उत्पत्ति 8:13-22
उत्पत्ति 8:13-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नोआको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिन पृथ्वीबाट पानी सुक्यो, र नोआले जहाजको छत उघारेर हेरे, जमिन सुक्खा थियो। अनि दोस्रो महिनाको सत्ताईसौँ दिनमा जमिन पूर्ण रूपले सुक्यो। तब परमेश्वरले नोआलाई भन्नुभयो, “तँ, तेरी पत्नी, तेरा छोराहरू र तेरा बुहारीहरूसमेत जहाजबाट निस्की। तेरो साथमा भएको हरेक जीवित प्राणी, पशु र पक्षी दुवै, र घस्रने जन्तुलाई बाहिर निकाल्, र तिनीहरू पृथ्वीमा प्रशस्त गरी बढून्, र तिनीहरू पृथ्वीमा फैलिँदै र संख्यामा वृद्धि हुँदैजाऊन्।” तब नोआ, तिनका छोराहरू, तिनकी पत्नी तथा बुहारीहरू जहाजबाट निस्केर आए। र सबै पशु, घस्रने जन्तु, पक्षी र पृथ्वीमा हिँड्डुल गर्ने सबै जीवजन्तुहरू पनि तिनीहरूका जात-जातअनुसार जहाजबाट निस्केर आए। अनि नोआले परमप्रभुको निम्ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पक्षी मध्येबाट लिई होमबलि चढ़ाए। त्यसको मीठो बास्ना लिनुभएपछि परमप्रभुले आफ्नो मनमा भन्नुभयो, अब म फेरि कहिल्यै मानिसको खातिर पृथ्वीलाई सराप दिनेछैनँ, यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन्। अहिले मैले गरेजस्तै सबै प्राणीलाई फेरि यसरी सर्वनाश म गर्नेछैनँ। “पृथ्वी रहुञ्जेल बीउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, र दिन र रातको अन्त हुनेछैन।”
उत्पत्ति 8:13-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
नोआको जीवनको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिनसम्ममा पृथ्वीबाट पानी सुकिसकेको थियो। तब नोआले जहाजको छाना उघारे, र पृथ्वीको सतह ओबानो भएको देखे। दोस्रो महिनाको सत्ताइसौँ दिनसम्ममा पृथ्वी पूरै ओबानो भएको थियो। तब परमेश्वरले नोआलाई भन्नुभयो, “तँ र तेरी पत्नी, र तेरा छोराहरू र तिनीहरूका पत्नीहरूलाई लिएर जहाजबाट निस्की। तँसित भएका हरेक प्रकारका जीवित प्राणी, पक्षी, जनावर र जमिनमा चलहल गर्ने सबै प्राणीहरूलाई बाहिर निकाल् ताकि तिनीहरू पृथ्वीमा फैलिँदै फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जाऊन्।” यसकारण नोआ, तिनको साथमा छोराहरू, तिनकी पत्नी र बुहारीहरूसित बाहिर निस्केर आए। जमिनमा घस्रने सबै जनावर, सबै प्राणीहरू र सबै उड्ने पक्षी—पृथ्वीमा हलचल गर्ने सबै जीवहरू तिनीहरूका जोडीअनुसार एकपछि अर्को गर्दै जहाजबाट बाहिर निस्के। तब नोआले याहवेहको निम्ति एउटा वेदी बनाए, र शुद्ध पशुहरूबाट र शुद्ध पक्षीहरूबाट केही लिएर त्यस वेदीमाथि होमबलि चढाए। याहवेहले त्यो मिठो बास्ना लिनुभयो; अनि आफ्नो मनमनै भन्नुभयो: “बाल्यवस्थादेखि नै मानिसको हृदय दुष्टतातिर ढल्केको भए तापनि मानिसको कारणले गर्दा म धर्तीलाई अब फेरि कहिल्यै श्राप दिनेछैनँ। अनि जसरी अहिले मैले गरेको छु, अब फेरि सबै जीवित प्राणीलाई म कहिल्यै नाश गर्नेछैनँ। “पृथ्वी रहेसम्म, बिउ छर्ने र कटनीको समय, जाडो र गर्मी, ग्रीष्म ऋतु र शिशिर ऋतु, दिन र रातको अन्त्य कहिल्यै हुनेछैन।”
उत्पत्ति 8:13-22 पवित्र बाइबल (NERV)
नूहको उमेरको 601 बर्ष भएको थियो पहिलो महीनाको पहिलो दिन पृथ्वीको सतहमाथि पानी पूर्णरुपले सुक्यो। यसर्थ नूहले जहाजको ढोका खोलेर हेर्दा देख्यो पृथ्वीको सतहमा पानी सुकिसकेको थियो। दोस्रो महीनाको सत्ताईसौं दिनमा पृथ्वीको सतहबाट सम्पूर्ण रूपले पानी सुकेको थियो। तब परमेश्वरले नूहलाई भन्नुभयो, “तँ, तेरी पत्नी, तेरा छोराहरू र बुहारीहरू लिएर जहाज बाहिर आइज। जहाजमा तँसँग जे जति चराहरू, पाल्तू जनावर, वनका जनावार भूमिमा घस्रने जन्तुहरू ती सब भूमिमा ओह्राल जसले गर्दा तिनीहरूले पृथ्वीमा आफ्नो सन्तान बढाउन्, पशुहरूले तिनीहरूको संख्या पृथ्वीमा बढाउन्।” यसर्थ, नूह उनका छोराहरू, उनकी पत्नी तथा बुहारीहरू जहाजबाट बाहिर भूमिमा निस्के। आफ्नो-आफ्नो परिवार, प्रत्येक जनावर, घस्रने प्राणीहरू, प्रत्येक चरा जो पनि पृथ्वीमाथि हिँड़डुल गर्छन् तथा आकाशमा उड्छन् ती सबै पृथ्वीमा ओर्लिए। त्यसपछि नूहले परमप्रभुको निम्ति एउटा वेदी उभ्याए र उनले केही पवित्र पशुहरू र पवित्र चराहरू परमप्रभुको निम्ति वेदीमा होमबलि चढाए। परमप्रभुले त्यस बलिदानहरूको बास्ना लिएपछि मनमा भन्नुभयो, “फेरि पृथ्वीलाई कहिल्ये पनि सराप दिने छैन। यसर्थ अब उसो कहिले पनि यस प्रकारका जीवित प्राणीहरूलाई नष्ट पार्ने छैन। जहिलेसम्म पृथ्वी रहन्छ, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, दिन अनि रातको कहिल्यै अन्त हुनेछैन।”
उत्पत्ति 8:13-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
नोआको उमेर ६०१ वर्ष पुग्दा पहिलो महिनाको पहिलो दिनमा पानी सुक्यो। नोआले नाउका छत उघारेर चारैपट्टि हेरे र भूइँ ओबानो हुँदैगएको देखे। दोस्रो महिनाको सत्ताईसौँ दिनमा जमिन पूरै सुक्खा भयो। परमेश्वरले नोआलाई भन्नुभयो, “तेरी स्वास्नी र तेरा छोरा-बुहारीहरू लिएर नाउदेखि बाहिर निस्की। सबै चरा-चुरुङ्गी र पशुहरू पनि आफूसँग बाहिर लैजा र तिनीहरू बढ्दै जाऊन् र पृथ्वीभरि फैलिऊन्।” नोआ र आफ्नी स्वास्नी र छोराबुहारीहरूसमेत नाउदेखि बाहिर निस्के। सबै पशु र चरा-चुरुङ्गीहरू पनि आफ्ना जातअनुसार नाउबाट निस्किआए। नोआले परमप्रभुको निम्ति एउटा वेदी बनाए। उनले विधिअनुसार शुद्ध हरथरीका पशु-पंक्षी एक-एक वटा लिएर वेदीमा सिङ्गै होमबलि चढाए। होमबलिको मीठो बासनाले परमप्रभुलाई खुसी पार्यो र उहाँले आफ्नो मनमा भन्नुभयो, “फेरि कहिल्यै पनि म मानिसले गरेका कामका कारणले पृथ्वीलाई सराप दिनेछैनँ। म जान्दछु कि सानै हुँदादेखि नै उसका सोचहरू खराब हुन्छन्। फेरि कहिल्यै पनि म यसपालिको जस्तो सबै जिउँदा प्राणीहरूलाई नाश गर्नेछैनँ। पृथ्वी रहुन्जेल यहाँ बिउ छर्ने र बालि काट्ने समय हुनेछ। सधैँ तातो-चीसो, रात-दिन, गर्मी र जाडोका दिनहरू भइरहनेछन्।”