे। तिनीहरूका सबै भेडा-बाख्रा, गाईवस्‍तु र गधाहरू लैजान्‍थे। इस्राएलीहरूलाई जीविकाको निम्‍ति केही कुरा पनि छोडिदिँदैनथे। तिनीहरू आफ्‍ना गाई-गोरु र पालहरू लिई सलहका हुलसरि आउँथे। तिनीहरू र तिनका ऊँटहरू असङ्‍ख्य हुन्‍थे। तिनीहरू आएर देश ध्‍वंस पार्थे। र इस्राएलीहरू तिनीहरूका अघि असहाय थिए। तब इस्राएलीहरूले मिद्यानीहरूका विरुद्ध मद्दतको लागि परमप्रभुलाई पुकारे। परमेश्‍वरले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाउनुभयो, जसले इस्राएलका परमप्रभु परमेश्‍वरबाट यस्‍तो समाचार ल्‍यायो, “मिश्रको दासत्‍वदेखि मैले तिमीहरूलाई निकालेर ल्‍याएँ। मिश्रीहरू र यस देशमा तिमीहरूसँग लडाइँ गर्नेहरूदेखि मैले तिमीहरूको रक्षा गरें। तिमीहरू अघि बढ्दै जाँदा मैले तिनीहरूलाई यस देशदेखि बाहिर धपाएँ र तिनका देश तिमीहरूलाई दिएँ। मैले तिमीहरूलाई भनें कि म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ र तिमीहरूले एमोरीहरू, जसका देशमा तिमीहरू बास गर्दछौ, तिनीहरूका देवताहरू नपुज्‍नू। तर तिमीहरूले मेरा कुरा सुनेनौ।” तब ओप्राका गाउँमा आएर एउटा फलाँटको रूखमुनि परमप्रभुका दूत बसे। त्‍यो फलाँटको रूख अबीएजेरीका कुलका योआश नाम गरेको मानिसको थियो। मिद्यानीहरूले थाहा नपाऊन् भनी एउटा दाखको कोलमा लुकेर उनको छोरो गिदोन गहुँ कुट्दै थिए। परमप्रभुका दूत त्‍यहाँ देखा परेर उनलाई भने, “ए साहसी र वीर पुरुष! परमप्रभु तँसँग हुनुहुन्‍छ।” गिदोनले भने, “हजुर, यदि परमप्रभु हामीसँग हुनुहुन्‍छ भने यी सब कुरा किन हामीमाथि आइलागे? के यो सोध्‍न सक्‍छु? ती सबै उदेकका कुराहरू, जुन परमप्रभुले गर्नुभएको थियो भनी हाम्रा पिता-पुर्खाहरूले भन्‍थे– कसरी उहाँले हामीलाई मिश्रबाट निकाली ल्‍याउनुभएको थियो– ती सबै के भए? परमप्रभुले हामीलाई त्‍याग्‍नुभएको छ र हामीलाई मिद्यानीहरूका कृपामा छोडिदिनुभएको छ।” तब परमप्रभुले उसलाई आज्ञा गर्नुभयो, “आफ्‍ना पूरा शक्तिका साथ गएर मिद्यानीहरूबाट इस्राएलीहरूलाई छुटाउने काम गर्‌। म आफैं तँलाई यस काममा पठाउँदै छु।” गिदोनले उत्तर दिए, “परमप्रभु तर कसरी म इस्राएलीहरूलाई छुटाउन सक्‍छु? मनश्‍शे कुलमा सबैभन्दा कमजोर मेरो गोत्र छ अनि हाम्रा परिवारमा म सबैभन्दा सानो छु।” परमप्रभुले जवाफ दिनुभयो, “म तँलाई मद्दत गर्नेछु र तैँले यो काम गर्न सक्‍नेछस्। एक जना मानिसलाई जस्‍तै तैँले सबै मिद्यानीहरूलाई सजिलै नाश पार्नेछस्।”