होशे 4:1-10
होशे 4:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएलीहरू हो, परमप्रभुको वचन सुन, किनकि यस देशका बासिन्दाहरूमाथि परमप्रभुको आरोप छ: “यस देशमा विश्वस्तता छैन, प्रेम छैन र परमेश्वरको मान्यता पनि छैन। यहाँ सराप दिनु, झूट बोल्नु, हत्या, चोरी र व्यभिचार गर्नुबाहेक अरू केही छैन। तिनीहरू सबै सीमा नाघेर हत्यामाथि हत्या गर्छन्। यसैकारण यस देशले विलाप गर्छ, र यसमा बस्ने सबै क्षीण हुन्छन्, र वनका जन्तु, आकाशका पक्षी र समुद्रका माछाहरूसमेत पनि मरिरहेछन्। “तर कसैले आरोप नल्याओस्, कसैले कसैलाई दोष नलगाओस्, किनकि तिमीहरूका मानिसहरू पूजाहारीको विरुद्धमा दोष लगाउनेहरूजस्ता छन्। तिमीहरू रातदिन ठेस खान्छौ, र अगमवक्ताहरू पनि तिमीहरूसितै ठेस खान्छन्। यसरी तिमीहरूकी आमालाई म नाश गर्नेछु— मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्। “तिमीहरूले ज्ञानलाई इन्कार गरेका हुनाले, म पनि तिमीहरूलाई मेरा पूजाहारी हुनदेखि इन्कार गर्नेछु। तिमीहरूले आफ्ना परमेश्वरको व्यवस्थालाई बेवास्ता गरेका हुनाले, म पनि तिमीहरूका छोराछोरीको बेवास्ता गर्नेछु। जति-जति पूजाहारीको संख्या बढ्दैगयो, त्यति-त्यति तिनीहरूले मेरो विरुद्धमा पाप गर्दैगए। तिनीहरूले आफ्नो गौरवलाई नीच कुरासँग साटे। तिनीहरू मेरा प्रजाका पापद्वारा पोसिन्छन् र तिनका दुष्ट्याइँ मन पराउँछन्। जस्ता प्रजा त्यस्तै पूजाहारीहरू हुनेछन्। म दुवैलाई तिनीहरूका चालको निम्ति सजाय दिनेछु, र तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूलाई दिनेछु। “तिनीहरूले खान त खानेछन् तर अघाउनेछैनन्। तिनीहरूले वेश्यावृत्ति गर्नेछन्, तर तिनीहरूको संख्या बढ्नेछैन, किनभने वेश्यावृत्तिमा मन लगाउनलाई तिनीहरूले परमप्रभुलाई छोड़ेका छन्।
होशे 4:1-10 पवित्र बाइबल (NERV)
हे इस्राएलका मानिसहरू! परमप्रभुको सन्देश सुन। परमप्रभुले यस देशमा बस्ने मानिसहरूलाई आफ्नो तर्क राख्नुहुन्छ, “यस देशमा मानिसहरूले साँच्चो अर्थमा परमेश्वरलाई चिन्दैनन्। परमेश्वर प्रति सत्य र निष्ठावान पटक्कै छैनन्। मानिसहरू झूटो कसम खान्छन्, असत्य बोल्छन्, हत्या र चोरी गर्छन्। तिनीहरू व्यभिचारी छन् र जहीं तहीं सन्तानहरू जन्माई हिँड्छन्। हत्या माथि हत्या गरि रहन्छन्। देश मृत मानिसको लागि विलौना गर्ने मानिस जस्तो भएकोछ यो देश अनि यसका सबै मानिसहरू कमजोर भएका छन्। वनका जनावरहरू, आकाशका चराहरू अनि समुद्रका माछाहरू सम्म मरिरहेका छन्। कसैले अरू मानिसलाई दोष दिनु अथवा अर्काको दोष देखाउनु पर्दैन। हे पूजाहारी! मेरो तिमीसित असहमति छ। तिमीहरूको पतन दिउँसो हुनेछ। अनि राति, तिमीहरूसित अगमवक्ताहरूको पतन हुन्छ। त्यसपछि म तिमीहरूकी आमालाई नष्ट गर्नेछु। “मेरा मानिसहरू ज्ञानको कमीले नष्ट भए, तर तिमीहरूले सिक्ने इच्छा पनि राखेनौ। यसर्थ म तिमीहरूलाई मेरा पूजाहारी बन्न दिँदिन। तिमीहरूले तिमीहरूका परमेश्वरको व्यवस्था नै भूल्यौ। यसर्थ म तिम्रा कुलहरूलाई भूलिदिनेछु। तिनीहरू अहंकारी भए। मेरो विरूद्धमा तिनीहरूले पाप माथि पाप गर्दै नै रहे। यसैले म तिनीहरूको महिमालाई लाजमा परिवर्तन गरिदिनेछु। “पूजाहारीहरूले मानिसहरूले पाप गरे पछि चढाएका बलिहरू खान चाहन्छन्। यसैकारण तिनीहरू मानिसहरूले धेरै-धेरै पाप गरून् भन्ने चाहन्छन्। यसैले पूजाहारीहरू र साधारण मानिसहरूमा केही भिन्नता छैन। म तिनीहरूलाई तिनीहरूको कर्मका निम्ति सजाय दिनेछु। तिनीहरूले जुन नराम्रो काम गरेका छन् त्यसको बदला चुकाएर छोडनेछु। तिनीहरूले खान त खान्छन तर त्यसमा तिनीहरूलाई सन्तुष्टि हुँदैनन्। तिनीहरू संभोग त गर्छन् तर तिनीहरूको संतान हुँदैन। किनकि तिनीहरूले यहोवालाई त्यागे र वेश्याहरू जस्तै भए।
होशे 4:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यस देशका बासिन्दाहरूलाई परमप्रभुले दोषी ठहर्याउनुहुन्छ। ए इस्राएल, उहाँले के भन्दै हुनुहुन्छ, सो सुन्, “यस देशमा विश्वास र प्रेम छैन अनि यहाँका बासिन्दाहरूले मलाई परमेश्वर भनी स्वीकार्दैनन्। तिनीहरू प्रतिज्ञा गर्छन् र तोड्छन्, तिनीहरू झूट बोल्छन्, हत्या, चोरी र व्यभिचार गर्छन्। अपराध बढ्छ, एकपछि अर्को गर्दै हत्या हुन्छ। यसकारण यो देश सुकेर जानेछ र यसमा बास गर्ने हरेक प्राणी मर्नेछ। सबै पशु-पंक्षीहरू र माछाहरूसमेत नष्ट हुनेछन्।” परमप्रभु भन्नुहुन्छ, “कसैले मानिसहरूलाई दोष नलाओस् वा नहप्काओस्। मेरो आरोप तिमी पूजाहारीहरूमाथि छ। रातदिन तिमीहरू भुल गर्छौ। अगमवक्ताहरूको हाल पनि त्यस्तै नराम्रो छ। म तिमीहरूकी आमा इस्राएललाई नाश पार्नेछु। मेरा प्रजाले मलाई नजानेका हुनाले तिनीहरूको विनाश निश्चय हुनेछ। तिमी पूजाहारीहरूले मलाई मान्न अस्वीकार गर्यौ र मेरो शिक्षा इन्कार गर्यौ। यसकारण म तिमीहरूलाई इन्कार गर्छु र तिमीहरूका सन्तानहरूलाई मेरा पूजाहारीहरू हुन अस्वीकार गर्छु। “तिमी पूजाहारीहरू जति सङ्ख्यामा बढ्दै जान्छौ, उति ज्यादा तिमीहरू मेरा विरुद्धमा पाप गर्छौ। यसकारण म तिमीहरूका मानलाई अपमानमा परिवर्तन गरिदिनेछु। मेरा प्रजाका पापद्वारा तिमीहरू धनी हुँदै जाँदछौ र तिनीहरूले झन् बढ्ता पाप गरेका तिमीहरू चाहन्छौ। तिमीहरूले पनि मानिसहरूले जस्तै दण्ड भोग्नेछौ। म तिमीहरूलाई दण्ड दिनेछु र तिमीहरू आफैंले गरेको खराबीको मोल चुकाउनेछौ। तिमीहरूले आफ्नो भागमा पर्ने बलिदानको हिस्सा खानेछौ तर तिमीहरूको भोक मेटिनेछैन। तिमीहरू सन्तान दिने देवी-देवताहरूलाई पुज्नेछौ तर सन्तान पाउनेछैनौ किनभने तिमीहरू मबाट तर्केर पराई देवी-देवतापछि लागेका छौ।”