हिब्रू 4:8-11
हिब्रू 4:8-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए त परमेश्वरले पछिबाट अर्को दिनको विषयमा भन्नुहुनेथिएन। यसकारण परमेश्वरका जनहरूका निम्ति शबाथको विश्राम बाँकी नै छ। किनकि परमेश्वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्नो परिश्रमदेखि विश्राम गर्छ, जसरी परमेश्वरले आफ्नो परिश्रमदेखि विश्राम लिनुभयो। यसकारण हामी त्यस विश्राममा प्रवेश गर्नलाई प्रयत्न गरौं, र त्यस्तै किसिमको अनाज्ञाकारिताद्वारा कोही पनि पतित नहोस्।
हिब्रू 4:8-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्वरले पछिबाट अर्को दिनको विषयमा भन्नुहुने थिएन। यसकारण परमेश्वरका जनहरूका निम्ति शब्बाथको विश्राम बाँकी नै छ; किनकि जसले परमेश्वरको विश्राममा प्रवेश गर्नेछन्, परमेश्वरले आफ्ना कामबाट विश्राम गरेझैँ तिनले पनि आफ्ना कामबाट विश्राम लिनेछन्। यसकारण इस्राएलीहरूका अनाज्ञाकारिताको नमुना अपनाएर कोही पनि नष्ट हुन नपरोस् भनेर हामी त्यस विश्राममा प्रवेश गर्न भरमग्दूर प्रयत्न गरौँ।
हिब्रू 4:8-11 पवित्र बाइबल (NERV)
हामी जान्दर्छौ यहोशूले पनि मानिसहरूलाई विश्रामतिर डोर्याएनन्। हामी यो बुझ्छौं किनकि परमेश्वरले पछिबाट अर्को विश्रामको दिन बताउनुभयो। यसले देखाउँछ कि परमेश्वरका मानिसहरूलाई सातौं दिनको विश्राम अझै आउँदैछ। आफ्नो काम सकेर परमेश्वरले विश्राम लिनुभयो। यसकारण जसले प्रवेष गर्छ र परमेश्वरको विश्राम पाउँछ उसले परमेश्वरले गरिसकनु भए जस्तै आफ्नो काम गरिसकेको हुन्छ। समस्त हामी पनि परमेश्वरको विश्राममा प्रवेश गर्ने सक्दो कोशिश गरौं हामीले सक्दो कोशिश गर्नुपर्छ ता कि परमेश्वरको आज्ञा नमान्नेहरूको नमूना बनेर हामी नष्ट नहौं।
हिब्रू 4:8-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहोशूले इस्राएलीहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको विश्रामको ठाउँमा पुर्याएका भए उहाँले पछिबाट अर्को दिनको कुरै गर्नुहुनेथिएन। तर परमेश्वरले सातौं दिनमा विश्राम लिनुभएझैँ परमेश्वरका मानिसहरूका निम्ति विश्राम राखिएको छ। परमेश्वरले काम सक्नुभएर विश्राम लिनुभएझैँ विश्रामको ठाउँमा पस्नेहरूले पनि कामबाट विश्राम पाउनेछन्। त्यसो हुँदा त्यस विश्रामको ठाउँमा पस्न सक्दो कोसिस गरौं र हामी कोही पनि अविश्वासको कारणले अट्टेरी भएका मानिसहरूजस्ता छोडिनेछैनौं।