YouVersion लोगो
खोज आइकन

होशे 4:1-10

होशे 4:1-10 NNRV

इस्राएलीहरू हो, परमप्रभुको वचन सुन, किनकि यस देशका बासिन्‍दाहरूमाथि परमप्रभुको आरोप छ: “यस देशमा विश्‍वस्‍तता छैन, प्रेम छैन र परमेश्‍वरको मान्‍यता पनि छैन। यहाँ सराप दिनु, झूट बोल्‍नु, हत्‍या, चोरी र व्‍यभिचार गर्नुबाहेक अरू केही छैन। तिनीहरू सबै सीमा नाघेर हत्‍यामाथि हत्‍या गर्छन्‌। यसैकारण यस देशले विलाप गर्छ, र यसमा बस्‍ने सबै क्षीण हुन्‍छन्, र वनका जन्‍तु, आकाशका पक्षी र समुद्रका माछाहरूसमेत पनि मरिरहेछन्‌। “तर कसैले आरोप नल्‍याओस्, कसैले कसैलाई दोष नलगाओस्, किनकि तिमीहरूका मानिसहरू पूजाहारीको विरुद्धमा दोष लगाउनेहरूजस्‍ता छन्‌। तिमीहरू रातदिन ठेस खान्‍छौ, र अगमवक्ताहरू पनि तिमीहरूसितै ठेस खान्‍छन्‌। यसरी तिमीहरूकी आमालाई म नाश गर्नेछु— मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्‍ट भएका छन्‌। “तिमीहरूले ज्ञानलाई इन्‍कार गरेका हुनाले, म पनि तिमीहरूलाई मेरा पूजाहारी हुनदेखि इन्‍कार गर्नेछु। तिमीहरूले आफ्‍ना परमेश्‍वरको व्‍यवस्‍थालाई बेवास्‍ता गरेका हुनाले, म पनि तिमीहरूका छोराछोरीको बेवास्‍ता गर्नेछु। जति-जति पूजाहारीको संख्‍या बढ्‌दैगयो, त्‍यति-त्‍यति तिनीहरूले मेरो विरुद्धमा पाप गर्दैगए। तिनीहरूले आफ्‍नो गौरवलाई नीच कुरासँग साटे। तिनीहरू मेरा प्रजाका पापद्वारा पोसिन्‍छन्‌ र तिनका दुष्‍ट्याइँ मन पराउँछन्‌। जस्‍ता प्रजा त्‍यस्‍तै पूजाहारीहरू हुनेछन्‌। म दुवैलाई तिनीहरूका चालको निम्‍ति सजाय दिनेछु, र तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूलाई दिनेछु। “तिनीहरूले खान त खानेछन्‌ तर अघाउनेछैनन्‌। तिनीहरूले वेश्‍यावृत्ति गर्नेछन्, तर तिनीहरूको संख्‍या बढ्‌नेछैन, किनभने वेश्‍यावृत्तिमा मन लगाउनलाई तिनीहरूले परमप्रभुलाई छोड़ेका छन्‌।