न्यायकर्ताहरू 3:7-31
न्यायकर्ताहरू 3:7-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जुन कुरा परमप्रभुको दृष्टिमा खराब थियो इस्राएलीहरूले त्यही गरे। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से र बाल देवताहरू र अशेरा देवीहरूलाई पुज्न लागे। इस्राएलसँग परमप्रभु क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई अरामनाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो, जसले तिनीहरूलाई आठ वर्षसम्म आफ्नो अधीनमा राखे। तर जब इस्राएलीहरूले सहायताको निम्ति परमेश्वरलाई पुकारे, तब उहाँले तिनीहरूलाई छुटाउनलाई कालेबका भाइ कनजका छोरा ओत्निएललाई खड़ा गर्नुभयो, र तिनले तिनीहरूलाई मुक्त गरे। परमप्रभुका आत्मा तिनीमाथि आउनुभयो, र तिनी इस्राएलमाथि न्यायकर्ता भए। तिनी युद्ध गर्नलाई निस्के, र परमप्रभुले अरामका राजा कूशन-रिशातैमलाई तिनको हातमा सुम्पिदिनुभयो। ओत्निएल उनीमाथि विजयी भए। यसरी कनजका छोरा ओत्निएलको मृत्यु नहोउञ्जेल देशमा चालीस वर्षसम्म शान्ति भयो। फेरि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे। यसैकारण परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलमाथि अधिकार दिनुभयो। एग्लोनले अम्मोनीहरू र अमालेकीहरूलाई युद्धको निम्ति भेला गरे, र इस्राएलीहरूलाई आक्रमण गर्नलाई अगि बढ़े, र खजूरका रूखहरूको सहरमाथि अधिकार गरे। इस्राएलीहरू अठार वर्षसम्म मोआबका राजा एग्लोनको अधीनमा रहे। फेरि तिनीहरूले सहायताको निम्ति परमप्रभुलाई पुकारे, र उहाँले एक जना मानिस, अर्थात् बेन्यामीनी गेराका छोरा, देब्रे हात चल्ने एहूदलाई तिनीहरूलाई छुटाउनलाई खड़ा गर्नुभयो। इस्राएलीहरूले तिनलाई मोआबका राजा एग्लोनकहाँ तिनीहरूको कर तिर्नलाई पठाए। एहूदले आफ्नो निम्ति एक हात लामो एउटा चुपी बनाएर लुगाभित्र दाहिने जाँघमा बाँधिराखे। त्यसपछि तिनी मोआबका राजा एग्लोनकहाँ कर लिएर गए। एग्लोन साह्रै मोटा मानिस थिए। एहूदले कर टक्र्याइसकेपछि तिनले करको सौगात बोकेर ल्याउने मानिसहरूलाई पठाइदिए। तिनी आफूचाहिँ गिलगालमा भएको, मूर्तिहरूको ठाउँदेखि फर्केर आए, र तिनले राजालाई भने, “हे महाराज, मैले हजूरलाई गुप्तिमा केही भन्नु छ।” तब एग्लोनले चूप लाग्ने आदेश दिएर आफ्ना सबै सेवकहरूलाई बाहिर पठाए। जब उनी आफ्नो महलको कौसीको शीतल कोठामा बसिरहेका थिए तब उनका नजिक आएर एहूदले भने, “परमेश्वरबाट हजूरलाई मैले एउटा कुरो भन्नु छ।” तब एग्लोन आफ्नो आसनबाट उठे, र एहूदले आफ्नो देब्रे हातले दाहिनेतिर भएको चुपी निकालेर, उनको भुँड़ीमा रोपिदिए। चुपी बीँड़समेत पस्यो, र उनको ढाड़बाट निस्कियो। बोसोले चुपीलाई छोप्यो। तिनले चुपी निकालेनन्, तर त्यत्तिकै अवस्थामा छोड़िराखे। तब एहूद दलानमा निस्के र एग्लोनलाई भित्रै छोड़ेर ढोकाहरू थुनिदिए र ताल्चा लगाइदिए। जब तिनी निस्किसकेका थिए तब एग्लोनका सेवकहरू भित्र आए, र ढोकाहरूमा ताल्चा लगाइएको देखेर तिनीहरूले भने, “राजा आफ्नो महलको शीतल कोठामा दिसा बसिरहनुभएको होला।” धेरै बेरसम्म पर्खंदा-पर्खंदा तिनीहरूलाई लाज पनि लाग्यो, तापनि एग्लोनले कौसीको कोठाका ढोकाहरू खोलेनन्। तब तिनीहरूले साँचो लिएर ढोकाहरू खोले, र आफ्ना मालिकलाई भूइँमा मरेर लड़िरहेका भेट्टाए। तिनीहरू पर्खिरहँदा एहूद उम्केर भागे। तिनी मूर्तिहरूको ठाउँदेखि छिरिगएर सीरा भन्ने ठाउँमा पुगे। अनि एफ्राइमको पहाड़ी देशमा पुगेपछि त्यहाँ तिनले तुरही फुके, र इस्राएलीहरू पहाड़बाट आएर तिनले तिनीहरूलाई अगि लाए। एहूदले तिनीहरूलाई भने, “मेरो पछि आओ, किनभने परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुभएको छ।” यसकारण तिनीहरू तिनका पछिपछि ओर्लेर आए र तिनीहरूले मोआबको सामुको यर्दनका जँघारहरू लिए, र कसैलाई पनि त्यहाँबाट पारि जान दिएनन्। तिनीहरूले त्यस दिन दश हजार मोआबीहरूलाई मारे। ती सबै बलिया-बलिया र शूरवीर पुरुषहरू थिए। एक जना पनि उम्कन पाएन। यसरी त्यस दिन मोआब इस्राएलको अधीनमा भए, र देशमा असी वर्षसम्म शान्ति भइरह्यो। एहूदपछि अनातका छोरा शमगर खड़ा भए। तिनले छ सय पलिश्तीहरूलाई गोरु धपाउने लहुरोले मारे। तिनले पनि इस्राएलको उद्धार गरे।
न्यायकर्ताहरू 3:7-31 पवित्र बाइबल (NERV)
इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको करार तिनीहरूले भङ्ग गरे। तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरलाई बिर्से अनि झूटा देवताहरू बाल अनि अशेराको सेवा गरे। परमप्रभु इस्राएलका मानिसहरूसित क्रोधित हुनुभयो। इस्राएलका मानिसहरूमाथि शासन गर्न परमप्रभुले अरम-नहैरमका राजा कूशन रिशातैमलाई तिनीहरूलाई हराउने शक्ति दिनुभयो। इस्राएलीहरू आठ बर्षसम्म त्यो राजाको अधीनमा रहे। तर इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभुसित विलाप गरे। परमप्रभुले तिनीहरूलाई बचाउँन एउटा व्यक्तिलाई पठाउनु भयो। त्यो व्यक्तिको नाउँ ओत्निएल थियो। उनी कनज नाउँ गरेका एक व्यक्तिका छोरा थिए। कनज कालेबका कान्छा भाइ थिए। ओत्निएलले इस्राएलका मानिसहरूको सेवा गरे। परमप्रभुको आत्मा ओत्निएल माथि आउनुभयो अनि तिनी इस्राएली मानिसहरूका न्यायकर्ता बने। ओत्निएलले इस्राएली मानिसहरूलाई युद्ध तर्फ अग्रसर गराए। परमप्रभुले ओत्निएललाई अरामका राजा कूशन रिशातैमलाई पराजित गर्नमा सहायता गर्नुभयो। यसरी त्यो भूमि कनजका छोरा ओत्निएलको मृत्यु नभए सम्म चालीस बर्षको निम्ति शान्तिसित रह्यो। फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको तिनीहरूको करार भङ्ग गरे। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गर्न मोआबका राजा एग्लोनलाई बल दिनुभयो। एग्लोनले अम्मोनी अनि अमालेकी मानिसहरूबाट सहायता प्राप्त गरे। तिनीहरू उनीसित मिले अनि इस्राएलका मानिसहरू माथि आक्रमण गरे। एग्लोन अनि उनका सेनाले इस्राएलका मानिसहरूलाई पराजित गरे। अनि तिनीहरूलाई खजूर वृक्षको शहर छोड्न वाध्य तुल्याए। मोआबका राजा एग्लोनले इस्राएलका मानिसहरू माथि अठ्ठार बर्षसम्म शासन गरे। मानिसहरूले परमप्रभुसित विलाप गरे। यसैकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति एकजना व्यक्तिलाई पठाउनु भयो। यो व्यक्तिको नाउँ एहूद थियो। एहूद बिन्यामीन कुल समूहका गेरा नाउँको मानिसका छोरा थिए। एहूदले आफ्ना देब्रेहातले लडाँई गर्ने तालिम लिएका थिए। इस्राएलका मानिसहरूले एहूदलाई मोआबका राजा एग्लोन कहाँ उपहारसितै पठाए। एहूदले स्वंयका निम्ति एउटा तरवार बनाएका थिए। त्यो तरवारको दुवै पट्टि धारहरू थिए अनि अठ्ठार इंच लामो थियो। एहूदले त्यो तरवार आफ्नो दाहिने जाँघमा बाँधेका थिए अनि आफ्नो पोशाक मुनि लुकाएका थिए। यसरी एहूदले मोआबका राजा एग्लोन कहाँ भेटी ल्याए। एग्लोन अत्यन्त मोटा मानिस थिए। भेटी चढाएपछि तिनले ती मानिसहरूलाई पठाए जसले भेटी बोकेका थिए। तिनीहरूले राजदरबार छाडे। जब एहूद गिलगाल नजिकका मूर्तिहरू भएको ठाउँमा पुगे, तिनी घुमे अनि राजालाई भेट्न फर्किए। एहूदले राजा एग्लोनलाई भने, “राजा, तपाईंको निम्ति मसित गुप्तको सन्देश छ।” राजाले तिनलाई चूपलाग्नु भने अनि त्यसपछि सबै सेवकहरूलाई कोठाबाट बाहिर पठाए। एहूद एग्लोन राजा कहाँ गए। राजा आफ्नो दरबारको माथिल्लो कोठामा एक्लै बसिरहेका थिए। तब एहूदले भने, “मसित तपाईंको निम्ति परमेश्वरको सन्देश छ।” राजा आफ्नो गद्दीबाट उठे। उनी एहूदका अत्यन्त छेउमा थिए। जसै राजा आफ्नो गद्दीबाट उठ्दै थिए, एहूदले आफ्नो देब्रेहात बढाएर आफ्नो दाहिने जाँघमा बाँधिएको तरवार निकाले। त्यसपछि एहूदले तरवार राजाको भूँडीमा रोपिदिए। त्यो तरवार एग्लोनको भूँडीमा यति भित्र पस्यो कि त्यसको बींड पनि बोसोले छोप्यो। एहूदले एग्लोनदेखि तरवार बाहिर तान्न सकेनन् अनि एग्लोनको आन्द्रा-भूँडी बाहिर निस्कियो। एहूदले माथिल्लो कोठाका ढोकाहरू बन्दगरी राजालाई भित्रै ताल्चा लगाएर त्यो निजी कोठाबाट निस्किए। एहूदले त्यसपछि मूल कोठा छाडे अनि सेवकहरू फर्केर भित्र गए। सेवकहरूले माथिल्लो कोठाको ढोका बन्द गरिएको पाए। यसर्थ सेवकहरूले भने, “राजा आफ्ना निजी विश्राम कोठामा विश्राम गरिरहेका हुनुपर्छ।” यसर्थ सेवकहरूले धेरै लामो समयसम्म पर्खिरहे। राजाले माथिल्लो कोठाका ढोकाहरू खोलेनन्। आखिरमा सेवकहरू चिन्तित भए। तिनीहरूले चाबी ल्याए अनि ढोकाहरू खोले। जब सेवकहरू भित्र पसे, तिनीहरूले आफ्ना राजालाई भूइँमा लडेर मरिरहेका देखे। सेवकहरूले राजालाई पर्खंदै गर्दा एहूदले उम्कने समय पाए। एहूदले मूर्तिहरू पार गरे र सीरा नाउँ गरेको स्थान तिर गए। जब एहूद सीरामा आए तिनले त्यहाँ, एप्रैमको पहाडी देशमा, तुरही बजाए। इस्राएलका मानिसहरूले तुरही बजेको आवाज सुने अनि तिनीहरू पहाडबाट तल झरे, एहूदले तिनीहरूको अगुवाइ गरे। एहूदले इस्राएलका मानिसहरूलाई भने, “मेरो अनुशरण गर! परमप्रभुले हाम्रा शत्रुहरू, मोआबका मानिसहरूलाई पराजित गर्नमा हामीलाई सहयोग गर्नु भयो।” यसर्थ इस्राएलका मानिसहरूले एहूदको अनुशरण गरे। तिनीहरू त्यो भूमिलाई अधिकारमा लिन एहूदसित सजिलैसित तल यर्दन नदी पार गरेर मोआबको भूमिमा पुगे। इस्राएली मानिसहरूले लगभग 10,000 बलवान अनि साहसी मानिसहरूलाई मारे। एकजना मोआबी मानिस पनि उम्किएनन्। यसर्थ त्यस दिनदेखि इस्राएलका मानिसहरूले मोआबका मानिसहरू माथि शासन गर्न थाले। अनि त्यो भूमिमा 80 बर्षसम्म शान्ति भईरह्यो। एहूदले इस्राएलका मानिसहरूलाई बँचाए पछि, अर्को मानिसले इस्राएललाई बँचायो। त्यो मानिस अनातको छोरा शमगर थियो। 600 पलिश्ती मानिसहरूलाई मार्न शमगरले गोरू खेध्ने लट्ठीको प्रयोग गरे।
न्यायकर्ताहरू 3:7-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफ्ना परमप्रभु परमेश्वरलाई इस्राएलीहरूले बिर्से। तिनीहरूले परमेश्वरका विरुद्धमा पाप गरे अनि बाल-देवता र अशेरा-देवीका मूर्तिहरूलाई पुज्न लागे। यसकारण परमप्रभु इस्राएलीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई अराम-नाहारैमका राजा कूशन-रिशातैमको वशमा पारिदिनुभयो र आठ वर्षसम्म तिनको वशमा इस्राएलीहरू रहे। तब इस्राएलीहरूले परमप्रभुलाई पुकारे। उहाँले तिनीहरूलाई छुटकारा दिनलाई एक जना व्यक्ति पठाइदिनुभयो। कालेबका भाइ कनजको छोरा ओत्निएल ती व्यक्ति थिए। परमप्रभुको आत्मा उनीमाथि उत्रेर आउनुभयो र उनी इस्राएलका अगुवा भए। उनी युद्ध गर्न गए अनि परमप्रभुले उनलाई आराम-नहारैमका राजामाथि विजय दिनुभयो। त्यसपछि चालीस वर्षसम्म देशमा शान्ति रह्यो। तब ओत्निएलको मृत्यु भयो। इस्राएलका मानिसहरूले फेरि परमप्रभुका विरुद्ध पाप गरे। यसकारण परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलभन्दा बलियो तुल्याउनुभयो। एग्लोनले अम्मोनी र अमालेकीहरूसँग मेल गर्यो र तिनीहरूले मिलेर इस्राएलीहरूलाई हराए र खजूरका रूखका सहर यरीहोलाई आफ्ना कब्जामा पारे। अठार वर्षसम्म इस्राएलीहरू एग्लोनका अधीनमा रहे। तब इस्राएलीहरूले परमप्रभुलाई पुकारे अनि तिनीहरूलाई छुटाउनलाई उहाँले एक जना व्यक्ति पठाइदिनुभयो। ती व्यक्ति बेन्यामीन कुलका गेराको छोरा एहूद थिए। एहूदले देब्रे हात चलाउँथे। इस्राएलीहरूले उनलाई कोसेली लिएर मोआबका राजा एग्लोनकहाँ पठाए। एहूदले आफ्ना निम्ति एक हात लामो एउटा तरवार बनाएका थिए। उनले त्यो तरवार दाहिनेपट्टि आफूले लाएको लुगामुनि बाँधेर भिरेका थिए। एग्लोनलाई उनले कोसेली टक्र्याए। एग्लोन साह्रै मोटा थिए। कोसेली टक्र्याएपछि ती बोकी आउने मानिसहरूलाई एहूदले घर फर्काइदिए। तर आफैंचाहिँ गिलगालछेउ, मूर्ति भएका ठाउँदेखि फर्केर एग्लोनकहाँ गएर भने, “महाराज, तपाईंलाई गुप्तमा मेरो केही कुरा भन्नु छ।” राजाले चाकरहरूलाई बाहिर जान आज्ञा दिए र तिनीहरू बाहिर निस्के। तब राजा एक्लै महलको छानाको शीतल-कोठामा बसेका बेलामा एहूदले छेउमा गएर भने, “तपाईंलाई परमेश्वरबाट एउटा खबर छ।” त्यो सुनेर राजा उभिए। एहूदले देब्रे हातले दाहिनेतिरबाट तरवार झिकेर राजाको पेटमा रोपिदिए। बिँडसमेत पूरा तरवार पेटभित्र पस्यो र बोसोमा पुरियो। तरवार वारपार भएर राजाको पछिल्लोपट्टि निस्क्यो र त्यो ननिकाली एहूदले त्यत्तिकै छोडिदिए। उनी बाहिर निस्के, ढोकाहरू बन्द गरे र ताल्चा लगाइदिए र त्यहाँबाट हिंडे। राजाका चाकरहरू आए र ढोकाहरू ताल्चा लाएका र बन्द देखेर राजा भित्रै दिसा गर्न बसेका होलान् भन्ठाने। धेरै बेर पर्खेपछि पनि जब राजा ढोका खोलेर बाहिर निस्केनन्, तिनीहरूले साँचो लिएर ढोका खोले। तिनीहरूले आफ्नो मालिकलाई भूइँमा मरेर लडिरहेको भेट्टाए। तिनीहरूले पर्खिरहेका बेलामा एहूद भागिसकेका थिए। उनी मूर्तिहरूको छेउ भएर सीरा भन्ने ठाउँमा भागेर गए। त्यहाँ एफ्राइमको पहाडमा पुगेपछि इस्राएलीहरूलाई लडाइँ गर्न उनले तुरही फुकेर बोलाए। तिनीहरूका अघि-अघि उनी पहाडदेखि ओह्रालो झरे। उनले तिनीहरूलाई भने, “मेरो पछि आओ। परमप्रभुले तिमीहरूलाई आफ्ना शत्रु मोआबमाथि विजय दिनुभएको छ।” तिनीहरू एहूदको पछिपछि लागे र मोआबीहरूले यर्दन नदी पार गर्न लागेका ठाउँ आफ्ना हात पारे। तिनीहरूले कुनै पनि मोआबीलाई नदी पार गर्न दिएनन्। त्यो दिन तिनीहरूले प्राय: सबैभन्दा शूरवीर दश हजार मोआबी सैनिकहरूलाई मारे। कोही पनि उम्कन पाएनन्। त्यो दिन इस्राएलीहरूले मोआबीहरूलाई हराएपछि देशमा असी वर्षसम्म शान्ति कायम रह्यो। त्यसपछि अनातका छोरा शमगर अगुवा भए। गोरु धपाउने लौरोले छ सय पलिश्तीहरूलाई मारेर उनले इस्राएलीहरूलाई बचाए।