परमप्रभुले मलाई भन्नुभयो, “आफ्नो निम्ति एउटा ठूलो कागतको मुट्ठा ले, र त्यसमा साधारण कलमले ‘महेर-शालल-हाज-बज’ भनेर लेख्। अनि म यसलाई पक्का गर्नलाई मेरा दुई विश्वासयोग्य गवाहहरू, अर्थात् उरियाह पूजाहारी र येबेरक्याहको छोरो जकरियालाई बोलाउनेछु।”
तब मेरी पत्नी अगमवादिनीकहाँ म गएँ, र तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्। अनि परमप्रभुले मलाई भन्नुभयो, “त्यसको नाउँ महेर-शालल-हाज-बज राख्। बालकले ‘मेरा बुबा’ र ‘मेरी आमा’ भन्न जान्न अघि नै दमस्कसको धन र सामरियाको लूट अश्शूरका राजाले लैजानेछ।”
परमप्रभुले मलाई फेरि यसो भन्नुभयो, “यस प्रजाले शान्तिसित बग्ने शीलोको पानीलाई तिरस्कार गरी रसीन र रमल्याहको छोरामा आनन्द मनाएको कारणले, अब हेर्, परमप्रभुले यूफ्रेटिसका पानीको भल, अर्थात् अश्शूरको राजा र त्यसका रवाफसहित तिनीहरूका विरुद्धमा ल्याउन लाग्नुभएको छ। त्यसका सबै नहरमाथि त्यो उर्लेर आउनेछ र त्यसका सबै किनारमाथि बग्नेछ। त्यो बाढ़ीझैँ अगाड़ि बढ़ेर यहूदासम्मै बग्नेछ। त्यो त्यसको घिच्रैसम्म पुग्नेछ। त्यसको फिँजाइएका पखेटाले तेरो देशलाई ढाक्नेछ, हे इम्मानुएल!”
हे जातिहरू हो, युद्धको नारा लगाओ र चकनाचूर होओ! सुन, हे टाढ़ा-टाढ़ा देश हो, लड़ाइँको लागि तयार होओ, र चकनाचूर होओ! लड़ाइँको लागि तयार होओ, र चकनाचूर होओ! युद्धको युक्ति रचना गर, तर त्यो विफल हुनेछ। तिमीहरूका उपाय प्रस्ताव गर, तर त्यो ठहर्नेछैन, किनकि परमेश्वर हामीसित हुनुहुन्छ।
यस प्रजाको मार्गमा नहिँड्नलाई परमप्रभुले मलाई चेताउनी दिँदै आफ्नो बलियो हात ममाथि राखेर मलाई यसो भन्नुभयो, “जुन कुरालाई यी मानिसहरू षड्यन्त्र भन्छन्, त्यसलाई तैंले षड्यन्त्र नभन्, र जे कुरादेखि तिनीहरू डराउँछन् त्यसदेखि तँ नडरा, त्यसदेखि भयभीत नहो। सर्वशक्तिमान् परमप्रभुलाई नै तैंले पवित्र ठान्नू, र उहाँकै भय तैंले मान्नू, उहाँसँग नै तँ डराउनू। र उहाँ नै तेरो वासस्थान हुनुहुनेछ, तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ एउटा ढुङ्गा हुनुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ। अनि उहाँ यरूशलेमका मानिसहरूका निम्ति धराप र पासो हुनुहुनेछ। धेरै जना ठेस खानेछन्, तिनीहरू लोट्नेछन् र टुक्रा-टुक्रा हुनेछन्, तिनीहरू पासोमा पर्नेछन् र पक्राउ पर्नेछन्।”
यो गवाही-पत्र बाँधिदेऊ र यो व्यवस्था मेरा चेलाहरूका बीचमा बन्द गरेर त्यसमा मोहोर लगाइदेऊ। याकूबको घरानादेखि आफ्नो मुख लुकाउनुहुने परमप्रभुको म प्रतीक्षा गर्नेछु, र उहाँमा नै म मेरो भरोसा राख्नेछु।
म र परमप्रभुले मलाई दिनुभएका छोराछोरीहरू यहीँ नै छौं। सियोन पर्वतमा विराजमान हुनुहुने सर्वशक्तिमान् परमप्रभुतर्फबाट इस्राएलमा हामी चिन्ह र लक्षण हौं।
जब मानिसहरूले तिमीहरूलाई भूतप्रेत खेलाउने र तन्त्रमन्त्र गर्ने धामीझाँक्रीसँग सल्लाह लेओ भनी भन्लान्, तब के मानिसहरूले आफ्ना परमेश्वरकहाँ गएर सोध्नुपर्दैन र? जीवितहरूका विषयमा मरेकाहरूलाई किन सोध्ने? व्यवस्था र गवाहीकहाँ जाओ! यदि तिनीहरू यस वचनअनुसार बोलेनन् भने तिनीहरूसित बिहानको मिरमिरे उज्यालो पनि छैन।