इजकिएल 5:5-9
इजकिएल 5:5-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: यरूशलेम यही हो, जसलाई मैले जाति-जातिहरूको केन्द्रमा बसालेको छु, जसका चारैतिर देशहरू छन्। तापनि आफ्नो दुष्ट्याइँमा त्यसका चारैतिर भएका जाति-जाति र देशहरूभन्दा त्यो अझ बढ़ी मेरा नियमहरू र विधिहरूका विरुद्धमा बागी भएकी छ। त्यसले मेरा नियमहरूलाई इन्कार गरेकी छ, र मेरा विधिहरूमा हिँड़ेकी छैन। “यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: आफ्ना चारैतिरका जाति-जातिहरूभन्दा तिमीहरू अझ बढ़ी नियम पालन नगर्ने भएका छौ, र मेरा विधिहरूमा चलेका छैनौ, अथवा मेरा नियमहरू पालन गरेका छैनौ। तिमीहरूका चारैतिर भएका जातिहरूका चालबमोजिम पनि तिमीहरू चलेका छैनौ। “यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे यरूशलेम, म नै तेरो विरुद्धमा भएको छु। म स्वयम् ती जातिहरूका सामुन्ने तँलाई दण्ड दिनेछु। म तेरा घिनलाग्दा देवताहरूको कारण तँलाई म यस्तो गर्नेछु, जो मैले अघि कहिल्यै गरेको थिइनँ र न फेरि कहिल्यै गर्नेछु।
इजकिएल 5:5-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रभु याहवेह यसो भन्नुहुन्छ: यो यरूशलेम हो, जसलाई मैले चारैतिर देशहरूको बीचमा जातिहरूको केन्द्रमा बसालेको छु। तर आफ्नो दुष्टतामा त्यसले मेरा व्यवस्था र उर्दीहरूमा आफ्ना चारैतिरका जातिहरू र देशहरूभन्दा बढी विद्रोह गरेकी छे। मेरा व्यवस्थाहरू इन्कार गरेकी छे, र उर्दीहरू पालन गरेकी छैन। यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: तिमीहरू आफ्ना चारैतिरका जातिहरूभन्दा बढी विद्रोही भएका हुनाले मेरा उर्दीहरू र मेरा व्यवस्थाहरू तिमीहरूले पालन गरेका छैनौ। तिमीहरू आफ्ना चारैतिरका जातिहरूका स्तरसम्म पनि पुगेका छैनौ। यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: हे यरूशलेम, म स्वयम् तेरो विरुद्धमा छु; अनि म आफैँले ती जातिहरूका आँखाको सामु तँलाई दण्ड दिनेछु। तेरा सबै घिनलाग्दा मूर्तिहरूको कारण म तँलाई यस्तो गर्नेछु, जुन मैले पहिले कहिल्यै गरेको छैनँ, न त फेरि कहिल्यै गर्नेछु।
इजकिएल 5:5-9 पवित्र बाइबल (NERV)
त्यति बेला परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “त्यो ईंटा यरूशलेम हो। मैले यरूशलेम शहरलाई अन्य राष्ट्रहरूको बीचमा राखेको छु। यस समय इस्राएलको चारैतिर अन्य देशहरू छन्। यरूशलेमका मानिसहरूले मेरो नियमहरू र विधिहरू प्रति विद्रोह गरे। तिनीहरू अन्य कुनै पनि राष्ट्र भन्दा एकदमै नराम्रो छन्। तिनीहरूले मेरो नियमहरू त्यति ज्यादा विरोध गरे जति चारैतिरको अन्य देशहरूले विरोध गरेनन्। तिनीहरूले मेरो आदेशहरू सुन्नु अस्वीकार गरिदिए। तिनीहरूले मेरो विधि-विधानहरू पालन गरेनन्।” यसकारण परमप्रभु मेरो मालिकले भन्नुभयो, “म तिमीहरूमाथि भयङ्कर विपत्ती ल्याइदिनेछु। किनभने तिमीहरूले मेरो नियम पालन गरेनौ। तिमीहरूले मेरो नियमहरू तिमीहरूको चारै तिर बस्ने मानिसहरूले भन्दा पनि ज्यादा भङ्ग गर्यौ। तिमीहरूले त्यो काम पनि गर्यौ जुन तिनीहरूले गल्ती भन्छन्।” यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म पनि तिमीहरूको विरूद्धमा छु, म तिमीहरूलाई यस्तो दण्ड दिनेछु जसलाई अर्को मानिसले पनि देख्न सकोस्। म तिमीहरूलाई यस्तो गर्नेछु जुन मैले अघि कहिले गरेको थिइनँ। अनि म त्यो भयानक काम फेरि कहिले पनि गर्नेछैन। किनभने तिमीहरूले धेरै डरलाग्दा कार्यहरू गरेकाछौ।
इजकिएल 5:5-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सार्वभौम परमप्रभुले भन्नुभयो, “यरूशलेमलाई हेर्। सबै देशहरूलाई चारैपट्टि पारेर मैले यरूशलेमलाई जातिहरूको माझमा बसालेको छु। तर त्यसले मेरा आज्ञाहरूको विरोध गर्यो र अरू जातिहरूभन्दा बढी दुष्ट र चारैपट्टिका देशहरूभन्दा ज्यादै अनाज्ञाकारी भयो। यरूशलेमले मेरा आज्ञाहरू इन्कार गर्यो र मेरा नियमहरू अस्वीकार गर्यो। अब सुन्, ए यरूशलेम, म सार्वभौम परमप्रभुले तँलाई के भन्दै छु। मेरा नियमहरू नमानेर र मेरा आज्ञाहरू पालन नगरेर तेरा चारैपट्टिका जातिहरूभन्दा तँ ज्यादै विद्रोही भइस्। तँ पराई जातिका रीति-थितिमा चलिस्। यसकारण म सार्वभौम परमप्रभुले तँलाई भन्दै छु कि म तेरो विरुद्धमा छु। सबै जातिहरूका आँखाको सामुन्ने म तँलाई दण्ड दिनेछु। मेरो नजरमा तैँले सबै घिनलाग्दा कुराहरू गरेको हुनाले म तँलाई यस्तो दण्ड दिनेछु कि त्यस्तो अघि कहिल्यै दिएको थिएन र पछि पनि कहिल्यै दिनेछैनँ।