यो अब्राहामका छोरा इसहाकको कथा हो। इसहाकले बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकालाई विवाह गर्दा उनको उमेर चालीस वर्ष थियो। (बतूएल पद्दन-आरामका अरामी थिए।) रिबेकाका छोरा-छोरी भएका थिएनन् र इसहाकले उनको लागि परमप्रभुलाई प्रार्थना गरे। परमप्रभुले उनको प्रार्थनाको उत्तर दिनुभयो र रिबेका गर्भवती भइन्। उनका पेटमा जुम्ल्याहा बालक थिए र जन्मनुभन्दा अघि ती दुई आमाका पेटमै आपसमा लड्थे। उनले भनिन्, “किन मलाई यस्तो भयो?” अनि तिनी परमप्रभुलाई सोध्न गइन्। परमप्रभुले उनलाई भन्नुभयो, “तेरो कोखमा दुई जातिहरू छन्, दुई आपसमा लड्ने जातिहरूलाई तैँले जन्म दिनेछस्। एउटा अर्कोभन्दा बलियो हुनेछ, जेठोचाहिँले कान्छाको सेवा गर्नेछ।” उनले जन्माउने बेला भयो र जुम्ल्याहा छोराहरू जन्माइन्। पहिलाको जन्मचाहिँ राता-राता, जिउभरि लुगा लाएजस्तो रौँ भएको थियो। यसकारण त्यसको नाम एसाव राखियो। दोस्रो दाजुचाहिँको कुर्कुच्चा च्याप्प समातेर जन्म्यो। यसकारण त्यसको नाम याकूब राखियो। तिनीहरू जन्मँदा इसहाक ६० वर्ष पुगेका थिए। केटाहरू बढे। एसाव घरबाहिर डुलिहिँड्ने एउटा सिपालु शिकारी भए। तर याकूब घरमा बस्ने शान्त स्वभावको मानिस भए। इसहाकले एसावलाई मन पराउँथे किनभने तिनले मारिल्याएका पशुहरूका मासु उनी मीठो मानी खान्थे तर रिबेकाले याकूबलाई मन पराउँथिन्। एक दिन याकूब सिमीको सुरुवा पकाइरहेको बेलामा एसाव शिकारबाट फर्की आए। उनी थाकेका थिए र याकूबलाई भने, “म भोकाएको छु, मलाई त्यो रातो सुरुवा खान देऊ।” (यसकारण उसलाई एदोम पनि भनिन्थ्यो।) याकूबले जवाफ दिए, “तिमीले जेठो छोराको हक मलाई दियौ भने मात्र म तिमीलाई सुरुवा दिनेछु।” एसावले भने, “हुन्छ, म भोकले मर्न आँटेको छु, यो अधिकार मलाई काम लाग्ने हो र?” याकूबले उत्तर दिए, “पहिले मलाई आफ्नो अधिकार दिन्छु भनी शपथ खाऊ।” एसावले शपथ खाए र आफ्नो अधिकार याकूबलाई दिइहाले। त्यसपछि याकूबले उनलाई केही रोटी र सुरुवा दिए। एसावले खाए, पिए र उठेर हिँडे। यसरी एसावले आफ्नो जेठो अधिकार लत्याए।
उत्पत्ति 25 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 25:19-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू