यरूशलेममा यी मानिसहरूलाई शासन गर्ने अहङ्कारी मानिसहरू हो, परमप्रभुले के भन्दै हुनुहुन्छ, राम्ररी सुन। तिमीहरू धाकसित भन्दछौ कि हामीले मृत्युसित सन्धि गरेका छौं र पातालसित मतो मिलाएका छौं। तिमीहरूलाई पक्का छ कि विपत्ति आउँदा बाँच्नेछौ किनभने आफ्नो सुरक्षाको निम्ति तिमीहरू झूट र छलमा भरोसा गर्दछौ। अब सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ, “म सियोनमा एउटा दह्रिलो र बलियो जग बसाल्दै छु। त्यसका एक कुनामा एउटा खँदिलो ढुङ्गा राख्दै छु। त्यस ढुङ्गामा यी शब्द लेखिएका छन्, ‘दह्रिलो विश्वास गर्ने अकमकिनेछैन।’ म इन्साफलाई नाप्ने डोरी र धार्मिकतालाई चाहिँ साहुल बनाउनेछु।” तिमीहरूले भरोसा गरेका सबै झूटहरू असिनासित आएको आँधीले बगाइलानेछ र तिमीहरूको सुरक्षा बाढले नष्ट पार्नेछ। तिमीहरूले मृत्युसित गरेको सन्धि मेटिनेछ र पातालसित मिलाएको मतो खारेज गरिनेछ। विपत्ति आउँदा तिमीहरू हार खानेछौ। घरीघरी हरेक बिहान विपत्ति तिमीहरूमाथि आउनेछ। रात-दिन तिमीहरूले विपत्ति झेल्नुपर्नेछ। परमेश्वरबाट आएको हरेक नयाँ सन्देश र नयाँ आतङ्क लिएर आउनेछ! तिमीहरू यो उखानको मानिसजस्तो हुनेछौ, जसले लम्पसार पर्दा छोटो हुने एउटा पलङ्गमा, ओढ्दा सानो जिउ ढाक्ने कम्बल लिएर सुत्ने चेष्टा गर्छ। गिबोनको बेसीमा र पराजीम पर्वतमाथि लडाइँ गरेझैँ परमप्रभुले आफ्नो काम उत्तिकै अनौठो भए पनि गर्नुहुनेछ। उहाँले आफ्नो रहस्यपूर्ण काम पूरा गरिछोड्नुहुनेछ। मैले दिएको चेतावनीको ठट्टा नगर! ठट्टा गर्यौ भने तिमीहरूलाई उम्कन अझ गाह्रो पर्नेछ। सारा देश ध्वस्त गर्ने प्रभु सर्वशक्तिमान् परमप्रभुको निर्णयबारे मैले सुनेको छु। मेरो कुरामा कान थाप र मैले भनेको कुरामा ध्यान देओ। कुनै किसानले एकोहोरो आफ्नो खेत जोतिरहँदैन। सधैँ बिउ छर्न तयार भइरहँदैन। एकपल्ट जमिन तयार पारेपछि त्यसले सुँप र जीराको बिउ छर्दछ। लहर-लहर गरी गहुँ र जौ रोप्छ र खेतका किनारमा अरू अन्न लगाउँछ। त्यसले आफ्नो काम गर्न जान्दछ किनभने परमेश्वरले त्यसलाई काम गर्न सिकाउनुभएको हो। त्यसले सुँप र जीरालाई कुट्न कहिल्यै गह्रुङ्गो मुङ्ग्रो चलाउँदैन तर त्यसले ठीक आकारको हल्का लौराले कुट्छ। गहुँ एकोहोरो दाइँ गरेर गहुँ नष्ट गर्दैन तर दाना नफुट्ने गरी त्यसमाथि कसरी गाडालाई हल्कासित चलाएर दाइँ गर्नुपर्छ भनी जान्दछ। त्यसका सारा बुद्धि सर्वशक्तिमान् परमप्रभुबाट आउँदछ। उहाँको योजना उदेकको र उहाँको बुद्धि सर्वोच्च छ!
यशैया 28 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 28:14-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू