एज्रा 6:13-22
एज्रा 6:13-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब दारा राजाले उनीहरूलाई दिएको आदेश यूफ्रेटिस पारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र उनीहरूका सहयोगीहरूले अक्षरश: पालन गरे। फलस्वरूप यहूदी धर्म-गुरुहरू पुनर्निर्माण काममा लागिरहे, र हाग्गै अगमवक्ता र इद्दोको वंशका जकरियाको अगमवाणीद्वारा तिनीहरूको उन्नति बढ्दैगयो। इस्राएलका परमेश्वरको आज्ञाअनुसार र फारसका राजाहरू कोरेस, दारा र अर्तासास्तका उर्दीअनुसार तिनीहरूले मन्दिरको पुनर्निर्माण गरेर काम सिद्ध्याए दारा राजाको छैटौँ वर्षको अदार महिनाको तेस्रो दिनमा मन्दिरको काम सम्पन्न भयो। त्यसपछि इस्राएलका जनता, अर्थात् पूजाहारीहरू, लेवीहरू र निर्वासनबाट फर्केर आएका अरू सबैले ठूलो रमाहटसाथ परमेश्वरका भवनको समर्पण-सेवा मनाए। परमेश्वरको यस भवनको समर्पण-सेवामा तिनीहरूले एक सय साँढ़े, दुई सय भेड़ा, चार सय थुमा, अनि सबै इस्राएलका पापबलिको निम्ति इस्राएलको प्रत्येक कुलको लागि एक-एक गरी बाह्र वटा बोका चढ़ाए। तिनीहरूले मोशाको पुस्तकमा लेखिएबमोजिम पूजाहारीहरूलाई तिनीहरूका शाखाअनुसार र लेवीहरूलाई तिनीहरूका समूहअनुसार यरूशलेममा परमेश्वरको सेवा गर्न पुनर्स्थापन गरे। पहिलो महिनाको चौधौँ दिनमा कैदबाट फर्केर आएकाहरूले निस्तार-चाड़ मनाए। पूजाहारीहरू र लेवीहरू सबैले आफू-आफूलाई पवित्र गरेका थिए। तिनीहरू सबै विधिपूर्वक शुद्ध भए। अनि लेवीहरूले निर्वासनबाट आएका सबैका निम्ति र आ-आफ्ना पूजाहारी-भाइहरूका निम्ति र आफ्नै निम्ति निस्तार-चाड़को थुमा मारे। निर्वासनबाट फर्केर आएका इस्राएलीहरू र अन्यजातिहरूको अशुद्धताबाट अलग रहेर परमप्रभु इस्राएलका परमेश्वरलाई खोज्नेहरू सबैले त्यो सँगै मिलेर खाए। तिनीहरूले रमाहटसाथ सात दिनसम्म अखमिरी रोटीको चाड़ मनाए, किनभने अश्शूरका राजाको मन बद्ली गरेर परमप्रभुले तिनीहरूलाई आनन्दित तुल्याउनुभएको थियो। फलस्वरूप इस्राएलका परमेश्वरका भवनको काममा तिनीहरूलाई अश्शूरका राजाले सहयोग गरेका थिए।
एज्रा 6:13-22 पवित्र बाइबल (NERV)
तब, यूफ्रेटिस नदीको पश्चिमको प्रदेशका प्रशासक तत्तनै, अनि शत्तर-बोज्नै र तिनीहरूका सरकारी मानिसहरूले राजा दाराले आदेश दिए जस्तै गरे। यहूदीहरूका धर्मगुरूहरू अगमवक्ता हाग्गै अनि इद्दोका छोरा जकर्याह अगमवक्ताको रेखदेखमा निर्माण कार्य सफलता पुर्वक गर्दै गए। इस्राएलका परमेश्वरको आदेश कोरेस, दारा अनि आर्ट-जारसेज फारसका राजाहरूको आदेशद्वारा तिनीहरूले निर्माण कार्य पूर्ण गरे। यसरी यो मन्दिर राजा दाराको शासनकालको छैटौं बर्षको अदार महीनाको तेस्रो दिन पूर्ण गरियो। त्यस पछि इस्राएलका मानिसहरू, अनि लेवीहरू र अन्य फर्किआएका कैदीहरूले परमेश्वरको यो मन्दिरको समर्पणको उत्सव खूबै हर्षसाथ मनाए। परमेश्वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले 100 साढे, 200 भेंडा, 400 थुमा अनि समस्त इस्राएलको पवित्रिकरण-अर्पणका निम्ति, इस्राएलका प्रत्येक कुलबाट एक-एक गरी 12 वटा बोका अर्पण गरे। तिनीहरूले यरूशलेममा परमेश्वरको मन्दिरमा सेवाका निम्ति मोशाको पुस्तकमा लेखिए अनुसार पूजाहारीहरूलाई र तिनीहरूका विभागमा अनि लेवीहरूलाई तिनीहरूका वर्गमा स्थापित गरे। यहूदीहरू जो कैदबाट फर्केर आएका थिए, तिनीहरूले पहिलो महीनाको चौधौ दिनमा निस्तार चाड मनाए। किनभने सबै पूजाहारीहरू अनि लेवीहरूले स्वयंलाई शुद्ध पारेका थिए। तिनीहरू सबै स्वच्छ थिए। यसकारण तिनीहरूले कैदबाट फर्केर आउने सबै यहूदीहरू अनि तिनीहरूका पूजाहारीहरू, अनि तिनीहरूस्वयंका निम्ति निस्तार थुमा मारे। कैदबाट फर्केर आउने इस्राएली मानिसहरूले निस्तार भोज खाए जसरी परमप्रभु इस्राएलका परमेश्वरको आराधना गर्नका निम्ति जसले स्वयंलाई देश तथा राष्ट्रहरूको अस्वच्छ पनबाट अलग पारेर तिनीहरूसित मिल्नेहरूले गरेका थिए। तिनीहरूले सात दिनसम्म खुबै आनन्द सित अखमिरी रोटीको उत्सव मनाए। किनभने परमप्रभुले तिनीहरू प्रति अश्शूरका राजाको मन परिवर्त्तन गरिदिनु भएर, तिनीहरूलाई खुशी तुल्याएका थिए, जसद्वारा तिनले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिरको कार्यमा सहयोग दिए।
एज्रा 6:13-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि बडा-हाकिम तत्तनै, शत्तर-बोज्नै र उनका सहकर्मीहरूले राजाका आज्ञाअनुसार ठीक-ठीक काम गरे। यहूदी अगुवाहरूले अगमवक्ता हाग्गै र जकरियाबाट उत्साह पाई मन्दिर बनाउने काम राम्ररी अघि बढाए। इस्राएलका परमेश्वर र फारसका महाराजाहरू कोरेस, दारा र अर्तासास्तका आज्ञाअनुसार तिनीहरूले मन्दिर बनाइसिध्याए। महाराजा दाराका शासनकालको छैटौँ वर्ष अदार महिनाको तेस्रो दिन तिनीहरूले मन्दिर बनाइसके। त्यसपछि इस्राएलका मानिसहरूले पूजाहारीहरू, लेवीहरू र कैदबाट फर्किआएका अरू सबैले आनन्दसाथ मन्दिर अर्पण गरे। अर्पण गर्दा तिनीहरूले एक सय साँढे, दुई सय भेडा र चार सय थुमाहरू होमबलि गरे अनि इस्राएलको प्रत्येक कुलको निम्ति एउटाका हिसाबले बाह्र वटा बोका पापबलि चढाए। तिनीहरूले यरूशलेम मन्दिरमा सेवा गर्नलाई मोशाको पुस्तकमा भएका आदेशअनुसार पूजाहारी र लेवीहरूले काम गर्ने नियम र बन्दोबस्त गरिदिए। त्यसपछिको वर्ष पहिलो महिनाको चौधौँ दिनमा कैदबाट फर्किआएका मानिसहरूले निस्तार-चाड मनाए। सबै पूजाहारीहरू र लेवीहरूले आफैंलाई चोख्याएका थिए र विधिअनुसार शुद्ध भएका थिए। लेवीहरूले फर्किआएका सबै मानिसहरू, पूजाहारीहरू र आफ्नै निम्ति निस्तार-चाडका पशुहरू मारे। कैदबाट फर्किआएका सबै इस्राएलीहरू र परमप्रभु इस्राएलका परमेश्वरलाई पुज्न आउने त्यस देशमा बास गरिबसेका अरू मूर्तिपूजकहरू, जसले आफ्नो रीतिथिति छोडेका थिए, तिनीहरू सबैले बलि चढाएका पशुका मासु खाए। सात दिनसम्म तिनीहरूले आनन्दसाथ अखमिरी रोटीको चाड मनाए। तिनीहरू आनन्दले भरिएका थिए किनभने अश्शूरका महाराजालाई तिनीहरूप्रति कृपालु बनाउनुभएको थियो र तिनले इस्राएलका परमेश्वरको मन्दिर बनाउन तिनीहरूलाई सहारा दिएका थिए।