उत्पत्ति 9:8-15
उत्पत्ति 9:8-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमेश्वरले नोआ र तिनका छोराहरूलाई यसो भन्नुभयो, “तिमीहरू र तिमीहरूका भावी सन्तानसित, तथा जहाजबाट तिमीहरूसित निस्केर आएका सबै जीवित प्राणीहरू— अर्थात्, पक्षीहरू, पालिने पशुहरू, वन-पशुहरू— तिमीहरूसित भएका पृथ्वीका सबै जीव-जन्तुहरूसित म मेरो करार स्थापित गर्दछु। म तिमीहरूसित मेरो यो करार स्थापित गर्दछु, कि सबै प्राणी फेरि कहिल्यै प्रलयको पानीले नष्ट हुनेछैनन्, अनि पृथ्वीलाई सर्वनाश गर्न फेरि कहिल्यै जलप्रलय हुनेछैन।” अनि परमेश्वरले भन्नुभयो, “जुन करार मेरो र तिमीहरू र तिमीहरूका साथमा भएको हरेक जीवित प्राणीको बीचमा सबै पुस्तौँसम्मको निम्ति म ठहराउँदैछु, त्यसको चिन्ह यही हुन्छ। म बादलमा मेरो इन्द्रेनी राख्तछु, र मेरो र पृथ्वीको बीचमा त्यो एउटा करारको चिन्ह हुनेछ। जहिले-जहिले म पृथ्वीमा बादल फिँजाउँछु र बादलमा इन्द्रेनी देखा पर्छ, मेरो र तिमीहरू अनि हरेक किसिमको जीवित प्राणीको बीचमा रहेको मेरो करार म सम्झनेछु। पानीले फेरि कहिल्यै सबै प्राणीलाई नाश गर्ने प्रलय ल्याउनेछैन।
उत्पत्ति 9:8-15 पवित्र बाइबल (NERV)
तब परमेश्वरले नूह र उनका छोराहरूलाई भन्नुभयो, “म तिमी, तिम्रा भावी सन्तान अनि तिमीसित भएको प्रत्येक सजीव वस्तुसित विशेष सम्झौता तयार गर्दै छु। म मेरो करार सबै चराहरू अनि पाल्तू पशुहरू अनि पृथ्वीमा भएका सबै जनावरहरूसित जो तिमीहरूसित जहाजभित्र, पृथ्वीको सबै जीवित प्राणीहरूसित गर्नेछु। तिमीहरूसित म यो करार गर्दैछु अब उसो कहिल्यै पनि जल प्रलयद्वारा प्राणीहरू नष्ट हुने छैनन् अनि अब फेरि पृथ्वीलाई नष्ट पार्न जल-प्रलय कहिल्यै हुनेछैन।” अनि परमेश्वरले भन्नुभयो, “यो चाँहि मैले तिमीहरू र तिमीहरूसित भएका प्राणीहरूसित गरेको करारको चिन्ह हो। यो करार पृथ्वीमा तिमीहरूका सन्तान जति पनि जन्मन्छन् सबैसित सधैँ रही रहनेछ। तिमीहरूसित मैले स्थापित गरेको करारको चिन्ह स्वरुप बादलमा इन्द्रेणी बनिए त्यो इन्द्रेणी म र पृथ्वीको करारको प्रमाण हो। जब म पृथ्वीमाथि बादल ल्याउँछु बादलमा इन्द्रेणी देखा पर्छ। म मेरो करार सम्झनेछु ताकि कहिले पनि फेरि बाढीले पृथ्वीका सजीव प्राणीहरूलाई नष्ट गर्ने छैन।
उत्पत्ति 9:8-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले नोआ र उनका छोराहरूलाई भन्नुभयो, “अब तिमी र तिम्रा सन्तानसित र सबै जिउँदा प्राणीहरूसित सम्पूर्ण पंक्षी र पशुहरूसित र नाउबाट तिमीसँग निस्किआउने हरथोकसित यो करार बाँध्नेछु। यो शब्दमा म तिमीहरूसित करार बाँध्नेछु ‘फेरि कहिल्यै पनि सबै जिउँदा प्राणीहरू जलप्रलयको भलले नाश हुनेछैनन्, फेरि कहिल्यै पनि पृथ्वी जलप्रलयबाट नाश गरिनेछैन’। मैले तिमीहरूसित र सम्पूर्ण जिउँदा प्राणीहरूसित सदाकालका लागि गरेको करारको चिनोको रूपमा म मेरो धनु बादलमा राख्नेछु, जो मैले संसारसँग गरेका करारको चिनो हुनेछ। जहिले-जहिले म आकाश बादलले ढाक्दछु र त्यहाँ इन्द्रेणी देखा पर्दछ, तब म प्रलयका भलले फेरि कहिल्यै पनि सबै जिउँदा प्राणीहरूलाई नाश गर्नेछैनँ भनी तिमीहरू र सम्पूर्ण पशुहरूसित गरेको आफ्नो करारलाई याद गर्नेछु।