यशैया 28:14-29
यशैया 28:14-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैकारण हे निन्दा गर्ने मानिस हो, जसले यरूशलेममा यस प्रजामाथि शासन गर्दछन्, परमप्रभुको वचन सुन। तिमीहरूले यो भनेर घमण्ड गर्दछौ, “हामीले मृत्युसित करार बाँधेका छौं, र पातालसित हामीले सम्झौता गरेका छौं। अत्यन्तै ठूलो विपत्ति हामीमाथि परे तापनि, त्यसले हामीलाई छुनेछैन। किनकि हामीले झूटको शरण लिएका छौं, र असत्यतालाई हाम्रो लुक्ने ठाउँ बनाएका छौं।” यसकारण सर्वोच्च परमप्रभु भन्नुहुन्छ, “हेर, मैले सियोनमा एउटा ढुङ्गो बसालेको छु, एउटा जाँचेको ढुङ्गो, दृढ़ जगको निम्ति एउटा बहुमूल्य कुने-ढुङ्गो। भरोसा गर्नेले कहिल्यै हरेस खानेछैन। म इन्साफलाई नाप्ने डोरी, र धार्मिकतालाई चाहिँ साहुल बनाउनेछु। असिनाले तिमीहरूको झूटको शरणस्थान बगाएर लैजानेछ, र पानीले तिमीहरूको लुक्ने ठाउँ डुबाइदिनेछ।” मृत्युसितको तिमीहरूको करार रद्द गरिनेछ, र पातालसित गरेको तिमीहरूको सम्झौता स्थिर रहनेछैन। जब विपत्तिको बाढ़ यताबाट जानेछ, तिमीहरूलाई त्यसले डुबाउनेछ। जहिले-जहिले त्यो उर्लेर आउँछ, त्यसले तिमीहरूलाई बगाएर लैजानेछ। बिहानैपिच्छे, दिनमा र रातमा त्यो उर्लेर आउनेछ।” यो सन्देशको बुझाइले घोर त्रास मात्र ल्याउनेछ। लम्पसार पर्नलाई ओछ्यान साह्रै छोटो हुन्छ, आफूलाई ढाक्न कम्बल साह्रै सानो हुन्छ। पराजीम पर्वतमा उठ्नुभएझैँ परमप्रभु उठ्नुहुनेछ, गिबोनको बेँसीमा उहाँ जाग्नुभएझैँ जाग्नुहुनेछ— आफ्नो काम, आफ्नो अनौठो काम गर्न र आफ्नो कार्य, अर्थात् आफ्नो अर्कै कार्य पूरा गर्न। अब आफ्नो ठट्टा रोक, नत्रता तिमीहरूका साङ्ला अझ गह्रौँ हुनेछन्। परमप्रभु, सर्वशक्तिमान् परमप्रभुले सारा देश नै नष्ट हुने कुरा मलाई भन्नुभएको छ। सुन र मेरो सोर सुन, ध्यान देऊ, र मैले भनेको कुरा सुन। जब कुनै किसानले केही रोप्नलाई जमिन जोत्छ, त के उसले जोतिरहन्छ? के त्यसले निरन्तर माटो खनेर डल्ला फोर्दै रहन्छ? जब उसले जमिन खनेर सम्म बनाउँछ तब के उसले सूँप र जीरा छर्दैन? के उसले गहूँ त्यसकै स्थानमा रोप्दैन? र जौ त्यसको नियत स्थानमा रोप्दैन? र कठिया खेतमा रोप्दैन? उसका परमेश्वरले उसलाई ठीक शिक्षा दिनुहुन्छ र ठीक-ठीक तरीका सिकाउनुहुन्छ। कुनै घनले सूँप छाँटिँदैन, न त गाड़ाको पाङ्ग्राले जीरामाथि दाइँ गरिन्छ। तर सूँप लहुरोले र जीराचाहिँ एउटा लहुरोले चुटिन्छ। रोटी बनाउने अन्न पिँधिनैपर्छ, कसैले त्यसलाई चुटिरहँदैन। अनि त्यसले गाड़ाको पाङ्ग्रा त्यसमाथि गुड़ाए तापनि घोड़ाले त्यो पिँध्दैन। यी सबै पनि सर्वशक्तिमान् परमप्रभुबाटै हुन आउँछ, जो सल्लाह दिनमा उदेकका र बुद्धिमा सर्वोत्तम हुनुहुन्छ।
यशैया 28:14-29 पवित्र बाइबल (NERV)
तिमी अगुवाहरू जो यरूशलेममा छौ, तिमीहरूले परमप्रभुको सन्देश सुन्नु पर्छ। तिमीहरूले भन्छौ, “हामीले मृत्युसँग सम्झौता गरेका छौं। हाम्रो पातालसँग सम्झौता छ। यसैले हामी दण्डित हुने छैनौं। दण्डले हामीलाई घात नगरी जानेछ। हामी हाम्रो चलाकी अनि झूटो पछाडी लुक्नेछौं।” ती कुराहरूले गर्दा परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म सियोनको भूमिमा एउटा मूलढुङ्गा राखिदिनेछु। यो एकदमै बहुमूल्य ढुङ्गा हुनेछ। प्रत्येक कुरा यस महत्वपूर्ण ढुङ्गामाथि बनाइनेछ। जसले त्यो ढुङ्गामा भरोसा राख्दछ ऊ निराश हुनेछैन। “मानिसहरूले पर्खाल सिधा देखाउनलाई वजन सहितको साऊल प्रयोग गरे। त्यस्तै प्रकारले के चाँहि ठीक हो देखाउनलाई म इन्साफ र सद्भावना चलाउनेछु। “दुष्ट मानिसहरू तिमीहरू आफ्नो चलाकी अनि झूटोको पछाडी लुक्न खोजिरहेछौ। तर तिमीहरू दण्डित हुनेछौ। तिमीहरू लुक्ने ठाउँहरूमा तूफान वा बाढी जस्तो नष्ट गर्न आइरहेछ। मृत्युसँग भएको तिम्रो सम्झौता मेटिएर जानेछ। पातालसँग भएको तिम्रो सम्झौताले तिमीलाई सहयोग गर्नेछैन। “कोही एकजना मानिस आएर तिमीहरूलाई दण्ड दिनेछ। उसले तिमीहरूलाई फोहर-मैला जस्तै कुल्चेर जानेछ। त्यो मानिस आएर तिमीहरूलाई लगेर जानेछ। तिमीहरूलाई भयानक दण्ड हुनेछ। तिमीहरूकहाँ दण्ड बिहानै आउनेछ अनि राती सम्म रहिरनेछ। “त्यसपछि मात्र तिमीहरूले यो कथा बुझ्नेछौ एक जना मानिसले एउटा ओछ्यानमा सुत्ने प्रयास गर्यो जुन उसकोलागि एकदमै छोटो थियो। अनि ऊसँग एउटा कम्बल त थियो तर त्यसले पुरै ढाकिंदै थियो। ओछ्यान र कम्बल बेकामको भयो, अनि त्यस्तै प्रकारले तिमीहरूका सम्झौताहरू पनि बेकामको भयो।” परमप्रभु पराजीम पर्वतमा जस्तै युद्ध गर्नु हुनेछ। उहाँ गिबोनको बेंसीमा भए जस्तै क्रोधित हुनु हुनेछ। तब परमप्रभुले ती कुराहरू गर्नु हुने नै छ, परमप्रभुले केही अद्भुत कामहरू गर्नुहुनेछ। तर उहाँले आफ्नो काम सिध्याउनु नै हुनेछ। उहाँका कार्यहरू अनौंठो कार्यहरू हुन्। अब तिमीहरूले ती चीजहरूको विरूद्धमा लडाइँ गर्नु नै हुँदैन्। यदि गर्यौ भने, डोरीहरूले तिमीहरूलाई वरिपरि कसेर बाँध्नेछ। मैले सुनेका शब्दहरू बद्लिने छैनन्। ती शब्दहरू सेनाहरूका परमप्रभुबाट आएका हुन् जो सारा पृथ्वीका शासक हुनुहुन्छ। अनि ती कुराहरू हुने नै छन्। मैले तिमीहरूलाई भनिरहेका सन्देश अत्यन्त ध्यान दिएर सुन्। के किसानले सारा समय खेत जोतिरहन्छ? होइन! के पूरै समय त्यसले माटो फुटाउने काम गर्छ? होइन! किसान पहिला खेत तयार गर्दछ र बिऊ छर्दछ। किसानले बिऊहरू धेरै प्रकारले रोप्ने गर्दछ। किसान मसलाका बिऊहरू छर्दछ। जीराका बिऊहरू माटोमा छर्दछ। गहुँ लहर पार्दै रोप्दछ। किसान खास जग्गामा जौं रोप्दछ, अनि गहुँका बिऊ खेतमा छर्ने गर्दछ। हाम्रा परमेश्वरले उसलाई शिक्षा दिनु यो प्रयोग गर्नुहुनेछ। किनभने परमेश्वरले उसलाई दिशा-निर्देश दिनुहुन्छ अनि सही बाटो देखाउनु हुन्छ। के किसानले रोपेका बिऊहरू फुटाउनलाई काटाँहरू प्रयोग गर्छ? अँहँ! एक किसानले जीराको बिऊहरू गोड्नलाई चारचक्के गोरूगाडी चलाउँछ? होइन! किसान ती अन्नहरूको एउटा फुटाउनलाई एक सानो लौरो चलाउनेछ। जब एकजना स्त्रीले रोटी पकाउँछे, उसले पीठोको स-साना डल्लाहरू बनाउँछे अनि आफ्नो हातले थिच्दछे। अन्न लगातार दिइदैन, किनभने गाडाको चक्काले तिनीहरूलाई नष्ट पार्छ अनि दाउने कार्य शेष हुन्छ। यस्तो पाठ सेनाहरूका परमप्रभुबाट आउँदछ। परमप्रभुले अनौठो सल्लाह दिनुहुन्छ। परमेश्वर साँच्ची नै ज्ञानी हुनुहुन्छ।
यशैया 28:14-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यरूशलेममा यी मानिसहरूलाई शासन गर्ने अहङ्कारी मानिसहरू हो, परमप्रभुले के भन्दै हुनुहुन्छ, राम्ररी सुन। तिमीहरू धाकसित भन्दछौ कि हामीले मृत्युसित सन्धि गरेका छौं र पातालसित मतो मिलाएका छौं। तिमीहरूलाई पक्का छ कि विपत्ति आउँदा बाँच्नेछौ किनभने आफ्नो सुरक्षाको निम्ति तिमीहरू झूट र छलमा भरोसा गर्दछौ। अब सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ, “म सियोनमा एउटा दह्रिलो र बलियो जग बसाल्दै छु। त्यसका एक कुनामा एउटा खँदिलो ढुङ्गा राख्दै छु। त्यस ढुङ्गामा यी शब्द लेखिएका छन्, ‘दह्रिलो विश्वास गर्ने अकमकिनेछैन।’ म इन्साफलाई नाप्ने डोरी र धार्मिकतालाई चाहिँ साहुल बनाउनेछु।” तिमीहरूले भरोसा गरेका सबै झूटहरू असिनासित आएको आँधीले बगाइलानेछ र तिमीहरूको सुरक्षा बाढले नष्ट पार्नेछ। तिमीहरूले मृत्युसित गरेको सन्धि मेटिनेछ र पातालसित मिलाएको मतो खारेज गरिनेछ। विपत्ति आउँदा तिमीहरू हार खानेछौ। घरीघरी हरेक बिहान विपत्ति तिमीहरूमाथि आउनेछ। रात-दिन तिमीहरूले विपत्ति झेल्नुपर्नेछ। परमेश्वरबाट आएको हरेक नयाँ सन्देश र नयाँ आतङ्क लिएर आउनेछ! तिमीहरू यो उखानको मानिसजस्तो हुनेछौ, जसले लम्पसार पर्दा छोटो हुने एउटा पलङ्गमा, ओढ्दा सानो जिउ ढाक्ने कम्बल लिएर सुत्ने चेष्टा गर्छ। गिबोनको बेसीमा र पराजीम पर्वतमाथि लडाइँ गरेझैँ परमप्रभुले आफ्नो काम उत्तिकै अनौठो भए पनि गर्नुहुनेछ। उहाँले आफ्नो रहस्यपूर्ण काम पूरा गरिछोड्नुहुनेछ। मैले दिएको चेतावनीको ठट्टा नगर! ठट्टा गर्यौ भने तिमीहरूलाई उम्कन अझ गाह्रो पर्नेछ। सारा देश ध्वस्त गर्ने प्रभु सर्वशक्तिमान् परमप्रभुको निर्णयबारे मैले सुनेको छु। मेरो कुरामा कान थाप र मैले भनेको कुरामा ध्यान देओ। कुनै किसानले एकोहोरो आफ्नो खेत जोतिरहँदैन। सधैँ बिउ छर्न तयार भइरहँदैन। एकपल्ट जमिन तयार पारेपछि त्यसले सुँप र जीराको बिउ छर्दछ। लहर-लहर गरी गहुँ र जौ रोप्छ र खेतका किनारमा अरू अन्न लगाउँछ। त्यसले आफ्नो काम गर्न जान्दछ किनभने परमेश्वरले त्यसलाई काम गर्न सिकाउनुभएको हो। त्यसले सुँप र जीरालाई कुट्न कहिल्यै गह्रुङ्गो मुङ्ग्रो चलाउँदैन तर त्यसले ठीक आकारको हल्का लौराले कुट्छ। गहुँ एकोहोरो दाइँ गरेर गहुँ नष्ट गर्दैन तर दाना नफुट्ने गरी त्यसमाथि कसरी गाडालाई हल्कासित चलाएर दाइँ गर्नुपर्छ भनी जान्दछ। त्यसका सारा बुद्धि सर्वशक्तिमान् परमप्रभुबाट आउँदछ। उहाँको योजना उदेकको र उहाँको बुद्धि सर्वोच्च छ!