YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 32:1-11

उत्‍पत्ति 32:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

याकूब पनि आफ्‍नो बाटो लागे, र परमेश्‍वरका दूतहरूले तिनीसँग भेट गरे। याकूबले उनीहरूलाई देखेर भने, “यो त परमेश्‍वरको छाउनी हो।” यसकारण तिनले त्‍यस ठाउँको नाउँ महनोम राखे। याकूबले एदोमका देशको सेइरमा आफ्‍ना दाजु एसावकहाँ आफ्‍नो अगि दूतहरू पठाए। याकूबले तिनीहरूलाई यसो भन्‍ने आज्ञा दिए: “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नू, ‘तपाईंको दास याकूब यसो भन्‍छ, म लाबानसँग बसोबास गरी अहिलेसम्‍म त्‍यहीँ रहें। मसँग गाई-गोरु, गधा, भेड़ाबाख्रा र नोकर-चाकरहरू छन्, र तपाईंबाट निगाह पाइएला भन्‍ने हेतुले अहिले तपाईंकहाँ मैले बिन्‍ती गर्न पठाएको हुँ’।” ती दूतहरू याकूबकहाँ फर्केर आई यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौं, र उहाँ तपाईंसँग भेट गर्न चार सय मानिसहरूका साथमा आउँदैहुनुहुन्‍छ।” तब याकूब साह्रै डराएर आकुल भए। तिनले आफूसँग भएका मानिसहरू, भेड़ाबाख्राका बगालहरू, गाई-गोरुका बथानहरू र ऊँटहरूलाई दुई दलमा विभक्त गरे। “यदि एसाव आएर एक दललाई आक्रमण गरे पनि अर्को दल त उम्‍कन सक्‍ला” भनी तिनले सोचे। तब याकूबले प्रार्थना गरे, “हे मेरो पिता अब्राहामका परमेश्‍वर, र मेरो बुबा इसहाकका परमेश्‍वर, हे परमप्रभु, जसले मलाई ‘तँ तेरै देशमा तेरा कुटुम्‍बहरूकहाँ जा, र म तेरो भलाइ गर्नेछु’ भन्‍नुभएको थियो। तपाईंले आफ्‍नो दासलाई जत्ति करुणा र विश्‍वासयोग्‍यता देखाउनुभएको छ त्‍यसको म कत्ति पनि योग्‍य छैनँ। किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ। तर अहिले मेरा दुई वटा दल भएका छन्‌। म बिन्‍ती गर्दछु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्, किनकि उनीसँग मलाई डर लाग्‍छ, कि उनले आमा, छोराछोरीहरूसमेत हामी जम्‍मैलाई आक्रमण गर्लान्‌।

शेयर गर्नुहोस्
उत्‍पत्ति 32 पढ्नुहोस्

उत्‍पत्ति 32:1-11 पवित्र बाइबल (NERV)

याकूबले पनि त्यो ठाउँ छोड्‌यो। जब ऊ यात्रा गरिरहेको थियो उनले परमेश्वरको स्वर्गदूतहरूलाई देख्यो। जब याकूबले तिनीहरूलाई देख्यो, उसले भन्यो, “यो परमेश्वरको शिविर हो।” यसैकारण उसले त्यस ठाउँको नाउँ महनोम राख्यो। याकूबको दाज्यू एसाव सईर नाउँको प्रान्तमा बस्दै थियो। त्यो इलाका एदोमको पहाडी भूमिमा थियो। याकूबले एसावकहाँ दूतहरू पठायो। याकूबले आफ्ना दूतहरूलाई भन्यो, “यी कुराहरू मेरा मालिक एसावलाई भन, ‘तपाईंका सेवक याकूब भन्छन्: म लाबानसँग याति लामो समय सम्म बसिरहेकोछु। मसित गाई, गधा, भेंडाहरू र नोकर-नोकर्नी छन्। महाशय, तपाईंले हामीलाई ग्रहण गर्नु होस् भनी यो समाचार पठाउँदैछु।’” ती दूतहरू याकूबकहाँ फर्केर आए अनि भने, “हामी तपाईंका दाज्यू एसावकहाँ गयौं। उनी तपाईंलाई भेट्न चार सय मानिसहरू सहित आउँदैछन्।” त्यस समाचारले याकूबलाई आतंकित बनायो। उनले आफूसित भएका मानिसहरूलाई दुइ भागमा बाँड्यो। उनले गाई-वस्तु, भेंडा बाख्राहरू र ऊँटहरू दुइ भाग पार्यो। याकूबले सोच्यो, “एसाव आएर ध्वंश पारे पनि एक भाग चाँहि भागेर बाँच्न सक्छ।” याकूबले भने, “हे मेरा पिता अब्राहामका परमेश्वर, मेरा पिता इसहाकका परमेश्वर! परमप्रभु तपाईंले मलाई आफ्नो भूमि र परिवार भएको ठाउँमा जान भन्नुभयो। तपाईंले भन्नुभयो तपाईंले मलाई राम्रो गर्नु हुनेछ। तपाईं मेरो निम्ति अति दयालु हुनु हुन्छ। अनि तपाईंले मेरो निम्ति धेरै असल कार्यहरू गर्नु भएको छ। म पहिलो चोटी यर्दन नदी पारी यात्रा गर्दा मसँग टेक्ने लट्ठी बाहेक केही थिएन। तर अहिले मसित यति धेरै चीजहरू छन् म ती चीजहरू दुइ भागमा बाँड्न सक्छु। म तपाईंसित प्रार्थना गर्छु कृपा गरेर मलाई मेरो दाज्यू एसावबाट बचाउँनु होस्। म ऊसित डराएको छु। किनभने ऊ आउँछ अनि मलाई मार्नेछ, उनले नानीहरूको आमा तथा नानीहरू पनि मार्नेछ।

शेयर गर्नुहोस्
उत्‍पत्ति 32 पढ्नुहोस्

उत्‍पत्ति 32:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

याकूब आफ्‍नो बाटो लागे र परमेश्‍वरका दूतहरूले उनलाई भेटे। तिनीहरूलाई देखेर उनले भने, “यो त परमेश्‍वरको छाउनी हो।” उनले त्‍यस ठाउँको नाम ‘महनोम’ राखे। याकूबले एदोम देशमा आफ्‍ना दाजु एसावकहाँ अघि-अघि आफ्‍ना दूतहरूलाई पठाए। तिनीहरूलाई एसावलाई यसो भन्‍नू भनेर सिकाएर पठाए, “तपाईंको दास याकूबले आफ्‍ना स्‍वामी एसावलाई यसो भन्‍छ कि म लाबानसित बसेको थिएँ र अहिलेसम्‍म फर्किनँ। मसँग गाई-गोरु, गधा, भेडा-बाख्रा र कमारा-कमारीहरू छन्। तपाईंको दया पाऊँ भनी हजुरलाई यो खबर बिन्‍ती गर्दछु।” ती दूतहरू फर्की आए र याकूबलाई भने, “हामी तपाईंको दाजु एसावकहाँ गयौं। तपाईंलाई भेट्‍न उहाँ आउँदै हुनुहुन्‍छ। उहाँसित चार सय मानिसहरू छन्।” याकूब डराए अनि चिन्‍तामा परे। आफूसित भएका मानिसहरू, भेडा-बाख्रा, गाई-गोरु र ऊँटहरू पनि दुई भाग गरेर उनले छुटाए र दुई हुल गरे। उनले सोचे कि एसावले आएर पहिला हुलमाथि आक्रमण गरे भने दोस्रो हुलचाहिँ भागेर बाँच्‍न सक्‍ला। त्‍यसपछि याकूबले यसरी प्रार्थना गरे, “मेरा बाजे अब्राहाम र मेरा बुबा इसहाकका परमेश्‍वर, मेरो बिन्‍ती सुन्‍नुहोस्! परमप्रभु! तपाईंले मलाई ‘तेरो देशमा आफ्‍ना कुटुम्‍बहरूकहाँ जा र तँलाई सबै कुरा राम्रै हुनेछ,’ भन्‍नुभएको थियो। म तपाईंको दासलाई तपाईंले देखाउनुभएको कृपा र विश्‍वासयोग्‍यताको योग्‍य म छैनँ। खालि एउटा हातमा टेक्‍ने लट्ठी लिई म यर्दन तरेर गएको थिएँ तर अब यी दुई हुलहरू साथ लिएर फर्किरहेको छु। म बिन्‍ती गर्दछु, मेरो दाजु एसावदेखि मलाई बचाउनुहोस्। म डराएको छु। एसावले आएर हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई आइमाई, छोरा-छोरीहरूसमेत नाश गर्नेछन् भनी मलाई डर लागेको छ।

शेयर गर्नुहोस्
उत्‍पत्ति 32 पढ्नुहोस्