गलाती 5:13-26
गलाती 5:13-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ। केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन। किनभने समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, “तैंले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्।” तर तिमीहरू एउटाले अर्कोलाई टोक्ने र निल्ने गर्छौ भनेता होशियार गर, तिमीहरू एक-अर्काबाट नै खतम हुनु नपरोस्। तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड़, र पापमय स्वभावका लालसा पूरा नगर। किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरुद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नका निम्ति यीचाहिँ एक-अर्काको विरुद्धमा हुन्छन्। तर यदि तिमीहरू पवित्र आत्माद्वारा डोर्याइएका हौ भनेता तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ। पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी, डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्। तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन। तर तिनीहरू, जो ख्रीष्ट येशूका हुन्, तिनीहरूले पापमय स्वभावलाई त्यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्। हामी पवित्र आत्माद्वारा जिउँछौं भने आत्माकै अनुसार हिँड़ौं। हामी अहङ्कारी नहोऔं, एउटाले अर्कोलाई रीस नउठाऔं, र एउटाले अर्कोलाई ईर्ष्या नगरौं।
गलाती 5:13-26 नेपाली समकालीन संस्करण (NCV)
मेरा दाजुभाइ-दिदीबहिनीहरू, तिमीहरू स्वतन्त्र हुनालाई बोलाइएका हौ; तर तिमीहरूको स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर, बरु प्रेममा एउटाले अर्कोको नम्रतासाथ सेवा गर। किनकि सम्पूर्ण व्यवस्था यही एउटै आज्ञामा पूरा भएको छ: “तिमीले आफ्नो छिमेकीहरूलाई आफूलाई झैं प्रेम गर।” तर यदि तिमीहरू एउटाले अर्कालाई टोक्ने र निल्ने गर्छौ भने ता होसियार होओ, नत्र ता तिमीहरू एक-अर्काबाटै नष्ट हुनेछौं। यसकारण म भन्दछु, आत्माको नियन्त्रणमा बाँच, र तिमीहरू शरीरको पाप-स्वभावको लालसामा नपर, किनकि पापमय स्वभावले परमेश्वरको आत्माको विरुद्ध चाहना गर्दछ; र परमेश्वरको आत्माले पापमय स्वभावको विरुद्धमा। तिनीहरू एक-अर्काको विरुद्धमा हुन्छन्, यसैकारण तिमीहरूले जे गर्न चाहन्छौ, त्यो तिमीहरूले नगर। तर यदि तिमी परमेश्वरको आत्माद्वारा डोर्याइएका हौ भने ता तिमीहरू व्यवस्थाको अधीनतामा हुँदैनौ। पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्: यौन अनैतिकता, अपवित्रता र भ्रष्ट आचरण मूर्तिपूजा र जादूटुना, घृणा, कलह, ईर्ष्या, क्रोध, स्वार्थी महत्त्वाकांक्षा, मतभिन्नता, गुटबन्दी, अनि डाह; मतवालापन, मोजमज्जा र यस्तै अरू कुराहरू। मैले पहिला गरेजस्तै, अहिले पनि चेतावनी दिँदछु, कि जो व्यक्ति यस प्रकारले जिउँदछ, ऊ परमेश्वरको राज्यको उत्तराधिकारी हुँदैन। तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वासयोग्यता, नम्रता र आत्मसंयम हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन। जो ख्रीष्ट येशूका हुन्, उनीहरूले शरीरको पाप-स्वभावलाई यसका अभिलाषा र लालचसहित क्रूसमा टाँगिदिएका छन्। किनकि हामी आत्माअनुसार जिउँछौं भने आत्माको नियन्त्रणअनुसार नै चलौं। हामी अहङ्कारी नहोऔं, एउटाले अर्कालाई रिस नउठाऔं, र एउटाले अर्कोको ईर्ष्या नगरौं।
गलाती 5:13-26 पवित्र बाइबल (NERV)
मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर। सम्पूर्ण व्यवस्ता यही एक आदेशमा समेटिएको छः “आफूले आफूलाई जस्तो प्रेम गर्छौ त्यस्तै प्रेम अरूलाई पनि गर।” तर आपसमा पिटापिट र च्याताच्यात गर्यो भने, अन्तमा तिमीहरू आपसमै नाश हुने छौ। यसैले म भन्छुः आत्मा अनुसार बाँच। त्यसो गर्यो भने तिम्रा पापपूर्ण स्वभावले चाहेको खराब काम गर्ने छैनौ। हाम्रो पापपूर्ण स्वभावले यस्तो कुरो चाहन्छ जुन आत्मा विरुद्ध हुन्छ। अनि आत्माले चाँहि यस्तो कुरो चाहन्छ जुन हाम्रो पापपूर्ण स्वभावको विरूद्ध हुन्छ। यी दुइ कुराहरू एक अर्कोको विपरीत छन्। यसैकारण तिमीले साँच्चै गर्नु चाहेको कुरो गर्न सक्तैनौ। तर आत्माबाट डोरियौ भने तिमी व्यवस्थाको अधीनमा रहने छैनौ। हाम्रा पापपूर्ण स्वभावले खराब गर्छ जो यी हुन्: यौन पाप, अशुद्धता, अनैतिकता, मूर्ति-पूजा, तन्त्र-मन्त्र, दुश्मनी, झै-झगड, इर्ष्या, क्रोध, स्वार्थ, फूट, गुटबन्दी, डाह, मद्धपान, मोजमज्जा र यस्तै अरूअरू। मैले पहिले पनि चेतावनी दिएकै हुँ र अहिले पनि दिन्छुः जसले यस्ता कामहरू गर्छन् ती परमेश्वरको राज्यमा जाने छैनन्। तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम दिंदछ। यी कुराहरू भुल हुन् भन्ने कुनै व्यवस्थामा छैन। ख्रीष्ट येशूमा हुनेहरूले आफ्ना यस्ता पापपूर्ण स्वभावलाई क्रूसमा झुण्ड्याएका हुन्छन्। तिनीहरूले आफ्ना वासना र अशुभ कामना जो तिनीहरूको पाप स्वभावले चाहन्छ, त्यागी सकेका हुन्छन्। आत्माबाट हामीले नयाँ जीवन पाउँदछौं। जीवनको पथ प्रदर्शनको निम्ति हामीले आत्मालाई पछ्याउनु पर्छ। हामीले अर्कालाई रीस उठाउनु हुँदैन। र हामीले एक-अर्कोको डाह गर्नु हुँदैन।
गलाती 5:13-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाजुभाइहरू, तिमीहरू स्वतन्त्र हुन बोलाइएका हौ। तर यो स्वतन्त्रता शारीरिक स्वभावअनुसार चल्ने नबनोस्। प्रेमले एक-अर्काको भलाइ गर किनभने सबै व्यवस्थाको सार एउटै आज्ञामा छ, “आफैंलाई झैँ आफ्ना छिमेकीलाई प्रेम गर।” तिमीहरू आपसमै जङ्गली पशुझैँ टोक्ने र चिथोर्ने गर्छौ भने होश राख, नत्रता एकले अर्कालाई खतम गर्नेछौ। यसैले म भन्दछु, पवित्र आत्माले भनेअनुसार हिंड र आफ्नो शारीरिक स्वभावको इच्छा पूरा गर्नेछैनौ किनभने शारीरिक स्वभावको इच्छा आत्माको अनि आत्माको इच्छाले शारीरिक स्वभावको विरोध गर्दछ। यी दुवै एक-अर्काका शत्रु हुन् र तिमीहरूले गर्न खोजेका कुरा हुन पाउँदैन। तर तिमीहरू आत्माले भनेझैँ हिंड्छौ भने तिमीहरू व्यवस्थाका अधीनमा छैनौ। शारीरिक स्वभावका कामहरू यिनै हुन्– व्यभिचार गर्नु, अशुद्ध सोच-विचार गर्नु, छाडा हुनु, मूर्ति पुज्नु, जादू-टुना गर्नु, दुश्मनी गर्नु, झगडा गर्नु, ईर्ष्या गर्नु, रिस गर्नु, आफ्नो मात्रै भलो खोज्नु, फाटो ल्याउनु, गुटबन्दी गर्नु, डाहा गर्नु, मात्नु, मोज-मज्जा गर्नु र यस्तै-यस्तै अरू काम गर्नु। त्यस्ता कामहरू गर्ने परमेश्वरको राज्यका हकदार हुन पाउनेछैनन् भनी मैले पहिले पनि चेतावनी दिएँ र अहिले पनि दिंदै छु। पवित्र आत्माका फलचाहिँ यी हुन्– प्रेम गर्नु, आनन्दित हुनु, मेलमिलाप गर्नु, मन थाम्नु, दया गर्नु र भलाइ गर्नु, भरपर्दो हुनु र नम्र हुनु, आफूलाई वशमा राख्नु, यिनीहरूको विरोधमा कुनै नियम छैन। ख्रीष्ट येशूको मानिसले आफ्नो इच्छा र माया मोह क्रूसमा आफ्नो शारीरिक स्वभावसँगै मारेको हुन्छ। यदि हामी पवित्र आत्माले जिउँछौं भने उहाँले भनेअनुसार चल्नुपर्छ। हामीले एक-अर्कासँग घमण्ड गर्ने, रिस उठाउने र डाहा गर्ने काम गर्नुहुँदैन।