यशैया 55:1-11
यशैया 55:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन। जे रोटी नै होइन, त्यसको निम्ति किन पैसा खर्च गर्छौ? अनि जे कुराले सन्तोष नै दिँदैन, त्यसको निम्ति किन परिश्रम गर्छौ? ध्यान देओ, ध्यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्यही खाओ, र स्वादिष्ट थोकहरू खाएर तिमीहरूको प्राण सन्तुष्ट हुनेछ। कान थाप, र मकहाँ आओ। सुन, ताकि तिमीहरूको प्राण जिओस्। म तिमीहरूसित अनन्त करार बाँध्नेछु, दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्वासको प्रेम। हेर, मैले त्यसलाई जाति-जातिहरूका बीचमा साक्षी, र जाति-जातिहरूमा एक नेता र सेनापति तुल्याएको छु। परमप्रभु, तिमीहरूका परमेश्वर, इस्राएलका परमपवित्रको कारण, तिमीहरूले नचिनेका जातिहरूलाई तिमीहरूले बोलाउनेछौ, र तिमीहरूलाई नचिन्ने जातिहरू तिमीहरूकहाँ हतार-हतार गरी आउनेछन्। किनकि उहाँले तँलाई गौरवले युक्त पार्नुभएको छ।” जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। दुष्टले आफ्नो बाटो र अधर्मीले आफ्नो विचार त्यागोस्, र परमप्रभुतिर फर्कोस्, र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्वरतर्फ त्यो फर्कोस्, र उहाँले त्यसलाई सित्तैमा क्षमा गर्नुहुनेछ। “किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्नुहुन्छ। जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन्। जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्छ, त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।
यशैया 55:1-11 पवित्र बाइबल (NERV)
“हे सबै, तिर्खाएका मानिसहरू, आऊ! तिम्रोलागी पानी यहाँछ, आएर पिऊ! पैसा छैन भनेर सुर्ता नगर। आऊ, अघाउन्जेल सम्म खाऊ र पिऊ! तिमीहरूलाई पैसा चाहिन्दैन, खान र पिऊनुको ज्याला लाग्दैन। किन तिमीहरू त्यस्तो चीजहरूमा पैसा बर्बाद गर्छौ जुन खास भोजन नै होइन? किन तिमीहरू त्यस्ता व्यर्थका कामहरू गर्छै जसले तिमीहरूलाई सन्तुष्टी दिँदैन? एकदमै ध्यान दिएर मेरा कुरा सुन अनि तिमीहरूले राम्रा भोजन खान पाउनेछौ। तिमीहरूले त्यस्तो राम्रा खाना खानेछौ जसले तिम्रो आत्मा तृप्त पार्नेछ। मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्। मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्। मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ। मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ। अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ। मैले मेरो शक्ति-प्रमाण र सबै जातिहरूकालागि दाऊदलाई बनाएँ। मैले दाऊदलाई वचन दिएँ कि ऊ धेरै जातिहरूका शासक र सेनापति हुनेछ।” ती ठाउँहरूमा धेरै जातिहरू छन् जो तिमीहरू जान्दैनौ, तर तिमीहरू ती जातिहरूलाई डाक्नेछौ। ती जातिहरूले तिमीहरूलाई जान्दैनन् तर तिनीहरू दौडेर तिमीहरूकहाँ आउनेछन्। यस्तो घट्ना हुने छ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले घटना चाहनुहुन्छ। इस्राएलका परमपवित्रले तिमीहरूलाई आदर गर्नुहुन्छ। यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ एकदमै ढिलो हुनु अघि नै। तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ उहाँ नजिक भएको बेला। दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ। तिनीहरूले नराम्रा कुराहरू सोच्न छाड्नु पर्छ। तिनीहरू परमप्रभुकहाँ फेरि एकपल्ट आउनु पर्छ। तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ। ती मानिसहरू परमप्रभुकहाँ आउनु पर्नेछ, किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ। परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका विचारहरू मेरा विचारहरू जस्ता छैनन्। तिमीहरूका चालहरू मेरा चालहरू जस्ता छैनन्। आकाश पृथ्वी भन्दा अल्गो छ। त्यस्तै प्रकारले, मेरा चालहरू पनि तिमीहरूका भन्दा फराकिला छन् अनि मेरा विचारहरू पनि तिमीहरूका विचारहरू भन्दा अग्ला छन्।” “पानी र हिँऊ आकाशबाट बर्षिन्छ अनि तिनीहरू फर्केर आकाश तिर जाँदैन्। जब सम्म तिनीहरूले धर्तीलाई छोएर त्यसलाई भिजाउँदैन्। तब धर्तीले बिऊमा टुसा उमार्छ। ती टुसाहरूले किसानकोलागि अन्न उब्जाउँछन् अनि मानिसहरूले ती अन्न रोटी बनाई खान्छन्। यस्तै प्रकारले मेरा वचनहरूले जब मेरो मुख छाड्दछ, अनि ती वचनहरूले केही नगरून्जेल सम्म फर्की आउँदैन्। मेरा वचनहरूले घटनाहरू घटाउने गर्छ जुन म चाहन्छु। मैले पठाएका ती वचनहरू आफ्नो काम गर्न सफल हुन्छन्।
यशैया 55:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु भन्नुहुन्छ, “हे तिर्खाएकाहरू हो, यहाँ आओ, यहाँ पानी छ! हे रकम-पैसा नभएकाहरू हो, अन्न किनेर खाओ! आएर सित्तैंमा दाखमद्य र दूध किन! जे कुराले सन्तोष दिँदैन, त्यसमा किन पैसा खर्च गर्छौ? किन तिमीहरू परिश्रम गरेर अझ भोकै बस्छौ? मेरो कुरामा कान थाप र मैले भनेझैँ गर र तिमीहरूले सबैभन्दा असल भोजनको स्वाद लिन पाउनेछौ। “हे मानिसहरू हो, मेरो कुरा सुन र मकहाँ आओ र सुन तिमीहरूले जीवन पाउनेछौ! म तिमीहरूसित एउटा अनन्त करार बाँध्नेछु। मैले दाऊदलाई प्रतिज्ञा गरेका आशिष्हरू तिमीहरूलाई दिनेछु। मैले त्यसलाई जातिहरूका बीच एउटा अगुवा र सेनापति बनाएँ र त्यसद्वारा आफ्नो शक्ति तिनीहरूलाई देखाएँ। अब तिमीहरूले विदेशी जातिहरूलाई बोलाउनेछौ, तिनीहरूले एक समय तिमीहरूलाई चिन्दैनथे, तर अब तिमीहरूसित मिल्न दगुरेर आउनेछन्! म परमप्रभु, तिमीहरूका परमेश्वर, इस्राएलका पवित्र परमेश्वरले यो गरेर नै छोड्नेछु, म तिमीहरूलाई मान र गौरव दिनेछु।” जब परमप्रभु नजिक हुनुहुन्छ, उहाँतिर फर्क र उहाँलाई बिन्ती गर। दुष्टहरूले आफ्नो बाटो छोडून् र आफ्नो विचार त्यागून्। तिनीहरू परमप्रभु हाम्रा परमेश्वरतिर फर्कून्, उहाँ करुणामय हुनुहुन्छ र प्रशस्त गरी क्षमा गर्नुहुन्छ। परमप्रभु भन्नुहुन्छ, “मेरा सोच-विचार तिमीहरूका जस्ता छैनन्, मेरा चाल तिमीहरूका भन्दा बेग्लै छन्। आकाश पृथ्वीभन्दा जति अग्लो छ, त्यत्ति नै तिमीहरूका भन्दा मेरा चाल र सोच-विचारहरू अग्ला छन्। “मेरो वचन पृथ्वीलाई भिजाउन आकाशबाट झर्ने वर्षा र हिउँजस्तो छ; त्यसले जमिन नभिजाई फर्कंदैन र त्यसले छर्नलाई बिउ र खानालाई भोजन दिन्छ। मेरो मुखबाट निस्कने वचन पनि त्यस्तै छ, मैले इच्छा गरेको काम त्यसले पूरा गरिछोड्नेछ, जुन काम गर्न म त्यसलाई पठाउनेछु, ती पूरा गरिछोड्नेछ।