YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 25:19-34

उत्‍पत्ति 25:19-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब्राहामका छोरा इसहाकको वृत्तान्‍त यही हो। अब्राहाम इसहाकका पिता भए। इसहाकले चालीस वर्षको उमेरमा पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गरे। तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्‍नी पत्‍नीको निम्‍ति परमप्रभुसँग प्रार्थना गरे। तब परमप्रभुले उनको प्रार्थना सुन्‍नुभयो, र रिबेका गर्भवती भइन्‌। गर्भमा भएका बालकहरूले एक-अर्कासँग लड़न्‍त गर्न लागे। “किन मलाई यस्‍तो भयो?” भनी तिनले परमप्रभुसँग सोध्‍न लागिन्‌। परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो कोखमा दुई जातिहरू छन्, तेरो गर्भबाट जन्‍मँदाखेरि नै दुई जाति छुट्टाछुट्टै जन्‍मनेछन्‌। एक जना अर्कोभन्‍दा बलवान्‌ हुनेछ, र जेठाले कान्‍छाको सेवा गर्नेछ।” तिनको सुत्‍केरी हुने बेला आयो, र तिनको कोखमा जुम्‍ल्‍याहा रहेछन्‌। जेठोचाहिँ रातो वर्णको, शरीरभरि रौँको लुगा लाएजस्‍तै जन्‍म्‍यो। यसकारण त्‍यसको नाउँ एसाव राखियो। त्‍यसपछि त्‍यसको भाइचाहिँ एसावको कुर्कुच्‍चा हातले समातेर निस्‍क्‍यो। यसैकारण त्‍यसको नाउँ याकूब राखियो। रिबेकाले यिनीहरूलाई जन्‍माउँदा इसहाक साठी वर्ष पुगेका थिए। यिनीहरू बढ़ेपछि एसावचाहिँ सिपालु शिकारी र मैदानमा डुलिहिँड्‌ने मानिस भए, र याकूबचाहिँ पालमा बसिरहने शान्‍त स्‍वभावका मानिस भए। इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्‍याएको मासु तिनले खान पाउँथे। तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्‌। एक पल्‍ट याकूबले सुरुवा पकाइराखेको बेलामा एसाव मैदानबाट आए। उनलाई भोकले भाउन्‍न छुटेको थियो। एसावले याकूबलाई भने, “मलाई त्‍यो रातो सुरुवा अलिकता खान देऊ। मलाई भोकले भाउन्‍न छुटेको छ।” (यसैकारण उनलाई एदोम पनि भनिन्‍थ्‍यो।) याकूबले भने, “पहिले मलाई तपाईंको ज्‍येष्‍ठ-अधिकार बेच्‍नुहोस्‌।” एसावले भने, “म त मर्नै आँटें। अब मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम?” याकूबले भने, “पहिले शपथ खाएर मलाई भन्‍नुहोस्‌।” तब उनले शपथ खाए, र आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे। त्‍यसपछि याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए। खानपान गरेर एसाव आफ्‍नो बाटो लागे। यसरी एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 25 पढ्नुहोस्

उत्‍पत्ति 25:19-34 पवित्र बाइबल (NERV)

इसहाक अब्राहामको छोरो थियो र यो तिनको वृत्तान्त कथा हो। जब इसहाक चालीस बर्षका भए उनले रिबेका नाउँकी कन्यासित विवाह गरे। रिबेका पद्दन-आराम भनिने ठाउँकी थिइन् अनि अरामी बतूएलकी छोरी र अरामी लाबानकी बहिनी थिइन्। इसहाककी पत्नी रिबेका बाँझी थिई। यसर्थ इसहाकले आफ्नी पत्नीका निम्ति परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले तिनको प्रार्थना सुन्नु भयो अनि रिबेका गर्भवती भइन्। जब रिबेका गर्भवती भइन्, उनले आफ्नो गर्भमा भएको शिशुबाट अत्यन्तै कष्ट सहनु पर्यो। उनको गर्भमा भएको शिशुहरू गर्भभित्रै आपसमा एका-अर्कामा लडाइँ गर्थे। रिबेकाले परमप्रभुसित प्रार्थना गरिन् अनि भनिन्, “मसित यस्तो किन भइरहेकोछ?” परमप्रभुले उनलाई भन्नुभयो, “तिम्रो कोखमा दुइवटा राष्ट्रहरू छन्। दुइवटा राष्ट्रका राजाहरू तिमीबाट जन्मनेछन्, र तिनीहरू छुट्टीनेछन्। एउटा छोरो अर्को छोरोभन्दा शाक्तिशाली हुनेछ अनि जेठाले कान्छाको सेवा गर्नेछ।” अनि जब समय पूरा भयो तब रिबेकाले जुमल्याहा छोरा जन्माइन्। पहिलो छोरो रातो वर्णको थियो अनि उसको छाला भुत्लाले बनिएको लुगा जस्तो थियो। यसर्थ उसको नाउँ एसाव राखियो। जब दोस्रो छोरो जन्मियो। उनले पहिलो छोरो एसावको कुर्कुच्चा बलियोसित समातेको थियो। यसैले उसको नाउँ याकूब राखियो। एसाव र याकूब जन्मदा इसहाक साठी बर्ष पुगेका थिए। केटाहरू हलहली बढे। एसाव एकजना सिपालु शिकारी भयो अनि ऊ मैदानतिरै बस्न मन पराउँथ्यो। तर याकूब शान्त स्वभावको थियो अनि पाल भित्रै बस्थ्यो। इसहाकले एसावलाई मन पराउँथिए अनि उनले मारेको जनवारहरूको मासु खान रूचाउँथिए। तर रिबेकाले याकूवलाई माया गर्थिन्। एकदिन एसाव शिकारबाट थाकेर भोकले हत्तु भएर फर्केर आयो। याकूब एक भाँडा सिमी उसिनिरहेको थियो। यसर्थ एसावले याकूबलई भने, “म भोकले दुर्बल भइरहेकोछु। मलाई त्यो केही रातो सिमी खान देऊ।” (यही कारणले मानिसहरूले उसलाई एदोम भन्ने गर्द थिए।) तर याकूबले उनलाई भने, “पहिला तिमीले मलाई जेठा छोराको जन्मअधिकार बेच्नु पर्छ।” एसावले भने, “म भोकले मर्न आँटेकोछु। यदि म मरें भने मेरो बाबुको सबै सम्पत्तिले पनि केही सहायता गर्न सक्तैन। यसर्थ म मेरो अंश दिइहाल्छु।” तर याकूबले भने, “पहिले मलाई वचन दे तैंले मलाई त्यो दिन्छस्।” यसकारण एसावले याकूबलाई वचन दियो। एसावले आफ्नो बाबुको सम्पत्तिको आफ्नो जेष्ठ-अधिकार याकूबलाई बेचि दियो। तब याकूबले एसावलाई रोटी र भोजन दियो। एसावले खायो, र हिंड्‌यो। यस प्रकारले एसावले यो देखायो आफू पहिलो छोरो भएकोमा उसलाई आफ्नो जेष्ठ-अधिकारको कुनै पर्वाह छैन।

शेयर गर्नुहोस्
उत्‍पत्ति 25 पढ्नुहोस्

उत्‍पत्ति 25:19-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यो अब्राहामका छोरा इसहाकको कथा हो। इसहाकले बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकालाई विवाह गर्दा उनको उमेर चालीस वर्ष थियो। (बतूएल पद्दन-आरामका अरामी थिए।) रिबेकाका छोरा-छोरी भएका थिएनन् र इसहाकले उनको लागि परमप्रभुलाई प्रार्थना गरे। परमप्रभुले उनको प्रार्थनाको उत्तर दिनुभयो र रिबेका गर्भवती भइन्। उनका पेटमा जुम्‍ल्‍याहा बालक थिए र जन्‍मनुभन्दा अघि ती दुई आमाका पेटमै आपसमा लड्थे। उनले भनिन्, “किन मलाई यस्‍तो भयो?” अनि तिनी परमप्रभुलाई सोध्‍न गइन्। परमप्रभुले उनलाई भन्‍नुभयो, “तेरो कोखमा दुई जातिहरू छन्, दुई आपसमा लड्‍ने जातिहरूलाई तैँले जन्‍म दिनेछस्। एउटा अर्कोभन्दा बलियो हुनेछ, जेठोचाहिँले कान्‍छाको सेवा गर्नेछ।” उनले जन्‍माउने बेला भयो र जुम्‍ल्‍याहा छोराहरू जन्‍माइन्। पहिलाको जन्‍मचाहिँ राता-राता, जिउभरि लुगा लाएजस्‍तो रौँ भएको थियो। यसकारण त्‍यसको नाम एसाव राखियो। दोस्रो दाजुचाहिँको कुर्कुच्‍चा च्‍याप्‍प समातेर जन्‍म्‍यो। यसकारण त्‍यसको नाम याकूब राखियो। तिनीहरू जन्‍मँदा इसहाक ६० वर्ष पुगेका थिए। केटाहरू बढे। एसाव घरबाहिर डुलिहिँड्‍ने एउटा सिपालु शिकारी भए। तर याकूब घरमा बस्‍ने शान्‍त स्‍वभावको मानिस भए। इसहाकले एसावलाई मन पराउँथे किनभने तिनले मारिल्‍याएका पशुहरूका मासु उनी मीठो मानी खान्‍थे तर रिबेकाले याकूबलाई मन पराउँथिन्। एक दिन याकूब सिमीको सुरुवा पकाइरहेको बेलामा एसाव शिकारबाट फर्की आए। उनी थाकेका थिए र याकूबलाई भने, “म भोकाएको छु, मलाई त्‍यो रातो सुरुवा खान देऊ।” (यसकारण उसलाई एदोम पनि भनिन्‍थ्‍यो।) याकूबले जवाफ दिए, “तिमीले जेठो छोराको हक मलाई दियौ भने मात्र म तिमीलाई सुरुवा दिनेछु।” एसावले भने, “हुन्‍छ, म भोकले मर्न आँटेको छु, यो अधिकार मलाई काम लाग्‍ने हो र?” याकूबले उत्तर दिए, “पहिले मलाई आफ्‍नो अधिकार दिन्‍छु भनी शपथ खाऊ।” एसावले शपथ खाए र आफ्‍नो अधिकार याकूबलाई दिइहाले। त्‍यसपछि याकूबले उनलाई केही रोटी र सुरुवा दिए। एसावले खाए, पिए र उठेर हिँडे। यसरी एसावले आफ्‍नो जेठो अधिकार लत्‍याए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 25 पढ्नुहोस्