YouVersion लोगो
खोज आइकन

यशैया 8:1-20

यशैया 8:1-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुले मलाई भन्‍नुभयो, “आफ्‍नो निम्‍ति एउटा ठूलो कागतको मुट्ठा ले, र त्‍यसमा साधारण कलमले ‘महेर-शालल-हाज-बज’ भनेर लेख्‌। अनि म यसलाई पक्‍का गर्नलाई मेरा दुई विश्‍वासयोग्‍य गवाहहरू, अर्थात्‌ उरियाह पूजाहारी र येबेरक्‍याहको छोरो जकरियालाई बोलाउनेछु।” तब मेरी पत्‍नी अगमवादिनीकहाँ म गएँ, र तिनी गर्भवती भएर एक जना छोरो जन्‍माइन्‌। अनि परमप्रभुले मलाई भन्‍नुभयो, “त्‍यसको नाउँ महेर-शालल-हाज-बज राख्‌। बालकले ‘मेरा बुबा’ र ‘मेरी आमा’ भन्‍न जान्‍न अघि नै दमस्‍कसको धन र सामरियाको लूट अश्‍शूरका राजाले लैजानेछ।” परमप्रभुले मलाई फेरि यसो भन्‍नुभयो, “यस प्रजाले शान्‍तिसित बग्‍ने शीलोको पानीलाई तिरस्‍कार गरी रसीन र रमल्‍याहको छोरामा आनन्‍द मनाएको कारणले, अब हेर्, परमप्रभुले यूफ्रेटिसका पानीको भल, अर्थात्‌ अश्‍शूरको राजा र त्‍यसका रवाफसहित तिनीहरूका विरुद्धमा ल्‍याउन लाग्‍नुभएको छ। त्‍यसका सबै नहरमाथि त्‍यो उर्लेर आउनेछ र त्‍यसका सबै किनारमाथि बग्‍नेछ। त्‍यो बाढ़ीझैँ अगाड़ि बढ़ेर यहूदासम्‍मै बग्‍नेछ। त्‍यो त्‍यसको घिच्रैसम्‍म पुग्‍नेछ। त्‍यसको फिँजाइएका पखेटाले तेरो देशलाई ढाक्‍नेछ, हे इम्‍मानुएल!” हे जातिहरू हो, युद्धको नारा लगाओ र चकनाचूर होओ! सुन, हे टाढ़ा-टाढ़ा देश हो, लड़ाइँको लागि तयार होओ, र चकनाचूर होओ! लड़ाइँको लागि तयार होओ, र चकनाचूर होओ! युद्धको युक्ति रचना गर, तर त्‍यो विफल हुनेछ। तिमीहरूका उपाय प्रस्‍ताव गर, तर त्‍यो ठहर्नेछैन, किनकि परमेश्‍वर हामीसित हुनुहुन्‍छ। यस प्रजाको मार्गमा नहिँड्‌नलाई परमप्रभुले मलाई चेताउनी दिँदै आफ्‍नो बलियो हात ममाथि राखेर मलाई यसो भन्‍नुभयो, “जुन कुरालाई यी मानिसहरू षड्‌यन्‍त्र भन्‍छन्, त्‍यसलाई तैंले षड्‌यन्‍त्र नभन्, र जे कुरादेखि तिनीहरू डराउँछन्‌ त्‍यसदेखि तँ नडरा, त्‍यसदेखि भयभीत नहो। सर्वशक्तिमान्‌ परमप्रभुलाई नै तैंले पवित्र ठान्‍नू, र उहाँकै भय तैंले मान्‍नू, उहाँसँग नै तँ डराउनू। र उहाँ नै तेरो वासस्‍थान हुनुहुनेछ, तर इस्राएलका दुवै घरानाका निम्‍ति उहाँ एउटा ढुङ्गा हुनुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्‌न लगाउँछ। अनि उहाँ यरूशलेमका मानिसहरूका निम्‍ति धराप र पासो हुनुहुनेछ। धेरै जना ठेस खानेछन्, तिनीहरू लोट्‌नेछन्‌ र टुक्रा-टुक्रा हुनेछन्, तिनीहरू पासोमा पर्नेछन्‌ र पक्राउ पर्नेछन्‌।” यो गवाही-पत्र बाँधिदेऊ र यो व्‍यवस्‍था मेरा चेलाहरूका बीचमा बन्‍द गरेर त्‍यसमा मोहोर लगाइदेऊ। याकूबको घरानादेखि आफ्‍नो मुख लुकाउनुहुने परमप्रभुको म प्रतीक्षा गर्नेछु, र उहाँमा नै म मेरो भरोसा राख्‍नेछु। म र परमप्रभुले मलाई दिनुभएका छोराछोरीहरू यहीँ नै छौं। सियोन पर्वतमा विराजमान हुनुहुने सर्वशक्तिमान्‌ परमप्रभुतर्फबाट इस्राएलमा हामी चिन्‍ह र लक्षण हौं। जब मानिसहरूले तिमीहरूलाई भूतप्रेत खेलाउने र तन्‍त्रमन्‍त्र गर्ने धामीझाँक्रीसँग सल्‍लाह लेओ भनी भन्‍लान्, तब के मानिसहरूले आफ्‍ना परमेश्‍वरकहाँ गएर सोध्‍नुपर्दैन र? जीवितहरूका विषयमा मरेकाहरूलाई किन सोध्‍ने? व्‍यवस्‍था र गवाहीकहाँ जाओ! यदि तिनीहरू यस वचनअनुसार बोलेनन्‌ भने तिनीहरूसित बिहानको मिरमिरे उज्‍यालो पनि छैन।

शेयर गर्नुहोस्
यशैया 8 पढ्नुहोस्

यशैया 8:1-20 पवित्र बाइबल (NERV)

परमप्रभुले मलाई भन्नुभयो, “एउटा ठूलो कागजको मुठा ल्याऊ अनि यी शब्दहरू लेख्न एउटा कलम प्रयोग गरः ‘महेर-शालल हाज-बज।’ यसको अर्थ हुन्छ, ‘त्यहाँ चाँडै लुटमार चोरी हुनेछ।’” मैले केही मानिसहरू जम्मा गरें जसलाई मेरा विश्वासयोग्य साक्षीहरू मान्न सकिन्छ। यी मानिसहरू येबेरक्याहका छोरा ऊरियाह र जकर्याह पूजाहारी थिए। तिनीहरूले मलाई शब्दहरू लेख्दै गरेको देखे। त्यसपछि म अगमवादिनीकहाँ गएँ। उनी गर्भवती भएकी थिइन अनि उनको एउटा छोरो भयो। तब परमप्रभुले मलाई भन्नुभयो, “त्यस छोरोको नाउँ महेर-शाललहाज-बज राख। किनभने त्यो बालकले “माता-पिता” भन्नु अघि नै परमेश्वरले सारा धन-सम्पति खोसेर लैजानु हुनेछ साथै त्यहाँ धनाढ्य मानिसहरू जस्तै दमीश्कस र सामरियाबाट लैजानु हुनेछ अनि ती चीजहरू अश्शूरका राजालाई सुम्पिनु हुनेछ।” फेरि परमप्रभुले मलाई भन्नुभयो। उहाँले भन्नुभयो, “ती मानिसहरूले शीलो पोखरीमा विस्तारै बग्ने पानीलिन मानेन्। ती मानिसहरू रसीन र रमल्याहका छोरासित खुशी छन्।” तर म परमप्रभु अश्शूरका राजालाई तिमीहरूको विरूद्धमा ल्याउनेछु। तिनीहरू यूफ्रेटिस नदीको बाढी जस्तै भयानक भएर आउनेछन्। यो यस्तो हुनेछ कि नदीमा बाढी आउँदा किनारहरू भत्काउँदै आउने उर्लेको पानी जस्तै हुनेछ। त्यो पानी यहूदातर्फ बग्नेछ औ यो यहूदालाई डुबाउनेछ। इम्मानुएल, यो तिम्रो सम्पूर्ण देश डुबाउन्जेल फैलिनेछ। सबै तिमी राष्ट्रहरू, युद्धको लागि तयार हौ! तिमीहरू परास्त हुनेछौ। सुन टाढामा भएका सारा देशहरू! युद्धका लागि तयार हौ। तिमीहरू सबै परास्त हुनेछौ। लडाइँ गर्नका निम्ति तिम्रा योजनाहरू तयार पार! तिम्रा योजनाहरू परास्त हुने छन्। तिम्रा सैन्यहरूलाई हुकुम गर तिम्रा हुकुमहरू बेकामे हुनेछन्। किनभने परमेश्वर हामीसँग हुनुहुन्छ। आफ्नो प्रभावपूर्ण शक्तिद्वारा परमप्रभुले मलाई भन्नुभयो। परमप्रभुले मलाई अरू मानिसहरू जस्तो नहुनु भनेर चेताउनी दिनु भयो। परमप्रभुले भन्नुभयो, “प्रत्येक मानिसले भनिरहेछन्। कि अरूहरूले उहाँका विरूद्ध षडयन्त्रहरू तयार पार्दैछन्। तिमीले त्यस्ता कुराहरू विश्वास गर्नुहुँदैन। अन्य मानिसहरू डराए जस्तो भयावहक कुराहरूबाट नडराऊ! त्यस्ता कुराहरूमा तिमी नडराऊ!” सेनाहरूका परमप्रभुको मात्र तिमीले डर राख्नु पर्छ। उहाँलाई मात्र तिमीले आदर गर्नु पर्छ। यदि तिमीले परमप्रभुको आदर गर्यौ भने र उहाँलाई पवित्र ठान्यौ भने, उहाँले तिम्रोलागि सुरक्षा दिनुहुनेछ। तर तिमीले उहाँको आदर गरेनौ। यसैले तिमीहरूले ठेस खानेछौ। परमेश्वर चट्टान सरह हुनुभयो। उहाँ चट्टान हुनुहुन्छ जसद्वारा इस्राएलका दुइ परिवारहरूले नराम्रो ठेस खाए। यरूशलेमका सारा मानिसहरूलाई समात्नका लागि परमप्रभु एक पासो हुनहुन्छ। (धेरै मानिसहरू यस चट्टानमाथि झरे। ती मानिसहरू झरेर टुक्रिए। तिनीहरू पासोमा समातिए।) परमप्रभुले भन्नु भयो, “करार पत्र तयार गर अनि यसलाई मोहर लगाऊ। मेरो शिक्षा बचाएर राख। मेरा चेलाहरूले हेरि रहेको बेलामा नै यसो गर।” हामी परमप्रभुलाई हाम्रो सहयोगका लागि पर्खिनेछौं। परमप्रभु याकूबको परिवारले गर्दा लज्जित हुनु भयो। उहाँले तिनीहरूलाई भेट्ने इच्छा त्याग्नु भयो तर म परमप्रभुलाई पर्खिनेछु, उहाँले हामीलाई बचाउनु हुनेछ। म र मेरा छोरा-छोरीहरूले सही छाप गर्यौ र इस्राएलका मानिसहरूका लागि प्रमाण गर्छौ। हामीलाई सेनाहरूका परमप्रभुले पठाउनु भएको हो! ती परमप्रभु जो सियोन पर्वतमा बस्नुहुन्छ। कतिपय मानिसहरू भन्छन्, “भूतप्रेत खेलाउने अनि जादूगरहरूलाई के गर्नु पर्ने?” ती भूतप्रेत खेलाउने र जादूगरहरूले कानेखुसी गरी उनीहरूले मात्र मानिसहरू समक्ष गुप्त कुराहरू जानेको भन्लान्। तर म तिमीलाई भन्छु कि मानिसहरूले परमप्रभुको आज्ञा माग्नु नै पर्छ! ती भूतप्रेत खेलाउने र जादूगरहरूले मुर्दालाई के गर्नु पर्ने भनेर सोध्छ। किन जीवित मानिसहरूले मुर्दाहरूबाट केही माग्नु पर्छ? तिमीले शिक्षा र करार अनुशरण गर्नै पर्छ। यदि तिमी आज्ञाहरू अनुशरण गर्दैनौ भने तिमीले उज्यालो पाउनेछैनौ। भूल आज्ञाहरू ती आज्ञाहरू हुन् जुन जादूवालाहरू अनि भविष्यवक्ताहरूले दिन्छन्। तीआज्ञाहरूको कुनै मूल्य छैन्। तिमीहरूले त्यस्ता मूल्यहीन आज्ञाहरूबाट केही पनि लाभ पाउने छैनौ।

शेयर गर्नुहोस्
यशैया 8 पढ्नुहोस्

यशैया 8:1-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले मलाई भन्‍नुभयो, “एउटा ठूलो पाटी लिएर त्‍यसमा ठूल्‍ठूला अक्षरमा ‘महेर-शालल-हाज-बज’ लेख। दुई विश्‍वासयोग्‍य मानिसहरू पूजाहारी उरियाह र येबेरक्‍याहका छोरा जकरियालाई ल्‍याएर गवाही राख्।” केही समयपछि मेरी पत्‍नी गर्भवती भइन्। जब हाम्रो छोरो जन्‍मियो, तब परमप्रभुले मलाई भन्‍नुभयो, “त्‍यसको नाम ‘महेर-शालल-हाज-बज’ राख। बालकले ‘आमा-बाबा’ भन्‍न सक्‍ने बेलाअघि नै दमस्‍कसको समस्‍त धन र सामरियाको सारा लुटका सामान अश्‍शूरका राजाले लैजानेछन्।” फेरि परमप्रभु मसित बोल्‍नुभयो र भन्‍नुभयो, “यी मानिसहरूले शीलोको खोलाको शान्‍तिसित बग्‍ने पानी इन्‍कार गरी रसीन र पेकह राजाहरूसित रमाएका हुनाले म परमप्रभुले अश्‍शूरका महाराजा र उनका सारा सेनाहरूलाई यहूदामाथि आक्रमण गर्न ल्‍याउनेछु। बाढी आउँदा यूफ्रेटिस नदीको पानी बडो वेगले बगेर त्‍यसका किनाराहरू जल-मग्‍न भएझैँ तिनीहरू अघि बढी आउनेछन्। काँधसम्‍म अग्‍लो र सबै कुरामा डुबाइदिने बाढीझैँ तिनीहरू यहूदाका बीचबाट भएर बगिजानेछन्।” हे इम्‍मानुएल! तिनका फैलाएका पखेटाले सम्‍पूर्ण देश ढाक्‍नेछ। हे राष्‍ट्रहरू हो! डराउँदै एकसाथ भेला होओ! हे पृथ्‍वीका टाढा-टाढा देशका मानिसहरू हो, सुन, लडाइँ गर्न तयार होओ तर डर मान! हो, साँच्‍चै तयार होओ तर डर मान! आफ्‍ना उपायहरू बनाओ! तर ती असफल हुनेछन्। जति मनपर्छ, कुराकानी गर! तर ती सबै व्‍यर्थ हुनेछन् किनभने परमेश्‍वर हामीसित हुनुहुन्‍छ। आफ्‍नो महान् शक्तिले मलाई परमप्रभुले यी मानिसहरूले हिँडेको बाटोमा नहिँड्‍ने चेतावनी दिनुभएको छ। उहाँले भन्‍नुभयो, “मानिसहरूका जुक्‍तिमा नलाग र जे कुरासित तिनीहरू डराउँछन्, तीसित तँ नडरा। याद राख् कि म सर्वशक्तिमान् परमप्रभु पवित्र छु। तँचाहिँ मसित डराउनुपर्छ। मेरो अति पवित्रताले गर्दा म ठेस लाग्‍ने ढुङ्गाजस्‍तो छु। म यहूदा, इस्राएल र यरूशलेमका मानिसहरूलाई फसाउने पासोजस्‍तो छु। धेरैलाई ठेस लाग्‍नेछ। तिनीहरू लडेर चकनाचुर हुनेछन्। तिनीहरू पासोमापर्नेछन्।” तिमी मेरा चेलाहरूले मलाई परमेश्‍वरले दिनुभएका सन्‍देशहरू रखवाली गरी जोगाइराख्‍नुपर्नेछ। परमप्रभुले आफैंलाई याकूबका सन्‍तानदेखि लुकाउनुभएको छ। म उहाँमा भरोसा गर्नेछु र आशा राख्‍दछु। यहाँ म परमप्रभुले मलाई दिनुभएको बाल-बालिकाहरूका साथमा छु। सर्वशक्तिमान् परमप्रभु, जसको सिंहासन सियोन पर्वतमा छ, उहाँले हामीलाई जीवित सन्‍देशहरूको रूपमा इस्राएलका मानिसहरूका बीचमा पठाउनुभएको हो। तर मानिसहरूले त तिमीहरूलाई भूत-प्रेत खेलाउने र मन्‍त्रतन्‍त्र गर्नेहरूबाट निधो लिनू भन्‍नेछन्, जसले फलाक्‍ने र मन्‍त्र जप्‍ने गर्दछन्। तिनीहरूले भन्‍नेछन्, “आखिरी मानिसहरूले प्रेतात्‍माहरूबाट निधो लिनुपर्नेछ र जिउँदाहरूको निम्‍ति मरेकाहरूसित जोखना हेराउनुपर्नेछ।” तिमीहरूले तिनीहरूलाई यस्‍तो जवाफ देओ, “परमेश्‍वरले तिमीहरूलाई के सिकाउनुभएको छ, ध्‍यान देओ! भूत-प्रेत खेलाउनेहरूका कुराहरू नसुन! तिनीहरूले तिमीहरूलाई जे भन्‍लान्, तिमीहरूलाई भलो हुँदैन।”

शेयर गर्नुहोस्
यशैया 8 पढ्नुहोस्