YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 39:32-43

प्रस्‍थान 39:32-43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसरी भेट हुने पाल, अर्थात्‌ पवित्र वासस्‍थानका सबै काम समाप्‍त भए। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे। तब तिनीहरूले मोशाकहाँ पवित्र वासस्‍थान ल्‍याए, पाल र त्‍यसका सारा सामानहरूसमेत: त्‍यसका अङ्‌कुसेहरू, फल्‍याकहरू, बारहरू, खम्‍बाहरू, आधारहरू, रातो रङ्गले रङ्गाएको भेड़ाका छालाहरूको छत, सीलका छालाहरूको छत, छेक्‍ने पर्दा, गवाहीको सन्‍दूक र त्‍यसका डन्‍डाहरू र कृपा-आसन, टेबिल र त्‍यसका सबै सामानहरू र उपस्‍थितिको रोटी, निखुर सुनको सामदान र त्‍यसका दियाहरू र त्‍यसका सबै सामानहरू र प्रकाशको निम्‍ति तेल, सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्‍धित धूप, पालको ढोकाको निम्‍ति पर्दा, काँसाको वेदी, त्‍यसको काँसाको झिँजा, त्‍यसका डन्‍डाहरू र त्‍यसका सबै सामानहरू, पानीको बाटा र त्‍यसका खुट्टा, चोकका पर्दाहरू, त्‍यसका खम्‍बाहरू र आधारहरू, चोकको ढोकाको पर्दा, त्‍यसका डोरीहरू र कीलाहरू, र भेट हुने पाल, पवित्र वासस्‍थानको निम्‍ति सेवाका सबै सामान, पवित्रस्‍थानमा सेवाका कामको निम्‍ति बुनेका पोशाकहरू, हारून पूजाहारीका पवित्र पोशाक र पूजाहारी पदमा सेवा गर्नका निम्‍ति तिनका छोराहरूका पोशाकहरू। परमप्रभुले मोशालाई दिनुभएको आज्ञाबमोजिम सबै काम इस्राएलीहरूले गरे। तब मोशाले ती कामहरू हेरे, र जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो तिनीहरूले त्‍यस्‍तै नै गरेका थिए। अनि मोशाले ती सबैलाई आशीर्वाद दिए।

शेयर गर्नुहोस्
प्रस्‍थान 39 पढ्नुहोस्

प्रस्‍थान 39:32-43 पवित्र बाइबल (NERV)

परमप्रभुले आज्ञाहरू दिनु भए अनुसार नै इस्राएलीहरूले पवित्र पाल, अर्थात् भेटहुने पाल निर्माण समाप्त गरे। तब तिनीहरूले समाप्त भएका सबै कुराहरू मोशाकहाँ ल्याए जस्तै पवित्र पाल अनि पालहरू भित्रको सबै चीजहरू अंकुसेहरू, बारहरू, फल्याकहरू र आधार खाम्बाहरू। तिनीहरूले मोशालाई पाल छोप्न रातो रङ्गाले रङ्गाएको भेंडाको छालाले बनाएको ढकनी देखाए। तिनीहरूले मोशालाई बाख्राको सुकेको रातो छालाले बनिएको पाल छोप्ने सील छालाबाट बनाइएको पर्दा देखाए। अनि तिनीहरूले अति पवित्र स्थानको प्रवेशद्वार ढाक्ने पर्दा पनि मोशालाई देखाए। तिनीहरूले मोशालाई करारको सन्दूक देखाए। तिनीहरूले तिनलाई सन्दूक बोक्ने डण्डाहरू, सन्दूकको कृपा-आसान पनि देखाए। तिनीहरूले उनलाई टेबल अनि यसको सबै भाँडा-वर्तनहरू र विशेष रोटी पनि देखाए। तिनीहरूले मोशालाई शुद्ध सुनले बनिएको सामदान दियोहरू, सामदानको निम्ति प्रयोग गरिने सबै सामानहरू अनि बत्तीहरू बाल्नको निम्ति तेल देखाए। तिनीहरूले मोशालाई सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्धित धूप पालमा जाने द्वार र ढाक्ने पर्दा पनि देखाए। तिनीहरूले उनलाई काँसाको वेदी, काँसाको कोरेसो अनि (वेदी बोक्न प्रयोग हुने) डण्डाहरू देखाए। तिनीहरूले उनलाई वेदीमा प्रयोग गरिने प्रत्येक चीजहरू देखाए तिनीहरूले उसलाई हात खुट्टा धुने कचौरा अनि यसको आधार देखाए। तिनीहरूले मोशालाई आँगनको निम्ति पर्दाहरू, यसको खम्बाहरू, खम्बाको आधारहरू, आँगनको प्रवेशद्वारका निम्ति पर्दा र डोरीहरू, पाल-कीलाहरू अनि पवित्र स्थान जुन भेट हुने पाल हो त्यहाँ चाहिने सबै चीजहरू देखाए। त्यस पवित्र क्षेत्रमा सेवा गर्ने पूजाहारीहरूका निम्ति जुन तिनीहरूले बुनेर बनाएका पोशाकहरू थिए ती मोशालाई देखाए। तिनीहरूले हारून र उसका छोराहरूका निम्ति बनाइएका विशेष पोशाकहरू पनि मोशालाई देखाए। ती लुगाहरू तिनीहरूले पूजाहारी भई सेवा गर्दा लाउनु पर्दथ्यो। इस्राएली मानिसहरूले प्रत्येक चीज नै परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार गरे। जब मोशाले प्रत्येक चीजहरू परमप्रभुले आज्ञा गरे अनुसार मानिसहरूले बनाएको देखे, उनले तिनीहरूलाई आशीर्वाद दिए।

शेयर गर्नुहोस्
प्रस्‍थान 39 पढ्नुहोस्

प्रस्‍थान 39:32-43 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अन्‍तमा, परमप्रभुको पवित्र पाल बनाउने काम पूरा भयो। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार नै इस्राएलीहरूले सबै थोक बनाए। तिनीहरूले मोशाकहाँ पवित्र पाल र त्‍यसका सारा सर-सामान, त्‍यसका अङ्कुसेहरू, फल्‍याक र तेर्सा बारहरू, खम्‍बा र तिनका आसनहरू, रातो रङगले रङ्गाएका भेडाका छालाको अनि असल छालाका छोप्‍ने पर्दाहरू, ती छेल्‍ने पर्दा, ढुङ्गाका पाटीहरू राखिएका करारको सन्‍दुक, त्‍यसका बोक्‍ने डन्‍डाहरू र प्रायश्‍चितको ढकना, टेबिल र त्‍यसका सर-सामान र परमेश्‍वरलाई भेटी चढाएको रोटी, निखुर सुनको सामदान, त्‍यसका पानस र सर-सामानहरू, पानसका लागि तेल, सुनको वेदी, अभिषेक गर्ने तेल, मीठो बास्‍ना भएको धूप, पवित्र पालको ढोकाको पर्दा, काँसाको वेदी र जाली, त्‍यसका बोक्‍ने डन्‍डाहरू र सारा सर-सामान, हात धुने बाटा र त्‍यसको आसन, बाहिरी घेराका पर्दा, खम्‍बा र आसनहरू फल्‍याकका ढोकाका पर्दा र डोरीहरू, पवित्र पालको किला र त्‍यहाँ चलाइने सारा सर-सामान र पवित्रस्‍थानमा पूजाहारीहरूले लाउने सुन्‍दर र उत्तम वस्‍त्रहरू, पूजाहारी हारून र तिनका छोराहरूले लाउने पवित्र पोशाकहरू ल्‍याए। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले सारा काम गरेका थिए। मोशाले सबै थोकको जाँच गरे र सबै परमप्रभुको आज्ञाअनुसार बनाइएका देखे। यसकारण मोशाले तिनीहरूलाई आशीर्वाद दिए।

शेयर गर्नुहोस्
प्रस्‍थान 39 पढ्नुहोस्