उत्पत्ति 23:3-6
उत्पत्ति 23:3-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब्राहाम लाश भएको ठाउँबाट उठे, र हित्तीहरूलाई यसो भने, “तपाईंहरूका बीचमा म एक प्रवासी भएर बसेको छु। यस लाशलाई गाड्न चिहानको लागि कुनै जमिन मलाई बेच्नुहोस्।” हित्तीहरूले अब्राहामलाई भने, “हे प्रभु, सुन्नुहोस्, तपाईं हामीहरूमध्ये एक शक्तिशाली शासक हुनुहुन्छ। हाम्रा चिहानमध्ये सबैभन्दा असलचाहिँ छानेर लाश गाड्नुहोस्। हामीमध्ये कसैले पनि आफ्नो चिहान लाश गाड्नलाई तपाईंलाई दिन इन्कार गर्नेछैन।”
उत्पत्ति 23:3-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब्राहाम आफ्नी पत्नीको शव भएको ठाउँबाट उठे, र हित्तीहरूलाई भने, “म तपाईंहरूको बीचमा एक विदेशी र प्रवासी हुँ। तपाईंहरूको सानो टुक्रो जमिन चिहानको लागि मलाई बेच्नुहोस्, ताकि मेरो मृतकलाई गाड्न सकूँ।” तब हित्तीहरूले अब्राहामलाई भने, “हे प्रभु, हाम्रो कुरा सुन्नुहोस्! तपाईं हाम्रो बीचमा परमेश्वरका राजकुमार हुनुहुन्छ। त्यसकारण हाम्रा चिहानहरूमध्ये सबैभन्दा असलचाहिँ छानेर त्यहीँ आफ्नो मृतकलाई गाड्नुहोस्। हाम्रो चिहानमा तपाईंको मृतकलाई गाड्न दिन हामी कसैले पनि इन्कार गर्नेछैनौँ।”
उत्पत्ति 23:3-6 पवित्र बाइबल (NERV)
त्यसपछि अब्राहामले आफ्नी मरेकी स्वास्नीलाई छोडेर हित्ती मानिसहरूसित कुरा गर्न गए। उनले भने, “म यस प्रदेशको बासिन्दा होइन। यहाँ त म केवल यात्री हुँ यसर्थ मेरी पत्नीको लाश गाड्नुको निम्ति कहीं जग्गा छैन, म अलिकति जग्गा चाहन्छु ताकि म त्यो लाश गाड्न सकुँ।” ती हित्ती मानिसहरूले अब्राहामलाई उत्तर दिए, “महाशय सुन्नु होस्, तपाईं हामीहरूमाझ परमेश्वरका एकजना मानिस हुनुहुन्छ यसर्थ हाम्रो चिहान घारीमा तपाईं जहाँ मन पराउनु हुन्छ त्यहाँ फिक्री नगरी आफ्नो पत्नीको लाश गाड्न सक्नु हुन्छ। तपाईंकी पत्नीको लाश गाड्न यहाँ हामी मध्ये कसैले पनि बाधा दिन सक्तैनौ।”
उत्पत्ति 23:3-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफ्नी स्वास्नीको लाश लडिरहेको ठाउँ छोडी उनी हित्तीहरूकहाँ गए र भने, “यहाँ तपाईंहरूका बीचमा म एक जना विदेशी बसेको छु, मेरी स्वास्नी गाड्नलाई मलाई केही जमिन बिक्री गर्नुहोस्।” तिनीहरूले जवाफ दिए, “हाम्रा कुरा सुन्नुहोस्, हजुर, हामी तपाईंलाई प्रतापी अगुवा मान्दछौं। हामीसँग भएको सबैभन्दा असल चिहानमा तपाईंकी आफ्नी पत्नी गाड्नुहोस्। तपाईंकी पत्नी गाड्नलाई हामीमध्ये कसैले पनि चिहान दिन राजी-खुसी हुनेछ।”