YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 39

39
पूजाहारीका पोशाक र एपोद
1पवित्रस्‍थानका सेवाको निम्‍ति तिनीहरूले नीलो, बैजनी, रातो रङ्गको धागोबाट बुनेका कपड़ाहरू, र हारूनको निम्‍ति परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम पवित्र पोशाकहरू बनाए। #प्रस २८:१-१४
2एपोदचाहिँ तिनीहरूले सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको बनाए। 3तिनीहरूले सुन पिटेर पतला पाताहरू काटेर तारहरू बनाए। ती नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा मिलाउनलाई सिपालु शिल्‍पकारको काम भएको थियो। 4एपोदको निम्‍ति तिनीहरूले त्‍यसका दुई छेउमा गाँसेका दुई काँधे-बन्‍धनहरू बनाए। 5त्‍यसमाथि भएको खूब राम्रोसँग बुनेको कमरपेटी एपोदसँग एउटै टुक्राको र त्‍यस्‍तै काम भएको सुनको, र नीलो बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको थियो, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
6तिनीहरूले सुनका मणिघरहरूमा आनिक्‍सहरू जड़े र इस्राएलका छोराहरूका नाम छापमा झैँ त्‍यसमा लेखे। 7परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले एपोदका काँधे-बन्‍धनहरूमा इस्राएलका छोराहरूका निम्‍ति सम्‍झनाको मणि हुनलाई ती लगाए।
छाती-पाता
8तिनीहरूले एपोदको कामजस्‍तै सिपालु शिल्‍पकारको कामको छाती-पाता सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको कपड़ाको बनाए। #प्रस २८:१५-३० 9त्‍यो वर्गाकार र दोबर पट्ट्याइएको थियो। त्‍यो एक बित्ता लामो र एकै बित्ता चौड़ा थियो। 10त्‍यसमा मणिहरूका चार लहर गरी मणि जड़े। पहिलो लहर मानिक, पुष्‍पराज र बेरूजको थियो। 11दोस्रो लहर फिरोजा, नीर र पन्‍नाको थियो। 12तेस्रो लहर लालमणि, हाकिक र कटेलाको थियो। 13अनि चौथो लहर पीतमणि, आनिक्‍स र बिल्‍लौरको थियो। यी सबै सुनका मणिघरहरूमा जड़िएका थिए। 14ती मणिहरू इस्राएलका छोराहरूका नाउँअनुसार बाह्र वटा थिए। हरेकमा छापमा खोपेझैँ बाह्र कुलमध्‍ये एउटाको नाउँ थियो।
15तिनीहरूले छाती-पाताको लागि डोरीजस्‍तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए, 16सुनका दुई मणिघरहरू र सुनका दुई वटा मुन्‍द्रीहरू बनाएर दुवै मुन्‍द्री छाती-पाताका दुवै कुनामा लगाए। 17सुनका दुई वटा सिक्री छाती-पाताका छेउ-छेउमा भएका ती दुई मुन्‍द्रीमा लगाए। 18दुवै सिक्रीका अर्का दुई छेउचाहिँ ती दुवै मणिघरमा जोड़ेर एपोदका काँधे-बन्‍धनमा अगाड़िपट्टि लगाए। 19तिनीहरूले सुनका दुई वटा मुन्‍द्री बनाएर छाती-पाताका अर्का दुवै कुनामा एपोदतिर भित्रपट्टि बिटमा लगाए। 20तिनीहरूले सुनका अझ दुई वटा मुन्‍द्री बनाएर एपोदको अगाड़िपट्टि दुवै काँधे-बन्‍धनका मुनिबाट र एपोदको कमरपेटीमाथिको सिउनीनेर लगाए। 21छाती-पाताचाहिँ त्‍यसका मुन्‍द्रीहरूद्वारा एपोदका मुन्‍द्रीहरूमा नीलो फित्ताले कमरपेटीमा बाँधे, कि त्‍यो एपोददेखि सर्न नपाओस्, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
22अनि तिनीहरूले एपोदको सम्‍पूर्ण अलखा नीलो रङ्गको बुनेको कपड़ाको बनाए। #प्रस २८:३१-४३ 23त्‍यसको बीचमा कठालोको प्‍वालजस्‍तो अलखाको प्‍वाल बनाए, र त्‍यो नच्‍यातिनका निम्‍ति प्‍वालको वरिपरि बिट बुनिदिए। 24त्‍यसको तलको फेरोमा चाहिँ नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाका दारिमहरू बनाए। 25निखुर सुनका घण्‍टीहरू बनाएर ती तलको फेरोमा, वरिपरि दारिमका बीच-बीचमा तिनीहरूले लगाए। 26सेवा गर्दा लगाउने अलखाको तलको फेरोमा एउटा घण्‍टी र फेरि एउटा दारिम पर्ने गरी वरिपरि लगाए, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
27हारून र तिनका छोराहरूका निम्‍ति बुनेका मसिनो सूती कपड़ाका लबेदाहरू, 28र मसिनो सूती कपड़ाको फेटा, र सूती कपड़ाका अरू फेटाहरू र मसिनो सूती कपड़ाका भित्री वस्‍त्र तिनीहरूले बनाए। 29अनि तिनीहरूले मसिनो गरी बाटेका सूती कपड़ाको, र नीलो, बैजनी, रातो धागोको, बुट्टा भर्नेको काम भएको पटुका बनाए, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
30तिनीहरूले पाता, अर्थात्‌ पवित्र मुकुट निखुर सुनको बनाए, र त्‍यहाँ छापको खोपाइझैँ यी कुरा खोपे, “परमप्रभुको निम्‍ति पवित्र।” 31तिनीहरूले त्‍यो नीलो फित्ताले फेटामा लगाउनलाई बाँधे, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
मोशाले पवित्र वासस्‍थानको काम हेरेका
32यसरी भेट हुने पाल, अर्थात्‌ पवित्र वासस्‍थानका सबै काम समाप्‍त भए। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे। #प्रस ३५:१०-१९ 33तब तिनीहरूले मोशाकहाँ पवित्र वासस्‍थान ल्‍याए, पाल र त्‍यसका सारा सामानहरूसमेत: त्‍यसका अङ्‌कुसेहरू, फल्‍याकहरू, बारहरू, खम्‍बाहरू, आधारहरू, 34रातो रङ्गले रङ्गाएको भेड़ाका छालाहरूको छत, सीलका छालाहरूको छत, छेक्‍ने पर्दा, 35गवाहीको सन्‍दूक र त्‍यसका डन्‍डाहरू र कृपा-आसन, 36टेबिल र त्‍यसका सबै सामानहरू र उपस्‍थितिको रोटी, 37निखुर सुनको सामदान र त्‍यसका दियाहरू र त्‍यसका सबै सामानहरू र प्रकाशको निम्‍ति तेल, 38सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्‍धित धूप, पालको ढोकाको निम्‍ति पर्दा, 39काँसाको वेदी, त्‍यसको काँसाको झिँजा, त्‍यसका डन्‍डाहरू र त्‍यसका सबै सामानहरू, पानीको बाटा र त्‍यसका खुट्टा, 40चोकका पर्दाहरू, त्‍यसका खम्‍बाहरू र आधारहरू, चोकको ढोकाको पर्दा, त्‍यसका डोरीहरू र कीलाहरू, र भेट हुने पाल, पवित्र वासस्‍थानको निम्‍ति सेवाका सबै सामान, 41पवित्रस्‍थानमा सेवाका कामको निम्‍ति बुनेका पोशाकहरू, हारून पूजाहारीका पवित्र पोशाक र पूजाहारी पदमा सेवा गर्नका निम्‍ति तिनका छोराहरूका पोशाकहरू।
42परमप्रभुले मोशालाई दिनुभएको आज्ञाबमोजिम सबै काम इस्राएलीहरूले गरे। 43तब मोशाले ती कामहरू हेरे, र जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो तिनीहरूले त्‍यस्‍तै नै गरेका थिए। अनि मोशाले ती सबैलाई आशीर्वाद दिए।

अहिले सेलेक्ट गरिएको:

प्रस्‍थान 39: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्