YouVersion लोगो
खोज आइकन

न्यायकर्ताहरूको पुस्तक 6:3-16

न्यायकर्ताहरूको पुस्तक 6:3-16 NERV

तिनीहरूले त्यसो गरे किनभने पूर्वबाट मिद्यानी अनि अमालेकी मानिसहरू आएर तिनीहरूका बालीहरू सदैव नष्ट गरिदिन्थे। ती मानिसहरूले त्यो भूमिमा छाउनी थापेर बस्थे अनि इस्राएलका मानिसहरूले रोपेका बालीहरू नष्ट गरिदिन्थे। ती मानिसहरूले इस्राएलका मानिसहरूको गाजा शहर नजिकसम्मका भूमिको फसल नष्ट गरिदिए। ती मानिसहरूले इस्राएलका मानिसहरूलाई खानका निम्ति केही पनि छाडेनन्। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति कुनै भेंडा, वा गाई-बस्तु वा गधाहरू पनि छाडेनन्। मिद्यानका मानिसहरू माथि आए अनि त्यस भूमिमा छाउनी थापेर बसे। तिनीहरूले आफ्ना परिवारहरू अनि आफ्ना पशु प्राणीहरू ल्याए। तिनीहरू सलहको हुल झैं धेरै थिए। ती मानिसहरू अनि ऊँटहरू यति धेरै थिए कि तिनीहरूको गन्ती गर्न सम्भव थिएन। यी सबै मानिसहरू त्यस भूमिमा आए अनि त्यसलाई ध्वंश पारे। इस्राएलका मानिसहरू मिद्यानका मानिसहरूको कारणले अत्यन्त गरीब भए। यसर्थ इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभु समक्ष विलाप गरे। मिद्यानका मानिसहरूले ती सबै दुष्टकर्महरू गरे। यसर्थ इस्राएलका मानिसहरू सहायताका निम्ति परमप्रभुसित विलाप गर्नलागे। यसर्थ परमप्रभुले तिनीहरू कहाँ एक अगमवक्तालाई पठाउनु भयो। अगमवक्ताले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु, इस्राएलका परमेश्वरले जे भन्नुहुन्छ त्यो यो होः ‘तिमीहरू मिश्रदेशमा दास थियौ। मैले तिमीहरूलाई मुक्त गरें अनि तिमीहरूलाई त्यस भूमिबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई मिश्रदेशका शक्तिशाली मानिसहरूबाट बचाएँ। त्यसपछि कनान देशका मानिसहरूले तिमीहरूलाई घात पुर्याए। यसर्थ मैले फेरि तिमीहरूलाई बचाएँ। मैले ती मानिसहरूलाई तिनीहरूका भूमि छोडन लगाएँ। अनि तिनीहरूको भूमि तिमीहरूलाई दिएँ।’ तब मैले तिमीहरूलाई भने, ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू एमोरी मानिसहरूको भूमिमा बस्नेछौ, तिमीहरूले तिनीहरूका झूटा देवताहरू पूज्न हुँदैन थियो।’ तर तिमीहरूले मेरो कुरा पालन गरेनौ।” त्यस समयमा परमप्रभुका स्वर्गदूत गिदोन नाउँको मानिसकहाँ आए। परमप्रभुका स्वर्गदूत आए र ओप्रा नामक स्थानमा भएको फलाँटको रूखमुनि बसे। त्यो फलाँटको रूख योआश नाउँको मानिसको थियो। योआश अबीएजर परिवारका थिए। यिनी गिदोनका बुबा थिए। मिद्यानीहरूबाट लुकाउनलाई गिदोन दाखरस निकाल्ने ढिकीमा केही गहुँ कुटिरहेका थिए। परमप्रभुका स्वर्गदूत गिदोन समक्ष प्रकट भए अनि तिनलाई भने, “महान सैनिक! परमप्रभु तिम्रो साथ रहून्।” तब गिदोनले भने, “म शपथ खान्छु हजूर यदि परमप्रभु हामीसित हुनु भएको भए हामीहरूले किन यति धेरै कष्ट पाइरहेका छौं? हामीले सुनेका छौं कि उहाँले हाम्रा पिता-पुर्खाहरूका निम्ति आश्चर्य जनक कुराहरू गर्नुभयो। हाम्रा पिता-पुर्खाहरूले हामीलाई भने कि परमप्रभुले नै तिनीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो। तर परमप्रभुले हामीलाई छाड्नुभयो। परमप्रभुले हामीलाई पराजित गर्न मिद्यानी मानिसहरूलाई दिनुभयो।” परमप्रभु गिदोनतर्फ फर्किनु भयो अनि भन्नुभयो, “तेरो शक्ति प्रयोग गर्। जा मिद्यानी मानिसहरूबाट इस्राएलका मानिसहरूलाई बँचा। म तँलाई तिनीहरूलाई बचाउँन पठाइरहेछु।” तर गिदोनले उत्तर दिए र भने, “मलाई क्षमा गर्नुहोस महाशय। म कसरी इस्राएलीलाई बचाउँन सक्छु र? मनश्शेको कुल समूहमा मेरो गोत्र सबै भन्दा कमजोर छ। अनि म मेरो परिवारको सबै भन्दा कान्छो हुँ।” परमप्रभुले गिदोनलाई उत्तर दिनुभयो र भन्नुभयो, “म तँसित छु। यसर्थ तैंले मिद्यानका मानिसहरूलाई पराजित गर्न सक्नेछस्। यो यस्तो हुनेछ कि तँ एक व्यक्तिसित मात्र युद्ध गरिरहेछस्।”